सोमबार , फागुण १४, २०८०

‘सुन चौर’ अर्थात् कुरी गाउँ

ग्राम्यताको शौम्य सभ्यता बोकी बसेको कुरी गाउँको वास्नादार लेकाली माटोमा हिउँ आएर थपक्क थपक्क बसीरहेका हुन्छन् । खनियावास गाउँपालिका वडा नम्बर ३ स्थित कुरी गाउँमा अवस्थित म्हन्दङ, ल्याक्चे कुण्ड तथा बिजुलुङ ढुङ्गा यस भेगका घुम्न योग्य ठाउँहरू हुन् ।

image

पारि पहाडका टुप्पाहरुमा सेता मजेत्रो गुथे जस्ता शिखरहरूको काखैमा अवस्थित छ, कुरी गाउँ । धादिङको लेकाली भेग दार्खाबाट सत्यदेवीको उकालो उक्लिए पछी कृषि पर्यटन र सांस्कृतिक विरासत बोकेको कुरी गाउँ पुगिन्छ । गाउँ मुक्त बनिसकेकेको काठमाडौं सभ्यताबाट गणेश हिमाल फेदीको कुरी गाउँ पुग्नु जम्माजम्मी एक दिनकै कुरा हो ।

धादिङको खनियावास गाउँपालिका स्थित वडा नम्बर ३ (साबिक वडा नम्बर ४) मा रहेको कुरी गाउँ सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँ हो । यहाँ करिब २५० घरधुरी र १५ सय जनसंख्या छ ।

‘खनियावास विद्रोह’ पूर्व यस भेगमा ब्राह्मण क्षत्रीहरूको पनि बसोबास थियो । हाल यहाँ तामाङको बाहुल्यता छ । यस भेगमा ल्होसार भर्खर–भर्खरै मात्रै मनाउन थालिएको छ । तामाङ बाहुल्यता रहेता पनि ल्होसारले यति पछि मात्रै मान्यता पाउनु आफैँमा अचम्म लाग्दो विषय छ । प्राकृतिक भ्यू टावरको रूपमा कुरी गाउँदेखि माथि जंगलको माझमा ‘लङ्लऊ पोचो’ छ, जहाँबाट गाउँ छर्लङ्गै देखिन्छ ।

उतिबेला पृथ्वीको उत्पत्ति (सन्या दुनियाँ) को बेला (ङेमा कु, दवा कु आदिको समय)मा लापा गिलीले, तिप्लिङ् खोर्पाले, बरङ् लोर्चेले, जर्नङ नवरीले, किम्ताङ टुन्टेले, संगम छेवङले मानव बस्ती बसाउने विचार गरेछन् । सोही सिलसिलामा गिलिङ्चो (हिमाल)बाट दक्षिण पट्टि (हाल कुरी गाउँ रहेको स्थान) पाँचौ बराजुले सुनको कचौरा बनाएको लोकोक्ति छ । सोही सुनको चौरलाई ‘कुरी’ नामले पुकार्न थालेको कथन भेटिन्छ । यस चौरमा पलाउने दुबो रातको समयमा सुन जस्तो पहेँलो टल्कने गरेको आफैँले देखेको स्थानीय सार्की तामाङ (७३ वर्ष) बताउँछन् । बिहानको झुल्के घाममा शीतले भिजेको दुबो टल्कदा ‘पहेँलो’ देखिने गर्दछ नै तर तामाङ ‘राति पनि टल्कने गरेको’ बताउँछन् ।

ग्राम्यताको शौम्य सभ्यता बोकी बसेको कुरी गाउँको वास्नादार लेकाली माटोमा हिउँ आएर थपक्क थपक्क बसीरहेका हुन्छन् । खनियावास गाउँपालिका वडा नम्बर ३ स्थित कुरी गाउँमा अवस्थित म्हन्दङ, ल्याक्चे कुण्ड तथा बिजुलुङ ढुङ्गा यस भेगका घुम्न योग्य ठाउँहरू हुन् ।

bijlung dhunga

ल्याक्चे कुण्ड आदिकालमा तपोस्थल थियो । बिजुलुङ ढुंगा खेतको गरामा अवस्थिति ७३ मिटर उचाई र २०० मिटर चौडाई भएको भएको विशाल ढुंगा हो, जसलाई पालिकाले नेपालकै ठुलो ढुङ्गा भनेर दाबी गरेको छ । यसैगरी, म्हन्दङ चाक्ला–चाक्ला ढुङ्गामा अक्षर कुँदिएका मन्त्रहरूको संरक्षण थलो हो । म्हन्दङलाई नियालीरहँदा बोम्पो धर्म र बौद्ध धर्मको अस्तित्व अलगअलग भइकन पनि समानान्तर तरिकाले यस भेगमा अगाडि बढिरहेको देख्न सकिन्छ ।

