रामायणमा बहुविवाह सम्बन्धमा फसेकी महिलाको समस्या र एक आमाको अधिकारलाई किनाराकृत गर्दै केवल एक पुरुषको आफ्नो बुवा या भाइप्रतिको भक्तिको गुणगान गरिएको छ । आफ्नो अधिकारको दावा गर्ने कैकेयीलाई एक खराब आमाको रूपमा देखाइएको छ । शूर्पणखाप्रति पनि उस्तै घृणाभाव छ ।
रामायणसँग सम्बन्धित मेरा यादहरू स्मरण शक्ति विकसित हुनुभन्दा अघिदेखिकै हो भन्ने ठान्दछु । मलाई केवल अवसादले भरिएको तस्विरहरू, ठुलो आवाज र आफ्नो काटिएको नाकबाट निस्किरहेको रगतलाई सम्हाल्दै स्थानीय रामलीलाको अस्थायी मञ्चबाट भाग्दै गरेकी शूर्पणखालाई देखेर मान्छेहरूले निकालेको कर्कश हाँसो, दुर्गा पूजा पंडालको बाहिर बेचिने धनुष-वाण र दशहरामा कोलोनी पार्कमा कुनै पनि आममान्छेभन्दा विशाल दस टाउको भएको रावणलाई जलाएको याद आउँछ । त्यस समयमा मलाई त्यो काटिएको नाक पछाडिको हिंसा, खेलौना वाला हतियार या जलिरहेको पुत्लाबाट न त झट्का लाग्यो, न कुनै डर नै । सायद जङ्गल, पहाड र महासागर जस्ता क्षेत्रमा बसोबास गर्ने राक्षस र बाँदर ब्रिगेडको शानदार कथासँग मेरो परिचय सामान्य रुपमा तय भइसकेको थियो ।
यीयस्ता विषयवस्तुहरूबिच निलो शरीर भएको व्यक्ति मेरो लागि नौलो थिएनन् । यद्यपि त्यो व्यक्ति एक अवतार थियो । उसको कमल जस्तो आँखामा मेरो नजर गइरहन्थ्यो, क्यालेन्डरमा छापिएको भगवान् र मूर्तिहरूको झैँ उसको मुस्कान मनमोहक थियो । लता मंगेशकर र डीवी पलुस्करको मधुर आवाजमा उनलाई बाल्यकालमै मैले एक गीत “ठुमक चलत रामचन्द्र बाजत पैजनिया” द्वारा सजाएँ । सो गीतमा उन्लाई एउटा प्यारो बालकको रूपमा देखाइएको छ, जो हिँडेपछि पाउजुको छम छम आवाज निस्कन्छ ।
सन् १९६५मा आएको लोकप्रिय हिन्दी चलचित्रमा उनलाई “अल्लाह मेघ दे पानी दे छाया दे रे तू, रामा मेघ दे, श्यामा मेघ दे” गीतमार्फत एक किसान र दुनियाँको देवताको रूपमा देखाइएको छ, जसलाई खडेरी परेको धर्ती भिजाउनका लागि बादल र वर्षा पठाउन बिन्ती गरिएको थियो । त्यसैगरि. १९६७मा चलचित्र मिलनको “राम करे ऐसा हो जाए मेरी निंदिया तोहे मिल जाए” पङ्क्तिमा उनी आत्म-बलिदानी, प्रेमका परोपकारी प्रतीक थिए, जसलाई पीडितहरूका पालनहार बताइएको थियो । यता, नयाँ जमाना (१९७१)को मोडर्न युवतीहरूद्वारा पारिवारिक मापदण्डको उल्लङ्घन गर्ने बढ्दो प्रेमको असामान्य बेचैनी अभिव्यक्त गर्नका लागि पनि “रामा, रामा गजब हुई गवा रे, हाल हमरा अजब हुई गवा रे” को सहारा लिइएको थियो ।
यी सबै तस्विरहरु, प्रार्थना र गीत एक साथ मिलेर भावात्मक परोपकारसँग सम्बन्धित जटिल परिस्थिति बनाउँछन् । यसैगरि मलाई कसैले नभने पनि थाह भयो कि मीराबाईले १६ औँ शताब्दीमा रामका लागि गीत गाएकी थिइन्, “पायो जी मैने राम रतन धन पायो ।” गीतको मतलब कुनै रत्न या गहना नभएर यस्तो भक्तिभावको उजागर गर्नु थियो, जसले यो संसारलाई भौतिकवाद र पारम्परिकताबाट मुक्ति दिलाउँछ ।
यी सबै गम्भीर प्रार्थनाहरुका बिच कतै न कतै एउटा सहरको विनाश र एक गर्भवती श्रीमतीको परित्याग लुकेको थियो ।
मध्यमवर्गीय बङ्गाली घरका अधिकांश बच्चाहरूझैँ रामायणसँग मेरो पहिलो पाठ्य परिचय सत्यजीत रेका हजुरबुवा उपेन्द्रकिशोर रे चौधरीद्वारा लिखित ‘छेलेदेर रामायण (केटाका लागि रामायण)’ को माध्यमबाट भएको थियो । बङ्गालीमा ‘केटा’ एक कल्पित बालक हो, यो तथ्यका बाबजुद पुस्तकको शीर्षक यस्तो राखिएको थियो । उदाहरणका लागि, बाल्यकालको अर्थ केटापन हो र नर्सरी राइम्समा ‘छेले भुलानो छरा’ (केटालाई खुसी पार्ने केही छन्द) वाचन गरिन्छ । जहाँ, भाषाको व्याकरणमा लिङ्ग-तटस्थ छ, तर दैनिक जीविकोपार्जनको शब्दकोषमा भने केटीपन या एक लिङ्ग-तटस्थ बाल्यकालको अनुपस्थितिले ती तारिखहरू बताइरहेका छन्, जहाँ सम्पूर्ण संस्कृति शक्तिशालीको कैदमा हुर्किन्थ्यो ।
सन् १८९७मा प्रकाशित छेलेदर रामायण औपनिवेशिक राष्ट्रका बच्चालाई उनीहरूको विरासतसँग परिचित गराउनका लागि तयार गरिएको चौधरीको एक प्रयास थियो । पछाडि फर्किएर हेर्दा मलाई अचम्म लाग्छ कि त्यो शीर्षक दु:खद या अचेतन निन्दाको अभिव्यक्ति थियो । कथामा एक पुरुषोत्तम व्यक्तिको आदर्श, भाइचाराको बन्धन र ब्राम्हणहरूद्वारा सिकाइएको राजत्वको कर्तव्य जस्तै: कुलीन पुरुषको कौशल, इच्छा र लक्ष्यलाई जोडदार तरिकाले बताइएको छ । यो महाकाव्यमा लक्ष्मणद्वारा रावणकी बहिनी शूर्पणखाको नाक काटेकै कारण युद्ध सुरु भएको र, सोही कुराको प्रतिशोधमा शुर्पणखाको दाजु रावणले सीताको अपहरण गरेको कथा सगौरव सुनाइन्छ । तर, यस