बुधबार , साउन ९, २०८१

पर्यटनको एक अध्याय कालीगण्डकी करिडोर

image

अहिले पर्यटकहरु प्रकृतिको खोज अध्ययन अनुसन्धानमा रुचि राख्न थालेका छन् । सदावहार बगिरहने हिमनदीहरुको उद्गमस्थलदेखि नदीले बनाएको उपत्यका र घाटहरुको बारेमा पनि पर्यटनको माध्यमबाट खोज अध्ययन हुन थालेको छ । पर्यटनको क्षेत्रमा यसलाई नयाँ सोचको विकास मान्नुपर्दछ । आन्तरिक पर्यटक धेरै तीर्थाटन गर्ने हुन्छन् । कालीगण्डकी करिडोर निर्माण भएपछि धेरै तीर्थाटनका पर्यटकहरु मुक्तिनाथ पुग्ने गर्दछन् । तीर्थाटनको लागि मुक्तिनाथ यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ । मुक्तिनाथमा ज्वालादेवीको मन्दिर छ । मुक्तिनाथको ज्वालामाई परापूर्वकालदेखि अहिलेसम्म पानीमाथि ज्वाला बलिरहेको छ ।

विष्णु भगवानको साक्षात रुप मानिने अति दुर्लभ शालिग्राम पाइने मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्व समेत रहेको छ । कालीगण्डकी करिडोर नवलपुरको गैँडाकोटदेखि उपल्लो मुस्ताङको तिब्बतसँगको सिमा कोरला नाकासँग करिब चार सय ३५ कि.मि.पर्दछ । गैँडाकोटबाट पाल्पाको राम्दीसम्म १ सय ३२ किलोमिटर करिडोरको सडक निर्माण सम्पन्न भएको छ । राम्दीदेखि पाल्पाको रानीघाटसम्मको सडक निर्माणाधीन अवस्थामा छ । रानीघाटदेखि रिडी, रुद्रवेनी हुँदै गुल्मीको पूर्तिघाट, ज्यामिरेघाट भएर बाग्लुङको जैमिनी र बलेवा हुँदै करिडोर कालीगण्डकीको बाग्लुङ–पर्वत जोड्ने मालढुंगाको पुलमा जोडिन्छ । त्यसपछि करिडोरको सडक म्याग्दी हुँदै गलेश्वर, तातोपानी, दाना, लेते हुँदै जोमसोम र कागवेनी भएर उपल्लो मुस्ताङको कोरोला नाका जोडिन्छ । करिडोरमा मध्यपहाडी लोकमार्गले मालढुंगामा र सिद्धार्थ राजमार्गले राम्दीमा जोडिएको छ । यो बाहेक दलदले–बुलिङटार, खैरेनी भिमाद हुँदै बुलिङटार र केलादी भएर पाल्पाको रामपुर, पाल्पाको आर्य भञ्ज्याङ–रामपुर, स्याङ्जाको गल्याङ चापाकोट हुँदै रामपुर मात्र नभएर पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जा जिल्लाको सडक सञ्जाललाई समेत करिडोरले रिडीमा जोड्छ ।

कालीगण्डकीमा तीर्थाटन पर्यटकहरुका लागि एक सय ४८ वटा घाट पर्दछन् । कोरला नाकाबाट दुई सय ५७ कि.मि.पार गरेपछि तिब्बतको कैलाश मानसरोवर पुग्न सकिन्छ । करिडोर घुमफिर र तीर्थाटन गर्नको लागि पर्यटकहरुले प्याकेज कार्यक्रम बनाउँदा राम्रो हुन्छ । करिडोरमा कुन ठाउँबाट प्रवेश गर्ने ? कुन–कुन घाटमा पुग्ने ? अथवा देवघाटदेखिनै कोरला नाकासम्म एकै पटक पुग्ने ? आफ्नो यात्राको समय र आवश्यक खर्चको जोहो गरेपछि घुम्न निस्कदा राम्रो हुन्छ । यात्रामा बलेरो अथवा स्कारपियो भयो भने करिडोरमा घुमफिर गर्दा सजिलो मात्र होइन समयको समेत बचत हुन्छ । देवघाटदेखि कोरोला नाकासम्म एकै चोटी घुम्नको लागि समय नहुने पर्यटकहरुले कालीगण्डकी करिडोरलाई आफ्नो अनुकूल अनुसार खण्ड–खण्डमा बिभाजन गरेर पनि घुम्न सकिन्छ । करिडोरलाई देवघाट, कालीगण्डकी उपत्यका, रिडी खण्ड, पर्वत, बाग्लुङ र म्याग्दीको खण्ड, त्यसपछि जोमसोम, मुक्तिनाथ र उपल्लो मुस्ताङ अर्थात कोरोला नाका सम्मको घुमफिरको यात्रा तय गर्न सकिन्छ ।

