शुक्रबार , कार्तिक २९, २०८२

कुखुरा नबास्ने कुन्छाल गाउँ

नेपालमा पर्यटनका लागि इतिहासभित्र लुकेर रहेको जीवित संग्रहालय भएका गाउँ पनि छन् । पर्यटनका लागि मकवानपुरको थाहा नगरपालिका–१ मा पर्ने कुन्छाल गाउँ नेपालकै एउटा अनौठो गाउँ मानिन्छ ।

image

पर्यटन केवल रमाइलो गर्ने वा मनोरञ्जन प्राप्त गर्ने यात्रा मात्र होइन । पर्यटन ऐतिहासिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण माध्यम पनि हो । विशेष गरी इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि पर्यटन नयाँ ठाउँको भौगोलिक दृष्यावलोकन मात्र नभएर पुगेको ठाउँको ऐतिहासिक कुरा जान्ने उत्सुकता हुन्छ । इतिहास पर्यटनको क्षेत्रमा गहिरो रुपमा जोडिएको विषय हुन्छ । पर्यटनको क्षेत्रमा इतिहास कहिल्यै पुरानो हुँदैन । इतिहास सर्वव्यापक हुन्छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ । तर सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य हुन्छन् । इतिहास कसैको मौलिक रचना हुँदैन । इतिहास त तथ्यगत ऐतिहासिक स्रोत सामग्रीको आधारमा तयार पारिएको लिखत हुन्छ ।

नेपालमा पर्यटनका लागि इतिहासभित्र लुकेर रहेको जीवित संग्रहालय भएका गाउँ पनि छन् । पर्यटनका लागि मकवानपुरको थाहा नगरपालिका–१ मा पर्ने कुन्छाल गाउँ नेपालकै एउटा अनौठो गाउँ मानिन्छ । कुन्छाल गाउँमा पर्यटकहरुले जीवित संग्रहालयको अनुभूति गर्न सक्छन् । जीवित संग्रहालयमा पर्यटकहरुले इतिहास, संस्कृति, परम्परा, जीवनशैली कुन्छाल गाउँको जीवनशैलीलाई जीवितरुपमा देख्न सक्छन् । जीवित संग्रहालयले पर्यटकहरुलाई इतिहास र संस्कृतिको सजीव अनुभव गराउने माध्यम र अनुभव पनि दिन्छ । कुञ्छाल गाउँ जीवित संग्रहालय हो । कुन्छाल गाउँमा लोपोन्मुख परम्परा, कला र संस्कृति जोगाउन कुन्छालका सबै मानिस लागेका छन् । पर्यटकहरुले गोपाली वंशको इतिहास, संस्कृति, रहनसहन आदि कुरामा चासो राख्छन् । नेपालको इतिहासमा पहिलो शासकीय वंश गोपालवंश मानिन्छ । गोप भन्नाले गाई पालन गर्ने, पाल भन्नाले रक्षा गर्ने भन्ने हुन्छ । गोपालीहरुलाई पशुपतिनाथको प्रारम्भिक रक्षक तथा उपत्यकाको प्राचीन वैदिक समाजका संरक्षकका रुपमा लिइन्छ । इतिहासकार लेखनाथ पौड्यालका अनुसार, गोपालवंशीहरुले पशुपति क्षेत्रको रक्षा गर्दै उपत्यकामा सात पुस्तासम्म शासन गरेका थिए ।

कुन्छाल गाउँका गोपालीहरु नेपालका प्राचीन शासक गोपाल वंशका सन्तान मानिन्छन् । कुन्छाल गाउँमा गोपाली समुदायको मौलिक संस्कृति, परम्परागत घरहरु र जीवनशैली जीवित संग्रहालयको रुपमा पर्यटकहरुले अवलोकन गर्न सक्छन् । कुन्छाल गाउँ पुग्ने पर्यटकहरुले गोपालीहरुको इतिहास खोज्छन् । कुन्छाल गाउँलाई चिन्न नेपालको प्राचीन इतिहासको पाना पल्टाउनुपर्ने हुन्छ । नेपालमा शासन गर्ने वंशहरुबारे लेखिएको इतिहासका पानामा सबैभन्दा पहिला गोपाल वंशका शासक थिए । यिनीहरुको मुख्य पेशा गाई पालन थियो । गाई पालन मुख्य पेशा भएकोले यिनीहरुलाई गोपाल भनिन्थ्यो । यसै कारणले गर्दा गोपाल वंश भनियो । उपत्यकामा चौथो शताब्दीतिर लिच्छवी वंश भारतको बिहार क्षेत्रबाट प्रवेश गरे । लिच्छवी वंशको प्रवेशसँगै गोपालवंशी राजाहरुले सत्ता गुमाउनुपर्यो । लिच्छवीहरुले गोपाली वंशहरुलाई उपत्यका बाहिर पठाउने नीति अपनाए । गोपालवंशीहरुको समाजले वर्णव्यवस्थामा स्थान गुमाएपछि गाईपालन र खेतीका लागि कुन्छाल गाउँमा प्रशस्त घाँस, पानी, जंगल भएको हुँदा गोपालीहरुले कुन्छाल गाउँलाई आफ्नो बासस्थान बनाएको इतिहास छ ।