महाकाव्यमा महिलाहरूको आपसी प्रेम कतै देखाइएको छैन । महाकाव्यमा दशरथ र रामको जस्तो प्रेम भएको कुनै आमा-छोरी छैनन्, दुई दाजु-भाइ राम र लक्ष्मणको जस्तो कुनै दिदी-बहिनीको एकजुटता देखिँदैन । भलै सीता र लक्ष्मणकी पत्नी उर्मिला दुवै दिदी-बहिनी र देउरानी-भाउजू हुन् । महिलाहरूको आपसी मित्रताको एक मात्र उदाहरण कैकेयी र मन्थरा हो, जसलाई रामलाई सिंहासनको उत्तराधिकारीको रूपमा राज्याभिषेक हुन नदिने एक दुष्ट ‘साजिसकर्ता’ अर्थात् षयन्त्रकारीको रूपमा प्रस्तुत गरिएको छ । त्यसो हो भने यो कथा महिलाहरूको लागि के छ ? कृपया जवाफमा ‘सिता छ’ नभन्नु होला, किनकि हामी सबैलाई थाह छ, कथा कहाँ सकिन्छ भनेर ।
बङ्गालमा अन्य मान्छेहरूका झैँ मेरा लागि पनि छेलेदेर रामायण, भारतको औपनिवेशिक मुक्तिपछि १९५१मा कोलकाताको प्रतिष्ठित साहित्य संसदका बच्चाहरूको समूहद्वारा प्रकाशित अत्यन्त लोकप्रिय चित्रमय संस्करण थियो । यो ग्राफिक कथाको पहिलो फ्रेममा तीन सुन्दर महिलालाई अगाडी राखिएको छ । साथै एक विवरणमा लेखिएको छ, अयोध्याकी यी तीन रानीहरू सन्तान पाउन नसकेर दु:खी थिए । उनका पती दशरथको बारेमा नबताइए तापनि आफ्नो विशाल धनुष र तरङ्गका साथ उनको एक मधुर छवि देख्न सकिन्थ्यो । उनको जुँगा पहिल्यैदेखि सेतो थियो र उनको तुलनामा ती रानीहरू ह्रष्ट-पुष्ट र जवान देखिन्थे । तर म लोकप्रिय पुस्तक र केही पौराणिक कथाका माध्यमबाट धेरै कुरा सिक्ने कोसिस गरिरहेकी थिएँ, जबकि मेरो उमेर दोहोरो अङ्कमा पनि पुगेको थिएन । मैले सुनेअनुसार देवी गौरीले युगौँ तपस्या गरेपछि वृद्ध र विधुर शिवसँग विवाह गरेकी थिइन् । यसको धेरैपछि मैले मनुस्मृतिमा पढेँ, जुन अवश्य ब्राह्मणवादी हिन्दु धर्मको सबैभन्दा प्रभावशाली निषेधात्मक पाठ हो, जहाँ लेखिएको छ, “एक तीस वर्षीय व्यक्तिले बाह्र वर्षकी केटीसँग विवाह गर्नु पर्छ र चौबिस वर्षको पुरुषले आठ वर्षको केटीसँग ।” (९.९३)
क्षेत्रीय भाषाका लोकप्रिय साहित्य, विशेषगरि मेयाली छरा (महिलाहरूको मौखिक रूपमा गाइने कविता) ती महिलाहरूको आँसु र क्रोधको साक्षी बस्छ , जहाँ दुलाहा र दुलहीबिच उमेरको त्यो बेमेल अन्तरलाई परम्परागत गर्न बाध्य तुल्याएको थियो ।
मैले सिक्काले शंखको चुरा र कानको झुम्का किने
तर विवाहको समयमा मैले देखेँ कि त्यो मान्छे दाह्री भएको एक वृद्ध व्यक्ति थियो
बुवा र आमाको आँखामा आगो लाग्यो, र काकाले देखेनन्
कि यो तम्बाकु खाने मान्छे मेरो लागि धेरै वृद्ध भइसकेको छ!
या
रुँदै-चिच्याउँदै मैले काकासँग भनें
‘तिमीले मेरो लागि यति वृद्ध पति खोज्यौ
प्रिय काका म बिन्ती गर्छु
मलाई मेरी आमाकोमा फिर्ता लैजाऊ!’
तर यस किसिमका महिला अभिव्यक्तिहरू आज पनि जाति तथा लैङ्गिक पदानुक्रमको सामान रूपबाट मिलेको शक्तिद्वारा दबाइएको छ । लैङ्गिक पदानुक्रमका कारण निर्माण भएका वैचारिक श्रेणीहरूले ब्रह्माण्ड र देसीलाई शास्त्र मार्गभन्दा तल राखेर ब्राह्मण पुरुषको हिरासतमा राखेका छन् । अर्थ-निर्माणका यी सामाजिक प्रथाले सांस्कृतिक विभिन्न शैली (महाकाव्य र मेयेली छरा) लाई जुध्न दिँदैन, बोल्न दिँदैन । यसरी महिला आन्दोलनहरू सीमान्तकृत र घरेलु बनाइएका छन् ।
युवा पाठकहरूको आदर्श पुस्तक रामायणले पनि यसैप्रकार जोडदार तरिकाले यसकुरालाई प्रश्रय दिन्छ कि पत्नीले छोरालाई जन्म दिनुपर्छ । भलै,उनीहरू देखाउनका लागि ब्राह्मण ऋषि ऋष्यश्रृंगद्वारा गर्भ भर्ने अनुष्ठानबाट पनि दशरथका पत्नीहरूलाई छोरा प्राप्त भएको कथा देखाउन्, तर छोरी जन्माउनुलाई उनीहरूले सहज तवरले स्वीकारेका छैनन् । पीवी केनको १९५६मा धर्मशास्त्रहरूको इतिहासमा ब्राह्मणवादी हिन्दु धर्मको प्रभावशाली ग्रन्थद्वारा निर्धारित यी केही मौलिक अनुष्ठानलाई तालिकाबद्ध गरेका छन् । जहाँ पुरुषद्वारा प्रायश्चित, बलिदान र प्रार्थनाका अनुष्ठानको माध्यमबाट छोरा पाउन सकिन्थ्यो । यस किसिमका ‘नुस्खा (किस्सा)’ले महिलाहरूको प्रजननमा भूमिका र अधिकारलाई कम गर्थे । अझ, महिलालाई छोरा पाउन नसकेकोमा दोषी ठहर्याइन्थ्यो । मनुस्मृति ३.६१का अनुसार, ‘जब महिला पुरुषलाई फकाएर उत्तेजित बनाउन सक्दैनन्, तब बच्चा जन्मिन सक्दैन । र यदि कोही महिला बाँझी छ या जसले छोरी मात्र जन्माएको छ या बच्चाको मृत्यु हुन्छ भने केही वर्षपछि उसलाई छोड्न सकिन्छ ।’ (मनुस्मृति,९.८१)
