शुक्रबार , बैसाख ७, २०८१

कथा : खुम्चिएकाे सर्ट

बेलाबेलामा लोग्ने स्वास्नीको ठाकठुक पर्थ्याे । ठाखठुककाे विषय  धन सम्पत्ति नभई लुगा हुन्थ्यो । श्रीमती सरु, खुब रिसाउँथी, के साह्रो अल्छी भएको हो । अलि चिटिक्क परेर हिँड्नु, कमसेकम सर्टिफिकेटको इज्जत त राख्नु ।

image

दैवका लुगाले बाँचुन्जेल कहिल्यै आइरनकाे ताप पाएनन् । सलक्क कहिल्यै भएनन् ।  सधैँ उनीहरू खुम्चिएर नै उसको शरीरबाट बिदा हुन्थे । उसका ती सर्ट पाइन्ट काेट लगायतलाई दु:ख लाग्दो हो, अरूका शरीरका लुगा पनि देख्दा हुन्  । कहिलेकाहीँ खुब रिसाउँदा हुन् । बेलाबखत प्वाँक भन्दा हुन्, अझ कुरा काट्दा हुन्, यो के तालको अल्छी मान्छे  हो । दुनियाँका सर्ट देख्दैँन, हेर्दैन कि क्या हो ! अरूका कपडा कति सलक्क परेका छन् । चिटिक्क पर्छन् । यो भने झुँस् फुलेका दारी पालेर, मुहारमा पीडाको भारी बोकेर, शरीरमा खुम्चिएका कपडाका टुक्राटाक्री भिरेर कत्ति लाज नमानी हिँडेको, भन्थे होला । अरूले कुरा काटेको थाहा पाउँदैन कि के हो, भनी सर्ट पाइन्ट एकआपसमा  मुखामुख गर्थे होला ।

सर्ट अक्सर भन्थ्यो “संसारमा कसैलाई नभएको पीडा यसलाई मात्र कहाँ थियो होला ? मैलोधैलाे हुँदैमा सबै महावीर पुन, गोविन्द केसी हुँदैन होला । देश दुनियाँ अनुसार चल्नुपर्ने हो ,कत्ति भन्ने यो मेरो खडुस मालिकलाई । अस्ति उसले ऐना हेर्दा म खुब हाँसेको थिए । यो बेलाबेलामा खुम्चिएको सर्ट तान्थ्यो । बाङ्गिएको कठालो मिलाउँथ्यो । बेलाबेला बालतिर हात लग्थ्यो । जेहाेस् आफैँलाई खुब हिरो ठान्ने रहेछ” ।

बेलाबेलामा मलाई यसको खुब दया लाग्छ । सबै थाेक बुझेको छु । कयौंपटक मैले यसको आँसु पुछेको छु । त्यो नुनिलो गन्धले म पनि रोएको छु । मेरो मालिकलाई लाग्दो हो म एक्लै रोएको छु, उसलाई कसैले देखेका छैन भन्ने  । तर म पनि कयौंपटक सँगसँगै रोएको छु । उसको पिडामा म पीडित भएको हुन्छु । अस्ति त्यहीँ आँसुको नुनले  हाफ सर्ट च्यात्तियो । मालिकले एकपटक यसो हेर्याे, खाटमा फाल्याे । फेरि बोकेर नजिकैको दर्जी कहाँ रफु गरायो ।

यता सर्ट मालिक दैव भने आफ्नो धुनमा मस्त छ । उसको प्रिय साथी भनेकै  किताब त्यसभित्रका अक्षर थिए । ऊ मानिसभन्दा पुस्तकसँग ज्यादा रमाउँथ्यो । दुख भुल्न, सुख थप्न पुस्तक पढ्थ्यो, किन्थ्यो । उसको अर्को अम्मल भनेको एक खिलि ५५५ र दुई गिलास लोकल रक्सी पिउने । अक्सर बेलुकी पख ठ्याक्कै सात बजे नजिकैको भट्टीमा ५ मिनेट अल्झिन्थ्यो । हातमा ५५५ चुरोट, दुई गिलास रक्सी स्वाँट पिउँथ्यो । अनि सिधै कोठातिर लम्कन्थ्यो ।