कालीगण्डकीको उद्गमस्थल मुस्ताङको उत्तर पूर्वी नेपाल तिब्बत सीमामा रहेको न्हुबिने हिमालको छौमा नामको पानीको झरना हो । न्हुबिने हिमालदेखि छौमा नामको पानीको झरना उद्गम भएर केही किलोमिटर दक्षिण पुगेपछि उत्तर–पश्चिममा पर्ने लोमान्थाङ क्षेत्रको न्हेचुङ खोला मिसिन्छ । न्हेचुङ खोला मिसिए पछि छौमा भन्ने खोलाको नाम फेरिन्छ । त्यसपछि कागवेनी नपुगुन्जेलसम्म मुस्ताङ खोलाको नाम हुन्छ । उपल्लो मुस्ताङमा पर्ने दामोदरकुण्डबाट बग्दै आउने खोला पनि मुस्ताङ खोलामा मिसिन्छ । कागवेनीमा मुक्तिनाथको १०८ धाराको पानी स्थानीय भाषामा झोङोला अर्थात कसैले काक खोला र कृष्णा नदी पनि भन्छन् त्यो पानी कागवेनीमा मिसिएपछि नदीको नाम कृष्णागण्डकी अथवा कालीगण्डकी भन्ने गरिन्छ । कागवेनीदेखि देवघाटसम्म कालीगण्डकीको दूरी ३३८ किलोमिटर पर्दछ । कालीगण्डकी मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, नवलपुर र तनहुँ समेत ९ जिल्लाको बीचबाट बग्छ । देवघाटमा कालीगण्डकी त्रिशुलीमा मिसिएपछि नदीलाई नारायणी अथवा सप्तगण्डकी पनि भनिन्छ । त्यसपछि नारायणी नदी चितवन र नवलपुरको सीमा बन्दै त्रिवेणी अर्थात भैसालोटनमा पुगेपछि भारतको बिहारमा पर्ने सोनपुर नजिकको हरिहर क्षेत्रमा पुगेर गंगामा मिसिन्छ ।

नेपालका हिमनदीहरुमध्ये कालीगण्डकीको महिमा अन्य नदी भन्दा फरक रहेको छ । कालीगण्डकी गण्ड ऋषिको नामबाट नामाकरण भएको हो । कतिपय नदी तिब्बतबाट शुरु भई नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भई देवघाटमा पुगी त्रिशुली नदीमा विलय हुन्छ । कालीगण्डकी तीर्थाटन पर्यटनका लागि ऐतिहासिक मठ मन्दिर, स्नानको लागि घाट र धार्मिक, सांस्कृतिक पर्यटकीय महत्व धेरै रहेको छ । कालीगण्डकीमा दुर्लभ शालिग्राम पाइने र मुक्तिनाथदेखि देवघाटसम्मका कालीनदीको घाटमा तीर्थाटनका पर्यटक स्नान गर्न पुग्छन् । पर्यटनका लागि कालीगण्डकी करिडोर धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्व समेत रहेको छ । कालीगण्डकीको किनारमा पाइने ढुंगालाई शालिग्राम भनिन्छ । शालिग्राम भित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष पाइन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो । शालिग्रामको भित्रि भागमा सुनलगायतको धातु र भगवान् विष्णुको हतियार अर्थात सुदर्शन चक्रको आकार बनेको हुन्छ । चार रंगमा पाइने शालिग्राम कालो रंगको महत्व मानिन्छ । विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा कालीगण्डकीको बेग्लै पहिचान बनेको छ ।

