काेशी प्रदेशमा सयौँ पर्यटकीय गन्तव्यहरू रहेका छन् । कतिपय गन्तव्यहरू चर्चामा पनि आएका छैनन् ।
काेशी प्रदेश प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर)देखि नेपालकै होचो भूभाग झापाको केचनाकवल (५८ मिटर) काेशी प्रदेशमै पर्दछ । जसका कारण याे प्रदेश भौगोलिक विविधताले युक्त छ । यससँगै हावापानी र जैविक विविधताले पनि भरिएको छ । हिमालदेखि तराईसम्म फैलिएको यस प्रदेशमा सांस्कृतिक विविधता पनि पाइन्छ । मानिसहरूको जीवनशैली, संस्कार, सामाजिक मूल्य मान्यतामा पनि व्यापक भिन्नता पाउन सकिन्छ । त्यसैले काेशी प्रदेश सबै खालका पर्यटनको सम्भावना बोकेको प्रदेश हो ।
काेशी प्रदेशमा सयौँ पर्यटकीय गन्तव्यहरू रहेका छन् । कतिपय गन्तव्यहरू चर्चामा पनि आएका छैनन् । यस प्रदेशमा पर्यटनको अथाह सम्भावना छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न पछिल्लो समय खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्छ । इलाम, धनकुटा लगायत पहाडी जिल्ला कृषि पर्यटनमा अगाडि छन् भने ताप्लेजुङ, सुनसरी, खोटाङ लगायत जिल्ला धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, सङ्खुवासभा, मोरङ लगायत जिल्ला जैविक विविधतामा धनी छन् ।
श्रीअन्तु डाँडा

पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलाम भन्ने बित्तिकै धेरैको मस्तिष्कमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । लस्करै मिलेका हरिया चिया बगान, बीचबीचमा धुपीसल्लाका रुख, बीचमा घुमाउरो पक्की बाटो अनि चिटिक्क परेका कटेजहरु । मनै लोभ्याउने इलाम, कसलाई जाऊँ नलाग्ला र ?
मान्छेलाई लोभ्याउने इलाममा चिया बगान सँगै अन्य धेरै स्थान छन् । त्यसमध्ये एक हो, इलामको सूर्योदय नगरपालिका-५ मा रहेको श्रीअन्तु डाँडा । श्रीअन्तु फिक्कल बजारबाट १३ किलोमिटर टाढा पर्छ ।
श्रीअन्तु डाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ। यो इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गत पर्दछ । श्रीअन्तु डाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यावसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। वि.सं. २०४३ मा यसलाई दिपेन्द्र शिखर भनी नामकरण गरिएको भए पनि पुरानै नाम श्रीअन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ।
इलामको यो श्री अन्तु धेरै कुराहरूले प्रख्यात छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटकहरू अवलोकन गर्न पुग्छन्।
स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र बिहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त श्री अन्तुका प्रमुख विशेषताहरू हुन् ।
बिशेषगरी गर्मी याममा प्रयर्यटकहरू श्रीअन्तु पुग्ने गर्दछन् । चिसो हावा पानीका कारण गर्मी छल्न पूर्वी नेपालको तराई क्षेत्र, भारत लगायत अन्य देशबाट समेत पर्यटकहरू आउने गर्दछन् ।
नेपालको पर्यटन विकासमा इलामको श्रीअन्तुले पनि ठूलो योगदान दिँदै आएको छ । जसको प्रचार प्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा अझै सम्बन्धित निकाय र राज्यले ध्यान दिने हो भने यसले आन्तरिक तथा बाह्य पर्यटन विकासमा ठुलो फड्को मार्नेमा कुनै शङ्का छैन ।
‘पर्यटनको नयाँ गन्तव्य’ लिम्चुङबुङ र ‘एभरेस्ट भ्यू टप’