यो त्यति आश्चर्यको कुरा होइन, लिङ्ग आधारित मुल्यको प्रभुत्व भएको संसारमा बच्चाका लागि लेखिएको धेरै रामायणको बङ्गाली संस्करण महिला सन्तापको वर्णनका साथ सुरु हुन्छ र महिलालाई कम्जोर तुल्याएर नै सकिन्छ । कथाको अन्त्यमा सीतालाई आभाका साथ धरती माताको रूपमा देखाइन्छ, जो सधैँका लागि पाताल लोकमा समाविष्ट हुन्छिन् । सुन्तले बादल जस्तो देखिने आगोको लप्कामा घेरिएकी सीताले सती प्रथाको याद दिलाउँछिन्, जसमा विधवाहरूलाई आफ्नो पतीको चितासँगै जलाइने गरिन्थ्यो । यो दृश्यमा सिता एक सती जस्तै विलीन भइरहेको देख्न सकिन्छ । यद्यपि पछाडि फर्किएर हेर्ने हो भने यो अर्थपूर्ण लाग्छ कि आखिरमा आमाले नै छोरीलाई पुरुषत्व सम्मानका क्रूर मानक र महिलालाई धोका दिने र सताउने चलनबाट बचाउनका लागि लगाइएको ‘गुहारको जवाफ’ दिएको हो । सितालाई उनकी आमाले यो दुनियाँबाट यस तरिकाले टाढा लैजानु अचम्म तरिकाको शान्ति दिने खालको थियो । त्यसैले रामको पुनरागमन र राम राज्यको प्रतिज्ञाको उत्सव मनाउनका लागि जलाइएका दियोका बिच मेरो बाल्यकालको रामायणले मलाई त्यो महान् महाकाव्यको याद दिलाउँछ । जबबाट म जन्मिएँ, मलाई यो महसुस भइरहन्छ कि सुरुदेखि नै केही अन्य महिला र केही पुरुषद्वारा महाकाव्यका केही प्रमुख नियमहरू अपनाइएको छ । र, यो पनि कि ‘सीतायन’को काम पनि अहिले चलिरहेको छ । जसको प्रचलित र बलियो सोच यही हुनेछ कि महिलाहरू पवित्र, एकसंगमनी र पतिव्रता हुनुपर्छ । वाल्मीकिको रामायणले चेतावनी दिन्छ कि नराम्री महिलालाई गुण र दोषबारे केही थाहा हुँदैन र केवल आफ्नो इच्छाले काम गर्छिन्, जसलाई ऊ आफ्नो पतीभन्दा पनि बढी महत्व दिन्छिन् । (अयोध्याकाण्ड, १०९.२५) तर महिला चाहे राम्री हुन् या नराम्री उसलाई सुरक्षाको आवश्यकता हुन्छ र कसैले पनि उनीमाथि धेरै भरोसा गरेर उनलाई आफ्नो रहस्य बताउनु हुँदैन । (अयोध्याकाण्ड, ९४.४०) यस्ता त्रुटिहरूको बाबजुद, रामायणले वास्तवमा उत्सव र दण्डको यो मूर्ति पूजक संरचनाभन्दा बाहिरका महिलाहरूको अझ जटिल र विविध चित्र देखाउँछ ।
कैकेयी र शूर्पणखाको खराब चित्रण
म रामायणमा दुई महिला पात्र कैकेयी र शूर्पणखालाई हेर्छु, जसलाई स्पष्ट रूपमा खराब चित्रण गरिएको छ । मेरो प्रयास महाकाव्यमा उनीहरूको खराब नियत बुझ्ने र यो अगाडी ल्याउने रहेको छ कि यो पुस्तकमा महिला इच्छा, विशेषाधिकार र निष्कासनको बारेमा केके लुकाइएका छन् । मैले यसका लागि वाल्मीकिको रामायण पढेँ । मैले यसलाई यसकारण रोजेँ किनकि यसलाई ‘आदिकाव्य’को संज्ञा दिइएको छ । रामकथा त्यतिबेला सुरु भए पनि यस विधामा लेखिएको यो पहिलो कविता हो । कवि एवम् विद्वान लेखक उमाशंकर जोशीले १९८१मा साहित्य अकादमीद्वारा आयोजित सम्मेलनमा यसलाई ‘इक्ष्वाकु वंशको वीर कथा’को रूपमा उल्लेख गरेका थिए । वाल्मीकिको रामायण या जसलाई आजकाल पढिन्छ, भारतको उत्तर-पूर्वी, उत्तर-पश्चिमी र दक्षिणी क्षेत्रका तीन मुख्य समीक्षकहरूको पुनर्निर्मित कथा हो, जुन संस्कृतिमा उपस्थित मिथकहरूको प्रमुख प्रवचनसँग जोडिएको छ । यद्यपि यसलाई छिटो-छिटो रामानन्द सागरले टेलिभिजनमा चलाएको हिन्दी संस्करणद्वारा मान्छेसम्म पुर्याईँदैछ, जसलाई प्रथम पटक १९८७मा दूरदर्शनद्वारा प्रसारित गरिएको थियो ।
धेरै पटक बलियोसँग यो तर्क दिइएको छ कि कैकेयी रामायणको मुख्य षडयन्त्रकारी एवं राम कथालाई अघि बढाउने मुख्य पात्र हो । उनी राजा दशरथकी तीन पत्नीमध्ये एक पत्नी हुन्, जसले सौतेनी छोरा रामलाई गद्दीबाट हटाउन महत्वपूर्ण भूमिका निभाइन् । साथै, रामलाई १४ वर्षका लागि वनवास पनि पठाइन् । कैकेयीलाई एक दुष्टको रूपमा हेरियो र उनको आफ्नो छोरा, जसलाई उनी राजनीतिक उत्तराधिकारीको रूपमा पेस गर्दै थिइन्, सहित सबैले कैकेयीको विरोध गरे ।
अर्को पुस्तक अयोध्याकाण्डको अन्त्यमा पश्चात्ताप गर्ने कैकेयीलाई पछि हटाइएको छ । यद्यपि उनी यादहरूमा एक कट्टरपन्थी आक्रामक र यस्तो महिलाको रूपमा जीवित हुन्छिन्, जसको कामुकताले प्राकृतिक पितृवंशीय र पितृसत्तात्मक परिवार नष्ट गर्छ । यो कुनै संयोग होइन कि हिन्दी चलचित्रमा “हुस्न के लाखो रङ्ग” गीतमार्फत आफ्नो सुन्दरता प्रदर्शन गर्ने लोकप्रिय अभिनेत्री पद्मा खन्नालाई सागरको रामायणमा यो रानीको भूमिका निभाउन रोजियो, जसले स्टेरियोटाइपलाई अझ बलियो बनाउन मद्दत गर्यो । कैकेयीलाई ब्राह्मणवादी पितृसत्ताको असल पतिव्रता महिला, जसका लागि ‘पतिको दासता नै मोक्षको एकमात्र बाटो हुन्छ’को ठ्याक्कै उल्टो रूपमा याद गरिन्छ ।
