विचित्रको लाग्छ यो ‘प्रजातन्त्र’ अरुले भनेको सुन्दा पनि । विरोधी नभई यो बाँच्न सक्दैन रे, फेरि विरोधीसँग मिलेर बस्न पनि यसलाई गाह्रो हुन्छ रे । साढे पचासको पक्षपाती बनेर साढे उनन्चासको उछित्तो पार्छ रे यो ।
– मनुजबाबु मिश्र
काखमा स्केच बूक, हातमा पेन्सिल, आज एउटा अमूर्त विषयवस्तुलाई मूर्तरूप दिएर एउटा पोर्ट्रेट गर्ने अठोट लिएर बसेको छु । अमूर्त अनुभूतिलाई निश्चित आकारप्रकारको रूप दिन कलाकार अत्यन्त एकाग्र र चिन्तनशील हुन सक्नुपर्दछ । ‘हमिताज’को पिंढीमा बसेर, म अनन्त आकाशको गहिराइमा आफ्ना अन्तर्चक्षुलाई डुबाएर, आफूले चाहेको त्यो अमूर्त रूपलाई सतहमा उतार्ने कोसिस गर्दै थिएँ । तर, दृष्टिकिरणका बीचबीचमा व्यवधान पार्दै, वायुवेगमा बतासिएर उडिरहेको गौँथलीहरूले, अणुबम खसाल्न आफैं आएका बमवर्षक विमानले झैँ मेरो एकाग्रतालाई झस्काइदिइरहन्थे । गहिरो एकाग्रता र चिन्तनबिना कल्पनाको त्यो महाकाशमा आफूले खोजेको अदृश्य रूपलाई साकारमा देख्न सक्ने कुनै सम्भावना थिएन ।
पोर्ट्रेट- यो कला-अध्ययनको अत्यन्तै सबल र रोचक पक्ष हो । त्यसैले पनि कलाको यो गम्भीर पक्षसँग मेरो बाल्यकालदेखि नै विशेष प्रेम थियो । अनुहार मिल्ने गरी कसैको रुपाङ्कान गरिएको चित्रलाई ‘पोर्ट्रेट’ भनिन्छ अंग्रेजीमा र आजसम्म ‘अनुहार’ चाँहि मान्छेको नै भन्ने बुझिँदै आएको छ तथापि अनुहार भनेपछि त्यो पशुपंक्षीको पनि हुन सक्दछ, रुखपातको पनि हुन सक्दछ, जुनसुकै मूर्त वस्तुको र अमूर्त आकृति अथवा ईश्वरको पनि हुन सक्दछ । सही अर्थमा अनुभूतिले ग्रहण गरेको अनुहार चित्र नै ‘पोर्ट्रेट’ हो । मूर्त वस्तुको अनुहार उद्धृत गर्दा, त्यो अनुहारसँग चित्रको अनुहार मिलेको अथवा नमिलेको भन्न सकिन्छ, तर अनुभूतिप्रधान अमूर्त अनुहारको चित्र रचिएको छ भने त्यहाँ अनुहार मिले-नमिलेको प्रश्नै उठ्दैन । त्यसैले देव, महादेव, नेफरटिटीदेखी मोनालिसासम्म क्यामराको आविष्कार हुनु अगाडि जति उत्कृष्ट भनिएका ‘पोर्ट्रेट’ बने, ती सबैको अनुहार आआफ्ना रूपदर्शीसँग मिलेकै छ भन्ने कुनै आधार छैन । त्यसैले ‘पोर्ट्रेट’ विषयपरक होइन, भावपरक हुन्छ । उही कृष्ण र क्राइष्ट, उही बुद्ध र वर्धमानका अनुहारहरू चित्रैपिच्छे, मूर्ति नै पिच्छे फरकफरक अनुहार देखिनाको कारण पनि यही नै हो ।
सारिएका पोर्ट्रेट कलाले आफ्नो रूपदर्शीको अनुहार व्यक्तित्व चित्रणमा कहिले उल्लेखनीय प्रगति आर्जन गर्न सकेको छैन । बरु शब्दचित्रको रचना गर्ने साहित्यकारहरू भने ‘पोर्ट्रेट’ चित्रणमा निकै अगाडि बढिसककेका छन् । वाल्मीकिले रचेको राम भनुँ कि होमरले रचेको ओडेसस; सर्भान्टसले रचेको डनक्लिग्जोट भनुँ कि शेक्सपीयरले रचेको डेस्डिमोना, लारा, लुसी, चारुस यी सबै साहित्यकारले रचेका सर्वोत्कृष्ट ‘पोर्ट्रेट’हरूमध्येका हुन् । यस्तो पोर्ट्रेट रचनामा प्रत्येक स्रष्टा आआफ्ना अदृश्य र