। मन्तव्य ।
कुरा वेदको । वेदको बारेमा केही व्याख्या , विश्लेषण र वेदको उद्धृत !
[ :): मनो ~ मन्तव्य :(: – ३ ]
एक पटक गरिसकिएको छ, एक विशेष सूक्तको विषयमा । त्यो शृङ्खला पढ्नु छैन भने पढ्नु होला भन्ने आग्रह गर्नै पर्छ मैले ! तपाईंले त्यो पढिदिनु हुन्छ भन्ने लोभले त होइन तर, यो लेखमा त्यहाँ व्याख्या गरिसकिएको कुरा व्याख्या नगरौँ नै भन्ने सोच्दै छु । यो लेखको लागि आजको सूक्तको कुरा नै पर्याप्त हुनेछ । तपाईंलाई यो लेख बुझ्न सहायक अवश्यम्भावी हुनेछ । आज यो लेखमा ऋचा, सूक्त र वेदको शाब्दिक अर्थ लेखिने छैन । तसर्थ त्यो लेख पढ्नु मुनाफा नै हुनेछ । 🙂
वेदको सारंश कुनै शब्द अर्थमा बाध्न खोजेर र शब्दमा खेलेर हुँदैन झैँ लाग्छ मलाई ! जस्तो कि भलै कविता शब्द लेखिन्छ तर, शब्दको अर्थमा भाव हुँदैन ! त्यस्तै वेदको पनि छैन । वेद काव्यमय छ, छन्दमय र लयमय छ । वेदलाई बृहत् बृहत्तर महाकाव्य भन्दा पनि न्याय नहुने पो हो कि ? शङ्कै लाग्छ ! हरेक सूक्त आफैँमा एक पूर्ण काव्य छन्, हो चाहिँ मेरो दृष्टिले म भन्न सक्छु । काव्य जहाँ रस हुन्छ, अलङ्कार हुन्छ र भाषै बक्र हुन्छ । हरेक कविको फरक फरक शैलीमा भिन्न प्रवाह, भिन्न पृष्ठभूमि र भिन्न दृष्टिकोण । वेद हजारौं ऋषिको ज्ञान र चेतको फल हो । हरेक ऋषि कवि हुन्, हरेक सूक्त काव्य भएपछि ।
वर्तमानको दृष्टिकोणले हेर्दा केही समस्या देखिएला, समस्या होलान् पनि ! तर्क ज्ञान सधैँ समय अनुरुप हुन्छ भन्ने न हुन सक्छ ! तर कुरा के भन्दा पहिले हामी हाम्रो दृष्टिकोणमा दृष्टि लगाउनुपर्ने स्थिति छ । भाषाको दायरालाई हेर्नू पर्ने अवस्था छ, जसले ऋचा र सूक्तिहरूको अर्थलाई अनुवादको आवरणमा आउँदा एक परिधिभित्र बाँधिदिन्छ । यस्ता धेरै नाजायज तर्क छन्, जुन वेद नपढेको तर पढेको छु भन्दै तर्क गर्नेहरूले प्रगतिशिल देखिनकै लागि, क्रान्तिकारी हुनकै लागि ‘कम्तीमा देखिनकै लागि’ वेदको/शास्त्रको विरोध गर्ने गर्छन् ! आफ्नो धर्म फैलाउन यताको शास्त्रको गलत व्याख्या मात्र सुनेर तर्क गर्नेहरू पनि धेरै छन् (?) ! जुन तर्क, न उनीहरूले संस्कृत बुझेर गरेका हुन्, न त काव्य धाराको रस / अलङ्कार बुझेर नै । त्यस्ता तर्क मानेर बिक्नुमा भन्दा केही नजान्नुमा अज्ञानता बेस छ !
वेदमा समस्या नै छैन त ?
– होलान् नि । मानव सभ्यताकै उपजको हो । इतिहास हो । दर्शन हो । विज्ञान हो । मानव कै चेतना हो । समस्या मान्छेमै हो, प्रकृतिमा होइन / छैन । बस् कुरा के भन्दा , कि त तर्कै नगर्नु ! कि त पढेर बुझेर बहस गरौँ, राम्रो कुरा लिऊ भन्ने मात्रै !
अब पढ्न दिएनन् वेद भन्दै कसैको विरोध गरेर इतिहासले गरेको गल्ती दोहोर्याए, अन्धकारमा हामी पनि हुने छौँ र भविष्य पनि अन्धकारमय नै हुनेछ । हो समाजको पृष्ठभूमिले / विकासक्रमले हामीलाई धेरै पछाडि राख्यो तर, अब पनि पछाडि राख्यो भनेर ‘पछाडि’ बस्ने होइन ! अगाडि आउनु पर्छ ! विरोध गर्नुपर्छ । ‘अझै विभेद छ तर पढ्न दिएनन् ! अधिकार दिएनन्’ भन्नू एउटा भ्रम शिवाय केही होइन ! र कसैको प्रोपोगन्डाको पोषण गर्नु मात्र हो ।
मन्तव्यको केही तितो तथ्यको तातो बाफलाई तपाईंकै जिम्मामा !