कालीगण्डकी मुस्ताङ पार गर्दै अन्धगल्छी हुँदै गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, मालढुङगा नजिकै काठेखोला, कुश्मामा मोदी खोला, जैमिनी घाटमा ठेउले खोला, गुल्मी र पर्वतको सगमा रहेको पूर्तिघाट, ज्यामिरेघाट हुदै मिर्मीमा आँधीखोला कालीगण्डकीमा मिसिन्छ । मीर्मीबाट कालीगण्डकी पश्चिमतर्फ मोडिन्छ । रिडिमा पुग्दासम्म रुद्रबेनीमा बडीगाड र रिडीमा रिडी खोला मिसिन्छ । रिडीमा पुगेको कालीगण्डकी त्यहाँबाट फेरी पूर्व मोडिन्छ र रानीघाट हुदै कालीगण्डकी राम्दीघाटबाट दक्षिण लागेपछि स्याङजा चापाकोटमा ज्याग्दी खोला, स्याङजा–तनहुँको सिमामा डुभ्रीबेसी खोला र नवलपुर–पाल्पाको सिमामा निस्ती खोला पनि कालीगण्डकीमा मिसिन्छ । पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीघाट तीर्थाटन पर्यटकहरुका लागि महत्वपूर्ण मानिन्छ । राम्दीघाटमा अगाहखोला, गुरुवाखोला र कालीगण्डकी मिसिएर त्रिवेणी बनेको छ । राम्दीघाटमा ऐतिहासिक, प्राचीन सिद्ध गुफा, शिवालय, राधाकृष्णको मन्दिरमा समेत तीर्थाटनका पर्यटकहरु तीर्थाटन र अवलोकन गर्न सक्छन् । राम्दीघाट नजिक महालिङ्गधाममा कालीगण्डकी तीन किलोमिटर उत्तरतर्फ फर्केर बगेको छ । उत्तरवाहिनी धार्मिक दृष्टिकोणले निकै दुर्लभ र महत्वपूर्ण मानिन्छ ।

राम्दी भन्दा तल कालीगण्डकी उपत्यका पर्दछ । पाल्पा, नवलपुर, तनहुँ र स्याङ्जाको भूगोलका बीचमा बग्ने कालीगण्डकी  उपत्यका सुन्दर देखिन्छ । यो उपत्यका लुम्बिनी र गण्डकी प्रदेशको सीमा पनि पर्दछ । उपत्यकामा मनोरम प्राकृतिक सौन्दर्यले सजिएका पहाडी श्रृंखलाका बस्तीहरु पनि यात्राको क्रममा पर्यटकहरुले देख्न सक्छन् । उपत्यकाभित्र लेक, बेसी समतल मैदानी भाग, बीचमा बग्ने कालीगण्डकीले उपत्यकाको सुन्दरताले सबै पर्यटकलाई लोभ्याउँछ । उपत्यकाभित्र रहने विभिन्न जातजाति विविध कला, संस्कृति, रीतिरिवाज, परम्परा, भेषभूषाले यात्रामा छुट्टै आनन्द दिन्छ । उपत्यका वरपरका पहाडमा ऐतिहासिक कोट, गढी, किल्ला दरवार र ऋषिमुनिहरुका बिभिन्न घाटमा रहेको तपोभूमिले पर्यटकहरुलाई थप अध्ययनको विषय बन्दछ । कालीगण्डकी उपत्यकाका दर्जनौं घाट तीर्थाटनको लागि पवित्र मानिन्छ । अर्सदीघाट, हुँगीघाट, माझीगाउँ, रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, ज्याग्दीघाट, रामघाट, केलादीधाम, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खर्सराघाट, घुमरीघाट, कोटथरलगायतका तीर्थाटन घाटको छुट्टा–छुट्टै महत्व रहेको छ । यी सबै घाटहरुको तीर्थाटन र खोज अध्ययन अवलोकन पर्यटकहरुले गर्न सक्छन् ।

कालीगण्डकीको घाटमध्ये स्याङ्जा, पाल्पा र तनहुँको सीमामा पर्ने केलादीघाटको महत्व भिन्न छ । हिन्दू सम्प्रदायहरुमा बैष्णव धर्म, कृष्ण प्रणामी, जैन, शिख आदि सबै पर्दछ । सम्प्रदायको विकास क्रममा धर्मगुरुहरुको आ–आफ्नै व्याख्या र परिभाषाका कारणले कतिपय हिन्दूभित्रका सम्प्रदायहरुमा संस्कार समेत फरक छ । केलादीघाटमा वैष्णव धर्मको बारेमा धेरै अध्ययन गर्न सकिन्छ । केलादीघाटमा राधाकृष्ण मन्दिर रहेको छ । यो मन्दिर प्राचीनकालदेखि धेरै प्रसिद्ध मानिन्छ । यस मन्दिरमा अखण्ड भजन कीर्तन चलिरहन्छ । केलादीघाटलाई नेपाल निम्बर्क पीठको जन्मथलोको रुपमा लिने गरिन्छ । केलादीमा बृद्धाश्रम पनि सञ्चालनमा छ । स्याङ्जा र पाल्पा जोड्ने केलादीघाटमा पक्की पुल बनेपछि तीर्थाटनमा जाने पर्यटकहरुलाई सुविधा भएको छ । केलादीमा राधाकृष्ण, शिव मन्दिर र लक्ष्मीनारायण मन्दिर रहेका छन् ।