अमूर्त मोडेललाई साकार पारी तिनको बाह्य एवम अन्तर दुवै व्यक्तित्वलाई स्पष्टता प्रदान गर्न सफल भएका छन् । अब जसले सारे पनि ती व्यक्तिको परिचय सधैँ त्यही नै रहिरहन्छ । तर कलाकारहरू भने साहित्यले उतारिसकेको पोर्ट्रेट सार्नसम्म पनि असफल रहेको देखिन्छ । फलस्वरूप वाल्मीकिले रचिसकेको उही रामको चित्र जति कलाकारले आजसम्म सारे, त्यतिनै प्रकारले हुन आएको छ । चित्रैपिच्छे, मूर्ति नै पिच्छे कृष्ण-बुद्ध -क्राइष्ट भिन्दाभिन्दै रङ्गढङ्गका देखिन्छन् । स्पष्ट छ, अर्काले रचेको ‘चित्र सार्नुलाई’ कला नै मानिदैन । त्यसैले मोनालिसालाई शब्दमा सार्ने साहित्यकार कुनै पनि सफल छैनन् । कृष्ण, क्राइष्ट सार्ने कलाकार जति विफल छन्, उति नै नेफरटिटी-भेनस-मिनरवा, सिकन्दर-मोनालिसाको स्रष्टाकलाकार सफल पनि-किनकि यी कुनै पनि शब्दचित्रबाट अनुवाद गरिएका होइनन् ।
मैले आफैँले पनि विगत पचास वर्षको कलाकर्ममा अधिकांश पोर्ट्रेटहरूकै रचना गरेँ र केही अपवादलाई छाडेर, जति रचना गरेँ, सबै रूपदर्शीको प्रत्यक्ष रूपलाई आफ्नो अगाडि राखेरै गरेँ । हो, मैले राजारानीलाई झल्याकझुलुक देखेको भरमा ६५, २५० फिटसम्मको बृहत् आकारको तेलचित्रको रचना गरेँ अनि अरु दर्जनौ तेलचित्रहरूको पनि रचना गरेँ, फोटोमा हेरेर । मैले फाङकेनस्टेन जस्तो मानवनिर्मित हत्यारा यन्त्रमानवको पनि दर्जनौ पोर्ट्रेट बनाएँ, मेरीसेलीको शब्दचित्र पढेर । अनि आफ्नै कल्पनामा तरल्लिरहेको अनेकौं अमूर्त भावाकारलाई पनि मैले प्रत्यक्ष रूप प्रदान गरिसकेको छु । तर, आजसम्म आफ्नो बुद्धि, विवेक र व्यक्तित्वसँगै लटपटिदै आइरहेको र आफूलाई प्रत्यक्षरूपले पनि आकर्षित गर्दै मेरो प्यारो ‘प्रजातन्त्रको पोर्ट्रेट’ भने कयौँ पटक कोशिश गर्दा पनि मैले आजसम्म बनाउन सकेको छैन । ‘प्रजातन्त्र’ ले मेरो मोडेल बनेर कार्यशालामा आउने त कुरै थिएन । कसैको वाकचित्र अथवा शब्दचित्रबाटै ठाडै साँरु भने पनि कुनै चित्र पनि त्यसैको अर्को चित्रसँग पटकै मिल्दैन । उही कृष्ण क्राइष्टको जस्तै प्रत्येक स्रष्टाले रचेको ‘प्रजात्नत्रको पोर्ट्रट’ भिन्दाभिन्दै प्रकारको कोही कालो, कोही गोरो, कोही म आफैं जस्तो गहुँगोरो देखिन्छ । वर्षाको बादलमा भावानुभूतिले अनौठा-अनौठा आकृति देखेजस्तै मैले पनि शीत ऋतुको महाकाशको चकमन्नता भित्रबाट प्रजातन्त्रसँग मिल्दो एउटा भावरूप कल्पेर आफ्नो क्यानभासमा साकार पार्नु थियो ।
म केटाकेटी छँदा सँधै मेरा पिताजी प्रजातन्त्रको कुरा गर्नुहुन्थ्यो, ‘नेपालमा पनि प्रजातन्त्र आउँदैछ रे’ भनेर । अनि म उहाँलाई सोध्ने गर्दथे, ‘कहिले आइपुग्छ, कहाँ आइपुग्यो, प्रजातन्त्र भनेको कस्तो हुन्छ ? प्रजातन्त्र भनेको भुइँचालो जस्तो हुन्छ कि हाउगुजी जस्तो ?’ भनेर । कहिलेकाहीं प्रजातन्त्रको रूप चित्रण गर्न खोज्दै ‘प्रजातन्त्र भनेको मनमा लागेको कुरा बोल्न र गर्न पाउने स्वतन्त्रता हो’ भनेर सम्झाउनुहुन्थ्यो । मेरा पिताजी स्वयंमले प्रजातन्त्रलाई देख्न पाउनु भएन किनकि उहाँ जन्म राणाकालमा भएको थियो र मृत्यु पनि राणामालमा नै ।
