आइतबार , भाद्र ७, २०८३

क्वाति खानुहोला, क्वाँटी होइन !

यस दिन क्वाति मात्र खाने होइन, मानिसहरूले पूर्व फर्केका नौ वटा धारामा नुहाउने, नौ थरीको लुगा लगाउने समेत गरेको पाइन्छ ।

image

हिन्दु धर्मालम्बीहरूका लागि श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा एक विशेष चाड रहेको छ । यो दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमूल, असार पन्ध्रमा दही चिउरा, साउने पन्ध्रमा खिर खाए झैँ यो दिन विशेषगरि ‘क्वाति’ खाने गरिन्छ । मास, भटमास, मुगी, ठुलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी आदि गेडागुडी मिसाएर पकाइएको एक झोलिलो खानेकुरा नै क्वाति हो । परम्परागत हिसाबले हेर्ने हो भने क्वातिमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । उपलब्ध गेडागुडीलाई केहिदिन भिजाएर टुसा उमारिन्छ । टुसा उम्रिएर तयार भएको गेडागुडीलाई प्रेसर कुकरमा अदुवा, लसुन, प्याज, नुन, बेसार, जिरा-धनियाको धुलो आदि राखेर २ देखि ३ सिठी लगाएपछि क्वाति तयार हुन्छ ।

नेवार समुदाय र नौ थरिका गेडागुडीको क्वाति

आज क्वाति खाने दिन भएता पनि अधिकांशले ‘क्वाँटी खाने दिन’ भनेको पाउँछौँ । क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो । जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप भएकाले ‘क्वाति’ वा ‘क्वाँटी’ को अर्थ तातो सुप भन्ने बुझिन्छ। यस दिन क्वाति मात्र खाने होइन, मानिसहरूले पूर्व फर्केका नौ वटा धारामा नुहाउने, नौ थरीको लुगा लगाउने समेत गरेको पाइन्छ ।

नेवार समुदायमा नौ अङ्कको विशेष महत्व रहेको पाइन्छ । जस्तो कि नवदुर्गा, नवरात्रि, नवरत्न, नौ दिन, नौ महिना नौ वर्ष र नौ ओटा गेडागुडी र नौओटा पात गाँसेर सिइएको नवदुर्गाको प्रतीक दशैंमा भोज खानको लागि बनाइएको पात, नौ दिनसम्म मनाइने गुन्हिपुन्हि चाड आदिले यो कुराको पुष्टि गर्छ । घरबाट बाहिर गएका व्यक्तिहरूले उल्लिखित नौ दिन र नौ महिना नौ वर्ष गणनाको ख्याल गरेर घर फर्कनु पर्छ नत्र अपशकुन हुन्छ भन्ने चलन रहेको छ । त्यसैगरि कोरा बस्दा पनि नौदिनसम्म बारेर बसेपछि दशौँ दिनमा गाईको गहुँत खाइएपछि शुद्धाशुद्धि भएको मानिन्छ ।

रक्षावन्धन, जनैपूणिर्मा अर्थात् श्रावण शुक्ल पूर्णिमादेखि कृष्णाष्टमीसम्म गरी नौ दिनसम्म मनाइने यस चाडलाई गुपुन्हि (गुन्हिपुन्हि) भनिने गर्दछ भने नौथरिका गेडागुडी मिसाएर बनाइएको स्वादिष्ट वचाती खाइने भएको हुनाले यस पर्वलाई वचाती पूर्णिमा पनि भनिन्छ । नेवार समुदायबाट प्रचलनमा आएको क्वाति खाने दिन अहिले अन्य जातजातिले समेत विशेष रूपमा मनाउने गरेका छन्, जसलाई उनीहरू ‘क्वाँटी खाने दिन’ भन्ने गर्छन् ।

किन खाइन्छ क्वाति?

