बिहिबार , बैसाख २४, २०८३

ऐतिहासिक ‘सोह्र हजार पर्वत’ राज्यको महत्त्वपूर्ण राजधानी: मल्लाज

मल्लाज गाउँ नेपालको गण्डकी प्रदेश, पर्वत जिल्ला, उत्तरी जलजला गाउँपालिकामा अवस्थित रहेको छ । मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोडिएर रहेको छ ।

image

एक सुन्दर स्थानको नाउँ हो मल्लाज,
प्रकृतिले हराभरा ठाउँ हो मल्लाज,
धौलागिरिको सम्मुख अवस्थित यो,
धेरैको प्यारो गाउँ ठाउँ हो मल्लाज ।

मल्लाज गाउँ नेपालको गण्डकी प्रदेश, पर्वत जिल्ला, उत्तरी जलजला गाउँपालिकामा अवस्थित रहेको छ । मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोडिएर रहेको छ । हाल मल्लाज पुग्नका लागि तीन वटा मोटरेवल सडक रहेका छन् । बेनी बजारबाट पैदल यात्रा गरेर पनि सहजै मल्लाज पुग्न सकिन्छ । मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारबाट करिब २ किमिको दूरीमा रहेको छ ।

बेनी बजार

मुस्ताङ, मुक्तिनाथ जाँदा होस् वा धौलागिरि बेसक्याम्प जाँदा होस् वा अन्नपूर्ण बेसक्याम्प जाँदा होस् वा लुकेको गुर्जागाउँ, गुरिल्ला मार्ग, ढोरपाटन जाँदा होस् वा अन्य काम विशेषले जाँदा होस्, म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार पुग्ने जो कोहीले त्यहाँबाट पूर्व कालीगण्डकी पारी कहाली लाग्दा पहराहरू देखेर आश्चर्य मान्ने गर्दछन् । ती कहाली लाग्दा पहराहरू भन्दा थोरै पल्तिर सुन्दर र मनमोहक गाउँ मल्लाज रहेको होला भनी त्यहाँ नपुगी अनुमान गर्न गाह्रो पर्छ ।

मल्लाजका मुख्य बस्तीहरू छरिएको नभई एकै ठाउँमा रहेका छन् । बस्तीमाथि र मुनि जङ्गल, खरबारी तथा चरन क्षेत्रहरू रहेका छन् । धान खेती गर्ने जमिन, बारी, चरन क्षेत्र, घाँसपात जम्मा गर्ने जङ्गल क्षेत्र आदि छुट्टाइएका छन् । बरु काठमाडौं उपत्यका वरिपरिका स्थानहरूमा चरन, जङ्गल क्षेत्र पनि व्यक्तिका नाममा रहेका तथा घडेरीका नाममा धमाधम खनेर हरियाली रित्याउँदै तथा पहाड भत्काउँदै गरेको भेटिन्छ तर मल्लाजका चरन र जङ्गल क्षेत्र व्यक्तिका नाममा नभएर सामुदायिक क्षेत्रका रूपमा रहेको पाइन्छ।

बेनी बजारसँगै मल्लाज गाउँ अनि मल्लाज काेत भगवती मन्दिर

लहलह धानका बाला झुल्ने फाँट, ऐतिहासिक कर्णेल्नीको दरबार, मठ मन्दिरहरू, पवित्र गलेश्वर र मुक्तिनाथको प्रवेश भूमि, जलजला र त्यसबाट उत्पन्न भएका लुँदी, पुँदी जस्ता कन्चन खोलाहरू, २४ से राज्यका अन्तिम राजा कृतिबम मल्लको पर्वत राज्यको राजधानी, बिहानै घामका सुनौला किरणसँगै देखिने संसारकै सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर), पहेँलपुर सुन्तलाका बगैँचाहरू आदि यस गाउँका अन्य परिचय हुन् । यस गाउँ भएर पर्वतका लोप्रे, फलामे डाँडा, पर्वत जिल्लाको सबैभन्दा अग्लो तथा अति सुन्दर स्थल कालाञ्जर पर्वत (हम्पाल क्षेत्र), मृग सरोवर (जलजला) तथा म्याग्दीका नागी, मोहरे डाँडा, घोडेपानी, पुनहिल जस्ता अति सुन्दर स्थानहरूमा पनि पुग्न सकिन्छ । मल्लाज स्थित पूर्णगाउँ, बराह ताल, कोत मन्दिर, शिवालय मन्दिर, प्रसिद्ध गुफा मन्दिर, पौराणिक मान्यता रहेको भीमपाईला तथा हिमालका दृश्यहरूले जोसुकैको मन लोभिने गर्दछ । धेरै समयसम्म बोटमा रहने तथा मीठो स्वाद भएका सुन्तलाको प्रशस्त उत्पादन हुने मल्लाजको छिमेकी गाउँ बाँसखर्कलाई सुन्तलाको राजधानी भन्दा अतिशयोक्ति हुँदैन । सुन्दर प्रकृतिको वरदान पाएको बाँसखर्कमा होमस्टेका सुविधा पनि छ ।