कुरी गाउँमा विभिन्न नगदे बाली, अन्न र तरकारी उत्पादन हुन्छ । अधिकांश मानिसहरू कृषि पेसामा निर्भर भएता पनि पछिल्लो वर्षमा युवा पुस्ता नयाँ आयाममा साना–मझौला व्यापार–व्यवसायमा संलग्न हुन् थालेको देखिन्छ । यसले जीवनशैलीमा फरकपन ल्याउँदै गरेको देख्न सकिन्छ । यिनै मध्ये एक हुन्, ल्याक्चे भ्यू पोइन्ट क्याफेका सञ्चालक जस बहादुर तामाङ । तामाङ २ वर्ष खाडी मुलुकमा बिताएर स्वदेश फर्किएका हुन् । नेपाल फर्के पश्चात् उनले कुखुरा पाले ।  डुब्यो । त्यसपश्चात् सुँगुर (४०/५० वटा) पालन गरे । डुब्यो । उधारो धेरै जान थाल्यो, मासुबाट पनि राम्रो भएन । क्याफेदेखि तल सुँगुरको खोर अझै पनि छ । कोरोना कहरका कारण सो व्यवसाय नफापेपश्चात् उनी पछिल्ला दिनहरूमा गाउँमै स–सानो क्याफे चलाउँदै आइरहेका छन् । कुरी गाउँ एवम् ल्याक्चे कुण्डको ऐतिहासिक, सांस्कृतिक पाटोप्रति चर्चा–परिचर्चा बढ्दै गएपश्चात् मान्छेहरू आउन थालेको र क्याफे चल्न थालेको तामाङ बताउँछन् । गाउँमा मःम खान खोज्नेहरूको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ । खाजाको बलियो विकल्पको रुपमा म:म गाउँ छिर्दो अवस्थामा छ भन्ने कुराको संकेत उनको कुराबाट पाइन्छ।

एकै दिन २ गाग्री लोकल रक्सी बिक्री !

मान्छे आएको समयमा दिनमा २ गाग्री (४० लिटर) सम्म लोकल रक्सी बेचेको उनी बताउँछन् । सानो गिलासको २० रुपैयाँ र ठुलो गिलासको ४० रुपैयाँको दरले रक्सी बेचिरहेका उनी घरबुना रक्सीलाई नजरअन्दाज गर्दै ब्रान्डेड रक्सी भित्राइरहेको सरकारी रवैयालाई चुनौती दिइरहे जस्तो देखिन्छन् ।

“ब्रान्डेड रक्सी पनि राखेको छु तर, लोकल र तुम्बा नै ज्यादा जान्छ । हाम्रोतिर पियोर हुन्छ । यही नै जान्छ”, उनी भन्छन् । यहाँ घर–घरमा नै रक्सी बनाइन्छ, स्थानीय होटलसम्म आए पनि ब्रान्डेड नै चाखेर जाने गर्छन् । अवैध भनेर फालिने लोकल रक्सीलाई व्यवस्थित गर्न सके राजश्व पनि बढ्ने र धेरै मानिसले आफ्नो आयआर्जन पनि गर्न सक्ने उनको भनाइ छ ।

स्थानीय सार्की तामाङ

“तपाईंहरू जस्तो मान्छे आएपछी चाहिँ लोकल नै खोज्छ, लोकलको महत्व बोध गर्ने र व्यवस्थित गर्नेमा सरकारले किन ध्यान दिएको छैन ?” उनले आफ्नो कुरा टुंग्याउन नपाउँदै ल्याक्चे कुण्ड आधारभूत विद्यालयका विद्यार्थीहरू (जसका नाकबाट सिँगान बगिरहेका छन्) उनीकहाँ आइपुगे । उनीहरूको हातहातमा दश–दश रुपैयाँको नोट थियो । नोट देखाउँदै उनीहरू बरफको फर्माइस गर्दै थिए । विद्यार्थीहरूलाई बरफ दिए पश्चात् उनी हामीसँग पुनः गफिन थाल्छन् ।

