शक्ति निकै सरल र सूक्ष्मातिसूक्ष्म हुन्छ । तसर्थ यो सर्वव्यापक र सर्वशक्तिमान् हुन्छ । ईश्वर एक देशमा स्थित छैनन् । असीमको कुनै सीमाना हुँदैन । सरल र सूक्ष्म उखुको रसबाट मिश्री बन्छ ।
वस्तुमा रहेको अन्तर्निहित रहस्य हो- शक्ति । जो कुनै कार्य गर्ने सामर्थ्यले सौन्दर्यवान् हुन्छ । शक्ति संरक्षणको नियमले भन्छ, “शक्तिलाई न उत्पादन गर्न सकिन्छ, न त नष्ट नै । यसलाई त खालि एक रूपबाट अर्को रूपमा रुपान्तर मात्रै गर्न सकिन्छ ।” ताप, विद्युत, प्रकाश , ध्वनि, चुम्बक आदि शक्तिका केही भिन्नभिन्न रूपहरू हुन् । यी विभिन्न नाम र रूपहरू काम, भाषा, दृष्टि, दर्शन, प्रयोग आदिका हिसाबले भिन्न हुन गएका हुन् । यसरी “शक्ति एक रूप अनेक” भएझैं हाम्रो वैदिक शास्त्रले पनि “‘ईश्वर एक रूप अनेक’ भन्दछ ।
सत्त्व, रजो र तमोगुण अनि वस्तु, शक्ति, समय र स्थान तथा त्यसअनुसारका काम र कामको स्वभाव, इच्छा, पूजा, उपासना, साधना, अनुभव, भक्ति, तन्त्रमन्त्र, योग, ज्ञान आदिका आधारमा ईश्वरका पनि शक्तिका जस्तै अनेकौं नाम र रूपहरू छन् । विभिन्न अवतारहरू-मत्स्यावतार, कूर्मावतार, वराहावतार, नृसिंहावतार, वामनावतार, परशुरामावतार, रामावतार, कृष्णावतार, बुद्धावतार, कल्कि अवतार आदि ईश्वरका विभिन्न रूपहरू हुन् । यसरी पुराणहरूमा ईश्वरका नाम र रूप अनेक बताइए पनि परमार्थत: परमेश्वर उही हुन् । ती एउटै छन् ।
श्रीमद्भागवतमा यसैलाई ‘जसरी एउटा ठूलो तालबाट अनगिन्ती नदीनाला निस्किन्छन् त्यसैगरी एउटै ईश्वरका अनेकौं नाम र रूपहरू अर्थात् अवतारहरू हुन्छन्’ भनिएको छ । तेत्तीसकोटि देवी देवताहरू पनि काम र कामको व्यवस्थापनका हिसाबले फरक देखिएता पनि वास्तवमा ईश्वरकै अंश वा रूपहरू हुन् । उच्चारणमा अलगअलग नाम भएता पनि ती सबैको नाभिकेन्द्र एउटै हुन्छ । तिनीहरूमा केही भेद छैन । शक्तिलाई उत्पादन र नष्ट गर्न सकिंदैन भनिएझैं ईश्वरलाई पनि अजन्मा, अविनाशी, अजर, अमर, नित्य, शाश्वत, सच्चिदानन्द, अद्वय, शुद्ध, अखण्ड, परिपूर्ण, सनातन, निराकार, निर्गुण आदि उपमाले सम्बोधन गरिएको छ । अर्थ उही हुन आउँछ, ‘उत्पादन र नष्ट गर्न नसकिने ।’
यसर्थ भौतिकविज्ञानमा शक्ति र अध्यात्मविज्ञानमा ईश्वरको अर्थमा भिन्नता छैन । अर्थ उही छ । यसमा भिन्नता भनेको केवल शब्दको उच्चारण र त्यो रूपमा यसको प्रकृति मात्र हो । यथार्थतः यिनीहरूमा कुनै भेद छैन । शक्ति सर्वथा पवित्र र पूर्ण तत्त्व हो । सनातन सत्य हो । यो अविभाज्य र स्थिर छ अनि ईश्वरलाई भनिएझैं अदृश्य, सर्वव्यापी, निराकार (अशरीरी) र निर्गुण पनि छ ।