बेलाबेलामा लोग्ने स्वास्नीको ठाकठुक पर्थ्याे । ठाखठुककाे विषय  धन सम्पत्ति नभई लुगा हुन्थ्यो । श्रीमती सरु, खुब रिसाउँथी, के साह्रो अल्छी भएको हो । अलि चिटिक्क परेर हिँड्नु, कमसेकम सर्टिफिकेटको इज्जत त राख्नु । झोलामा पिएजडीकाे सर्टिफिकेट, लुवाइखवाइ हेरे त, बिजोग भन्थी । ऊ नझर्की, म यस्तै त छु, अहिलेमात्र म यस्तो भएको होइन । हाम्रो लभ पर्दादेखि म यस्तै थिए, यस्तै रहन्छु र यस्तै मर्छु,जवाफ दिन्थ्यो ।

दैव, अक्सर सुत्नेअघि आफ्नो पुरानो डायरीमा केही लेख्थ्यो । कसैले नदेख्ने गरि सुटुक्क दराजको पछाडि लुकाउँथ्यो । त्यसदिन उसले यस्तो लेखेको थियो  । “म कपडाको भौतिकतावादी भाष्यभन्दा धेरै पर छु । मलाई कसैको कुनै मतलब थिएन । मेरी स्वास्नी लुगाकाे विषयमा खुब रिसाउँथी । ढङ्ग छैन भने मलाई भन्नू, म आइरन लगाइदिन्छु । यो बिजोग नदेखाऊँ त । मेरो बेइज्जत नगर त भन्थी । म भने लुगाकाे काम लाज छोप्ने हो । लाज छोपेकै छु, रहर भए आफ्नो गरे भैगो नि, जवाफ दिन्थे । दुनियाँका लोग्ने कम्ता ठाँटले हिँड्छन् । कपडा छोए दाग लाग्ला जस्ता हुन्छन् । आफ्नाको भने नयाँ पुरानो के हो छुट्टाउनै गार्‍हो भनेर घुनासाे गर्थी” भनेर लेखेको थियो ।

दैव भन्थ्यो, खैर दुनियाँका शरीर मैले नदेखेको होइन । सबै नाशवान् हुन् । कालान्तरमा  पछि काेही खाल्डामा पुरिने हुन् । काेही जलाइने हुन् । त्यसबेला यिनका छाला कत्ति सलक पर्छन् होला ? यिनका कात्रोमा कति आइरन टिक्छ होला  ? यो सब मान्छे किन बुझ्दैन ? अर्मानीमा ठाँटिएका, श्रेष्ठ टेलरिङ्गमा सिलाइका, गरिबका हातले पसिना पुछ्दै स्त्री लगाएको कपडा किन्ने, लगाउने ठाउँ मलाई थाहा नभएको होइन । प्रबल गुरुङ, मनिष मलाेहत्रा नचिनेको होइन ।  मलाई कपडामा आइरन लगाउने रहरै थिएन । मेरो लुगा मेरो मन, मेरो तन ” ।

विलासिताको रङ्गिन दुनियाँमा ऊ फागत शीतको थाेपा जस्तै थियो । आधुनिक नक्कली युगमा ऊ कर्काेलाकाे पातमा अडिएको पानीको थाेपा थियो । लक्ष्मीप्रसाद देवकोटाले देख्ने समीर थियो । उसको अस्तित्व विलासी रङ्गिन दुनियाँलाई पचाउन गार्‍हो थियो । यहाँ मानिसको अस्तित्वभन्दा कपडाको अस्तित्वको महत्त्व धेरै छ । मानिसको आचरण व्यवहारभन्दा यहाँ कपडाका ब्रान्डको महत्त्व छ । सब उसले बुझेको थियो तर उसलाई कसैको मतलब थिएन । अझ भनौँ बाल दिँदैन थियो ।