मलाई घरमा ‘मन लागेको कुरा बोल्ने र गर्ने स्वतन्त्रता पटक्कै थिएन ।’ म जे जे गर्न चाहन्थे, पिताजी ती ती पटक्कै गर्न दिनुहुन्नथ्यो । उहाँ जे जे गर् भन्नुहुन्थ्यो, म त्यो पटक्कै रुचाउँदैनथें । त्यसैले पनि त्यति बेलादेखि नै म भित्र प्रजातन्त्रप्रतिको मोह जाग्रत् हुँदै आइरहेको थियो । शायद मेरो अन्तष्करणले प्रजातन्त्र पहिले आफ्नै घरमा आएको हेर्न चाहन्थ्यो । पुरानो नगई नयाँ नआउने प्रकृतिको यो अटल नियम, हुनसक्छ मेरो अन्तरको पनि अन्तरग्रहले घरका सबै पुराना निरङकुशहरू सबै गइदिए आफ्नै घरमा पहिले प्रजातन्त्र आउँदो हो भन्ने पनि सोचेको हुन सक्थ्यो । हुन पनि देशमा भन्दा एक वर्ष अगाडि नै मेरै घरमा पहिले प्रजातन्त्र पस्यो । तर, त्यसलाई रुचाउने दुई जना बाहेक बाँकी सम्पूर्ण प्रजातन्त्रको मृत्युपछि, किनकि २००६ सालभित्र मेरो घरमा म भन्दा चार वर्षले कान्छो भाइ मोहन र म आफैँबाहेक सबै हजुबा, हजुरआमा, पिता, मातालगायत सात जनाको मृत्यु भयो । म काटिएको चङ्गा झैं उच्च आकाशमा हावाले जता लग्यो, उतै स्वतन्त्र भएर उड्न लागेँ । त्यति बेलादेखि नै म यो ‘प्रजातन्त्र’ सँग टाँसिदै आएको छु र ‘प्रजातन्त्र’ले मेरा सम्पूर्ण गतिप्रगतिलाई सन्चालन गर्दै आइरहेको छ । आफ्नो जीवनलाई यति गहिरो प्रभाव पार्दे आएको ‘प्रजातन्त्र’ को एउटा पोर्ट्रेट आजसम्म रचना गर्न नसकेकोमा मेरो कलाकार नै मसँग लज्जित भइरहेको थियो ।
प्रजातन्त्रको पोर्ट्रेट बनाउन बस्यो कि मेरा वरिपरि समस्यै-समस्या, प्रश्नै-प्रश्नको हुरी चल्न लाग्दथ्यो । मलाई ‘प्रजातन्त्र’ भन्ने जीव हो कि निर्जीव वस्तु हो, मानव-दानव, पशुपंक्षी कुन वर्गमा पर्छ भन्नेसम्म पनि थाहा थिएन । विचित्रको लाग्छ यो ‘प्रजातन्त्र’ अरुले भनेको सुन्दा पनि । विरोधी नभई यो बाँच्न सक्दैन रे, फेरि विरोधीसँग मिलेर बस्न पनि यसलाई गाह्रो हुन्छ रे । साढे पचासको पक्षपाती बनेर साढे उनन्चासको उछित्तो पार्छ रे यो । विश्वको बृहत् क्यानभासभरि ढलिमली आफैँ मात्र चित्ररचना गर्न खोज्ने समानताको सिलोक चिच्याउँदै समवादीहरूको निर्मूल गर्न चाहन्छ रे यो । कस्तो विचित्रको सम्भाव यो के होला, कस्तो होला ? यसको अनुहार मलाई पटक्कै थाहा थिएन ।
कता प्रजातन्त्र भनेकै संविधानको ठेली त होइन, कि पेरिकल्स अथवा अब्राहम लिङ्कनको अनुहार हो ? बुद्धधर्मको पोर्ट्रेट बनाउनेले बुद्धको चित्र बनाए पुग्छ, हिन्दूधर्मको पोर्ट्रेट बनाउनेले त्रिमूर्तिको चित्र बनाए पुग्छ, राजतन्त्रको चित्र बनाउनेले राजाको चित्र बनाए पुग्छ, अब प्रजातन्त्रको चित्र बनाउन चाहनेले पनि कसै न कसैको चित्र त बनाउनै पर्यो । तर केको, कसको चित्र बनाए प्रजातन्त्र जस्तै होला ?