नेपालमा सबैभन्दा पहिला शासन गरेका गोपालहरुको वंशको बसोबास कुन्छाल गाउँमा छ । त्यसैले कुन्छाललाई गोपाली गाउँ पनि भनिन्छ । जहाँ गोपाली समुदायको मात्रै बसोबास छ । टिस्टुङ–पालुङ उपत्यकाको उत्तर–पश्चिमी कुनामा रहेको कुन्छाल गाउँमा प्रवेश गर्ना साथ पर्यटकहरुले दौरा–सुरुवाल र इस्टकोटमा सजिएर पिँढीमा बसेर हुक्का तान्दै गरेका हजुरबाहरु, हाकुपटासीमा सजिएका आमाहरु, झ्यालबाट गर्दन तन्काउँदै बाटो नियालिरहेका वृद्ध–वृद्धाहरु नयाँ मान्छे देख्ने बित्तिकै सोधिहाल्छन् बाबु नानीहरु कहाँबाट आयौ ? भोक तिर्खा लाग्यो होला, चिया खाने हो ? एउटा सुन्दर हरियाली थुम्काको काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला–अग्ला दुई र तीन तले गाउँले घरहरु एकै ठाउँमा झुप्प मिलेर बसेका छन् । एउटै रंग र आकार प्रकारका टायलले छाएका दुई पाखे छानो अनि बुट्टे झ्याल ढोकाहरु । छानोलाई टेको दिइरहेका टुँडाल अनि तिनमा झुन्डिइरहेका मकैका झुत्ताहरु, बुट्टे झ्यालसँगैका साना साना बार्दलीहरु घरलाई झनै सुन्दर देखाउन गहना बनेका छन् । झट्ट हेर्दा लाग्छ, निकै पुरानो बस्ती हो । जति नजिक पुगियो, त्यति नै अग्ला देखिन्छन् घरहरु । गाउँभित्र पसेर हेर्दा गगनचुम्बी महल जस्तै देखिन्छन् । घरको आँगन छेउछाउमा बाँधिएका गाई, भैंसी र गोबरको गन्ध अनि सँगै खेलिरहेका, हुल बाँधेर यताउता ओहोरदोहोर गरिरहेका हाँसका बथानहरुले गाउँको सुगन्ध दिन्छ ।

पर्यटकहरुलाई कुन्छाल गाउँभित्रका दृश्यहरुले अर्कै लोकमा पुगेको अनुभूति गराउँछ । त्यसमाथि गाउँका बासिन्दाहरुले प्रेम र सद्भावले भरिएका यस्ता प्रश्नहरु पर्यटकहरुलाई गर्दा साँच्चै भावविभोर बनाउँछ । पर्यटकहरु गाउँमा पुग्दा प्राचीनकाल र प्राचीन गाउँमा पुगेको अनुभूति गराउँछ । गाउँमा रहेका प्राचीनता झल्कने घर, मठ मन्दिर, पाटी पौवा, धारा, गाउँलेहरुको जीवनशैली, उनीहरुले प्रयोग गर्ने परम्परागत प्रविधि, विश्वास, मूल्य मान्यता, सामाजिक संरचना, सामूहिकता, सद्भाव र सहअस्तित्वको भावनाले प्राचीनताको झल्को दिन्छ । जहाँ मानवता जीवित छ, सांस्कृतिक मूल्यमान्यताले भरिपूर्ण, परम्परागत प्रविधिले सम्पन्न जीवनशैली, कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्र भएको अर्थात् जीवित संग्रहालय कुन्छाल पुग्ने पर्यटकले अनुभव गर्न सक्छन् । पर्यटकहरुलाई अचम्म लाग्ने कुरा त झनै अर्कै छ । कुन्छाल गाउँमा कुखुरा बास्दैन । किनकि कुन्छाल गाउँमा कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिकाको कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्रायःले हाँस पालेकै हुन्छन् । यी बस्तीमा गोपाली समुदायको बसोबास रहेको छ । कुन्छाल गाउँमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनन् । कुन्छाल गाउँमा भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाउने गरिन्छ । कुन्छाल गाउँको सामाजिक प्रचलन पनि अनौठो छ । अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन ।