कालीगण्डकीका घाटहरुमा घुमारीघाटको फरक पहिचान र महत्व रहेको छ । हेर्दा नै अचम्म लाग्ने घुमारीघाट नवलपुरको बुलङिटार र तनहुँको घिरिङ गाउँपालिकाको सिमानामा पर्दछ । कालीगण्डकीले निर्माण गरेको घुमारीघाट पर्यटनको लागि आकर्षक मानिन्छ । धार्मिक मान्यतामा अनुसार कालीगण्डकी देवघाटतर्फ बग्दै जाँदा कामधेनु गाईले बाच्छीलाई दूध खुवाउँदै गरेकोले नदी दायाँ परिक्रमा गर्दा घुमाउरो आकार लिन पुगेको मानिन्छ । घुमारीघाटलाई तनहुँको भूगोलमा पर्ने राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडाको आकारमा देखिन्छ । घुमारीघाट कालीगण्डकीले बनाएका घाटहरुमध्येको अत्यन्त सुन्दर घाट मानिन्छ । घुमारीघाटलाई कालीगण्डकीले करिव पाँचसय रोपनी क्षेत्रफलको जमिनलाई शंख आकारमा घेरा दिएको छ । यो शंख अर्थात कुम्भ आकारको घुमारीघाटमा बुलिङटार गाउँपालिको भू–भागबाट प्रवेश गर्न सकिन्छ । यो कुम्भ आकारको घुमारीघाटमा प्रवेश गर्ने मार्गमा करिव ५ मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्तिरहित कामधेनु मन्दिर पनि छ । जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ ।

पाल्पाको रामपुर भएर घुमारीघाट जाने तीर्थाटनका पर्यटकले रामपुरको ताल पोखराको अवलोकन गर्न पनि सक्छन् । झट्ट हेर्दा पोखराको फेवातालको झल्को दिने पाल्पा रामपुरको तालपोखरा आजभोलि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा वर्षाको पानीलाई जम्मा गरेर पोखराको फेवातालको झल्को दिने स्वरुप निर्माण गरिएको छ । तालपोखरा अहिले रामपुर क्षेत्रकै पर्यटकीयस्थल बन्न पुगेको छ । बिहान, दिउँसो, साँझ जुनसुकै बेला पनि यहाँ अवलोकन गर्न सकिन्छ । तालको बीचमा रहेको मन्दिरमा पूजाआजाका लागि प्रवेशद्वार समेत रहेको छ । रामपुरमा तालपोखराबाहेक सीताकुण्ड, सिद्धबाबा मन्दिर, खैरेनी मन्दिर पनि अवलोकन गर्न सकिन्छ । रामपुरमा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले भ्यूटावर सञ्चालनमा ल्याइएको छ । भ्यूटावरबाट पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका समथर टारहरु, नागवेली आकारमा बगेको कालीगण्डकी नदीसँगै ऐतिहासिक राधा दामोदर मन्दिर केलादी, खोप्टारको पाटी, तालपोखरा, ओकीबाजे पार्कलगायतका पर्यटकीय क्षेत्रहरु भ्यूटावरबाट देख्न सकिन्छ ।