महिला यौनिकता (सेक्सुयालिटी)मा जोड दिनुले कैकेयीको प्रभावशीलतालाई कम गर्छ, जुन कतिपय ठाउँमा प्रदर्शित पनि हुन्छ । कथामा कैकेयीले आफ्नो पति दशरथसँग जे पनि माग्छिन्, उसको यो अधिकारबाट नकार्न सकिँदैन किनकि जब उनले आफ्नो पतिको ज्यान बचाएकी थिइन् । यसैकारण उनलाई दुई वटा वरदान दिने वाचा गरिएको थियो ।
जब देवता र असुरको युद्ध भइरहेको थियो, तिम्रो पति देवताहरूको राजाको सहयोग गर्नका लागि राजसी सिद्ध पुरुषका साथमा गए र उनले तिमीलाई साथ लागे.. जहाँ उनी घायल भएर बेहोस भएका थिए, त्यतीबेला तिमीले उनलाई त्यो युद्धबाट सुरक्षित बाहिर निकालेकी थियौ । जब तिम्रो पति शस्त्रले घायल भएका थिए, तब तिमीले उनको उद्धार गर्यौ… र त्यसैले आफ्नो कृतज्ञता स्वरूप उनले तिमीलाई दुई वरदान दिए । (अयोध्याकाण्ड, ९.९-१३)
एक कुलीन महिला जो आफ्नो भान्सा र शयनकक्षबाट प्राप्त हुने आरामको भोगी छिन्, दशरथलाई एक महायुद्धबाट कसरी निकाल्न सक्छिन् ? यसको जवाफ सायद कैकेयीको नाममै निहित छ, जुन केकया नामको स्थानमा राखिएको थियो । वाल्मीकिको रामायणमा अयोध्याको एकदम उत्तर-पश्चिममा पांचालदेश र कुरू जङ्गल (अयोध्याकाण्ड,६२.१०) बाट टाढा र बहलिकाको इलाकाभन्दा अगाडी केकयाको ठेगाना बताइएको छ, जहाँसम्म यात्रा गर्न भरतलाई लगभग सात रात लाग्थ्यो । प्रख्यात संस्कृत विद्वान र पुरातत्त्वविद् एचडी संकलिया भन्छन्, “केकयाको उल्लेख शतपथ ब्राह्मण (X.६.१–२) र छान्दोग्य उपनिषद (V.४)मा गरिएको छ र पछि पाणिनी (अष्टाध्यायी, ७.३.२)मा यसको उल्लेख गरिएको हो । केकयाको प्राचीन समाज योद्धा महिलाले भरिएको थियो, जो एक मूल्य तिरेपछि विवाह गर्थे ।”
अयोध्याकाण्ड, ९९.५मा धर्मको पालन गर्ने रामले भरतलाई भन्छन्, “मेरो प्रिय भाइ ! धेरै पहिला जब हाम्रो बुवा तिम्रो आमासँग विवाह गर्न लागेका थिए, तब उनले तिम्रो हजुरबुवालाई वधू-मूल्य वाचा (दुलही किन्ने एक मूल्य) दिएका थिए । र त्यो मूल्य तिमीलाई अयोध्याको राजा बनाउने वाचा थियो, जुन हाम्रो बुवाले तिम्रो हजुरबुवालाई दिएका थिए ।”
विवाह कुनै पनि व्यक्तिको सामाजिक यौन जीवन र अधिकारको व्यवस्था हो । महाकाव्यमा पनि विवाह संस्था स्पष्ट रूपमा एक सामान रूपमा चल्ने संस्था थिएन । दुलहीको मूल्य तिर्ने प्रथा, जसलाई अक्सर असुर विवाहको रूपमा बुझ्ने गरिएको छ, प्राचीन भारतमा प्रचलित थियो र महाभारतमा माद्रीको विवाह पनि यसको एक उदाहरण हो । यसका अलावा महिलाको विवाहको वाचाहरूलाई निर्धारित गर्ने अधिकारको उल्लेख महाभारतमा भेटिन्छ । उदाहरणका लागि शकुन्तला पौरवहरूका राजा दुष्यन्तलाई भन्छिन्, “मेरो छोरा जब जन्मिन्छ, उही तपाईँको उत्तराधिकारी र राजा बन्नेछ..यदि यस्तो सर्त पुरा हुनसक्छ भने तपाई मसँग बस्न सक्नुहुनेछ ।” (आदिपर्वन, ६७) पछि, कालिदासको नाटक अभिज्ञान शाकुन्तलमले महिला अधिकारको यो धारणालाई परिवर्तन गरिदिन्छ किनकि यसले शकुन्तलालाई कम बोल्ने बनाउँछ र यसमा राजाद्वारा आफ्नो छोरालाई उत्तराधिकारी बनाउने बाचालाई व्यक्तिगत या राजनीतिक नभएर एक अभिशाप र मधुरो स्मृतिको रूपमा दर्शाइएको छ ।
विवाहका अनेक मापदण्ड अन्य प्राचीन भारतीय ग्रन्थमा पनि भेटिन्छन्, जसमा ब्राह्मणवादी हिन्दु धर्मका नियम पनि सामेल छन् । उदाहरणका लागि, विवाहको आठ रूपको उल्लेख मनुस्मृतिमा भेटिन्छ तर ती विवाहको पितृवंशीय रूपका साथ पदानुक्रममा व्यवस्थित हुन्छन्,जसमा धेरै प्रकारका कन्यादान सामेल छन् र जसलाई उच्च दर्जा दिइने गरेको छ, जबकि त्यहाँ दुलहीको संरक्षणको हस्तान्तरण हुँदैन, जस्तो गन्धर्वलाई धेरै तल राखिएको छ । (३.२१.४५) लोक कथा, साहित्य र जनगणनाको रेकर्डबाट थाह पाउन सकिन्छ, पछिसम्म पनि दुलहीको मूल्य दिने प्रथा भारतको धेरै भागमा प्रचलित रह्यो । १९१७मा आएका शरतचन्द्र चट्टोपाध्यायको बङ्गाली उपन्यासमा देवदासको चर्चित प्रेम समस्यामा बदलिन्छ किनकि दुवै परिवार ब्राह्मण भएर पनि देवदासको परिवार पार्वतीको परिवारले दुलहीको मूल्य तिर्ने प्रथाको पालन गरेका कारण दीनहीन मान्छ।
कैकेयीसँग आफ्नो छोराका लागि अयोध्याको सिंहासन माग्ने प्रथागत (दुलहीको मूल्य) र वरदान दुवै अधिकार थियो । कैकेयीलाई केवल खराब महिलाको रूपमा चिन्नु विवाह संस्थाको भित्र महिलाहरूको अनेक भूमिकाहरू र अधिकारमा नियमित गिरावटको प्रमाण हो । त्यसमाथि, कैकेयीको रोदन र श्रापको बाबजुद, अयोध्याका जनताले भरतलाई आफ्नो राजाको रूपमा स्वीकार गर्न अस्वीकार गरिरहेका थिएनन् । (अयोध्याकाण्ड, ७३.१ र ७५,१०) भरतको अनुपस्थितिमा रामको राज्याभिषेक गर्नु दशरथले हतारमा लिएको निर्णय थियो, जुन त्यतीबेला लिइएको थियो- जब भरत शत्रुघनसँग आफ्नो हजुरबुवा र मामासँग भेट्न जान्छन् । यो त्यतीबेला अझ सन्देहास्पद हुन्छ, जब कैकेयीलाई सूचना या आमन्त्रित नगरी गरिन्छ ।