कि प्रजातन्त्र भनेको कुनै ‘हतियार’ हो ? आखिर जुन तन्त्रले बढी प्रजाको नाम लिएर प्रजालाई तहलाउँछ, त्यही नै हो प्रजातन्त्र भनेको । ‘जो शक्तिशाली हुन्छ, उसैबाट युद्धको सुरुवात हुन्छ’, यसै भनेका थिए दुई हजार वर्षअगाडि चाणक्यले । एउटा प्रतिभाशाली कलाकारले कलाको अभिव्यक्ति नदिइरहन सक्दैन, साहित्यकारले साहित्यिक र सङ्गीतकारले साङ्गीतिकअभिव्यक्ति नदिइरहन सक्दैन भने हातहतियारले सुसम्पन्न व्यक्ति मात्र त्यसलाई लुकाएर बस्न कसरी सक्ला ! त्यसैले जोसँग बढी डरलाग्दा हतियार छन्, त्यही जस्तो ‘प्रजातन्त्र’ किनकि त्यस्ता हतियारको अनुपस्थितिमा ‘प्रजातन्त्र’को कल्पनासम्म पनि गर्न सकिदैन । त्यसैले कुनै आणविक हतियारकै पोर्ट्रेट बनाउँदा पो सही ‘प्रजातन्त्र’ उत्रने हो कि ! इतिहासले प्रचार गरेका महान् वीर योद्धामध्ये कोही पनि ‘प्रजातन्त्र’ होइनन्, प्रतीक- जस्ता पनि छैनन् भने, प्रजातन्त्र भनेको के हो त ? राजा ? राष्ट्रपति ? प्रधानमन्त्री ? लाखेको मुकुट ? बारुद बम गोला ?
यो धरतीमा कुनै पनि वस्तु अथवा जीव-जीवात्माको जीवनक्रमसँगै यसैको पनि उदय, विकास र विलयन हुन्छ । फेरि प्रजातन्त्र भनेको ‘मान्छे बाट जन्मेको, मान्छेकै लागि बनेको र मान्छेद्वारा नै बनेको’ भन्ने कुरा कताकता पढेसुनेको थिएँ । त्यसैले यो हुन त मान्छे वर्गकै हुनुपर्दछ । तर कस्तो ? यसका आमाबुबासम्मको पत्तो लगाउन सके पनि यसको अनुहारको लखसम्म काट्न सकिने थियो । हुन त एउटा पोर्ट्रेट बनाउन चाहनेले मोडेलको बाबुआमाको बारेमा किन जान्नुपर्यो, तर पनि प्रजातन्त्र सायद रूपबिनाको एउटा अमूर्त मोडेल थियो । यसको रूपकरण गर्दा त्यसको रूप, रङ्ग, आकार र त्यसको चरित्रसम्मको स्पष्ट ज्ञान हुनुपर्यो । एउटा आँखा मात्रलाई त आत्मासम्म पुग्ने ढोका भनिन्छ भने सिङ्गै प्रजातन्त्र बनाउँदा पनि त्यसको बाह्य एवं अन्तर रूपको झलकसम्म पनि आएन भने बनाएर के फाइदा ! स्पष्ट छ, एउटा पाठोको अनुहारमा ब्वाँसोको त्रासदी रूप र एउटा ब्वाँसोको छाउराको अनुहारमा पाठोको कोमल रूप कदापि देख्न सकिदैंन । त्यसैले पनि यसका बाबुआमाको बारेमा सोच्नु आवश्यक नै थियो । अँ, यसको न्वारानको नामसम्म जान्न पाए पनि यसबारेमा धेरै कुरा जान्न सकिन्थ्यो ।
मेरो अन्तहृदय आफ्नो ज्ञानसीमाभित्रका सारा सम्भाव्य स्थानहरूमा खोजपूर्ण उत्खनन गर्न लाग्यो ।