निर्माणाधीन एभरेस्ट भ्यू टप
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आफ्नो लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ । गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो सुरु गरेको गाउँपालिकाका अध्यक्ष मेजर राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरूको शीर्षकमा उल्लेख हुनेछ ।’
भित्री मधेसको जिल्ला भएर पनि उदयपुरको यो पालिकाबाट सर्वाेच्च शिखर सगरमाथासहित आधा दर्जनभन्दा बढी हिमालय शृङ्खलाहरू देख्न सकिन्छ । सगरमाथा देख्न सकिन्छ । सगरमाथा देख्न सकिने विन्दुलाई गाउँपालिकाले ‘एभरेस्ट भ्यू टप’ भनेर प्रवर्द्धन गर्दै आएको छ ।
यस्तो बन्ने छ, ‘एभरेस्ट भ्यू टप’
टावर एकदमै आकर्षक बन्नेछ । टावरको उचाइ १२० फिट ३ इन्चको हुनेछ । टावरको टुप्पोमा ९ फिटको पहिलो कलरको आकर्षक चिण्डो रहनेछ भने टावरको वरिपरि चारधाम निर्माण गरेर लिम्चुङबुङलाई पर्यटन र धार्मिक हिसाबले केन्द्र बनाइनेछ ।
टावरको पहिलो तलामा १ हजार, ५ सय, ३ सय क्षमताको ३ वटा व्यावसायिक हलहरू रहने छन् । उक्त हलहरूमा सभा, सम्मेलन, सेमिनार, गोष्ठी र व्यावसायिक तालिमहरू सञ्चालनमा ल्याइनेछ । दोस्रो तलामा मिठामिठा परिकार सहितको होटेलहरू सञ्चालन हुनेछ ।
टावरको १०० फिट उचाइमा पर्यटकहरूको लागि लक्षित गरेर १५० जना जति अटाउने रेष्टुरेन्ट सञ्चालन हुनेछ । त्यही रेष्टुरेन्टबाट पर्यटकहरू सगरमाथा सहित ८ हजार भन्दा माथिका ६ वटा हिमालहरू, अति नै सुन्दर सूर्योदय र सूर्यास्त हेर्न सकिनेछ भने यसको साथसाथै पहाडका अनगन्ती सुन्दर थुम्काहरू र मधेसका फाँटहरूलाई एकैसाथ नियाल्न वाईनाकुलर समेत प्रयोगमा ल्याइनेछ ।
लिम्चुङबुङ सगरमाथाको दृश्यावलोकन गर्न, मदेशबाट गर्मी छल्न, लालीगुराँस, सूर्योदय, सूर्यास्त हेर्न, मगर, तामाङ, शेर्पा,किरात संस्कृति र खानपानको साथमा र त्रिधाम तपोभूमि हलेसीको दर्शन प्याकेजमा, सुनकोशीमा स्विमिङ, र्याफ्टिङ गर्न, सेताम्य बगरहरूमा खेल्न समेत लिम्चुङबुङ पर्यटकहरूको रोजाइमा पर्ने छ ।
टावर धमाधम निर्माण भइरहेको छ । निर्माणाधीन टावरको अवलोकनका लागि दैनिक थुप्रै पर्यटक पुग्न थालेका छन् ।
तिम्बुङ पोखरी
प्राकृतिक सौन्दर्य, धार्मिक, जैविक तथा सांस्कृतिक महत्त्व बोकेको तिम्बुङ पोखरी पूर्वी नेपालको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साबिकको कालिखोला गाविसमा पर्छ । ४४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर दक्षिण लम्बाई र १५४ मिटर पूर्व–पश्चिम चौडाइ रहेको छ । धार्मिक आस्था केन्द्र अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालासँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन ।
सम्भवतः काेशी प्रदेशको सबैभन्दा सुन्दर र भर्जिन गन्तव्य हो, तिम्बुङ पोखरी । यो पोखरी धार्मिक र प्राकृतिक दुवै कोणमा महत्त्वपूर्ण मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा पर्ने यो पोखरी यी दुई पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो । यो पोखरीबाट सिक्किम नजिकै छ । असार देखी श्रावण सम्म यात्राको राम्रो सिजन मानिने यो पोखरी हिउँ पर्ने बेलामा हिउँले ढाकिन्छ । यात्रा गर्दा राम्रो बसोबासको प्रबन्ध नभएकाले लेकका चौँरी गोठमा वा टेन्टमा बस्दै जानुपर्ने हुन्छ यो पोखरी । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ ।
कोशीटप्पु