“मेरो मान्नु छ कि तपाईँको अभिषेकको लागि सबैभन्दा राम्रो समय त्यो हो जतिबेला भरत सहरभन्दा बाहिर हुन्छ ।“ (अयोध्याकाण्ड,४.२५)
रामायणको यो विवरणले दशरथले कैकेयी र केकयासँग गरेको आफ्नो वाचा पुरा गर्न नखोजेको प्रस्ट हुन्छ । उदाहरणका लागि, यो महाकाव्यले वंशवाद र त्यसलाई बलियो बनाउने प्रथा, जसमा सबैभन्दा जेठो छोरालाई राज्य विरासतमा दिइन्छ, लाई अगाडी ल्याएको छ ।
पितृवंशीय रीतिरिवाजले भरिएको यो संसारमा कैकेयीले जे गरिन्, त्यसले समस्या उत्पन्न गर्ने थियो । यी सबैलाई यौन सम्बन्धमा ढालेर हेर्नु पितृसत्ताद्वारा परिचालित समाजभित्र महिला सामर्थ्यको अवमूल्यनलाई सङ्केत गर्छ, जो जाति र वर्ग पदानुक्रमसँग मिलेर काम गर्छ । कैकेयीको जायज मागलाई निन्दनीय बनाउनाले पनि बहुविवाह सम्बन्धमा फसेका महिलाहरूको पीडा र चिन्तालाई बुझ्न अझै गाह्रो बनाउँछ । राजा परिवारमा बहुविवाह, जहाँ विवाह पनि राजनीतिक गठबन्धन हुन्थे, विरोधी पक्षको झगडा मिलाउने एक तरिका हुन्थ्यो । तर यस सन्दर्भमा महिलाको मागलाई महिलाबिचको सानो झगडाको रूपमा बुझेर खारेज गरिन्थ्यो । तर पनि रामायणमै एक यस्ती रानी छिन् जो यो मुद्दामा आफ्नो आवाज उठाउँछिन् । यो रामकी आमा कौशल्या हुन्, जसलाई पारम्परिक र लोकप्रिय रूपमा सज्जन, प्रेमपूर्ण, असल पत्नी र आमाको रूपमा देखाइएको छ । रामायणका निकै अंशमा उनी आफ्नो छोरा रामलाई भन्छिन्, “तर मैले जुन खुसी र आराम मेरा पतीको शासनकालमा पाउन सकिनँ, मलाई आशा थियो कि सायद मेरो छोराले त्यो दिन सक्छ । राम म तिम्रो बुवाको अन्य पत्नीहरूसँग बस्न सक्दिनँ।” (अयोध्याकाण्ड, १७.२० र २१.१५)
र यो वास्तवमा आश्चर्यजनक कुरा हुनुहुँदैन किनकि कौशल्या दुई होइन, तीन सय पचास सह-पत्नीमध्ये एक थिइन् । कैकेयी जस्तै कौशल्या पनि आफ्नो छोराको राज्याभिषेकमा आफ्नो र आफ्नो साम्राज्यको दयामा चल्ने अन्य कुलको भलाइ नै देख्थिन् । बहुविवाह सम्बन्धमा फसेकी महिलाको समस्या र एक आमाको अधिकारलाई रामायणमा किनाराकृत गरिएको छ र केवल एक पुरुषको आफ्नो बुवा या भाइप्रतिको भक्तिको गुणगान गरिएको छ । आफ्नो अधिकारको दावा गर्ने कैकेयीलाई एक खराब आमाको रूपमा देखाइएको छ । जसलाई उसको आफ्नै छोरा भरतले पनि अस्वीकार गर्छ किनकि उसले कौशल्यासँग रामप्रति बफादार रहने कसम खाएको छ । तर असल आमा कौशल्या पनि त्यति राम्री छैनन् किनकि रामको गुणगानमा उनले गरेका कामलाई लुकाइएको छ । उनी दशरथका सबै छोरा तपस्या, वैदिक पाठ र अन्य सबै गुणमा राम सामान होउन् भन्ने चाहन्थिन् । (अयोध्याकाण्ड, ४५.१०)
यहाँ यो पनि महत्वपूर्ण छ कि कैकेयीकी सल्लाहकार एक महिला, मन्थरा थिइन्, जो कैकेयीकी पारिवारिक नोकर थिइन् र उनको जन्मदेखि नै उनीसँग बसिरहेकी थिइन् । (अयोध्याकाण्ड, ७.१) मन्थराले नै कैकेयीलाई भरत राजा नबन्दा हुने क्षतिबारे बताएकी थिइन् । “राघव राजा हुन्छन् र त्यसपछि राघवका छोरा हुनेछन् भने भरत शाही उत्तराधिकारीबाट वञ्चित हुनेछन् ।” (अयोध्याकाण्ड, ८.१०) मन्थराको राजनैतिक कौशललाई उनलाई दुष्ट र द्वेषपूर्ण, पापी भनेर पर्दामा राखिन्छ । उनलाई कुबडाको रूपमा पनि वर्णित गरिएको छ, जसले गर्दा शारीरिक स्थितिलाई नैतिक भ्रष्टताको कारण बनाउन सकियोस् । मन्थराको कुबडको निन्दाले न केवल फरक क्षमता भएकाहरूका लागि कथाको दृष्टिकोण र त्यसको ऐतिहासिक मूल्यलाई उजागर गर्छ, कैकेयीको एक सभ्य पक्षलाई पनि देखाउँछ जसलाई समाजले ध्यान दिँदैन ।
‘तपाई हावामा कमल जस्तै झुक्नुभएको छ…तपाईँको छाती धनुषाकार छ, तपाईँको काँध जतिकै उच्च छ…र तपाईँको यो विशाल कुबड रथको पाङ्ग्राको केन्द्र जस्तै चौडा छ । तपाईँको चतुर विचार राजनीतिक ज्ञान र जादुई शक्ति सायद यसमा संग्रहित हुन्छन् ।'(अयोध्याकाण्ड, ९.३०-४)
मन्थरालाई केकयामा बस्ने र केकयाको स्वार्थका लागि सेवा गर्ने महिलाको रूपमा प्रस्तुत गरिएको छ । उनी जान्दथिइन् कि जबसम्म राम वनबाट फर्किन्छन् तबसम्म तपाईँको वफादार छोरा र उनका समर्थक गहिरो राज्यमा जरा जमाइसकेको हुनेछन् र जनताको मनमा ठाउँ बनाइसक्नेछन् ।’ (अयोध्याकाण्ड, ९.२५) तर राजनीतिक सत्ताको यो प्रतियोगितामा महिलाको मागको साधन बनाएर सांस्कृतिक रूपले अधर्मको रूपमा प्रस्तुत गरिएको छ । यसलाई राजतन्त्र र पितृसत्ताको उदय र पछि स्थापनाको सन्दर्भमा सम्पदाका बहुपरम्पराहरूसँग रामायणको सम्झौताको रूपमा पढ्न सकिन्छ ।