बेलाबेलामा भने उसलाई अलि नमजा भने लाग्दो रहेछ । अस्ति ऊ बैङ्कमा जाँदा सेक्युरिटी गार्डले शङ्काको नजरले हेर्याे । खुम्चिएको सर्ट बाक्लो दारीलाई गार्डले आतिथ्य देखाएनन् । प्रश्न गर्याे गार्डले, कहाँ जान लागेको हो ?  ऊ अलि अक्मक्कियाे, बैङ्कमा के गर्न आउँछन्, चेक साट्नु छ जवाफ दियो । फेरि गार्डले घुरेर हेर्याे । सुरक्षा जाँच गर्याे, मिसिनले स्क्यान गरेपछि उसलाई भित्र जान दियो । परबाट उसले गार्डको गतिविधि नियाल्दै थियो ।  गार्ड मान्छेको कपडा हेरेर व्यवहार गर्दो रहेछ । चिटिक्क परेका मान्छेलाई छाती तन्काएर सलुट गर्दै भित्र पठाउँदै थियो । हुन त गार्डलाई त्यही किसिमको ट्रेनिङ दिइएको थियो होला पाेशाक हेरेर व्यवहार गर्नु भन्ने आदेश थियो होला ! लाइनमा लामो सास तान्यो उसले । चेक साटेर ऊ फर्कियो ।

बैङ्कबाट बाहिर निस्कँदा पुन : गार्डले शङ्काकै दृष्टिले हेर्याे । उसले तब भने वास्तै नगरी हिँड्यो । साँझ भट्टीमा भने गार्डको गतिविधिले उसलाई अल्झायो । आफैँले आफ्नो सर्ट हेर्याे । ठिकै छ त जवाफ पनि दियो  । हातको  ५५५ चुरोट र दुई गिलास स्वाँटै पारेर ऊ घर गयो । घर पुग्नासाथ श्रीमतीले सोधिन्, के भयो आज, मुख निनाउँराे छ त ! के भयो ? उसले केही भएको छैन, थकानले होला भन्यो । लुगाका कारणले हो भने त उसकी श्रीमतीको पुनः कचकच सुन्नुपर्थ्यो ।

साँझ सुत्नेबेला उसले डायरीमा लेख्यो “मान्छे किन कपडा प्रेमी ! कपडा र मान्छेको सम्बन्ध भर्खरै भएको हो । पहिला मान्छे कपडा विहीन थियो । बाँचेकै थियो । अहिले पनि मान्छे नाङ्गै बढी बिक्छ । ती प्राेन फिल्म, समुन्द्री बीचमा, मानिस नाङ्गै हुन्छ, फिल्मका आइटम गीतमा मानिसलाई अर्धनग्न प्रिय लाग्छ । यिनै मानिस हुन् खोजिखोजी हेर्ने ! अचम्म ! बाहिरी दुनियाँमा कपडा राम्रा चाहिनेले, भित्री रुपमा नाङ्गो प्रिय लाग्ने, खोज्नेले त्यहाँ पनि कपडा खोज्नु”।

त्यस दिनको घटनापछि उसलाई हाइफाइ चाहिने ठाउँमा जान मन थिएन । दैवलाई कसैले शङ्का वा हीन नजरले हेरेको कदापि मन पर्दैन थियो । ठ्याक्कै बैङ्कमा भएको घटनाको भोलिपल्ट  उसकी श्रीमतीले “राजा लाउन्जमा” डिनरकाे लागि जाउँन भनिन् । घरको खाँदाखाँदा वाक्य भयो अलि रिफ्रेस नि हुन्छ, जाउँन पिलिज् भनिन् । उसले नकार्न सकेन ! हुन्छ भन्यो ! खुसी हुँदै श्रीमतीले ल म तयार भएर आउँछु, हजुर एकछिन कुरिसियाे न भनिन् । हुन्छ हुन्छ ..उसलाई कुर्नु जति झिजाे केही लाग्दैन थियो । तर पनि श्रीमतीको लागि हरेक झिजाे सहन ऊ तयार थियो । बेलाबेलामा घडी हेर्थ्यो, बैठकमा जान्थ्यो, बेडरुममा हेर्थ्यो । श्रीमती ऐनाको अगाडी मज्जाले बसेकी थिइन् । मुख दायाँबायाँ गर्थिन् । केश हातले मिलाऊँ थिइन् । तयारी भएको देख्दैन थियो । ऐ सरु भएन .. ढिला भएन ! भयो भयो अब अलिकति है ! हस् हुन्छ .. चाँडो गर, भन्थ्यो !

