मंगलबार , साउन ८, २०८१

झन्डै सत्तरी वर्षदेखि खसिरहेको दक्षिण एसियाकै ठूलो पहिरो !

बिरलै देखिने र भोगिने नमेटिने आँसुका आहालहरूको अव्यक्त दर्द बोकेका कथा सहितका अनुभवहरूको गथासो बोकेर अझै पनि बाँचिरहेको छ - झार्लाङ, जसको आँगन प्रतिवर्ष खसिरहन्छ ।

image

आकाशमा बादल मडारिँदा र चट्याङका आवाज सुन्दा अहिले पनि कर्मा तामाङको सातो पुत्लो उड्छ, जसरी सतसट्ठी साल अगाडि उनी आफ्नी आमाको काखमा भीषण पहिराको आवाजले अत्तालिएर टाँसिएका थिए । उनी जस्तै  वर्षात, बादल र पहिरोबाट त्रास भोग्नेहरू अझै धेरै छन् । 

मिलेर बसेका दुई परिवारमा फाटो पर्दा कस्तो समस्या पर्दो हो ? बसिरहेको घर बगेर विस्थापित हुनुपर्दाको व्यथा कस्तो हुन्छ होला ? अझ त्यसबेला लालाबाला र बाबा आमाहरू गुमाएर एक्लै रुखको छहारीमा बाँच्नुपर्दाको कहरलाई संसारको कुन भाषाले व्यक्त गर्दो हो ? बिरलै देखिने र भोगिने नमेटिने आँसुका आहालहरूको अव्यक्त दर्द बोकेका कथा सहितका अनुभवहरूको गथासो बोकेर अझै पनि बाँचिरहेको छ – झार्लाङ, जसको आँगन प्रतिवर्ष खसिरहन्छ, बगिरहन्छ- करेसा बारी, घर, गल्ली गल्छेडाहरू । ढलेका पर्खाल, करेसा, गोठ, कटेरालाई मात्र होइन, घरबारी र त्यसैसँग बिलाएका आफन्तहरूलाई पनि मुटु मिचेर बिर्सनुपर्ने नियतिका अनेक यथार्थ मिथकजस्तै बनेको छ झार्लाङका लागि । एकै डाँडाको बस्तीलाई पहिरोले चिरेर दुई भागमा विभाजित गरेपछि भूगोलमा मात्र होइन, सामाजिकता र सम्बन्धमा पनि चिरा पर्दो रहेछ । झार्लाङमा त्यस्तै भएको छ । पहिरो वारी र पहिरो पारीबीच केही हदसम्म वैमनस्यता देख्न पाइन्छ । 

पहिरोको जोखिममा रहेको धादिङको झार्लाङ गाउँ । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

विगत अठसट्ठी वर्षदेखि झार्लाङमा निरन्तर पहिरो बगिरहेको छ । पहिरोले बेला बेलामा बाटो बदलिरहन्छ । हिउँदमा केही सुख्खा स्थानहरूमा पहिरो थामिए पनि वर्षामा वारपार गर्ने बाटो बन्द हुने गरेको छ । करिब एक किलोमिटरदेखि तलमाथि १२ किलोमिटर सिङ्गो गाउँ नै बगेर बगर र भिर बनेपछि त्यस स्थलमा झाडी बञ्जर बनेको छ । यसको कारण स्थिर संरचनाहरू निर्माण गर्न नसकिएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताएका छन् । अध्यक्ष तामाङ वर्षमा दुई पटक बाटो बनाइने गरेपनि वर्षादमा पानीले र हिउँदमा सुख्खा पहिरोले बाटो बिगारिरहेको उल्लेख गर्छन् । “पैदल हिँड्न पनि त्राहिमाम् बनाइदिन्छ । गाउँ पालिकाको स्रोतबाट यो विशाल पहिरो रोक्न सकिन्न । त्यसैले यसका लागि सङ्घीय सरकार वा प्रदेश सरकारसँग सहकार्य गर्न लागिरहेका छौँ”, उनले भने । 

