शुक्रबार , साउन २२, २०८३

मनोमन्तव्य: केहि कविताहरू

रासायनिक प्रयोगशालामा चलिरहेछ रसायन बनाउने प्रक्रिया जसले निम्त्याउने छ, 'करुणाको पतन ।' विज्ञान भोकलाई अमर बनाउने तयारीमा छ बनाउनु पर्ने थियोे भोक विरुद्धको औषधि !

image

। मन्तव्य ।

आजु पनि आफ्नै रचना स्तम्भमा ल्याउन मन लाग्यो । ल्याइयो र तपाईं यो पढ्दै हुनुहुन्छ 🙂 कविताको व्याख्यान गर्नेमा सबैभन्दा कम्जोर कवि नै हुन्छ भनेर भनेको सुनेको छु मैले पनि । व्याख्या गर्ने बानी पनि परिहालेको छैन । परिगएछ भने (देखा जाएगा !)

तर परेको छैन र मन्तव्यमा खास केही नउत्रिएको देखेर (जस्तो कि पहिले जस्तो निराशा अलिअलि आशा र केही आक्रोश हुन्थ्यो ) म पनि चकित न‌ै छु आजु उत्रिएन । अँ सम्पादक दाजुले के सोच्ने हो ? (खुसुक्क भनौँ ल )!

ल है कविताहरू तपाईंको लागि …!!

~विचारका सहिदहरू ~

विचारका आँखा हेरिरहेछन्
विचारका लासहरू
कस्तो विभत्स /अद्भुत दृश्य !

कल्पुँ त,
आफूले देखेको आफ्नै लास ।

विवश विचारको विचारमा
विचरा विचार !
कति भाग्नु परेको छ उसलाई आफैँसँग ।
(सम्झौँ त, कसरी भाग्छौँ/भाग्दा हौँ
आफूद्वारा आफैसँग हामीहरू ?)

वशिभूत छ ‘म’ कतै
विचारको विधानसभामा
शाश्वत ‘म’ विचारलाई विचार्दैछु ।

विचारले बनायो विधान
विचारको त कहाँ हुँदोरहेछ र विधान !

विचारको संविधान विचराहरूलाई !

सहिदको स्वप्नमा न चलेको छ सत्ता
सहिदको विचारको प्रचारप्रसारमा
टिकेको छ पार्टीको सिद्धान्त !

यहाँ त,
विचारको सहिद भए
सबै धर्मशास्त्र / ग्रन्थहरू
संस्कार, संस्कृति – परम्पराहरू ।

विचारको सहिद भए
सिद्धान्तका फेहरिस्तहरू
दर्शनको द्रष्टा र स्रष्टाहरू ।

विचारको सहिद भइगए
क्रान्तिवीरका वलिदानहरू ।

“बाटो दोबाटो वृत्तकार छन्
गन्तव्य हजार एकै हुन -विचार !
अद्वैत विचार ! !

शून्य विचार !
अनन्त विचार !
अन्त्य/आरम्भ विचार !
दर्शन विचार !/ दर्शन दर्द विचार !

“शून्य विचार शून्य” विचारेँ विचार शून्य !
आश्चर्य ! विचारको सहिद भएछ
विचार शून्यमा ! विचार शून्यता
आश्चर्य ! आधुनिक आश्चर्य !!

विचारको आधार शिविरमा उपचार हुनेछ
अब सारा जमातको जरोको
तब कसको आधारलाई आउने हो काम ज्वरो ?

=============================

~ कविले कविता कसको लागि लेख्यो ? ~

प्रिय भावुकता !

भावुकतालाई जेलेर बिम्बले
कवि बौद्धिक कहलाउन खोज्यो ..

निसासिएको भावना मृत भेटियो कविताहरूमा …
(मृत भावनालाई हार्दिक श्रद्धाञ्जली । )

प्रिय आँसु !