~ पृष्ठभूमि ~
मण्डल – दश
सूक्त – ८१ र ८२ ।
नाम : विश्वकर्मा सूक्त ।
ऋषि : विश्वकर्मा भौवन ।
देवता : विश्वकर्मा ।
समयसँगै कुराको गलत व्याख्या हुन्छ र समाजले कता मोड्छ, आफ्नो दिशा र के के भोग्नु पर्छ, मान्छेले त्यो नेपाली समाजले देखेको छ र भोगिरहेको छ । ऋग्वेद यति नै वर्ष अघि लेखिएको हो भनेर ठोकुवा गरे पनि कुनै विद्वान् मलाई वास्तविकता थाहा छैन ! न त उनीहरूको व्याख्या नै अर्ध तथ्यसम्मको नजिक हुन्छ । पूर्णतः तथ्यको कुरा त सोच्दै नसोचौँ । तैपनि व्याख्या यस्तो हुन्छ मनौँ उनीहरूले भनेको नै अन्तिम तथ्य हो ।
म यो किन भन्दै छु ?
– अँ, त कारण चाहिँ के त भन्दा विश्वकर्माको शाब्दिक अर्थ, समाजले बनाएको छवि र समाजले गर्ने विरोधाभासपूर्ण व्यवहार सबै समाजको मनोद्वन्द्व हो भनौँ न ! आफ्नै खुट्टामा बन्चरो, जसले न बन्चरोलाई फाइदा, न त खुट्टालाई राम्रो ! न त हातलाई सुख ।
“भनेको चाहिँ के ? भन्न के खोज्या ?” भन्नू भयो होला मनमनै । नाम तोके समूह आइलाग्ने खतरा । मान्छेको समूह तोके भागे भो अनि ! भन्ने कुरा माथि आइगयो अब थप यात्रा तिर ….
|< दृष्टि परिक्षण |>
विश्वकर्मा देवता लेखिएको छ । देख्नु भो ? दुई हरफ माथि । अँ त देखियो, म विश्वस्त !
देव नलेखेर किन देवता ? विश्वकर्मा देव होइन ?
– देव हुन् पुराणमा । वेदकै पनि अरू सूक्तमा ।
यहाँ शक्तिकेन्द्र हुन् यो सूक्तमा र देवता हुन्, सृष्टि सार र सृष्टि आधार । एकै शब्दको प्रयोग धेरै ठाउँमा फरक अर्थले गरिन्छ संस्कृत काव्यमा 🙂
=। गर्भ प्रश्न ।=
दर्शन र विज्ञानको जन्मदाता प्रश्नलाई सलाम नै भन्न मन लाग्यो । सलाम प्रश्न ।
किं स्विदासीदधिष्ठानमारम्भणं कतमत्स्वित्कथासीत् ।
यतो भूमिं जनयन्विश्वकर्मा वि द्यामौर्णोन्महिना विश्वचक्षाः ।। २ ।।
सृष्टिको निर्माणभन्दा पहिले परमात्मा कुन आश्रयमा थिए ? सृष्टिको निर्माणमा प्रयोग भएका मुल द्रव्य के र कस्तो थियो ? त्यसबाट सर्वद्रष्टा विश्वकर्मा परमात्मा यस सुविशाल पृथ्वी र महान् द्युलोकको सिर्जना महान् सामर्थ्यले कहाँ बसेर गरे ?