महिलाहरूलाई कारबाही गर्न उकास्ने यो कारण हानिकारक परिणामले भरिएको छ, जब सीता रामलाई सुनको हरिण ल्याउन पठाउँछिन् । तर यसपटक राम आफ्नो बुवा जस्तै क्रूर राजा हुनुको पाइलामा अघि बढ्छन् । र आखिरमा सीतालाई अयोध्याबाट निकालिन्छ । यद्यपि रामले यो स्वीकार गर्छन् कि ‘मलाई मनदेखि थाह थियो कि सीता शुद्ध थिइन्’ (उत्तरकाण्ड, ४४.९) । कैकेयीको विपरीत कथा सीतालाई न केवल कथाबाट बाहिर निकालिन्छ, पाताल लोकसम्म लैजान्छ । जहाँबाट उनलाई कुनै पनि हालतमा सुन्न सकिँदैन । यस प्रकार यहाँसम्मकी उच्च सङ्कल्प राख्ने महिला (उत्तरकाण्ड, ४६.६)लाई पनि आफ्नो पतीको राजनीतिक छवि र महत्त्वाकाङ्क्षाको हितमा बलि दिइन्छ । ताकी कसैले यसको नभनोस्- ‘र, रामले उसको तिरस्कार कसरी गर्न सक्दैनन् ? जसलाई लंका लगियो र उनले त्यहाँ के-के पो भोगिन् ? राक्षसको नियन्त्रणमा अशोक बाटिकामा राखियो र अब हामीले यो आफ्नो पत्नीलाई पनि बताउनु पर्छ । राजाले जे गर्छ, मान्छे सधैँ त्यसको पालना गर्छन्।’ (उत्तरकाण्ड, ४२.१८-१९) र यस प्रकार महिलाको सन्दर्भमा कुरा लागु हुन्छ ।
शुर्पणखा
शुर्पणखा रामायणकी अन्य महत्वपूर्ण प्रवर्तक र अगाडीको सोच राख्ने महिला हुन् । घरमा ५०/१०० सह-पत्नी र वेश्यासँग बस्ने असल महिलाका विपरीत ऊ एक्लै जङ्गलमा जहाँ मनलाग्छ, त्यहीँ जान सक्थिन् । (अरण्यकाण्ड, १८.२) जङ्गलले घेरिएको महाकाव्यको दुनियाँमा, जहाँ पाँच अप्सरा एक ऋषिका पत्नी छन् (अरण्यकाण्ड, १०.१६) । र अप्सराको मण्डली आउने इक्ष्वाकु सैनिकका (अयोध्याकाण्ड, ८५.५४) हरेक इच्छा पुरा गर्छन् । त्यहाँ शुर्पणखा आफ्नो यौन सम्बन्धलाई लिएर एक पछि अर्को, दुई पुरुषबाट अभिशप्त छिन् । त्यसमध्ये पहिलो राम हुन्, जो उनको मजाक बनाउँदै आफू पहिल्यैदेखि विवाहित रहेको बताउँछन् । तर राम उनलाई जिस्काउने हिसाबले सुझाव दिन्छन् कि उनले आफूजस्तै सुन्दर तर अविवाहित भाइसँग आफ्नो भाग्य जाँच्नु पर्छ । जुन सायद यस्तो संसारका लागि सही सुझाव हो, जहाँ पतिको पर्खाइमा बसिरहेका पत्नी गुमनामीमा मर्छन् । त्यहीँ लक्ष्मणले आक्रामकतामा आएर शुर्पणखाको नाक काट्नु आश्चर्यजनक होइन किनकि ब्राह्मणवादी साहित्यमा ती महिलाप्रति हेयभाव छ, जो आफ्नो इच्छा र अधिकारका लागि जागरूक छन् ।
वाल्मीकिको रामायणमा शुर्पणखाको परिचय पितृसत्तात्मक र ब्राम्हणवादी नजरबाट कुरूप र घैला जस्तो पेट भएकी, तामाको रङ्ग झैँ कपाल भएकी महिलाको रूपमा दिइएको छ । (अरण्यकाण्ड, १६.८-१०) तर उनी बताइएको झुटो, चुलबुल र दुष्ट चरित्रभन्दा उल्टो देखिन्छिन् । तुलसीदासद्वारा १६औँ शताब्दीमा लेखिएको रामचरितमानसमा शुर्पणखाको आकार र चलनले अनिवार्य र अनियमित रूपमा महिला कामुकतालाई दर्साउँछ । किनकि सुन्दर पुरुषलाई देखेर चाहे त्यो आफ्नो भाइ होस्, बुवा होस्, छोरा या गरुड, एक महिला उत्तेजित हुन्छिन् र आफ्नो जोसलाई रोक्न सक्दिनन् ।(१६.३)
शुर्पणखाको खराब आचरण नैतिक रूपमा मेरो बाल्यकालका रङ्गले भरिएको सचित्र वर्णनमा लक्षणको आधारमा पुष्टि गरिएको छ । साथै १९६०को दशकको उत्तरार्धबाट प्रचलनमा आएको अमर चित्र कथा नामको रामायणको ग्राफिक संस्करणमा शुर्पणखाको कालो छाला, ठुलो जनावर झैँ दाँतले खराबीलाई स्वाभाविक बनाएर प्रस्तुत गरिएको छ । कालो छालाको यो वर्णनलाई अन्य प्रचलित शास्त्रीय कथाले पनि बलियो बनाएका छन् ।
जस्तो कि देवी पार्वतीद्वारा शिवलाई प्राप्त गर्न, आफ्नो कालो रङ्गसँग छुटकारा पाउनका लागि गरिएको तपस्याको रूपमा देखिएको थियो । तर पनि म जहाँबाट आउँछु त्यस क्षेत्रका दुई राम, अठारौँ शताब्दीका रामकृष्ण सेन र स्वामी विवेकानन्दको आध्यात्मिक उपदेशक उन्नाइशौं शताब्दीका रामकृष्ण परम्हंश देवी कालीलाई मनाउँछन् । जादवपुर विश्वविद्यालयमा संस्कृतकी पूर्व प्रोफेसर सुकुमारी भट्टाचार्जीले बताइन् कि नारी, चामुण्डा, काली र दुर्गा जस्ता देवीका कालो रङ्ग र भयानक रूपले ब्राह्मणवादी हिन्दु धर्ममा अभिरस, शबरस र पुलिन्दास जस्ता सामाजिक समूहका शक्तिशाली पौराणिक देवताको प्रतिनिधित्व गर्छ । कालो छाला र फिजारिएको कपाल, रक्सी र मासुको सेवन, ठुलो स्वरले हाँस्नु र सिकारी र योद्धा जस्तै पराक्रम जुन यी देवताका पहिचान हुन्, शास्त्रमा दिइएको उनीहरूको शक्ति र लोकप्रियताको स्वीकृतिका साथ-साथै ब्राह्मणवादको घृणाको अवधारणालाई पनि चिन्हित गर्छन् । के रामायणमा देखाइएको शूर्पणखाप्रतिको घृणा अरू कथाहरू जस्तै यस्तै कथाबाट उत्पन्न हुन सक्छ ?