पर्यटनका लागि कालीगण्डकी तटीय क्षेत्रमा रहेका तीर्थाटनका घाटहरु सबैका आफ्नो इतिहास र महत्व रहेको छ । तर पनि देवघाट, रिडी, सेतीवेनी, गलेश्वर र मुक्तिनाथको महत्व भने भिन्न रहेको छ । तीर्थाटनका पर्यटकहरु अन्य घाटमा भन्दा यी ठाउँमा धेरै पुग्छन् । लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको संगमस्थल रिडी अर्थात रुरु क्षेत्र नेपालको चार धाममध्येको एक र नेपालको बनारस भनेर चिनिन्छ । रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात रुरु क्षेत्र हो । रुरु क्षेत्र तीर्थाटन पर्यटनको लागि धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रिडीमा ऋषिकेशको मन्दिर र अन्य देवी देवताका मठमन्दिर र मूर्तिहरु पनि छन् तर सबै मन्दिरमध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । संसारमै एउटै कालो शालिग्रामले बनेको मूर्ति ऋषिकेश मन्दिरको मूर्तिमात्र हो । रिडीमा नेपालकै नमूनाको रुपमा तिनमुखे झोलुंगे पुल बनेको छ । तीर्थाटन पर्यटकहरुलाई रुरुमा पुगेको बेला पुलबाट यात्रा गरी तीन जिल्लामा पुग्ने थप सुविधा भएको छ ।

रिडी पुग्दा पर्यटकहरुले पाल्पा तानसेन वरपरका रमणीयस्थल मात्र होइन पाल्पाका ऐतिहासिक मठ मन्दिर समेत अवलोकन गर्न सक्छन् । आजभोलि सडक यातायातको सुविधाले तानसेन पुग्ने पर्यटकहरु रानीघाट हुँदै स्याङ्जाको आलमदेवी हुँदै मिर्मीदेखि जलयात्रामा सेतीबेनीमा पुग्न सक्छन् । सेतीबेनीमा उत्तरपूर्वबाट पैयु खोला अर्थात सेती खोला कालीगण्डकीमा मिसिन्छ । सेतीबेनीबाट पश्चिमतर्फ गुल्मी र पूर्वपट्टि पर्बत जिल्लाबाट प्यारालल रुपमा म्याग्दीको बेनी बजारसम्म कालीगण्डकीको दुबै तर्फ मोटरबाटो अर्थात करिडोर बनेको छ । ठाउँ ठाउँमा कालीगण्डकी माथि पर्वत–गुल्मी र पर्वत–बाग्लुङ जोड्ने लामालामा र अग्ला झोलुङ्गे पुलहरु बनेका छन् । बाग्लुङ बलेवा–कुश्मा वरिपरिका झोलुङ्गे पुल कुश्मा–ज्ञांदी, कुश्मा–शिर्शुवा, कुश्मा–बलेवा, पाङ्ग–बाग्लुङ र कुश्मा–वलेवा यान्त्रिक पुल मात्र होइन विश्व प्रसिद्ध एशियाको दोस्रो लामो र अग्लो बञ्जिजम्प पुलहरुले पर्यटकहरुले अवलोकन गर्न सक्छन् । बञ्जिजम्प पुलको छेवैमा गुप्तेश्वर गुफा पनि पर्दछ । मालढुंगा नपुग्दै पाँगमूनि नयाँ पुलमा सहस्र धारा भेटिन्छ ।

बेनी बजार नजिकै कालीगण्डकीको छेउमा गलेश्वर मन्दिर रहेको छ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा गलेश्वरधाम नजिकै कालीगण्डकी किनारको शिलाबाट बनेको मूर्ति राखिएको छ । गलेश्वर धामबाट मुस्ताङतर्फ लाग्दा कालीगण्डकी नदी छेउ पारिपट्टी शिख र धारामा अर्को शिवालय मन्दिर र पवित्र आश्रम पर्दछ । पर्यटकहरुले यात्रामा भुरुङ तातोपानी कुण्ड र दाना पारिपट्टी नारच्याङ मगरगाउँमुनि पर्ने रमणीय झरना अवलोकन गर्न सक्छन् । अर्कोतर्फ विश्वको सबैभन्दा अग्लो अन्धा गल्छी र रुप्से झरनाले पर्यटकहरुलाई आकर्षण गर्दछ । कागबेनीदेखि मुक्तिनाथ जाने मार्गलाई छाडेर अगाडि बढेपछि उपल्लो मुस्ताङ प्रवेश गरिन्छ । उपल्लो मुस्ताङ जाँदा घिलिंग, धमि, धाकमार हुँदै चरांग गाउँ पुगिन्छ । त्यहाँबाट एक दिनको यात्रामा घीगाउँ, यारागाउँ, लुरी गुम्बा हुँदै क्यूमु ला भञ्ज्याङ्ग भएर दामोदरकुण्ड पनि पुग्न सकिन्छ ।

सम्बन्धित समाचार