पहिरोले झार्लाङ एकै डाँडामा रहेको बस्तीलाई  पहिरो पारि र वारि दुई गाउँहरूमा विभाजन मात्र गरिदिएन, लामो पहिरो निरन्तर बगिरहने भएकाले वारपार गर्न सकिने अवस्था थिएन । पहिरो वर्षामा मात्र होइन हिउँदमा पनि खसिरहन्थ्यो । बाटोको नामोनिशान थिएन । त्यसैको कारण मिलेर बसेको गाउँ परदेशी जस्तो र सम्बन्धहरू बिरानो भइदियो । विद्यालय खोल्ने, बाटो बनाउने र विकास निर्माणका सानातिना सवालहरूमा पहिरो वारि र पारिको प्रतिस्पर्धा हुन थाल्यो । यसकै कारण पनि कहिले कहिले दुई गाउँहरू बिचमा अस्वस्थ्य प्रतिस्पर्धा बेमेल झैझगडाको स्तरमा पुगेको थियो । प्रतिस्पर्धाकै कारण एकै गाउँमा पहिरो पारि र वारि एकै गाउँमा दुई फरक फरक माध्यमिक विद्यालयहरू बनेका छन् ।

पहिरोपूर्व सम्म गाउँघरमा सुखै थियो । डोको बुन्ने, मान्द्रा, भकारी बुन्ने निगालाका घारी घरमाथिकै जङ्गलमा पाइन्थ्यो । भकारीमा टन्न आलु राखिन्थ्यो । केराउ, भटमास र गहुँको कमी थिएन । गोठमा ३०, ४० वटा भेडाबाख्राहरू र १०, १२ वटा गाईबस्तुहरू थिए । खानपिनमा कुनै दुःख थिएन । गोठ सार्दै सिङ्ल्हासम्म पुगिन्थ्यो । भेडीगोठ परम्परा आफ्नो यौवनमा थियो । जीवनको रौनक नै बेग्लै थियो त्यतिबेला । कहाँ कहाँबाट प्राकृतिक पहिरोको विनाशकारी आतङ्क आएपछि जीवन उजाड भइदियो । उतिबेला घरखेत जहान बगाएर पुनर्वास पुगेका कर्साङ लामा ग्रामीण सरल जीवन सम्झन्छन् ।

झार्लाङको पहिरोलाई दक्षिण एसियाकै ठुलो पहिरो भनेर पनि भनियो तर, त्यसको मानक कतै उल्लेख भएको भने छैन । पहिरो निकै ठुलो छ र यसको स्वरूप बदलिएर पश्चिमतर्फ फैलँदै गएको छ । चिन्ता बाँकी रहेका गाउँहरूमा पनि खतराको घण्टी बज्ने अवस्था आउँछ कि भन्नेतर्फ सतर्क रहनुपर्ने भएको छ । 

Jharlang Landslide

Photo : Raju Jhallu Prassad, Himal Darpan

२०११ सालदेखि बग्न थालेको झार्लाङको पहिरो अझै रोकिएको छैन । त्यतिबेला घरबास उजाडिएका बेला जन्मिएकाहरू पनि अब त पाका भइसकेका छन् । पहिरोबाट २०११ सालदेखि विपद् भोगिरहेकाहरूलाई बल्ल २०२९ सालदेखि २०३६ सालसम्म अनेक छिनाझपटी र कागजी झन्झटिला प्रक्रिया पूरा गरेर स्थानान्तरण गरियो ।

सुदूर पश्चिमको पुनर्वास (हाल नगरपालिका) मा लगेर बस्ती फेरिएपछि धेरैको धर्म फेरियो, परम्परा फेरियो । सँगसँगै जीवनशैली पनि पनि फेरियो । सुख दुःखमा साथ दिनेहरू पनि भए, साथ लिनेहरू पनि  भए  । पिता पुर्खाले आर्जेको थातथलो छोड्न सजिलो थिएन, त्यसैले कतिले लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासका पात्रले जस्तै रुँदै रुँदै गाउँ छोडे, कतिले छोडेपछि पनि केही वर्ष बिताएर फर्की आए । 