प्रमाणले पुष्टि गरेसम्ममा यसको सबभन्दा प्राचीन नाम ‘डेमोक्राटिया’ हो । यो शब्दको धर्मकर्मसँग, त्यहींका दार्शनिक प्लेटो-अरिस्टोटलको नाम पनि जोडिदिएका छन्, प्रजातन्त्रका वंशवली लेखकहरूले । ‘सही अर्थमा प्लेटो एक जना सौन्दर्यविद् थिए, अरिस्टोटल एक जना जीवविज्ञान, ओषधिविज्ञान, खगोलविज्ञान आदिका विद् भएजस्तै । प्लेटोको उद्देश्य मैले बुझेको स्वतन्त्रताजस्तो थिएन, न हामीले बुझेको ‘प्रजातन्त्र’ जस्तो । उनी त निपुणताका पक्षपाती थिए भन्ने कुरा उनले नै लेखेको ‘रिपब्लिक’ नामक पुस्तकमा वर्णित, समाज निर्माणको लागि चाहिने निपुणता, दक्षता र मानसिकताको तीनसुत्रीय सिद्धान्तबाट पनि बुझ्न सकिन्छ । प्राचीन ग्रीकहरू यो ‘डेमोक्राटिया’ लाई प्रेमपूर्वक ‘डमो-डेमो’ भनी बोलाउने गर्दथे । ग्रीक भाषामा ‘डमोस’ को अर्थ ‘जनता’ र ‘क्रातिन’ को अर्थ ‘शासन’ ; अनि ‘क्रातोस’ को अर्थ हुन्छ ‘शक्ति’ । एथेन्स र स्पार्टाको बीचमा भएको विय युद्धकाण्डपछि हतियार, मतियार अथवा कूटनीतिको रूपमा यसको जन्म भएको पनि हुनसक्दछ । यसै हो रहेछ भने जनतामा प्रयोग गरिने सिकन्दरी शक्तिसँग यो प्रजातन्त्र शब्दको गहिरो सम्बन्ध हुन सक्छ । पछि बेलायती राजारजौटाले भन्ने गरेको ‘डेमोन’ शब्द पनि त्यही ग्रीक गुरु शब्द ‘डेमोस’बाट आएको हुन पनि के बेर किनकि जनशक्तिलाई भयावह भूत सम्झेर तर्सने खान्दानी र कुलीन शासकहरूको तिनटाका ठूलो बोलवाला थियो । अनि तिनैले हत्या गरेका थिए सिङ्गै देश र सभ्यताका प्रतीक महान् दार्शनिक सोक्रेटस र महान् कलाकार फिडियसजस्तालाई पनि ।
प्राचीन ग्रीसमा प्रजातन्त्रको न्वारान भएको थियो भन्ने कुरामा पनि धेरै विश्वास गर्न सकिँदैन । एक त प्राचीन मिश्रीहरूलाई ग्रीकको गुरु नै मानिन्छ, त्यसमाथि पनि १६७० मा कोर्नेल विश्वविद्यालयका बहुभाषाविद् प्राध्यापक मार्टिन वर्नलले प्रकाशित गरेको ‘ब्लायक एथेना’ नामक पुस्तकका चार ठेलीले त प्रजातन्त्रको न्वारानमा नै कुनै मिश्रका नेगो विद्वानले गरिदिएका हुन् कि जस्तो लाग्दछ । उनले आफ्नो त्यो खोजपूर्ण पुस्तकमा होमरदेखि क्लिओपाट्रासम्म सबै उच्चकोटिका ग्रीक व्यक्तिहरू काला वर्णका अफ्रिकी थिए भन्ने लेखेर इतिहासको आधुनिक मान्यतामाथि नै प्रश्न चिह्रन लगाइदिएका छन् ।
यसको जन्म जहाँसुकै भएको होस्, यसलाई न्वारान गरेर नाम राखेदिने चाहिँ प्राचीन मिश्रका ‘फाराओ’ मध्येकै कोही हुनुपर्दछ, किनकि यस प्रसङ्ग ‘एख्याटोन’ जस्ता त्यहाँका उदारवादी राजालाई पनि किमार्थ बिर्सन सकिंँदैन । अर्को कुरा यसको न्वारानको नाम ‘डेमोक्राटिया’ नै हो भनेर ठोकुवा गर्न पनि त सकिंदैन नि । के त्यसको न्वारानको नाम ‘आयरिस्तोस+क्रातोस=आयरिस्टोक्रायसि अथवा ओलिगोस+आर्किन ओलिगार्कि’ हुन सक्दैन र ?