आँसुको हजार कविता पिएर
बल्लतल्ल एउटा कविता ओकल्यो
र भन्यो “मैले रगतले लेखेको कविता । “

(आँसुले आँसु बगायो ।
आँसु प्रति श्रद्धा-सुमन ।)

प्रिय भोक !

भोकको भयानक छाया उतारेपछि कवितामा
प्रतियोगी ऊ/उ पुरस्कृत भयो पदक सहित ।

पत्रिकामा आयो उसको तस्बिर र कविता
कसैले जाडोमा बटारे आगो बाल्यो !

जल्यो भोकको कविता
जलेन भोकको यथार्थ बिम्ब ।

प्रिय पीडा !

तड्पन / जलन / रोदन / प्रताप
कुरीति,विकृति, अन्धविश्वास
भेद, विभेद र क्रान्ति पीडक
सबै-सबैको मार्मिक चित्रण
उतार्यो कविले काव्य क्यानभासमा ।

पीडितलाई पीडा यथावत् !
कवि बटुलिरहेछ :
“वहा! कवि ज्यू क्या वात् ! क्या वात् ?”

प्रिय कविता,

“कविले जे लेख्छ त्यही भयौ भने
तिमी कविता हुने छैनौ ” यो बुझ्नु पर्छ तिमीले ।

जान्नु पर्छ तिमीले
शब्द (मात्र ) होइनौ तिमी
केबल भाव होइनौ तिमी
अर्थै त व्यर्थको पनि हुन्छ ..

केबल दृश्य होइनौ तिमी ।

सायद ,
तिमी सबै हौ / केहीे होइनौ ।

================================

~| बिरामी अस्पताल |~

प्राणहरू प्राकृतिक / अप्राकृतिक
मृत्युशैय्यहरूको एक घाट !

घाटैघाटको श्मसानघाट
जीवितहरूको नाट्यशाला
मृतहरूको मोक्षशाला/मुक्तिशाला ।

रक्तकुण्ड छ सयौँ गर्भाशयहरूको
रक्तपिपासुलाई यो मधुशाला !

प्रदर्शनीको उत्पत्तिभूमि
विचित्र रहस्यहरूको दुनियाँ !

न देखिएको देखिएको छ अज्ञात किरणद्वारा
मनका दागहरु निला/ काला
हाय! बिचरा लालाबाला !!

रुपहरू ग्रस्त छन् ;
छ हतार, छ डर
थरर… थरर… छ शरीर
~छ/छैन ?
~भयो/भएन ?
~के/किन ?
~कसरी/कहिले?
……पर्खिरहेछन् उत्तर…।

अप्रेसन चलिरहेछ कार्डियोलोजी थिएटरमा
“दर्शनहरूको/ विचारहरूको/ वादीहरूको ।”

रासायनिक प्रयोग भइरहेछ
आमाको ममता माथि
बुबाको विशालता माथि
प्रेमीहरूको प्रेममाथि

खोजिरहेछ मिश्रण कोही .!.

रासायनिक प्रयोगशालामा चलिरहेछ
रसायन बनाउने प्रक्रिया
जसले निम्त्याउने छ, ‘करुणाको पतन ।’

विज्ञान भोकलाई अमर बनाउने तयारीमा छ
बनाउनु पर्ने थियोे भोक विरुद्धको औषधि !

अमूर्त प्रयोग चलिरहेछ
भविष्यको प्रागऐतिहासिक फोसिलहरूमा ।

देख्न सकिन्छ :
~अतीतका
~वर्तमानका
सम्भावित भविष्यका शासकहरूको:
नेत्र दोष , सैद्धान्तिक धरातल
चिन्तनको दाग
मस्तिष्क र मुटुको सिटी स्क्यान ।

योजनाको ग्र्यण्ड डिजाइन !

प्रष्ट गन्ध आउँछ:
भविष्यका लागि पकाइँदैगरिएको:
कथा / मिथकहरूको, अन्धकार युगको
अग्नि बर्षाको अन्तिममा
पुन: लाठी र ढुङ्गे युगको !

Tags:

सम्बन्धित समाचार