बदलिँदै छ गाउँ, बदलिँदैछन् गाउँले

‘विकास भनेको के हो र ? के भइरहेको छ ? पहिले हस्पिटल थिएन, अहिले छ । आमा समूहको भवन भएको छ । पहिले खानेपानी पनि थिएन, लाइन लागेर बस्नुपथ्र्यो । स्थानीय सरकार बने यता कुरी गाउँमा धेरै बदलाव आएको छ । पहिले पोखरी (कुण्ड) मा जानलाई सिँढीहरू पनि थिएन, अहिले भइसक्यो । कति गरेन मात्रै भन्नु ? गाउँपालिकाले गरेकै देख्छु हो मो त’ कुण्डको मुखैमा होटल (क्याफे) खोलेर बसेका तामाङ बताउँछन् । उनी स्थानीय सरकार आइसकेपछि केही विकास निर्माणमा कार्यहरू थालनी भएको स–गौरव सुनाउँछन् ।

खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ ङिचो प्राङ्गन (पोचो), ल्याक्चे कुण्ड, बिजलुङ ढुङ्गा, कुरी गाउँलाई पर्यटकीय स्थलको रूपमा परिचित बनाउन लागिपरेका छन् । उनको अघिल्लो कार्यकालमा १५ लाख बजेट विनियोजन पश्चात् ताल पुग्ने सिढी एवम् पर्खालहरू निर्माण भएको हो । “एकादशी तथा माघे संक्रान्तिमा विशेष मेला लाग्ने ल्याक्चे कुण्ड ऐतिहासिकता बोकेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा हो”, तामाङ अगाडि भन्छन्, “गाउँपालिकाभरका झाँक्रीहरू आएर विधि अनुसार यहाँको मानेमा पूजा विधि सम्पन्न हुँदै आएको छ ।”

ऐतिहासिक ल्याक्चे कुण्ड

यस ऐतिहासिक पोखरी (ल्याक्चे कुण्ड) संसारको सृष्टि भए देखि नै अवस्थित रहेको अनुमान स्थानीयवासीको छ । निकै अघि पोखरी धेरै गहिरो रहेको र एक्कासी पोखरी भन्दा माथिबाट पहिरो आएकाले कुण्ड धेरै हदसम्म पुरिएको किम्बदन्ती छ । क्याफे मालिक तामाङको भने कुण्डलाई लिएर केही फरक कथन पेश गरे । उनका अनुसार, लाक्चे (लक्चे) भन्ने एउटा फल हुन्छ, जो लहरामा फल्छ । यसलाई ‘लहराना’ पनि भनिन्छ । सोही फलको नामबाट कुण्डको नामकरण गरिएको हुनुपर्ने उनको मत छ ।

यस कुण्डमा ठुलो एकादशीमा मेला लाग्छ । मेलामा बोन धर्मावलम्बीहरू (स्थानीय भाषामा झाँक्री) अर्थली, कुरी एवम् झार्लाङदेखि आउने गर्छन् । कुण्डमा विभिन्न किसिमका चराचुरुङ्गीहरू आइ पानी माथि खेलिरहेको देखिन्छ, तर पछिल्ला वर्षहरूमा पानी सुक्दै जाँदा चराहरू आउने क्रम घट्दो क्रममा रहेको तामाङ बताउँछन् । “ल्याक्चे स्कुल भएको ठाउँमा पहिले अर्को दह थियो, स्कुल बनाउदा सो दह पुरियो । त्यसको मूल सम्भवतः अर्कैपट्टि लाग्यो । पछी पहिरो आयो । लेते पनि आयो । र, ल्याक्चे कुण्ड पनि सिमेटिदै गयो”, उनी भन्छन् ।

जाडोयाममा पनि कुण्डमा तातो पानी

कुण्डमा कार्तिकसम्म पानी टलपल टलपल भरिएको हुन्छ । स्थानीयवासीहरू त्यतिबेला यही कुण्डमा नुहाइधुवाई गर्ने गर्छन् । कुण्डदेखि थोरै माथि पानीको मुहान छ, जो जाडो याममा तातो हुने गर्दछ । ल्याक्चे कुण्डमा हिउँ पनि पर्दछ, तर, पछिल्लो समय हिउँ पर्ने सिलसिला कम हुँदै गएको छ । अघिल्लो साल परेको हिउँ ३/४ दिनसम्म बसेको थियो ।

ल्याक्चे कुण्ड संरक्षण समूहले हरेक वर्ष साउने संक्रान्तिको भोलिपल्ट अर्थात् साउन २ गते पौडी प्रतियोगिता समेत आयोजना गर्दै आइरहेको छ । यस प्रतियोगिताको दिन स्थानीय एवम् आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहने गर्दछ । सुन्दर कुरी गाउँलाई अझ थप सुन्दरता बनाइदिने यस ऐतिहासिक पोखरीको संरक्षणमा स्थानीय सरकार लागिरहँदा यसको प्रचार-प्रसारमा अझ ध्यान दिन सके बेसै हुने देखिन्छ ।

No photo description available.

सम्बन्धित समाचार