कोरोना महामारीले सबैभन्दा बढी प्रभावित पारेकाे क्षेत्र हाे, पर्यटन । यद्यपि, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै क्षेत्रमा असर पुर्याएको छ । महामारीका कारण कतिपय पर्यटन व्यवसाय बन्द भएका छन् भने कति उठ्ने प्रयास गरिरहेका छन् । त्यसाे त, गाेरखाकाे प्रसिद्ध मनकामना मन्दिर जाने केबलकार, मनकामना केबलकार प्रा.लि पनि महामारीबाट अछुताे रहेन ।
महामारीका कारण पटक-पटक बन्दकाे सामना गर्नुपरेकाे केबलकार पछिल्लाे समय काेराेना महामारी मत्थर हुँदै गएसँगै पूर्ववत् लयमा फर्कँदै छ । मनोकामना केबलकारका डिजीएम उज्ज्वल शेरचनले हाल केबलकारको व्यापारिक स्थिति राम्रो रहेको बताए । उनले कोरोना महामारीको समयपछि अहिले दैनिक ३५०० मान्छेले मनकामना भ्रमण गर्ने गरेको सुनाए । कोरोना पछि अघिल्लो आर्थिक वर्ष ९.५ लाख व्यक्ति मनोकामना भ्रमण गर्न पुगेका छन् ।
अन्य क्षेत्रमा खुलेका केबलकारले मनकामना केबलकारको व्यापारमा कुनै असर नगरेको पनि उज्ज्वलले बताए । उनले भने “विशुद्ध धार्मिक पर्यटकहरूको गन्तव्य भएकाले अन्यत्र खुलेका केबलकारले त्यति असर गरेको छैन ।”
आफ्नो स्थापनाको समयदेखि नै मनकामना केबलकारले सर्वसाधारणबीच निकै लोकप्रियता कमाएको छ । उद्यमी स्व. लक्ष्मण बाबु श्रेष्ठले सुरुवात गरेको यो सेवाले करोडौँ भक्तजनहरूलाई मनोकामना माताको दर्शन गर्न सहयोग गरेको छ । वि.सं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको यस केबलकारले मन्दिरसम्मको दुरी १० मिनेटमा पार गर्न सहयोग गरेको छ । अन्यथा पाँच घण्टाको उकालो चढेर मन्दिरसम्म पुग्नुपर्ने बाध्यता भक्तजनहरूमा छ ।
प्रत्येक वर्ष हजारौँ भक्तजनहरू चितवन जिल्लाको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लाको मनकामना मन्दिर पुग्ने गर्दछन् । अहिलेसम्म १ करोड ७० लाख सर्व साधारणलाई सेवा दिइसकेको यस केबलकारले हरेक वर्ष करिब १० लाखलाई सेवा प्रदान गर्ने गरेको छ । जसमा बिशेषगरि नेपाली तथा भारतीय पर्यटकहरू मन्दिर भ्रमण गर्न आउने गरेको पाइएको छ । मनकामना दर्शन प्रा. लि. द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अस्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको हो । ०.६ मिटर प्रति सेकेन्ड गति क्षमता रहेको यस केबलकारमा प्रति डब्बा ६ व्यक्ति यात्रु क्षमता रहेको छ ।
यो केबलकारको तल्लो स्टेसन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेसनको उचाइ १,३०२ मिटर रहेको छ । यसले गोरखाको मनकामना क्षेत्र विकासमा पनि ठुलो टेवा पुर्याएको छ । केबलकार सञ्चालनसँगै मनकामनामा यात्रु चाप बढ्दा, सो क्षेत्रमा प्रशस्त सङ्ख्यामा होटेल, लज खुलेका छन् र यसले रोजगारीको सिर्जना गरेको छ । साथै कम्पनीले वार्षिक आम्दानीको निश्चित प्रतिशत स्थानीय निकायको विकासमा खर्च गर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्ने यस केबलकारले धार्मिक मात्र नभएर प्राकृतिक पर्यटकलाई पनि सन्तुष्टि दिने गरेको छ ।
त्रिशूली नदी किनार (२५८ मिटर) बाट सुरु भएको यात्रा बादलसँग भलाकुसारी गरिरहेका पहाड, हरियो जङ्गल हेर्दा-हेर्दै २.३ किलोमिटरको दूरीमा पुगेर सकिन्छ । मन्दिर नजिकै १३०२ मिटरको उँचाइमा पुगेपछि वरपरको मनमोहक दृश्य हेर्दै यात्रा अघि बढ्छ । हाइकिङ तथा साइक्लिङ गर्दै आउने पर्यटकहरूका लागि पनि मनकामना लोकप्रिय ठाउँ रहेको छ । आँबु खैरेनी रुट, कुरिङघाट हुँदै ताक्लुङ रुट, गोरखा मन्दिर रुट आदि पदयात्राका लागि धेरै रुटहरू छन् । ती विभिन्न रुट प्रयोग गरी पदयात्रीले प्रकृतिको मनोरमतामा हराउँदै विशेष यात्रा गर्न सक्छन् ।
सुरक्षा र वातावरणलाई स्वच्छ राख्नु कम्पनीको शीर्ष प्राथमिकता रहेका छन् । केबलकार हरेक दिन सामान्य सञ्चालन घण्टा अघि र पछि मर्मत समेत गरिन्छ । डोपल मायर प्रोटोकल अनुसार, केबलकारले चार महिनाको अन्तरालमा २-३ दिनको लागि ब्रेक लिन्छ । गत साउन २३ गतेबाट भदौ २३ गतेसम्म केबलकारको सेवा बन्द गरेर अपरेटिङको काम गरिएको थियो । आउँदो वर्ष पनि यसरी स्तरोन्नतिको कामले निरन्तरता पाउने उज्ज्वलले बताए । उनले अब केबलकारको सिस्टम पुरै परिवर्तन हुने समेत बताए । उनका अनुसार मेन केवल, मोटर लगायत धेरै कुरा परिवर्तन गरि केबलकारको क्याबिन र टावर बाहेक सबै नयाँ यन्त्र जडान गरिनेछ ।
पर्यटकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै तिहारपछि स्टेसनको छेउमा ४ स्टार स्तरको रोसोर्ट सुरु गर्ने योजना समेत मनोकामना केबलकार प्रा.लिको रहेको छ । २ वर्षमा पुरा हुने अनुमान गरिएको सो योजना केबलकारकै ९ रोपनी जग्गामा बन्नेछ ।
मनकामना केबलकार स्टेसन काठमाडौंबाट २.५ घण्टा, पोखराबाट २ घण्टा र नारायणघाटबाट १ घण्टाको दूरीमा रहेको मनोकामना केबलकारले यही मङ्सिर ८ गते आफ्नो सेवाको २४ वर्ष पुरा गर्दैछ । मनकामना केबलकारमा यात्रा गर्न अनलाइनबाट या फोनबाट आफ्नो बुकिङ गर्न सकिन्छ ।