म आफूलाई गतिशिल बनाइराख्न चाहन्छु । झरीलाई आफ्नो हत्केलामा भरिरहन चाहन्छु..र औंलाऔंलाको काँपबाट पोखीरहन दिन चाहन्छु । आफूलाई सबैप्रकारले झरी बनाउन चाहन्छु ।
कति धेरै गतिशीलता ? उफ्फ…चिच्याइदिऊ झैँ लाग्ने !
दर्किरहेको झरीले मलाई किन किन आज एकाबिहानै बगूँ बगूँ बनाइदिएको छ? कहाँसम्म पुग्ने होला म?..यही कल्पनामा हराएर कति समयसम्म पो हो तुवाँलोभित्र लुकेका धुमिल डाँडाहरूको आङ कोट्टाइरहेछु । डाँडामा आङमा विराजमान धुलो जमेका मयलहरू माडीरहेछु । धुलोहरू..सीमाहीन स्वतन्त्रताको । धुलोहरू..लावारिस उद्देश्य र उडानहरूका । कहाँसम्म पुग्ने होला म ?..उफ्फ..कति धेरै गतिशील मनस्थिति आज मेरो ? म किन आज यसरी बगेको ? म किन अहिले यसरी पोखिएको? म कसरी पो हुबहु झरी जस्तै भएको ?.झरी जस्तै झरीरहेको ? झरीजस्तै पोखीइरहेको ?
जेठको मध्य दिन हो आज । रातभर झरी पर्यो । झिसमिसेभर झरी पर्यो । बिहानी लालित्य देखिएन । घाम देखिएन तर उज्यालो भयो । क्षितिज देखिएन तर हलुका न्यानो भयो । तर, झरी..? झरी झरी रहेको छ । अनवरत रूपमा झरी रहेको छ । आहार खोज्न कुनै घाम चर्को मध्यान्हमा निस्किएका कमिला ताँतीहरू झैँ । जाडो छल्न खर्कदेखि मध्य पहाडी क्षेत्रतर्फ ओर्लिरहेका भेडाको बथान झैँ । निरन्तरता सिवाय अर्को थोक केही छैन । गतिशिलता मात्रै छ..बस् गतिशिलता ।
…झरी रोकिएला ? म यो कल्पना पनि गर्न सक्दिन । मलाई यतिखेर यही मात्रै लागिरहेछ..झरी अझ झर्नेछ..अझ बर्सिनेछ ।..अझ बग्नेछ.. । अझ झर..झर..आवाज निकालेर मलाई यसैगरी वशीभूत पारिरहेनछ,..मोहनी लगाइरहेनछ ।
झरी परिरहेछ, के रोकिएला पनि ?
प्रश्न प्रेमिल छ, जवाफ किन चाहियो ?
वर्ष दिन अघि यस्तै कुनै दिनमा आफूले लेखेका यी हरफहरू जोडजोडले सुसेल्दै हत्केलाभरि पानीको बूँदहरू उठाउँछु अनि आफ्नो मुखको सम्पूर्ण भूभागलाई निथ्रुक्क भिजाइदिन्छु । जिब्रोले चाट्छु । ओठभर लतपत पार्छु । प्रेमिकाको ओठ चाटेझैँ..बच्चोले आइक्रिम चाटेझैं…अचार मुछेपछी औंलाऔंलाको काँप चाटेझैं । ..उफ्फ.. कति जोगाउन मन लागेको मलाई यो प्रहर ..यो क्षण? कसरी भरौँ सम्पूर्णत आफूलाई अनि कसरी निखारौँ छताछुल्ल बनाएर आफूलाई? के गरौँ ..कसरी गरौँ ?…कसरी बटुलौँ यो सर्वकालीनता जस्तो खुसी? कसरी अँगालौ पूर्णता जस्तो सन्तोष? (मलाई यतिखेर खुसी र सन्तोषको वैचारिक गन्थनमा उत्रनु नै छैन । जे हो, त्यो त्यही हो । मलाई यतिखेर लागिरहेछ सर्वाकालिनता नै खुसी हो, पूर्णता हो । नभए पनि के..झरिरहेको झरीको झर झरले त यही भनिरहेछ । यही बताइरहेछ ।)
उफ्फ..यो समयलाई ग्वामल्याङ्ग अँगालो मारेर बस्न मन छ । यसलाई कुनै पनि हालतमा, कुनै पनि सर्तमा छोड्न मन छैन । कुनै बुढ्यौली कायाले बडो जतनसाथ सँगालेको यौवनको लालित्यजस्तो, आफ्नो पुरानो भित्री वस्त्र जस्तो । ..डम्म फुलेका र फैलिएका आफ्ना गोला-डोला स्तनलाई अंगालीरहने भित्री वस्त्र जस्तो, जसले आफ्नो सुगठित र कसिएको जीउको असीमित सम्झना दिलाउँछ ।..अनि त्यसमा डाम छाडेर अलप भएको आफ्नो प्राचिन लुखुरे तर बौद्धिक अन्दाज-ए-बयानको पहिलो प्रेमीको अनगिन्ती म्वाइँ र चुम्बनका छापहरू जस्तो । सक्दो सामर्थ्यले हृदयले टासौँ जस्तो । सक्दो बलले अँगालोमा कसरीरहूँ जस्तो ।