बल्लतल्ल सरु आइन् ! उनी निकै राम्री देखिएकी थिइन् । टल्कने कपाल, झल्कने झुम्का, रसिला ओठमा रातो लाली, आँखामा गाजल र शरीरमा  मगमग बास आउने अत्तरले असाध्यै सुहाएको थियो ।  उनले सोधिन्, म कस्ती देखिएकी छु । उसले उत्तर दिनुअघि झट् आफूलाई हेर्याे, ऐना अगाडी सरु र आफ्नो तुलना गर्याे । सरु निकै राम्री देखिएकी थिइन्, पुरै स्पेनी मोडल जस्तै: । ऊ झसङ्ग भयो, आफ्नो झुस्स दारी, खुम्चिएको सर्ट । सरुकाे अगाडी फिक्का, कदापि जोडी मिलेको थिएन । के भयो हजुरलाई, म कस्ती देखिएकी छु । तिमी धेरै राम्री देखिएकी छौँ । ल जाऊँ ढिलो होला फेरि उसले भन्यो ।

दैवले बाईक स्टार्ट गर्याे । रेस्टुरेन्टतिर बाइक हुइक्याँयाे, दुवै  गफिँदै थिए । अलि बिस्तारै चलाउनु न बाबा सरुले भनिन् । अचानक उनीहरूको अगाडि कुद्दै गरेको बाइक र कार एकआपसमा ठोकिए । गाडी सबै रोकिए । उनीहरूको बाइक रोकियो ! अगाडिको बाइकवाला हुत्तिएर पर पुग्यो । लगभग ६-७ बल्ड्याङ खायो । शरीरभरी रगत देखिन्थाे । लगभग अचेत अवस्थामा थियो।  हतारहतारमा एकजना व्यक्ति दुर्घटनामा परेको बाइकवालाई बचाउन गए । काखमा राखे,घाइते बाइकवाला दाइ .. दाइ भने ,  बाइकवालाले आँखा हेर्याे । वरपरका अरू सबै रमिते थिए । सडक छेउमा ठाँटिएका कोही अगाडि बढेनन् । तिनै व्यक्तिले उसलाई बोकेर अस्पताल लग्यो । बन्द सडक खुल्यो ।

ती उद्धारकर्ताको  हुलिया अलि अनौठो थियो । नाकमा फुलि, कानमा ठूला मुन्द्रा, कपडा दैवको जस्तै लगाएको थियो, खुम्चिएको । चलनचल्तीमा उसको पाेशाक रफ एन्ड टफ थियो । उसको लगाइलाई  गुण्डा या ट्यापे भन्थ्यो समाजले । तर त्यहाँ ऊ कसैको जीवन रक्षक भइदियो । समाजले निर्माण गरेको भेषभूषाकाे कथित बिल्लालाई उसले गिज्याइदियो । समाजले त तमाम सफेद पाेशाकधारीलाई सज्जन मानेको थियो । ती सज्जनको बीचमा ऊ मानव भइदियो । मनमनै दैव त्यो व्यक्तिप्रति खुसी थियो । ऊ अब पक्का भयो, प्रमाण थियो, नाथे वस्त्र शस्त्र नाटक न हो । उसले श्रीमतीलाई देख्यौँ भन्यो । सरुले केही बोलिनन् । सायद आज राति दैवको डायरीमा उनै रफ एन्ड टफ कैद हुन्छन् होला ।