~। ब्रह्माण्ड आधार ।~
विश्वतश्चक्षुरुत विश्वतोमुखोविश्वतोबाहुरुत विश्वतस्पात् ।
सं बाहुभ्यां धमति सं पतत्रैर्द्यावाभूमी जनयन्देव एकः ।। ३।।
अर्थ – सर्वत्र आँखा भएका, सबैतिर मुख भएका, सबैतिर भुजा भएका र सबैतिर चरण भएका उनै अद्वितीय परमात्माले आफ्नो भुजाले गतिशील पृी र द्युलोक आश्रय बिना निर्माण गरेका थिए र उचित रुपमा तिनलाई सञ्जालित गर्ने ऊनी एक्लै थिए ।
कि स्विद्वनं क उ स वृक्ष आस यतो द्यावापृथिवी निष्टतक्षु ।
मनीषिणो मनसा पृच्छतेदु तद्यदध्यतिष्ठद्धवनानि धारयन् ।४।
अर्थ – कस्तो वन र कस्ता वृक्षबाट निर्माण सामग्री लिएर विश्वकर्मा ईश्वरले पृथ्वी र द्युलोकको निर्माण गरे ? हे विवेकी पुरुष हो ! समस्त भुवन धारण गर्दै ती विश्वकर्मा देवता कुन ठाउँमा अडिएका छन् भनेर आफ्नो मनबा शक्तिशीत सोध ।
मन्त्र दुईको प्रश्न कुन स्तरको प्रश्न हो भनिरहनु नपर्ला ! धर्म विज्ञान र दर्शनलाई एकै पटक प्रश्न गरेकोे छ, प्रश्नले । उत्तर कति सहज आएको छ, यो चेतना हो साधना पछिको तरल भन्दा तरल रुप । भनेको कति धेरै छ रहस्यमयको रहस्यलाई भाषाको सिमाले व्यक्त गरेको कुरैमा पनि केही साँगुरो भाव बनाउँ यस्तो भएको छ । भाव बुझ्न ! बुझाउन ..स्तम्भकारको अनुभव बोलेको हो यो चाहिँ ।
यसो विज्ञान दृष्टि लगाउँदा पृथ्वी र द्युलोक अर्थात् अन्तरिक्षको आधार के हो ? आधार कहाँ छ ? यो प्रश्न विज्ञान उत्तर दिएर उत्तीर्ण हुन नसक्ने प्रश्न हो ! अब धर्मको कुरा तिर नलागौँ ! दर्शनको आधारशिलाबाट के चाहिँ भन्न सकिन्छ भन्दा जुनसुकै कोणको र विन्दुको अनन्ततालाई हेरौँ , विस्तारलाई हेरौँ तिनको हुनुको सार्थकताको कारण आधुनिक विज्ञानले भने झैँ नै हो ।
(विज्ञानको सहायता त लिएँ तर भन्नूको बाटो सायद दर्शनले नै दिन्छ ।)
:): मनो~जगत् :(:
मन्त्र चारमा भनिएको छ – “हे विवेकी पुरुष हो ! समस्त भुवन धारण गर्दै ती विश्वकर्मादेवता कुन ठाउँमा अडिएका छन् भनेर आफ्नो मनका शक्तिशीत सोध ।”
पहिलो कुरा पुरुष सम्बोधनको – यहाँ कुनै नरलाई पुरुष भनिएको होइन । संस्कृतमा पुरुष शब्दको अर्थ नेपालीको ‘नारी-पुरुष’ हुन्छ । अर्थात् मानव भन्ने नै हुन्छ ।
दोस्रो कुरा – “विश्वकर्मा देवता कुन ठाउँमा अडिएका छन् भनेर आफ्नो मनका शक्तिसित सोध ।”
मनलाई थाहा नभएको / मनमा नभएको अनन्त ब्रह्माण्डमै केही छैन ! बस् हाम्रो भाषा त्यति विकसित छैन कि मनको आधा जति बोधलाई पनि सम्प्रेषण गर्न सकोस् – यो स्तम्भकारको मान्यता हो !
ऋषि साधनामा लागेर मनलाई आफ्नो अधीन गरि प्रश्न गर्न र मनको उपयोग गर्न सन्देश पनि दिइरहेछन् । मनोविज्ञानको पृष्ठभूमिको ठुलै क्षेत्र तानेको छ मन्त्र चारले र विज्ञानको आयामको विज्ञान पनि कसरी ?
– जगत् मनको कल्पना हो । धेरै पूर्वीय शास्त्रको बृहत ठूलो र अति गहन घोषणा हो । दार्शनिक दृष्टिकोणले, मनोवैज्ञानिक दृष्टिकोणले र वैज्ञानिक दृष्टिकोणले (पाश्चात्य मनोविज्ञान “शरीर मनको विस्तार हो” भन्ने सम्म पुगेको छ ) ।
विज्ञान – हाम्रो आँखाको लेन्सले दुई आयामिक दृश्य मात्र बनाएर मस्तिष्कको कार्यशालामा पुर्याउँछ । हामी देखिरहेको हुन्छौं- तीन आयाम !
मस्तिष्क (मन) – मनले पुनः कल्पना गर्छ, तीन आयाम दृश्य बनाउँछ । हाम्रालागि सारा दृश्य कल्पना हो ।
दर्शन – उक्ति आफैँमा दर्शन छ के बोल्नु : जगत् मनको कल्पना हो ।
यो बुझ्न हाम्रालागि सर्त बस् यत्ति हो कि ! मन आफ्नो अधीन हुनुपर्छ । ब्रह्माण्ड जस्तै मन पनि अनन्त छ …
प्रिय साक्षी/पाठक ,
लेखमा केही समस्या अवश्यम्भावी छ ! धेरै मेरो हो । सबै भनिनँ, कारण अनुवादमा भर हुँदा विभिन्न अरूको माध्यमको पनि सहायता लिइन्छ र भाषाको दायरा त छँदैछ । यहाँ “मिहिनेत गरेर लेखिन्छ” भनेर देखाउन खोजिएको जुरुर होइन !
अँ त मन्तव्यमा केही अधिक आक्रोश देखिएला ! त्यो निराशा हो व्यक्तिगत ! हुन त के नै फरक पर्छ र ? आक्रोशले या निराशाले ? तैपनि लागिरहौँ 🙂
यो सूक्तको ८२ औँ सूक्त अर्को हप्तालाई …
…. इतिस्तु !