शक्तिको स्रोत शक्ति नै हो । समग्र सृष्टि शक्तिको, शक्तिको लीला हो । अथवा शास्त्रका अनुसार अनन्त जगतको यो अथाह सृष्टि ईश्वरको शक्तिको लीला हो । ईश्वर स्वयम् शक्ति हो । यसर्थ शक्ति नै सृष्टकर्ता अर्थात् हाम्रो वैदिक मान्यता अनुसार आदिपुरुष हो । सृष्टिको आदिकारण हो । यसैको नाम पुरुषोत्तम हो र सृष्टिकर्ता ईश्वर हो । सृष्टिका सम्पूर्ण क्रियाहरू शक्तिकै माध्यमद्वारा रचित र क्रियाशील हुन्छन् ।
शक्ति निकै सरल र सूक्ष्मातिसूक्ष्म हुन्छ । तसर्थ यो सर्वव्यापक र सर्वशक्तिमान् हुन्छ । ईश्वर एक देशमा स्थित छैनन् । सर्वव्यापीको नेपाल, भारत, चीन , जापान आदि भनिएझैं कुनै देशहरू हुँदैन । असीमको कुनै सीमाना हुँदैन । सरल र सूक्ष्म उखुको रसबाट मिश्री बन्छ । निबन्भाँध
डोको पूरै पानी गुलियो हुन मिश्रीको ढिक्का पानीमा घुल्नुपर्छ । घुल्नु भनेको आकारको निराकारतर्फको यात्रा हो । घुलाइको अन्तमा मिश्रीको ढिक्का पानीमा विलीन हुन्छ । वस्तुको विलीनताको अवस्थामा आकार हराउँछ । जब वस्तुको आकारको विलय हुन्छ त्यो सर्वव्यापी हुन्छ । सबैको द्रष्टा बन्छ । सबैको द्रष्टा यसैले अदृश्य हुन्छ । परन्तु त्यो विभिन्न रूपहरूमा निराकार ईश्वरहरूको अवतारको बेलामा जस्तै दर्शन र दृष्टि बनेर विभिन्न रूप र नाममा आइरहन्छ । यो सारा ब्रह्माण्ड शक्तिको शरीर हो अर्थात् ईश्वरको शरीर हो ।
‘कार्य’ वस्तु अर्थात् शरीरका लागि हुन्छ । कार्य, कर्ताले गर्छ । शक्ति, कार्य गरिने वस्तु र कर्ता दुवैमा हुन्छ । यदि कर्ता र वस्तुबाट अज्ञान अर्थात् संसार, वासना, इच्छा आदि हटाइदियो भने ती दुवै शक्ति/ईश्वरमा बदलिन्छन् । अतः कर्ताद्वारा वस्तुमा कार्य गर्दाको क्षमता विज्ञानका अनुसार शक्ति हो र अध्यात्मका अनुसार ईश्वर हो । यो अमर तत्त्व हो । कर्ताद्वारा निर्मित निर्माणहरू नाशवान्/अनित्य हु्न्छन् । तसर्थ, शक्ति कर्ताको कृति होइन । शक्तिको कर्ता कोही हुन सक्दैनन् । कर्ताका कृति नाशवान् हुन्छन् ।