मल्लहरूको राज्यसँग सम्बन्धित रहेर उक्त गाउँको नाम मल्लाज रहेको विश्वास गरिन्छ । राणाकालीन समयका ३५ जिल्ला मध्ये अहिलेको बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ समेटेर बनेको इलाकालाई पर्वत जिल्ला भनिन्थ्यो । उक्त पर्वत जिल्लालाई पञ्चायत व्यवस्था लागु भएपछि वि. सं. २०१८ सालमा टुक्राएर बाग्लुङ्ग, म्याग्दी, मुस्ताङ गरी तीन जिल्ला बनाइयो । सोही कारणले पनि पर्वत जिल्लाको मल्लाज लगायतका छिमेकी उत्तरी गाउँहरूको दक्षिणी पर्वत भन्दा म्याग्दीका र बागलुङका ठाउँहरूसँग बढी न्यानो सम्बन्ध र आत्मीयता रहेको पाइन्छ । पुरानो ‘सोह्र हजार पर्वत’ नामको चौबीसे राज्यको राजधानी मल्लाज बेनी – ढोलठाना रहेको ऐतिहासिक जानकारी पाइन्छ । बेनी बजार मल्लाजसँग जोडिएको तथा मल्लाजमा लुँदी लगायतका साह्रै राम्रो धान खेती हुने जमिन रहेको हुँदा पर्वत राज्यको केन्द्रका रूपमा मल्लाजको विशेष महत्त्व रहेको हुनुपर्छ भनेर सहजै अनुमान गर्न सकिन्छ । अहिले विकसित हुँदै गरेको सामाजिक चेतले फरक पारेको हुनसक्छ । तर पहिले पहिले मल्लाज भन्नाले मल्लाज माझफाँट मात्र नभएर बाँसखर्क, लेकफाँट, शालिजा, धाइरिङ आदि पनि बुझ्ने गरिन्थ्यो ।

ऐतिहासिक महत्त्व बोकेको मल्लाजको कर्णेल्नीको दरबार वि. सं १९७२ मा भक्तपुरका कारिगर र श्रमिकहरू ल्याएर बनाइएको थियो । तत्कालीन नेपाली सेनाका कर्णेल तेजबहादुर मल्ललाई राणाहरूले उपहार स्वरूप उक्त दरबार निर्माण गरी दिएको भन्ने भनाइ रहेको छ । दरबारमा उनको निधन पछि उनकी पत्नी लक्ष्मीकुमारी मल्ल बस्ने गरेकाले गाउँमा उक्त दरबार “कर्णेल्नीको दरबार” ले परिचित थियो । दरबारमा हाल “द हेरिटेज एट मल्लाज रिर्सोट” सञ्चालनमा छ । आफ्ना जिजूहजुरबा तेजबहादुर मल्लले निर्माण गरेको तथा वर्षौँसम्म मर्मत सम्भारको अभावमा खण्डहरमा परिणत भएको उक्त दरबारलाई वि. सं २०६९ मा उनका पनाति मुकुन्दबहादुर मल्लले जीर्णोद्धार गरी रिसोर्ट सञ्चालन गरेका हुन् । उक्त दरबार र मल्लाजका सुन्दर दृश्यहरू चर्चित नेपाली सिनेमा ‘छक्का पञ्जा ०३’ मा पनि देख्न सकिन्छ ।

उक्त रिसोर्ट अचेल मुस्ताङ, म्याग्दी वा पर्वतका रमणीय स्थलहरूमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाइमा पर्ने गरेको पाइन्छ । बेनी बजारबाट उक्लेर एक रात भए पनि उक्त रिसोर्टमा समय बिताउने तथा भुर्तुलाको चौतारोको भ्यू पोईन्टबाट धौलागिरि हिमशृङ्खला, बेनी बजार, कालीगण्डकी उपत्यका, म्याग्दी खोला उपत्यका तथा म्याग्दीका रमणीय बस्तीहरू दृश्यावलोकन गर्नका लागि पर्यटकहरू सधैँ लालायित हुने गरेको पाइन्छ ।