कुन्छाल गाउँमा जीवित संग्रहालय भएको कारणले आजभोलि धेरै पर्यटकहरु पुग्छन् । इतिहास र संस्कृतिमा रुचि राख्ने पर्यटकहरु कुन्छाल गाउँमा गहिरो अध्ययन अनुसन्धान गर्दछन् । कुन्छाल गाउँमा तीन सय वर्ष पुराना घर मात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । पर्यटनका लागि कुन्छाल गाउँ झट्ट हेर्दा स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैन । हरियाली वातावरणको बीचमा कुञ्छाल गाउँ अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर पर्यटकहरुले टाढाबाट हेर्दा पनि आकर्षण देखिन्छ । प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कुञ्छाल गाउँमा पर्यटकहरुका लागि सामुदायिक घरबास अर्थात् होमस्टे सञ्चालनमा छ । कुञ्छाल गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरुका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरुका अनुसार सय होइन, हजारौं वर्ष इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । कुन्छाल गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति पु¥याएको छैन । लिच्छवीकालीन राजा अंशुवर्माको समेत शिलालेख रहेको भनिएको कुन्छाल गाउँको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो छ । कुन्छाल गाउँ वरपरका अन्य गाउँमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहे पनि कुन्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात गोपालवंशीहरुको मात्र बसाइ रहेको छ ।

कुन्छाल जान त्रिभुवन राजपथ हुँदै टिस्टुङ पुग्नुपर्दछ । टिस्टुङ पुगेपछि बज्रबाराही मन्दिर नजिकै सबैका आँखा पर्छन् । एकनासका घर ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायलको छाना भएको सुन्दर गाउँ कुन्छाल । कुन्छाल गाउँमा गोपाली वंशका २५० घर छन् । गोपाली थरका मानिसहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन् । गाउँको घना बस्तीमाथी जंगल, बाह्रै महिना हरियाली देखिने खेत र बारी । एउटै विशाल ढुँगामाथि बसेको बस्ती, गाउँमा चटयाङ समेत पर्दैन । नब्बे साल र ७२ सालको भुइँचालोले समेत कुन्छाल गाउँमा क्षति भएन । वरिपरी हरिया डाँडा अनि खेतहरुले भरिएको कुन्छाल गाउँका घरहरुले त्यहाँ घुम्न जाने पर्यटकलाई मोहित बनाउँछ । कुन्छाल गाउँ पर्यटकीय हिसाबले मात्र नभएर ऐतिहासिक दृष्टिले पनि निकै महत्व मानिन्छ । गाउँमा मानिसहरु गाईपालनसँगै खेती किसानी गरेर जीविकोपार्जन गरिरहेका छन् । विशेष गरेर कुन्छालका मानिसहरु व्यावसायिक तरकारी खेती गर्दछन् । कुन्छाल गाउँका गोपाली जातिको मौलिक कला संस्कृति, उनीहरुको पहिचानसँग जोडिएको बस्ती र परिवेश अवलोकन गर्न पर्यटकहरु कुन्छाल पुग्ने गर्दछन् ।

नेपालका मुखिया प्रथाहरु अन्त भएको धेरै बर्ष भयो । तर कुन्छाल गाउँमा भने अझै पनि गाउँमाथिको डाँडोमा गएर उर्दी लगाउने गर्छन् । उर्दी लगाएपछि सबै भनेको ठाउँमा जम्मा हुनु पर्दछ । कुन्छाल गाउँमाथि डाँडामा गएर आज फलानोको रोपार्इं छ है, भनेर कराएपछि सबै जुट्छन् । खेत खन्ने बेला, धान गोड्ने बेला वा धान रोप्ने बेलामा उर्दीका भरमा सिंगो गाउँ जम्मा हुने गर्दछ । कुन्छाल गाउँको मुखिया प्रथालाई उनीहरुले थकाली प्रथाका रुपमा मान्दै आएका छन् । कुन्छालमा जो पाको हुन्छ उसैलाई थकालीका रुपमा मान्ने चलन छ । एउटा थकाली अर्थात् मुखिया हुन्छ भने अरु पाँचजना मुखियाका सहयोगी रहने गर्छन् । सामूहिकतामा विश्वास गर्ने कुन्छाल गाउँका गोपालीहरु खेतीको काम गर्ने बेला एकै ठाउँमा खाना खाने गर्छन् । विशेषगरी वैशाख र मंसिरमा सिंगो गाउँका लागि एउटै डेक्चीमा खाना पाक्छ । कुन्छालका मानिस बोल्ने क्रममा लवज नेवारी जस्तो लागे पनि ठेट नेवारी भन्दा अलि फरक भाषा बोल्छन् । कुन्छालका मानिसले आफूलाई ब्राह्मण भन्दा माथिको जात मान्ने गरेका छ ।