पुनर्वास नगरपालिकाका पूर्वप्रमुख जीवनराज थापा भन्छन्, “यहाँ आइपुगेका धादिङका पहिरो पीडितहरूको जीवन शैली निकै बदलिएको छ । उहाँहरू शिक्षामा अगाडि हुनुहुन्छ, श्रम, सीप र जाँगर र  सामाजिक रूपमा उहाँहरू अगाडि आउनु भएको छ ।”

झार्लाङमै जन्मिएर पहिरोकै कारण बसाइँ सराइ गर्दै पुनर्वास पुगेका सुदूर पश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङ भन्छन्, “मिश्रित समाज भएपछि सबैलाई चलाख बन्न र प्रतिस्पर्धा गर्ने बाध्यता आइलाग्दा चेतनाको उन्नयन हुनु स्वाभाविकै हो । धरै दाजुभाइको शैक्षिक र सामाजिक प्रगति भए पनि सबै जनाको आर्थिक हैसियत भने उस्तो बदलिन सकेको छैन ।” 

उतिबेलाको सरकारले पश्चिम तराईको पुनर्वासमा लगेर स्थापित गरेका करिब पाँच सयभन्दा ज्यादा परिवारले त्यहाँका सांस्कृतिक तथा राजनैतिक पृष्ठभूमि पनि दरिलो बनाइसकेका छन् र स्थानीय निकायहरूमा प्रतिनिधित्व धेरैले गरिसकेका छन् । 

उत्तरी धादिङको अन्न भण्डारको रूपमा रहेको झार्लाङ लेकाली आलु, जौ, गहुँ, केराउ तथा भटमास उत्पादनका लागि प्रख्यात छ । यहाँको आलु आएपछि धादिङ बजारमा खोसाखोससँग बिक्री हुन्छ । 

एकै डाँडामा रहेको बस्तीलाई झार्लाङ पहिरो पारि र वारि दुई गाउँहरूमा विभाजन भएपछि उत्पादनमा भन्दा सुरक्षाको चिन्ता भएको, निगालो पाइने जङ्गल पहिरिएको र चित्राफुङ्गा बुन्न कठिन बन्दै गएको छ । विगत ६६ वर्षदेखि मान्द्रा, थुन्से, डोका बुन्दै आएका राहुल ग्रेँबा तामाङ आफू घर खेत पहिरिएर पुनर्वास गएपनि त्यहाँ हुने बाघ भालुको डर र सालका ठुटा काट्न नसकेर फर्किएको र यही जन्मेको माटोमा पुरानै डोका डालाको पेसा गरिरहेको बताउँछन् । विगत सम्झँदै उनी भन्छन्, “अहिले पनि पानी पर्दा मुटु हल्लिन्छ र घरमा कोही नदेख्दा केही भइहाल्छ कि भन्ने अत्यास लाग्छ ।” 

Source: Journal of Nepal Geological Society, 2018, vol. 55 (Sp. Issue), pp. 103–108, Jharendra K.C., Deepak Gautam, Purushottam Neupane, and Kabi Raj Paudyal.

अहिले पनि झार्लाङ पहिरो वारि र पारिका करिब दुई सय बस्तीहरू जोखिममा नै छन् । उनीहरू घर परिवार छोडेर जानसक्ने अवस्थामा छैनन् । स्थानीय सरकारले वृक्षारोपण र भएका बोट बिरुवा संरक्षण गरेर रोकथामको प्रयास गरेपनि त्यो प्रयास मात्र पर्याप्त छैन । यसको दिगो समाधान खोज्न पालिकाले केन्द्र तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ । स्थानीय जनता आकाशमा बादल लाग्नासाथ सम्भावित खतराबाट भयभीत बन्ने अवस्थाको अन्त्यको खोजीमा छन् ।

Source: Journal of Nepal Geological Society, 2018, vol. 55 (Sp. Issue), pp. 103–108

सम्बन्धित समाचार