बेनी बजारबाट मल्लाज माझफाँट, लेखफाँट हुँदै पुग्न सकिने ‘कालञ्जर पर्वत’ हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको क्षेत्र हो । अहिले हम्पाल भनेर चिनिने पहाड नै कालञ्जर पर्वत रहेको विश्वास गरिन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्ग लोकमा जान पाइन्छ भन्ने मान्यता रहेको पाइन्छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वत जलजला र मोदी गाउँपालिकामा पर्दछ । समुन्द्री सतहदेखि ३,००० मिटर देखि ३,५०० मिटरको उचाइमा कालञ्जर पर्वत रहेको छ भने प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ का रूपमा उल्लेख गरिएको जलजला सिमसार क्षेत्र २,९०० मिटरका उचाइमा रहेको छ । धार्मिक ग्रन्थमा कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । हस्तिनापुरको राजपट छाडेर महाप्रस्थानतर्फ लागेका पाण्डवहरू हिमालयको यात्रा गर्ने क्रममा कालीगण्डकी नदीका किनारैकिनार मुक्ति क्षेत्र जाँदा कालञ्जर पर्वत पनि पुगेका थिए भन्ने किम्बदन्ती रहेको छ । कालञ्जर पर्वतसँग गलेश्वरधाम र पौलत्स्य ऋषिको तपस्या स्थलको सम्बन्ध पनि जोडिने भएकाले पनि यसको विशिष्ट धार्मिक महत्त्व रहेको पाइन्छ ।

नीरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडीबुटीहरू प्रशस्त पाइने कालञ्जर पर्वत तथा जलजला क्षेत्रको घना जङ्गलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिज लगायतका पशुपक्षीको बसोबास रहेको पाइन्छ ।

कालञ्जर पर्वतको केही भाग म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिन्छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका प्रकृतिका अति सुन्दर अवयवहरूले परिपूर्ण रहेको पालिका हो । विश्व प्रसिद्ध अन्धगल्छी, रुप्से छहरा, नागी, राम्चे, हिस्तान, काफल डाँडा, भुरुङ तातोपानी, मोहरे डाँडा, घोडेपानी, पुनहिल, खोप्रेडाँडा, खयर बाराही, अन्नपूर्ण हिमाल, निलगिरी हिमाल, नार्च्याङ झरना, अन्नपूर्ण बेस क्याम्प, घारा, शिख, पाउद्वार जस्ता सुन्दर बस्ती, अद्वितीय हिमशृङ्खलाको अवलोकनका लागि प्राकृतिक भ्यू टावर, ताल तलैया र हिमालहरूले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका जानका लागि सबैभन्दा सहज र छोटो मार्ग मल्लाज हुँदै रहेको छ ।

मल्लाज तथा अन्नपूर्ण गाउँपालिकाका मनोरम दृश्यहरूको अवलोकनका लागि काठमाडौंबाट पोखरा, पर्वत जिल्लाको सदरमुकाम कुश्मा, म्याग्दी जिल्लाको सदरमुकाम बेनी हुँदै पहिलो दिन मल्लाजमा बास बस्न सकिन्छ । दोस्रो दिन मल्लाजका अनेकौँ दर्शनीय स्थानहरूको अवलोकन गर्न सकिन्छ । तेस्रो दिन मल्लाज माझ फाँटबाट मल्लाज लेखफाँट लगायतका ठाउँहरू घुमेर फलामे डाँडामा बास बस्न सकिन्छ । चौथो दिन फलामे डाँडाबाट कालाञ्जर पहाड (हम्पाल), जलजला घुमेर मोहरे डाँडामा पुगेर बास बस्न सकिन्छ । मोहरेडाँडाबाट पुनहिलबाट भन्दा बढी राम्रोसँग हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ ।  पाँचौँ दिन मोहरेडाँडाबाट पुनहिल हुँदै घोडेपानी पुगेर बास बस्न सकिन्छ । छैटौँ दिन घोडेपानीबाट खोप्रा डाँडा पुगेर बास बस्न सकिन्छ । सातौँ दिन खोप्रा डाँडाबाट पाउद्वार हुँदै भुरुङ तातोपानी गएर बास बस्न सकिन्छ । आठौँ दिन भुरुङ तातोपानीबाट मुस्ताङ जान वा बसबाट काठमाडौं फर्किन सकिन्छ । यस पदमार्गमा निकै सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।

हरेक नेपालीले शरीर, समय र आयले साथ दिँदासम्म मल्लाज तथा त्यससँग जोडिएका पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङ र कास्कीका सुन्दर स्थानहरूमा एकपटक अवश्य पनि पुग्न कोसिस गर्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।

अहिलेको मनोरम मौसममा गइहाल्ने होइन त मल्लाज ?

    

सम्बन्धित समाचार