म यतिखेर हुबहु सोही बुढ्यौली कायाको भावनात्मक बौद्धिकतालाई चकमा दिने गरी पागल भएको छु । लागिरहेछ, मानौँ यो दिन/यो प्रहर मेरो सम्झनामा रहिबस्ने,..मलाई हरबखत लखेटिरहने भूतपूर्व प्रेमिका ज्यूँको सोही तातो हत्केला हो, चिसो परेली र न्यानो हृदय हो । यसैमा लडीबुडी खेलौँ..यसैमा मुर्छा परौँ । यसैमा पुल्टुङबाजी मारौं । यसबाट किञ्चित पर नजाऊ..यहाँमा कदाचित पैताला नउठायौं ।..बस्..यो दर्के झरीलाई समाइरह्यौँ । यसलाई आफ्नो औँलाका हरेक काँप-काँपमा खस्न दिऊ । आफ्ना हत्केलाबाट बारबार खस्न दिऊ, र कत्ति पनि जोड नगरौँ कि यसलाई हत्केलाले समाइरहोस् । बस..मेरो हत्केलामा झरीले चुमिरहोस् अनि मेरो रापले रापिएर पग्लिएर भुईँको दुबोमा खसिरहोस् । ..म यसो बेलामौकामा भुँइको दुबोलाई पनि आँखा मारिदिन्छु.! ऊ खिस्स खिस्काउछ । ..एक बेसोमत हर्कत..! पटक्कै लाज नभएको मोरो..! सायद सो दुबो झरीले आफूलाई भन्दा पहिले मलाई चुमेका रिसले चुर चुर छ..आक्रोशले पुरापुर छ..! सक्दो हो- ऊ उठ्ने थियो र, अजङ्गको रुखको स्वरूप धारण गरी, आफ्ना लामालामा लहराले मलाई बेर्ने थियो ।..र, मलाई निलेर सन्तोषको श्वास लिने थियो! हाय…कति डरलाग्दो तर मोहक कल्पना?..कति सार्थक कल्पना? म आफ्नै कल्पनाशक्तिसँग पोइला गइदिन्छु यतिखेर । ..चाहे जे सुकै हो..जस्तो सुकै होस्..आफ्नै कल्पनाशक्तिको पागलप्रेमी होइदिन्छु । ..कल्पनाशक्तिको हात समातेर क्षितिज नाघौँ..आकाश च्यातौँ र जूनताराहरूको कान-कानमा साउती भरौँ ।
‘अरे. तिमिहरूलाई थाहा छ..म मेरो कल्पनाशक्तिसँग पोइला हिडेको नि!’
‘अरे, तिमिहरूलाई थाहा छ,..मलाई मेरो कल्पानाशक्तिले एलीयनहरूसँग भेट गराउँछु भनेको छ नि!’
हाहा..मलाई आज यो के भएको?..आफ्नै कल्पनाशक्तिसँग को पोइला हिँड्छ बे ? तर..अहँ..मलाई यो प्रश्नको जवाफ दिनै मन छैन । यो एक असम्भव सोचाइको क्षितिज हो । बहुलठ्ठी हो । दिवानापन हो । फकिराना अन्दाज हो । दिल्लगीबाज हो । शतप्रतिशत उडन्ते..शतप्रतिशत बतासे मन्त्रमुग्धता । शतप्रतिशत उरन्ठेउलो हर्कत । सम्भवनाको लेस मात्रै छैन तर यो मलाई के भएको हो? म यो सम्भाव देखिरहेछु । सार्थकताको क्षितिज मात्रै देखिरहेछु हरक्षण. ।.जहातही..जसो गरी पनि । आफ्नै कल्पनाको बाहूपासमा बेरीरहेछु..आफ्नै मनचिन्ते झोलामा लुसुक्क पसेर खुसुक्क..खुसुक्क..मुसुक्क मुसुक्क..खित्खिताइरहेछु..मुस्कुराइरहेछु ।
झरी झरीरहँदा समय साह्रो गतिशील हुन्छ । म अनुभूत गर्न सक्छु..खोल्सा र खोल्सीले गति समातेका होलान् । म अनुभूत गर्न सक्छु, खेत खलियानमा खेतीबाली र वनस्पतिहरू हलक्क..हलक्क बढ्दै होलान् । किसानहरू खेतबारीतर्फ दौडीरहेका होलान् । चरा-चुरुंगी सुरक्षित वासस्थानको खातिर दौडादौड गरिरहेका होलान् । होलान्- कोही झरीसँग रिसाइरहेका होलान्, कोही झरीसँग ठुस्कीरहेका होलान् । कसैले रेनकोट बिर्सिएका होलान् । कसैले छत्री घरमै छोडेका होलान् । कोही हिलाम्मे सडकमा लडेर झरीलाई सरापीरहेका होलान् । तर कोहि स्थिर छैनन् । हरेक अस्थिर छन्..गतिशील छन् । यतिबेला स्थिर रहेर काम पनि छैन..यो गर्भधारणको समयहो ! खुसीको गर्भधारण, सन्तोषको गर्भधारण ।