शुर्पणखा राम र लक्ष्मणसँग जङ्गलमा भेट्छिन् र, जङ्गललाई अयोध्यामा भयानक र डरलाग्दो मानिन्छ । (अयोध्याकाण्ड, ४.२ र २५.५) तर यो भयानक जङ्गल पनि एक विवादित क्षेत्र हो किनकि यहाँ धेरै पूजा गरिने गरिएको छ, जसका कारण ब्रह्मको आवाज जङ्गलमा गुन्जिन्छ, यहाँ आश्रमको शृङ्खला छ, जसलाई (अरण्यकाण्ड, १.५ र १.९) राक्षसहरूबाट एकदम खतरा छ । तर, महाकाव्यमा जङ्गलमै किन राक्षसको सामना हुन्छ ? यो एक यस्तो प्रश्न हो, जुन सोध्न जरुरी छ । रामायणमा बताइएको जङ्गललाई मुख्य रूपमा धर्म र अधर्मबिच युद्ध लडिने मैदानको रूपमा प्रयोग गरिन्छ, र जुन सायद नैतिकता परीक्षण गर्ने मैदानभन्दा निकै अधिक छ । यो सुनौलो चामल उत्पादन गर्ने (अरण्यकाण्ड, १५.१७) अनमोल भूमि हो, जसका लागि अयोध्याका राजाले पहिल्यैदेखि त्यहाँका निवासीहरूबाट कर लिने गर्थे । यद्यपि यसमा दानवहरूले पनि आफ्नो वासस्थान भएको दाबी गरेकाले यसको स्वामित्वको विवाद भएको छ । (अरण्यकाण्ड, १६.११) उनले अगस्त्यको आश्रम रहेको भारतको दक्षिणी क्षेत्रमा आफ्नो अधिकार त्यागेका थिए । (अरण्यकाण्ड, १०.८०-२) तर, सार्वजनिक स्थानमा राक्षसहरूको गण (अरण्यकाण्ड, १७.२५)को कब्जा मानिन्थ्यो, जो इक्ष्वाकुको वंशको सट्टा पौलस्त्यका प्रति वफादार थिए, जसका मुखिया रावण थिए । महाकाव्यको अन्तिम भाग उत्तरकाण्डले राक्षसहरूको वंशावलीवर्णन गरेको छ, जसमा पुलस्त्यलाई ब्रह्माको हजुरबुवा बताइएको छ । (२.४)
राक्षसहरूको अतुलनीय शक्तिलाई नकार्न सकिँदैन थियो, त्यसैले जङ्गलमा बस्ने सन्यासीले आफ्नो रक्षाका लागि (अरण्यकाण्ड, ५.४-५) रामलाई राक्षसहरूको सर्वनाश गर्न अपिल गर्नु पर्यो । कुनै सुरक्षा प्रदान नगरेरै राजाद्वारा करको रूपमा उब्जनीको छैटौँ भाग लिनु एक किसिमले अनैतिक हुन्छ । राम नै थिए, जो जङ्गलमा पनि राजस्व जम्मा गर्ने सही तरिका जान्दथे ।(अयोध्याकाण्ड, १.२०) र जसलाई सीताद्वारा बिना कुनै उक्साहट लापरबाहीपूर्वक हिंसा गरेकोमा हकारिन्छ ।
मलाई डर छ कि कुनै पनि वानवासीलाई देखेर तपाई आफ्नो तिर चलाउन मजबुर हुन सक्नुहुन्छ । बिना कुनै कारण र उक्साहट, के तपाईँले धनुष उठाउनु हुन्छ ? तपाईँको ध्यान राक्षसको विनाश गर्न तिर मोडिनु पर्छ, न कि कुनै पनि गलत काम नगर्नेमाथि ! (अरण्यकाण्ड, ८.६ र ११.२३)
जुन कुरा यहाँ निस्किएको छ, त्यो यो हो कि वनमा बस्ने मान्छेहरू जो ब्राह्मणको अतिक्रमणको विरोध गर्थे, किनकि उनीहरूको अग्नि पुजाले आफ्नो हरियो निवासस्थानलाई सम्भावित रूपमा नोक्सान पुर्याउँथ्यो, उनीहरूलाई राक्षसको संज्ञा दिइने गरिन्थ्यो । रोमिला थापरद्वारा महाकाव्यमा राज्य र जङ्गलका बिच खोज गर्दै बताइएको छ कि विन्ध्य क्षेत्रमा राक्षस शब्दको अर्थ सायद ताम्रपाषाण संस्कृति र सहस्राब्दी इसा पूर्वमा कालो र रातो देखिने मान्छेको रूपमा चिनिन्थ्यो । पुराणको भन्नु छ कि राम जङ्गलमा वनवास गएपछि जङ्गल राक्षसबाट मुक्त भएको थियो, जहाँ पछि रामका छोरा कुश र उनका वंशजद्वारा एक राज्यको स्थापन गरी सञ्चालन गरिएको थियो । यी राक्षस मध्यमा गङ्गा घाटका नाडी र जङ्गलको प्रारम्भिक र अल्पविकसित कृषि संस्कृतिबाट पनि हुन सक्छन्, जुन त्यो समय आर्यका लागि विदेशी जस्ता थिए । जस्तो कि शुर्पणखा नामबाट पनि थाह हुन्छ- सुप जस्तै नङ भएकी एक महिला । थोरै संस्कृतिको ज्ञान हुनु पनि थोरै ज्ञान हुनु जस्तै खतरनाक हुन्छ किनकि हामीमध्ये अधिकांश यो मान्छौँ कि शुर्पणखा नाम उसको तिखो नङ या उसको तिखोपनमा आधारित रहेर राखिएको हो ।
राक्षसको मूल र ऐतिहासिक स्थान जो पनि त्यहाँ बस्थे, उनीहरू ब्राह्मण र उनीहरूका आश्रमलाई निरन्तर अतिक्रमणको चुनौती दिने र लालची शासकबाट जङ्गल बचाउने काम गर्थे । जो वनमा बस्ने मान्छे र आदिवासी समुदायको द्वेषपूर्ण पौराणिक कथाका माध्यमबाट ब्राह्मण साहित्यमा लगातार बढ्दै गए र आखिरमा भूमिका मूल निवासी बडो सफाइपूर्वक आफ्नै जमिनबाट बाहिर पुर्याइए । पौराणिक कथामा निषाद समुदायलाई होचो र कालो भएका कारण राजा वेनाको तिघ्राबाट उत्पन्न भएको समुदाय मानियो, जो ब्राह्मणभन्दा एकदम विपरीत मानिन्छन् । यसका अलावा गुप्त कालका अभिलेखकिय रेकर्डले पनि वनमा बस्ने जनजातिका विरुद्ध हिंसाको उल्लेख गर्छ । यस मामिलामा ब्राह्मणवादी कथामा राक्षसलाई मुख्य रूपमा काँचो मासु खाने र जङ्गलमा महिलाहरू स्वतन्त्र रूपमा एक्लै आवतजावत गर्ने सन्दर्भमा अपमानजनक सन्दर्भ पनि आएको छ। (अरण्यकाण्ड, ९.११) (अरण्यकाण्ड, १६.१८)
राक्षसहरूलाई अत्यधिक इच्छासँग जोडेर हेरिन्थ्यो, खासगरि कामेच्छाबाट । र, वाल्मीकिको रामायणमा अयोध्या र लङ्काका बिच एक पहिलो अन्तर कामुक विलासिता हो, जसलाई पछि सजीव ढङ्गले सुन्दरकाण्डमा हनुमान सीताको खोजको रूपमा वर्णित गरिएको छ । वाल्मीकिको घडा जस्तो पेट भएकी शुर्पणखाले प्रतीकात्मक रूप भन्दा धेरै इच्छातिर इशारा गर्छे, जसले लक्ष्मणलाई रामद्वारा दिइएको निर्देशनलाई पनि सही ठहर्याउछ ।
