बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा आज ‘जेसुम यात्रा’ सम्पन्न भएको छ । कला, साहित्य र रङ्गमञ्चमार्फत सकारात्मक उत्प्रेरणा प्रवद्र्धन गर्ने उद्देश्यले चुनिखेलमा आयोजना गरिएको कार्यक्रममा कविले कविता वाचन गर्नुका साथै चित्रकारले चित्र कोरेका थिए ।
रैथाने सभ्यता, कला, संस्कृति र सम्पदा प्रतिविम्बित कार्यक्रममा कवि तथा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, कवि तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, कविहरू श्याम श्रेष्ठ ‘सङ्कल्प’, वासुदेव अधिकारी, स्नेह सायमी, बीना थिङ, राजु महत, त्रिविसा निरौला र लक्ष्मी गिरीलगायतले चुनिखेलको संस्कृति, रहनसहन, पराम्परा, स्थानीय मठमन्दिर र धार्मिकस्थलका बारेमा कविता वाचन गरे ।
त्यसैगरी कलाकारहरू एनबी गुरुङ, दीपेन्द्र बनेपाली, डिराम पाल्पाली, विनोदकुमार गुप्ता र डिबी राईले चुनिखेललाई चित्रकलाका माध्यमबाट कला पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले त्यहाँबाट देखिने बादलको दृश्य, आकाश, भिरपाखा, बस्ती, बोटविरुवा, रुख, मन्दिर, मन्दिरका घण्टीहरू र धार्मिकस्थलका चित्र कोरेका थिए ।
सोही अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले ऐतिहासिक स्थान चुनिखेलको इतिहास अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए । अभियानका संयोजक तथा उपप्रमुख लामाले देशैभरिको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विगत चार वर्षदेखि ‘जेसुम यात्रा’ सुरु गरिएको जानकारी दिए ।
बूढानीलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष टिकेशनारायण श्रेष्ठले ‘जेसुम यात्रा’ अभियानले चुनिखेलको संस्कृति, सम्पदा र इतिहासका बारेमा प्रचारप्रसार गर्न सहज हुने बताए । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले रासस र ‘जेसुम यात्रा’बीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।