कोशीटप्पु विराटनगरबाट ५० किलोमिटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५२७ प्रजातिका चरा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो । कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । कोशीटप्पुमा विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा ४५० ओटा भन्दा बढी अर्ना छन् । कोशीटप्पुमा होमस्टे, रिसोर्ट र होटेलहरू छन् ।
भेडेटार
भेडेटार पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार मानिन्छ । समुन्द्री सतहबाट १ हजार ४२० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमिटर उत्तरमा अवस्थित छ । छिनमै कुहिरो लाग्ने छिनमै घाम लाग्ने भेडेटार पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
भेडेटार प्रदेश नम्बर १ अन्तर्गत सुनसरी र धनकुटा जिल्लामा पर्ने एक सुन्दर पर्यटकीय बजार हो । यो बजार धरानको साँगुरीगढी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित छ । भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो प्वाइन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाइमा विराजमान छ । पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवम् हिमाली भेगको सुन्दरता हेर्न भेडेटार पुग्ने गर्दछन् । अझ भेडेटारको भ्यू टावर अर्थात् चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्न सकिन्छ ।
पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी.दूरीमा रहेको छ । भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणाधीन सडक पूर्वतर्फ गएको छ भने धरानको विष्णुपादुका, आहाले हुँदै वराहक्षेत्र जाने निर्माणाधीन सडक पश्चिम तर्फ गएको छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तराई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् ।
भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा बेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुँदा यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो । चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिँढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ ।
भेडेटारमा पिकनिक तथा गर्मी छल्ने तराई तथा भारतीय पर्यटकहरूको अत्यधिक आवतजावतले रौनक भरेको छ । यहाँ पहाडी मौसम लगायत अर्ग्यानिक फलफूल तथा तरकारी एवम् स्थानीय परिकारहरू पस्किने भएको हुँदा सबैको आकर्षणको केन्द्र बनेको छ। यातायातको यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्त्वको स्थानको रूपमा अझ विकसित हुँदै जाने सम्भावना रहेको छ ।
गुफापोखरी

धनकुटाबाट करिब ५० किलोमिटर कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्मको ५ किमी कच्ची सडकको यात्रापछि करिब ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा गरेपछि गुफापोखरी पुगिन्छ । मूलतः यहाँ विभिन्न प्रजातिका गुराँस तथा अन्य जैविक विविधता अवलोकन गर्न जानेहरू हुन्छन् । सङ्खुवासभाको नुनढाकी–९ मा गरेको गुफापोखरी समुद्री सतहबाट २ हजार ८९० मिटर उचाइमा पर्छ ।
तीनजुरे-मिल्के-जलजले

‘गुराँस’को राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तीनजुरे, सङ्खुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रूपमा समेत चिनिन्छ । टिएमजे क्षेत्रभित्र गुराँस बाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् ।
यहाँका उच्च भागहरूमा चौकी, गुफा, मङ्गलवारे, चाँगे, सम्दु, साँघु जस्ता साना–ठुला बस्तीहरू रहेका छन् । संरक्षित क्षेत्रको रूपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा सङ्खुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरू पर्दछन् ।
गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साबिकका २५ वटा गाविसमा फैलिएको छ । पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ ।
नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ । यहाँ गुराँस फुल्दा पर्यटकको भीड लाग्छ ।
पर्यटकीय सम्भावना र प्रवर्द्धन
धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास भइरहेको छ । यस क्षेत्र हुँदै कञ्चनजङ्घा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा र्या्फ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउनेको सङ्ख्या पनि उच्च छ । उनीहरूलाई यस क्षेत्रको महत्त्वबारे दर्साउन पर्यटन सूचना केन्द्रसँगै सङ्ग्रहालय पनि स्थापना गरिएको छ । सङ्ग्रहालयमा यो क्षेत्रको ऐतिहासिक पहिचान, लोक संस्कृति तथा परम्परा झल्किने वस्तुहरू राखिएको छ ।
तीनजुरे मिल्के जलजले पर्यटन प्रवर्द्धन केन्द्रले तीनजुरे मिल्के जलजले क्षेत्रको गुफा बजारमा पहिलो पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमको रूपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउँबाट धेरै जानकारी प्रदान गर्न पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । स्थानीय युवाहरूको पहलमा गठन भएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवर्द्धन केन्द्रले नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आर्थिक सहयोगमा सूचना केन्द्र स्थापना गरेको हो ।
जैविक विविधता
टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीय स्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरू पाइने गरेका छन् ।
अहिले यो क्षेत्रमा चिराइतोको भने व्यावसायिक खेती समेत भइरहेको छ । बाँकी जडीबुटीहरूको खेतीको सम्भावना भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरू चर्चित छन् ।
संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रूपमा रूख कटान र जडीबुटी सङ्कलन हुँदै आएको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् ।
विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन् । खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने देखिन्छ । यहाँ बसोबास गर्ने सर्वसाधारणको इन्धनको स्रोत गुराँसको दाउरा नै हो ।
बाह्रै महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्न समेत दाउरा नै प्रयोगमा ल्याइन्छ । माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो रङ बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ ।
विराटनगरबाट उत्तरतर्फ धरान हुँदै १३० किलोमिटर यात्रापछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । यो बजारको शिरमा अवस्थित यो क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्छ ।
तीनजुरे, पाँचपोखरी, चौकी, मङ्गलवारे, गुफाबजार, मिल्के डा“डासम्मको पैदलयात्रा गर्नु रमाइलो मानिन्छ । यहाँ“ आएका पर्यटकका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मङ्गलवारे र गुफाबजारमा वास बस्न र खानाका लागि होटलको व्यवस्था छ । वसन्तपुर, चौकी र गुफा बजारमा प्रहरी चौकी रहेकाले सुरक्षाको समेत राम्रो प्रबन्ध छ ।
सभापाेखरी

सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं ५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ । समुद्री सतहदेखि चार हजार दुई सय ४० मिटरको उचाइमा रहेको सभापोखरीको लम्बाइ २०० मिटर र चौडाइ लगभग १०० मिटर रहेको छ ।
पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती पाइन्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास समेत रहेको छ ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि अत्यन्त उपयुक्त ठाउँ सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यस पोखरीमा नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । गर्मी महिनामा मात्र यो ठाउँमा पुग्न सकिन्छ ।
सङ्खुवासभा जिल्लाको नामकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभापोखरी नै रहेको छ ।
वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरूले सभा गरेको जनविश्वास रहेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट ३र४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ ।
प्राकृतिक तथा धार्मिक दुवै कोणमा महत्त्वपूर्ण सभापोखरी सभा र पोखरी मिलेर बनेको छ । समुद्र सतहबाट ४२४० मिटरको उचाइमा रहेको यो पोखरी लुम्बा सुम्बा हिमालको फेदमा रहेको छ ।
सङ्खुवासभाको गुफापोखरी हुँदै तीन दिनको पैदल यात्रामा पुग्न सकिने यो गन्तव्यको अत्यधिक प्रचार भए पनि पोखरी नजिकसम्म सहज सडक नभएकाले धेरै तीर्थयात्रुहरू तथा ट्रेकिङ पारखीहरू यहाँ पुग्न सकेका छैनन् ।
ह्यातुङ झरना

साबिक सम्दु र ईसिवु गाविसबीचमा रहेको यो झरना नेपालकै सबैभन्दा लामो मानिन्छ । यो झरनासम्म पुग्न धरानबाट वसन्तपुर हुँदै तेह्रथुमको सदरमुकाम म्याङ्लुङबाट १ दिनको पैदल हिँड्नुपर्छ । सदरमुकामबाट त्यहाँसम्म पुग्न हाल धुले सडक बनेको भए पनि सवारीसाधन चलिनसकेकाले पैदल यात्रा नै गर्नुपर्छ । यो झरनाको माथिबाट पानी खस्दा सप्तरङ्गी इन्द्रेणीको रमणीय दृश्य देखिन्छ ।
हलेसी महादेव
पूर्वकै प्रसिद्ध धार्मिकस्थलको रूपमा चिनिएको हलेसी महादेवको मन्दिर खोटाङमा पर्छ । हिन्दु, बौद्ध तथा किरातहरूको आस्थाको केन्द्रको रूपमा रहेको छ यो मन्दिर । बालाचतुर्दशी, रामनवमी र शिवरात्रिमा यहाँ ठूलो मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमिटर पश्चिममा रहेको यो मन्दिर पुग्न सवारीसाधनको सुविधा छ । उदयपुरको कटारीबाट घुर्मीसम्म बस चल्छन् । त्यहाँबाट सुनकोशी हुँदै पैदल यात्रा गरेर हलेसी महादेव पुग्न सकिन्छ ।
सन्दकपुर

देखिन त सूर्य जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता हुन्छन् जहाँको सूर्य देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ । इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको सूर्य आकाशमा होइन, हेर्नेको आँखामा उदाउँछ । इलाम बजारबाट ३६ किलोमिटरमाथि चढेपछि पुगिन्छ इलामको सबैभन्दा अग्लो डाँडो, सन्दकपुर । श्रीअन्तु, सिद्धिथुम्का र सन्दकपुर, यी तीन डाँडाले इलामलाई सूर्योदयको जिल्लाका रूपमा चिनाएका छन् ।
साबिक माइमझुवा गाविस ९ र मावु गाविस ८ को संगमस्थल सन्दकपुर अहिले सन्दकपुर गाउँपालिकामा पर्दछ । यही सन्दकपुर डाँडाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । ३६३६ मिटरको उचाइमा नेपाल भारत सीमा क्षेत्रमा अवस्थित प्रसिद्ध ठाउँ हो सन्दकपुर । यहाँबाट कार्त्तिक देखि वैशाख सम्म सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यही मौसममा हिउँ समेत पर्ने र लामो समयसम्म रही रहन्छ । यहाँबाट सगरमाथा कञ्चनजङ्घा लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
सन्दकपुर जान २ वटा बाटाहरू रहेका छन् । एउटा इलाम बजारबाट माइपोखरी देउराली माइमझुवा हुँदै एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ भने अर्को फिक्कल, पशुपतिनगर हुँदै भारतीय भूभागबाट मानेभन्ज्याङ हुँदै ट्याक्सीमा चढेर सन्दकपुर पुग्न सकिन्छ ।
नेपालको पूर्वी सिमानामा पर्ने सन्दकपुरबाट नेपाल, भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिन्छ । छेउमा उभिएर हात अघि बढाउँदा कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमाल आफ्नै हत्केलामा उभिएजस्तो लाग्छ। आइपुग्ने बाटोको कुरा अझै बेग्लै छ ।
माईपोखरी

इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरमा माइपोखरी अवस्थित छ । माइपोखरीमा रैथाने गलैंचे झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छ । यस्तै ३०० भन्दा बढी प्रजातिका चरा पाइने विज्ञहरू बताउँछन् । २ हजार १२१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू खुलेका छन् । १ किलोमिटर टाढाको देउराली बजार पुगेर होटलमा बस्न सकिन्छ ।
कन्याम

चियाको पर्याय बनेको कन्याम वनभोज स्थलका लागि चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोजका लागि मानिसहरू कन्याम आउने गर्छन् । कन्याममा सिजनमा शनिवार मात्र २०० भन्दा धेरै गाडीमा वनभोज टोली आउने गरेका छन् । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । खान–बस्नका लागि नजिकैको फिक्कल बजारमा होटल र लज पाइन्छ ।
पाथीभरा

पूर्वाञ्चलकै प्रसिद्ध तीर्थस्थल पाथीभरा ३ हजार ३७४ मिटर उचाइमा छ । सुकेटार विमानस्थलबाट १९ दशमलव २ किलोमिटरको दूरीमा रहेको पाथीभरा सदरमुकाम फुङलिङ बाट २७ किलोमिटर टाढा पर्छ । विराटनगरबाट सुकेटारसम्म पुग्न २ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ । विराटनगरबाट इटहरी–बिर्तामोड हुँदै ताप्लेजुङ पुग्न ३४३ किलोमिटर यात्रा गर्नुपर्छ ।
वराह क्षेत्र

कोका नदी र कोशी नदीको सङ्गमस्थल सुनसरीको वराहक्षेत्र नगरपालिकामा पर्ने यो धार्मिक स्थल पूर्वकै सबैभन्दा पुरानो मानिन्छ । यहाँ इन्द्र, वराह, कोकाह, सूर्य, बद्री, मुक्तेश्वर लगायतका १० ओटा मन्दिर छन् ।
विजयपुर
धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यहाँ रहेका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या लगायत मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यातायातको राम्रो पहुँच भएको र बजार क्षेत्र आसपासमा भएकाले यस क्षेत्रको यात्रा सुलभ मानिन्छ ।
सिद्धिथुम्का
पश्चिमी सिद्धिथुम्कावासी गत वर्षदेखि महोत्सव सञ्चालन गरेर पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डा“डा सूर्योदय र सूर्यास्त तथा हिमशृङ्खला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ ।
गजुरमुखी
पश्चिमी गजुरमुखी धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट २१ माइल दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मङ्गलवारे हुँदै कच्ची सडकबाट गजुरमुखी पुग्न सकिन्छ । स्थानीयको चासोअनुसार नै पर्यटन उपसमिति मार्फत पूर्वाधार विकास, होटल व्यवस्थापनजस्ता क्षेत्रमा ५० लाख रुपैयाँको प्याकेज कार्यान्वयन भएको छ ।
केचनाकवल
केचनाकलन नेपालको सबैभन्दा होचो स्थल हो । झापाको साबिक केचना गाविस–३ मा यो स्थान पर्छ । जिससको तथ्याङ्क अनुसार समुद्री सतहबाट केचना ५८ मिटरको उचाइमा रहेको छ । यहाँ“ पुग्न विराटनगरबाट १२३ किलोमिटर यात्रा गर्नुपर्छ ।
किचकवध
महाभारत कालमा भीमले किचक वध गरेको ठाउँ, पुरातत्त्वको उत्खननका लागि प्रमुख स्थलको रूपमा रहेको किचकवध झापाको पृथ्वीनगरमा पर्छ । किंवदन्ती अनुसार महाभारत कालमा पाण्डवहरू द्रौपदी सहित गुप्तवास बसेका बेला किचक भन्ने राक्षसले द्रौपदीलाई व्यभिचारी दृष्टि लगायो । यो कुरा भीमसेनले थाहा पाएपछि द्रौपदीको वेशमा किचकलाई पर्खिएर बसेका भीमसेनले त्यहीँ वध गरे ।