शनिबार , मंग्सिर २३, २०८०

राजा प्रताप मल्लको पालादेखि चलेको ‘ख्याल:’

ख्याल: अन्तर्गत गाईचा प्याखं, माक प्याखं, देवी प्याखं, भैल प्याखं, लुसि प्याखं, लाखे प्याखं आदि पर्दछ ।

image

  • जीआर रञ्‍जित

नेवा: समाजमा मनाइने विभिन्न संस्कृतिहरू मध्य ख्याल: पनि एक हो । ख्याल: शब्द नेपाल भाषाको शब्द हुन जसको अर्थ नाटक मञ्चन गर्नु हो । यो यस्तो प्रकारको नाटक हो जसमा समाजका विकृतिहरूको ख्याल ख्यालमा व्यङ्ग्य गर्ने गर्दछ ।

ख्याल:को सुरुवात सापारुका दिन- मृत आत्माको शान्तिका निमित्त गाईजात्रा लगेपछि हुने गर्दछ । सापारुको पर्सिका दिनदेखि एक हप्ता सम्म मञ्चन हुने यस पर्व भक्तपुरका विभिन्न टोलहरूमा देखाउने गरिन्छ ।

ख्याल: अन्तर्गत गाईचा प्याखं, माक प्याखं, देवी प्याखं, भैल प्याखं, लुसि प्याखं, लाखे प्याखं आदि पर्दछ ।

ख्याल: देखाउने चलन भने राजा प्रताप मल्लको पालादेखि चलेको मानिन्छ । सन १६६९ मा राजा प्रताप मल्लले आफ्नो छोरा चक्रभतेन्द्र मल्लको हात्तीले कुल्चेर भएको मृत्युको वियोगमा रहेकी रानी भुवनलक्ष्मी मल्ललाई ‘उनका छोरा मात्र होइन संसारमा धेरैको मृत्यु भइरहेको हुन्छ । मृत्यु भनेको प्राकृतिक हो’ भनेर देखाउन गाईजात्राको सुरुवात गरेका थिए । राजाले रानीलाई हँसाउन सक्ने गरी आफ्ना जनताका लागि एक हप्तासम्म बोल्न पाउने स्वतन्त्रताको अनुमति पनि दिनुभयो, जसले गर्दा नेपाली संस्कृतिमा व्यङ्ग्यलाई प्रमुख स्थान दियो । यसै व्यङ्ग्यबाट ख्याल:को सुरुवात भएको थियो ।

गाईजात्राको इतिहास भने राजा जयस्थिति मल्लले लेख्न लगाएको भाषा वंशावलीमा गुन्हु पुन्ही उल्लेख भएको कारण गाईजात्रा भक्तपुरमा धेरै पहिलेदेखि नै चलिआएको देखिन्छ ।

सांपारु शब्दलाई खसकरण गरि गाईपारु हुँदै गाईजात्रा शब्दको विकास भएको थियो ।

सम्बन्धित समाचार