बाइक स्टार्ट गर्दै उसले पुनः भन्यो,” देख्यौँ सरु मान्छेको लवाइखवाइ त बहानाबाजी न हो । यो त सांसारिक भ्रम न हो । मान्छे भ्रमकाे खाेल ओढेर त्यसै नाटक मञ्चन गर्छन् । मान्छे हुनलाई मन चाहिन्छ । पाेशाक त खाेल न हो ! खाेलले मनलाई कहाँ ढाक्न सक्छ र ।  मनले गर्दा बाइकवाला बाच्यो “खाेल ओडेका सफेद सलक्क परेकाहरू रमिते भए”। सरु केही बोलिनन् । गफिँदै, उनीहरू राजा ल्याउन्जमा पुगे, बाइक पार्क गरेर, भित्र पसे ।

उनीहरूले “सी मम” अडर गरे । सरुले भनिन् “सुन्नु न अघिको बाइकवाला बाँच्छ होला त ? बाँच्छ नि, त्यो व्यक्तिले समयमै अस्पताल लग्यो, होस् थियो, उसले जवाफ दियो । त्यतिकै सरुले अर्को टेबुलमा आफ्नो साथी देखिन् । मुसुक्क हाँसेर इसारा गरिन् । त्यताबाट पनि त्यस्तै इसारा आयो । सरुकी साथीको हातमा चुरोट थियो । मोबाइल चलाउँदै थिइन् । मोबाइल उनले राखिन् “ओइ सरु Come here , Long time no see” भनिन् ।  श्रीमानलाई इसारा गर्दै म एकछिन उता जान्छु ल भनिन् । उसले हुन्छ भन्यो ।

उता उनीहरू हाँस्दै थिए । दैव पत्रिका पढ्दै थियो । सरुकाे साथीले अङ्ग्रेजीमा “Who is he” भनिन्, सरुले” My husband” ! सर्टकाे कठालो देखाउँदै कस्तो झुत्रे त प्वाँक भनिन् । सरुकाे अनुहार अलि मलिन भयो “ऊ यस्तै हो, मैले कति भनेको मान्दैन सरुले भनिन् । अलि बनाउनुपर्याे साथी नत्र इमेज डाउन हुन्छ ! Make him smart थपिन् ! सरु झर्किँदै छोड्दे, उसको आफ्नै दुनियाँ छ । I can’t change him भनिन् । दैव उनीहरूको कुरा सुनेर पनि नसुनेझैँ गरि पत्रिका हेर्दै थियो । वेटरले मम ल्याए । दैवले सरुलाई इसारा गर्याे । साथीलाई ल म जान्छु,सरुले भनिन् । ऊ चुरोट पिउँदै थिई, Ok जवाफ दिई ।

झर्किँदै सरुले म खान् भनिन् । किन के भयो र उसले झुत्रे भनि भनेर ! होइन ! अनि के भयो र ! मेरो लुगा हो, अरूलाई टाउको दुखे दुखाउन । म यस्तै त हुँ, दैवले भन्यो । अलिकति त मेरो ख्याल गर्नु, साथीहरूले कुरा काट्ने नबनाउनु पिलिज् सरुले भनिन् । हाँस्दै, दैवले भन्यो ल खाऊँ यस्ता नाथे कुरामा अल्झेर हुन्छ त ! आज तिमीलाई सलक्क चिटिक्क पर्ने ठाउँ लैजान्छु है त ! सरुले कहाँ सोधिन् ! खाउँन पहिला, सर्प्राइज हो के उसले भन्यो ।

खाजा खाइएर उनीहरू त्यहाँबाट निस्के ! सुन्नु न अघि कहाँ लग्छु भन्दै हुनुहुन्थ्यो सरुले भनिन् । दैवले, अँ अब त्यतै जाने हो, भन्यो  । सडक जाम थियो त्यस दिन ! बल्लतल्ल जाम छिचोल्दै, दैवले बाइक पशुपति आर्यघाट नजिकै रोके । सरु झर्किँदै यहाँ किन ल्याउनु भयो  । यो मान्छेले त राम्रो चिज जानेको छैन कि के हो, सरुले भनिन् । पख न पख किन हतार गरेको, थुम्को देखाउँदै उ त्यहाँ जाऊँ, त्यहाँबाट जीवन देखिन्छ, दैवले भन्यो । खै कस्तो जीवन हो यहाँबाट मात्र देखिने ? उनीहरू थुम्कामा गए, त्यहाँ लस्करै कुर्सी राखिएको थियो । सबै कुर्सी लगभग भरिएका थिए । बीचकाे भने खाली थियो । उनीहरू त्यहीँ बसे ।