यो हाम्रो जातिको दुर्भाग्य नै हो कि सेतो कपाल भएकी बुढी यो राघवसँग भिड्नका लागि यति अनुपयुक्त थिइन्, उसलाई त्यहाँ जान भनियो । यो एक अनुचित र हास्यास्पद काम थियो, जसको सबैले निन्दा गरे र यसले दुसाना, खारा र अन्य सबै राक्षसलाई नष्ट गरिदियो । (उत्तरकाण्ड, ८२.९-१०)
शान्तिका लागि महिलाहरू एकजुट हुनु आवश्यक रहेको वाल्मीकिको रामायणमा दिइएको एक महत्वपूर्ण नैतिक सबक हो, जसमा समकालीन समयका लागि जरुरी सिख लुकेको छ । यसमा कुनै आश्चर्य छैन कि यो सन्देश लङ्कामा रामको जितपछि सीताद्वारा दिइएको हो किनकि उनी ती राक्षसलाई दण्ड दिन चाहँदिन थिइन्, जसले उनलाई धम्की र पिडा दिन्थे ।
“एक महान् व्यक्ति व्यक्तिले कहिल्यै पनि नराम्रो काम गर्नेहरूसँग त्यो कामको बदला लिँदैन” (युद्धकाण्ड, १०१.३५) सीताको नजरमा राक्षस पनि राज्यका नागरिक थिए । (युद्धकाण्ड, १०१.३०) र यसप्रकार अत्यधिक लोकप्रिय रामायण विभिन्न तरिकाले एक प्रासङ्गिक र शक्तिशाली कथा बनेको छ । यसको एक अनौठो आधार निर्मित परम्पराको नाममा जुन जाति र लिङ्गका संरक्षकहरूले खारेज गरेका थिए, त्यसलाई पुनः पाउन मदत गर्छ ।
भारतीय साहित्यिक इतिहासको सबैभन्दा विशिष्ट र अनौठो विशेषतामध्ये एक रामकथाको निरन्तरता र विभिन्न धार्मिक परम्परामा कथा प्रदर्शन गरिने विभिन्न तरिका छन् भनिन्छ, जुन ठिक पनि हो । यद्यपि के महिला बिना रामायणको कल्पना गर्न सम्भव छ ? न कुनै कैकेयी, न शुर्पणखा र न त सीता ? र, फेरी पनि जब रामायणमा महिलाको कुरा आउँछ, सोर्हौं शताब्दीका केही उदाहरणमा आएर ध्यान रोकिन्छ, क्रमशः : बङ्गाली र तेलुगुमा चन्द्रवती र मोल्लाका उपन्यास के यो भन्दैनन् कि यी कथामा लेखक युद्धमा केवल सरसर्ती रूपमा तर सीताको दुःखमा अधिक ध्यान केन्द्रित गर्छन् । र पछि सीतालाई निर्दयतापूर्वक अस्वीकृति दिनबाट अस्वीकार गर्छन् ?
मोल्लाले भनेसरह एक कविता सधैँ तुरुन्तै बुझिने खालको हुनुपर्छ तर यदि त्यसको चेतनामा छेडछाड गरिएको छ भने हामीले त्यसलाई कसरी बुझ्ने ? रामायणसँग सम्बन्धित महिलाहरूको लोक गीत संग्रहित गर्ने नबनीता देव सेन भन्छिन् कि बङ्गाली गीतमा अक्सर रामलाई सीतालाई छोडेकोमा पापी-पापी र पत्थर जस्तो मन भएको भनिएको छ, जबकि मराठी गीत एक बहिनी जस्तै सीताको दुःख बाँड्ने र महिलालाई प्रोत्साहन गर्ने खालका हुन्छन् । तर यी आवाजहरू लौकिक र देसीलाई रामायण जस्तो प्रमुख शास्त्रीक कथासम्म पुर्याउने अनुमति छैन, जहाँ रामको फिर्तीलाई एक शुभ अवसरको रूपमा हेरियो, जहाँ सीताले छोरालाई जन्म दिइन् । (उत्तरकाण्ड, ४१.१५)
मलाई याद छ कि १९९० को दशकको सुरुआतमा बहुभाषी र मानवतावादी विद्वान शिशिर कुमार दासले शास्त्रीय साहित्यमा एक कार्यक्रमका बेला दिल्ली विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधित गर्दै सोधे, “तपाईँमध्ये कति जनालाई रामायणको बारेमा थाहा छ ?” आपसी भिन्नताका बाबजुद हामी सबैले हात उठाएका थियौँ । आफ्नो आँखामा एक चमकका साथ उनले अगाडी सोधे, “र तपाईँमध्ये कति जनाले रामायण पढ्नुभयो ?” यसपटक सायदै कसैले हात उठाएका थिए । सबैको मान्नु थियो कि उनी संस्कृतमा लेखिएको मूल रामायणको कुरा गर्दै थिए, जबकि हामीले असङ्ख्य शैलीमा यसलाई पढ्यौँ, सुन्यौँ र हेर्यौं ।
यो समय हिन्दु धर्मको केन्द्रमा रहेको र केही रामायणमा स्पष्ट रूपमा देखिने सार्थकताको शृङ्खलालाई तोड्ने र बहुस्वरतालाई बलियो बनाउने हो । परम्पराको नाममा यो समाजलाई जुन आकार दिइएको छ, जाति-पितृसत्तात्मकमा आधारित समाजका असल महिलाको उल्टो हामीलाई उसको हँसिया खोज्न र प्रश्न उठाउन जरुरी छ । (अयोध्याकाण्ड, १४.१) यो एक यस्तो बाटो हो जसबाट शक्तिशाली व्यक्ति पनि बचेर निस्किए ।
रामायणको अन्त्यमा सीताले आफ्नो परित्यागको विरोध गर्दै सोधेकी थिइन्, “मैले के पाप गरेकी थिएँ, या मैले कसलाई उसको पत्नीसँग छुट्टाएँ कि म निर्दोष, गुणी आचरण भएकी पत्नीलाई यो धरतीका स्वामीले त्याग गरिदिए ?” (उत्तरकाण्ड, ४७,४)
त्यही समकालीन दलित र नारीवादीको आवाजलाई उठाउने हिरा बन्सोडे पनि यति शक्तिशाली रूपमा आफ्नो कवितामा प्रश्न गर्छिन् :
शबरी
तिमीले बयर खुवाउनुको साटो
भूत र भविष्य दुवै थाह पाउने आफ्नो सर्वज्ञ रामसँग
एकलव्यको औँलाको हृदय विदारक बलिदानको बारेमा,
निर्दोष सीताको निष्कासनको बारेमा
किन सोधिनौँ ?
सास्वती सेनगुप्ता दिल्ली विश्वविद्यालयको मिरांडा हाउसमा अङ्ग्रेजी साहित्य पढाउँछिन् । उनको सबैभन्दा पछिल्लो काम ‘म्युटेटिङ्ग गडेस : बङ्गाल्स लौकिक हिन्दुइज्म एण्ड जेन्डर राइट्स’, अक्स्फर्ड युनिभर्सिटी प्रेसद्वारा प्रकाशित छ।
ओशीन शिवा तमिलनाडुकी एक बहुआयामिक कलाकार हुन्, जो हाल गोवामा बसोबास गरिरहेकी छन् । अतियथार्थवाद, काल्पनिक कथा र विज्ञान कथाको नजरबाट उनी मिथकीय कथामा वर्णित दलित एवम् तमिलका कुराअहरूलाई पुनर्विचार गर्छिन् ।
कारवां म्यागेजिन प्रकाशित यस निबन्धलाई सुरज पराजुलीले नेपालीमा अनुवाद गरेका हुन् ।