कुन्छाल गाउँमा पञ्चायतकालसम्म आफ्नो थर ग्वाला लेख्ने गरेका थिए । तर ती ग्वालाहरुपछि एकाएक कसरी गोपाली भए ? ग्वालाबाट गोपाली भएको पञ्चायतकालमा नै हो । जुन बेलाका प्रधानपञ्च रामलाल ग्वालालाई ग्वाला भन्न र लेख्न अफ्ठ्यारो लागेछ । उनले त्यसपछि ग्वाला थरलाई गोपाली बनाएछन् । त्यसभन्दा अघिका नागरिकता र लालपुर्जाहरुमा ग्वाला नै लेखिएको छ । मकवानपुर जिल्ला मालपोतमा अहिले पनि ग्वाला थरका कागजात भेटिन्छन् । कुन्छाल गाउँका बासिन्दाबीच सामान्य भनाभन भए पनि आजसम्म अदालती मुद्दा परेको छैन । सामान्य मुद्दाहरु गाउँका मुखियाले नै मिलाउने गरेका छन् । अहिले कुन्छाल गाउँमा एग्रो टुरिज्मको विकास भएको छ । गाउँलेहरु कृषिकर्ममा रमेका छन् । उनीहरु धान, आलु, गहुँ, मकै र मौसमी तरकारी फलाउँछन् । गाउँमा घुम्न जाने पर्यटकले कुन्छालमा दुई रात सजिलै बिताउन सकिन्छ । गाउँका दर्जन भन्दा बढी घरमा होमस्टे सुविधा छ । पर्यटकको इच्छा अनुसार होमस्टे व्यवस्थापन समितिले डबलीमा साँस्कृतिक कार्यक्रम देखाउँछ । साँस्कृतिक कार्यक्रममा हिले नाचका झलक देखाइन्छ । कुन्छालबाट गुन्द्रुक, सिजनेवल तरकारी, सन्चाना, किवी र भुइँ स्याउ कोसेलीको रुपमा पर्यटकहरुले लिने गर्दछन् ।

कुन्छाल गाउँमा पुग्दा पर्यटकहरुले पदमार्गमा समेत रमाउन सक्छन् । पदयात्रा गर्दा पर्यटकहरुले बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा हुँदै कुन्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न समेत पर्यटकहरुले सक्छन् । वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकन पश्चात थाहा नगरकै प्रमुख शक्तिपीठका रुपमा रहेको बाराही मन्दिर र सँगैको चौरबाट जंगल सफारीमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ । पर्यटकहरुलाई बाराही मन्दिरबाट उकालो हिँडेर पुगिने बाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर पर्दछ । बाराही डाँडाबाट पुनः जगंल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर पदयात्राको अन्त्य हुन्छ ।

नेपालमा पहिलो पल्ट चन्द्रशमशेर राणाको पालामा चित्लाङ र टिस्टुङका स्थानीयहरुले गाडी बोकेर उपत्यका पु¥याउने ऐतिहासिक गोरेटो राजमार्ग पनि कुन्छालमा छ । यस्ता धेरै इतिहास बोकेको यो क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा पनि धनी छ । सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको कोट दरबार पनि टिस्टुङमै रहेको छ । अहिले दरबारको भग्नावशेष मात्र रहेको छ भने कोटदरबार नजिक तलेजु भवानीको मन्दिर रहेको छ । टिस्टुङमा केही आधुनिक शैलीका घर सडकछेउमा बने पनि अधिकांश घर पुरानै नेवारी शैलीका छन् । टिस्टुङ उपत्यका कुलेखानी जलविद्युतका लागि जलाधार र काठमाडौं उपत्यकाका लागि तरकारीको प्रमुख आपूर्ति गर्ने उपत्यका हो । टिस्टुङ उपत्यका प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र र साँस्कृतिक वस्तीका रुपमा रहेको मकवानपुरको टिस्टुङ पालुङ र चित्लाङ क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।

कसरी पुग्ने

कुन्छाल गाउँ जान काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको यात्रा गर्नुपर्दछ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङको बाटो हुँदै पनि ३० किलोमिटरको यात्रामा कुन्छाल पुग्न सकिन्छ । अर्कोतर्फ फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो भने ५५ किलोमिटर यात्रामा कुन्छाल गाउँ पुग्न सकिन्छ । हेटौंडा अथवा पोखरादेखि कुन्छाल जान त्रिभुवन राजमार्गमा पर्ने टिष्टुङ पुग्नुपर्दछ । टिष्टुङ छाडेर ढुंगा छापेको बाटो उक्लेपछि कुन्छाल गाउँ पुग्न सकिन्छ ।

(नयाँ युगबोध राष्ट्रिय दैनिकबाट)

सम्बन्धित समाचार