तल चिहानघाटबाट चित्ताको मुस्लो थुम्कोसम्म आएको थियो । लासको गन्ध मानिसको नाकसम्म पुगेको थियो । त्यहीँ पनि सबै चिहानतिर हेरिरहेका थिए । सबै मौन थिए । त्यसदिन सबै चिहान भरिएका थिए । लासहरू सलक्क निर्वस्त्र सुतेका थिए । किनारमा प्राय सबै मानिस निराश मुद्रामा थिए । कति रुँदै थिए, कति सम्झाउँदै थिए । त्यहाँ सबै मलामीमा भने एउटा समानता थियो, त्यो समानता भनेको वास्तविकता थियो । उनीहरू जे हुन्, जे छन्, त्यहीँ भएर त्यहाँ पुगेका थिए । सरु पनि एकछिन मौन भइन् । एकहाेराे चिहानतिर हेर्दै थिइन् । उनका आँखामा आँसु देखिन्थ्यो । उनी  चित्ता नम्बर १ तिर हेर्दै थिइन । मानिसहरू चिहान बनाउँदै थिए । दाउरा सार्दै थिए । किनारमा राखिएको लासलाई ८-९ वर्षको बच्चाले अङ्गगालाे हालेर रुँदै थियो । हजुरबुबा मलाई किन छाडेर जानुभएको । अब मलाई कसले चकलेट दिन्छ भन्दै थियो । उसका गाला आँखा रुँदारुँदै राता भएका थिए ।आफन्तहरू उसलाई सम्हाल्दै थिए ।

सरु के भयो, किन रोएकी ! जिन्दगीको अन्तिम सत्य र वास्तविकता यहीँ देखिन्छ । अन्तिम सत्यता र वास्तविकता यहीँ ठाउँले सिकाउँछ, त्यहीँ भएर तिमीलाई अन्तिम सत्य र वास्तविकता देखाउन यहाँ ल्याएको हुँ । तिमी मेरो लुगाप्रति सधैँ  बेखुसी थियौ । साथीहरू त्यस्तै प्रतिक्रिया दिन्थे । आम मान्छेको नजर त्यस्तै थियो । तर सत्यता भ्रमभन्दा धेरै टाढा छ । भ्रम क्षणिक न हो । लुगा नक्कल सबै क्षणिक हो।  हामी जतिसुकै तडकभडक गरौँ, जतिसुकै महँगा चिल्ला लुगा लगाऊँ तर अन्तिममा हेर त .. हाम्रो शरीर कति चिटिक्क र सलक्क पर्छ। आगोको रापले जतिसुकै आइरन लगाऊ, अन्तिममा शरीर खुम्चिएर नाश हुन्छ  । सत्यता सलक्क पर्दैन, उसले भन्यो ।

सबै चिहानमा आगो बेस्सरी दन्केको थियो । घाटका मान्छे कपुर घ्यू लासमाथि हाल्दै थिए । घरीघरी लासलाई  पल्टाउँथे । बाँसको ठण्डाले हात खुट्टा मिलाउँथ्थे । अन्तिममा छातीको अस्तु जो बचाउनु थियो ।  लास आफ्नै गतिमा जल्दै थिए । छेउमा केही मानिस  लासबाट लुगा निकालिँदै थिए । नदी लुगाले ढपक्क ढाकिएको देखिन्थ्यो । मानिस सबै भुलेर रुदैं थिए ! आफन्तलाई सम्झाउँदै आफू पनि सुकसुक गर्दै थिए । आखिर सत्य जल्दै थियो ! अन्तिम वास्तविकता आगोको रापसँग झल्किएको थियो । सरु मौन थिइन्, दैव मौन थियो ।

सम्बन्धित समाचार