महाभारत, देवीभागवत् आदि पुराणहरूमा कृष्णलाई परब्रह्मको बेग्लै पूर्णावतार मानिएको छ । कृष्णलाई साक्षात् ईश्वरकै मुख्य अंश मानिएको छ । अर्थात् कृष्ण भनेकै परमेश्वर हुन् भनिन्छ । शक्तिको प्रमुख स्वरूप मानिन्छ । महाभारतमा अर्जुनलाई गीताज्ञान बताउने क्रममा उनले भनेका छन्- म अजन्मा र अविनाशी छु । म स्थिर, नित्य र सर्वव्यापक छु । म अपरिवर्तित र अद्वैत छु । म नै यो अनन्त सृष्टिको सृष्टिकर्ता हुँ । यी अनन्त ब्रह्माण्डहरू मेरै अधिनमा छन् । अर्थात् मेरै शक्तिका कारण सञ्चालित र नियन्त्रित छन् । अहिले यो ब्रह्माण्डमा जे जति वस्तुहरू अस्तित्वमा छन् ,यी सबै मैंद्वारा उत्पादन भएका हुन् । नष्ट पनि मैंद्वारा हुन्छन् । मेरो सृष्टि गर्ने पनि मैं हुँ । जीवाजीवमा गति र समयको कारण पनि मैं हुँ । यसरी कृष्णले आफूलाई बताएका प्रकृति र शक्तिको प्रकृति भिन्नतारहित छन् ।
शक्ति प्रियतम् तत्त्व हो । यसले आफूलाई जुन पदार्थमा रूपान्तरण गर्छ र त्यसैमा आफू लुक्छ । आफूलाई जीवमा रूपान्तरण गर्छ र त्यसैमा आफू आत्मा बनेर लुक्छ । र त जीवका आँखाले सृष्टिका अनेकन् लीलालाई देख्छ तर यी लीलाहरूका लीलाकर्ता जो आँफैभित्र लुकिबसेका छन् उनैलाई देख्दैनन् । उनैलाई चिन्दैनन् । यो पदार्थका हरेक कणकणमा र जीवका हरेक कोषकोषमा रहेको हुन्छ । शक्तिकै शक्तिले परमाणुभित्रका इलेक्ट्रोनहरूमा गति छ । परमाणुभित्रका इलेक्ट्रोनहरूको गति नै समयका निर्माता हुन् । इलेक्ट्रोनमा गतिको प्रभाव र गतिमा समयको प्रभावको मुख्य प्रभाव भनेकै शक्ति हो । यसरी सिर्जनामा कसैको प्रभाव र प्रभावमा अरू कसैको प्रभाव र प्रभावहरूको श्रृङ्खलाहरू ईश्वरले नै उत्पन्न गराउँछन् । शक्तिसँग अपरिमित शक्ति हुन्छ । शक्तिको यही शक्तिले शक्तिलाई प्रभावका रूपमा आकारमा निमन्त्रणा गर्दछ र त्यही आकारमा यसले जीवात्माको आरम्भ थाल्छ । यसर्थ यो सिङ्गो सृष्टिको मालिक भनेकै ईश्वर हो । अर्थात् शक्ति हो । शक्तिलाई चलाउन शक्तिकै आदेश चाहिन्छ । ईश्वर/शक्ति आफूले रचना गरेको आफू र सम्पूर्णमा बेरोकटोक विचरण गरिरहन्छ । आफ्नो प्रकृति अनुसार विचरणका बखतमा वस्तु वा जीवमा आफ्नो अनुकूल आकारको निर्धारण उसैले गर्दछ । पृथ्वीमा चौरासी लाख भिन्न जीवहरूको अस्तित्व ईश्वर वा शक्तिको आफू अनुकूलको आकार बन्दाका भेदहरू हुन् । अर्थात् एउटा जातिको आकार अर्को जातिको आकारसँग फरक हुनुको रहस्य शक्तिको भिन्नभिन्न प्रकृतिका कारणले हो ।
शक्तिका रक्षक आफूबाहक कोही हुँदैनन् । शक्तिको रक्षा शक्ति आँफैले गर्छ । शक्तिको वास्तविक स्वरूप सम्पूर्ण गुणहरूले पूर्णत: अतीत छ, जो शास्त्रमा ईश्वरका गुणमा बताइको छ । यसर्थ हाम्रो वैदिक विज्ञान भौतिकविज्ञानभन्दा युगौंयुगले जेठो र बाठो छ । यसैमा मलाई गर्व छ । अस्तु !