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पौष्टिक तत्वको आवश्यक पर्ने कुरा हामीले बुझेकै छौँ । त्यस्ता पौष्टिक तत्व खानेकुराको माध्यमबाट प्राप्त हुन्छ । सोहीकारण हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ  जसमा अंकुरित गेडागुडी पनि पर्छ ।

तर, अचेल हामी गेडागुडी भिजाएर अंकुराएपछि खान अल्छी गर्छौँ । नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षा याममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाति खाने गरिएको बुझिन्छ । यसले खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त ऊर्जाको खाँचो हुन्छ । जसको परिपूर्ति गेडागुडी अर्थात् प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ राख्ने काम गर्छ ।

क्वाति खानुका फाइदा

रेसादार खानाको स्रोत क्वातिले कब्जियतको समस्या हटाउँछ । साथै मधुमेह तथा पायल्सका रोगिलाई पनि फाइदा पुर्‍याउँछ । भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ भरिपूर्ण क्वातिले शरीरको थकाइ कम गर्नुका साथै तनावबाट मुक्त गराउँछ । यसले रोग प्रतिरोधात्मक शक्ति बढाउने, स्मरण शक्ति बढाउने, एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट छुटकारा दिलाउने समेत गर्दछ । रक्तसञ्चार तथा स्नायु प्रणालीलाई समेत फाइदा पुर्‍याउने क्वातिले सौन्दर्यमा समेत निखार ल्याउने काम गर्छ । क्वातिबाट तत्काल आवश्यक ऊर्जा प्राप्त हुनुका साथै यसले मांसपेशीको मर्मत सम्भारमा सहयोग गर्छ ।

कति खाने क्वाति ?

क्वाति नेपाली भान्सामा पाक्ने स्वादिलो परिकार हो । तर, यसबाट प्रोटिन मिल्छ भन्दैमा अथवा मिठो लागेकै भरमा धेरै मात्रामा खानु हुँदैन । क्वाति नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ ।

किनभने शरीरमा प्रोटिनको मात्रा बढेपछि, युरिक एसिड बढ्ने डर हुन्छ । जसको भार मिर्गौलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाति सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ । साथै पेटसम्बन्धी रोगीलाई क्वाति पचाउन गाह्रो हुने हुँदा यसको सेवन नगर्दा या कम गर्दा नै उपयुक्त मानिन्छ ।

यसरी बनाउनुहोस् क्वाति…

क्वाति बनाउने आआफ्नै तरिका हुन्छन् । कसैले भुटेर त कसैले झोल राखेर क्वाति पकाउँछन् भने कसैले कुखुरा र खसीको मासु मिसाएर समेत क्वाति बनाउने गर्छन् । यसमध्ये हामीले शाकाहारी क्वाति बनाउने तरिका दिएका छौँ ।

क्वाति पकाउनका लागि टुसा पलाएको गेडागुडी, ज्वानो, सुप, तोरी, करी पाउडर, काटेर पिसेको अदुवा-लसुन, हरियो र रातो खुर्सानी, बेसारको धुलो, काटेको प्याज, नुन र काटेको हरियो धनियाँ क्वातिको आवश्यकता तथा परिमाणका हिसाबले तयार गर्नुपर्छ ।

अब सबै सामग्री तयार भएपछि क्वाति बनाउनतिर लागौँ । पहिला आगोमा प्रेसर कुकर बसाउनुहोस्, र कुकर तातेपछि आवश्यकता अनुसार तेल राखेर तताउनुहोस् । तातेको तेलमा ज्वानो, सुप र तोरी फुराउनुहोस् । गोटा मसला फुरेपछि प्याज, लसुन, अदुवा र रातो/हरियो खोर्सानी राखेर २ मिनेट जति चलाउनुहोस् ।

अब, उम्रिएको गेडागुडी हालेर एकछिन् भुट्नुहोस् । त्यसमा करी पाउडर, बेसारको धुलो, काटेको गोलभेँडा, नुन आदि राखेर पुनः ३ मिनेट जति भुट्नुहोस् । भुटिसकेपछि कुकरमा पानी हालेर सिठी लगाउनुहोस् । करिब ६-७ सिठी लागेपछि आगो निभाउनुहोस् र कुकरको हावा जान दिनुहोस् । माथिबाट काटेको धनियाँ राखेपछि साधारण रूपमा तपाईँको क्वाति तयार हुन्छ । यसलाई अझ स्वादिलो बनाउन गरम मसला समेत प्रयोग गर्न सकिन्छ। साथै तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर पाकिसकेको क्वाति झान्न समेत सकिन्छ ।


यो पनि पढ्नुहोस्,

घन्टाकर्ण चतुर्दशी: प्रेतआत्माका नाममा पाकेका खानेकुरा दोबाटोमा राख्ने चलन

पहाडी क्षेत्रले लुतो फ्याल्छ, नेवा: समुदायले ‘गथांमुग:’ मनाउँछ

सम्बन्धित समाचार