अन्नबाली लगाउने समय पनि यहि हो । कान्ले घाँस डोका-थुन्सेमा भर्ने समय पनि यहि हो । बाख्रा र भैंसी दाम्लो बाधिएर भए पनि हरियो घाँसका गांज निल्न आतुर छन् । यसैले त भनेको हो, हरेक जीव-वनस्पति-वस्तुले गतिशीलता समातेका छन् । पुसको ठिहिरोभाँती लुग लुग काम्दै हरकोही घामको मुख ताकिरहेका छैनन् ।…घामलाई पर्खिएर लामो लामो पट्यारलाग्दो हाइ ओकलीरहेका छैनन्! आङ कन्याईरहेका छैनन् । दिक्दारी र विरक्तिको लपेटोमा लपेटीएका छैनन् । सबको काम बित्दो छ..सबको मन उत्ताउलिदो छ ।.हरेक आ-आफ्ना काम, आफ्ना कर्म र उपजहरू सक्न लागिपरेका छन् । कतै कोही विश्रामलिन अवस्थामा छैनन् । कतै कोही थकाइ अनुभूत गरिरहेका छैनन् । बादल पोखीरहेको छ । माटो पग्लीरहेको छ! ढुङ्गा चोइटीरहेको छ । खोलानाल समुन्द्रतर्फ हानिएका छन् । किम्बु र खर्सेतोमा पालुवा फिरेको छ, जोवन पलाएको छ । अन्नबाली हुर्कँदै छन् । जीवजन्तु जिउ फट्कार्दै आहाराको खोजीमा निस्केका छन् । आ-आफ्ना रुचीका र स्वादका भोजन अन्वेषण, संरक्षण गरिरहेका छन् ।
र, म ?
म बस्, बार्दलीमा बसेर घरी आफ्नो कल्पनाशक्तिसँग पोइला हिँडिरहेको छु, घरी प्रेमिका ज्यूको सम्झनामा भौतारिरहेको छु । त्यसभन्दा बढी आधा गिलास तातो चिया एक चुस्की मात्रै पिएर सेलाइरहेछु । सो चियाको गिलासलाई हेरेर हांसीरहेछु । अनि हाँसोको खित्का ओकल्दै झरीलाई छामीरहेछु..उसलाई कहिले टाउकोतिर, कहिले छातीतिर दलीरहेको छु । एक आद्रताले भरिपूर्ण चिस्यानलाई आफ्नो शरिरमा लेपन गरिरहेछु । म फेरी फर्किएर.., सामुन्ने रहेको चियाको गिलासतर्फ हेर्छु. हेर्दाहेर्दै.गिलास भरिँदै जानछ । म छक्क पर्दिन..मलाई थाहा छ, बाँकी चिया होइन झरी हो ।.. चिया त आन्धा गिलास मात्रै थियो । बाँकी त झरी हो । म जान्दीन यो गिलासको तरललाई अब के नाम दिने हो? झरी भन्न पनि नमिल्ने, चिया भन्न पनि नमिल्ने ।..न तातो, न चिसो । न चिनी लागेको, न खल्लो । चियापतीको पनि स्वाद, झरीको पनि स्वाद ।
.. म चुपचाप गिलास उठाउँछु..र सो तरल चुपचाप घुट्काइदिन्छु! तनतनी पिइदिन्छु । हाय..एक मनतातो अनुभूति..एक मनतातो सुखानुभूति । ..एक आकारविहिन हर्षतिरेक क्षण । एक रुप-रंगविहिन भावुकता छाएको समय चौतारी..देउराली । बस्, यहि बसीरहूँ । यसैलाई निलीरहूँ । यसैलाई घुट्काइरहूँ ।
यार….कति हो कति असीमित तृप्ति र सन्तुष्टिले म आजको यो दिनलाई जोगाउन चाहन्छु । बस..जोगाउन चाहन्छु । यसपछि गरुँला पूर्णताका कुरा..यसपछि गरुँला सर्वकालिनता कुरा..यसपछि गरुँला जीवन-मृत्युका कुरा । यसपछी गरुँला तथाकथित बौद्धिकता र रेडिमेट साध्य-सिद्दान्तका कुराहरू । .. यतिबेला त बस्,..म आफूलाई गतिशिल बनाइराख्न चाहन्छु । झरीलाई आफ्नो हत्केलामा भरिरहन चाहन्छु..र औंलाऔंलाको काँपबाट पोखीरहन दिन चाहन्छु । आफूलाई सबैप्रकारले झरी बनाउन चाहन्छु ।
म आकाशदेखि धर्तितर्फ हाम्फ्यालेको हूँ
यार..म आफ्नै पैतलादेखि उम्रिएको हूँ ।
अस्तु !