प्राचीन भारतमा पनि प्लेटोकै समयमा नन्दवंशले मौर्यकालको विद्वान्हरुको बीजारोपण सुरु गरिसकेको थिए र गुप्ताहरूको समयसम्म त अनेकौं विद्वान, विदुषीहरूले पन्चायतीराज, पन्चसभा र पन्चसमिति जन्माइसकेका थिए भने ‘प्रजातन्त्र’ को न्वारान गङ्गाकै किनारामा भएको पनि हुन सक्दछ । फेरि शब्दविकास र वाक्यविन्यासको प्रचलनक्रममा मूल शब्दबाट ‘डेमोक्रायसो’- ‘डमोन स्ट्रेन्थ’ आदि पनि हुन सक्छ, किनभने प्रजा आउँछ शासकबाट र शासक आउँछ शक्तिबाट । अझ। कतै प्रजातन्त्रको न्वारान गरिदिने नै राजतन्त्र त होइन ? यदि यसै रहेछ भने भारत एउटा सम्भाव्य स्थल हुन सक्छ, किनकि भारतको इतिहास भनेकै राजतन्त्रको इतिहास हो । विश्वमा नै सबभन्दा पुरानो तन्त्र नै राजतन्त्र हो र आजका सबै प्रकारका तन्त्रमन्त्र राजतन्त्रकै उत्पादन् हुन् । राजाको समेत प्राचीन कालमा चुनाव हुने गर्दथ्यो । प्राचीन स्पार्टमा त अझ दुई जना राजाले राज्य चलाउँथे । सोह्रौं -अठारौं शताब्दीभित्रका युरोपेली राजा त मिश्रका फाराओ भन्दा चर्का राज्य धर्मकर्म, नैतिकता सबैका बाहक नै थिए र तिनलाई दैवी शक्ति प्राप्त भएको विश्वास गरिन्थ्यो । ओहो ! प्रजातन्त्रको न्वारानको नाम नै ‘राजतन्त्र’ त होइन ? नत्र त मैले ‘प्रजातन्त्र’ को चित्त धेरै बनाइसकेको छु, आफ्नै राजा विरेन्द्रलाई हेरेर । एकाएक मेरा मनभित्र आफ्नै शक्ति शिवका एक हजार आठ प्रकारका नाम अनि महाकाव्य कृष्णका थरीथरीका नामहरू लाइन कसेर आउन लागे । शायद यिनैबाट हाम्रा आधुनिक युगले पनि अनेकौँ उपनामहरूलाई अपनाउने गरेको छ। त्यसैले पक्का पनि प्रजातन्त्रको न्वारानको नाम राजा र तत्पश्चात्का उपनामहरू राष्ट्रपति, प्रधानमन्त्री, राज्यप्रमुख आदिआदि हुन सक्छन् ।
कस्तो गजब ! एउटा खेतमा काम गर्ने अपठित किसान, एउटा अशिक्षित मजदुरदेखि लिएर मन्त्री/महामन्त्री, मैले चिनेको साराले प्रजातन्त्रलाई देखेका छन्, चिनेका छन्, बुझेका छन् र त्यससँग आत्मीयता बढाएर सन्तुष्टिसमेत पाइसकेका छन् । जसलाई प्रजातन्त्रको रूपरङ्गबारे सोध्दा, अन्धविश्वासीले भूतप्रेतको वर्णन गरेभन्दा बढी; धर्मगुरुले विष्णुको वर्णन गरेभन्दा स्पष्ट रूपमा प्रजातन्त्रको रूप, शरीर, हात, खुट्टा, आँखा, नाक र मुखसम्मको पनि एकएक वर्णन गर्न सक्छन् । आफ्नै धर्म, कर्म, जातिपाति, देश, समाजको विषयमा पनि पूर्णरूपले अनभिज्ञ एउटा अशिक्षित व्यक्तिले समेत प्रजातन्त्रको अस्थिरपन्जर सारा बुझेका छनु तर म, एउटा सुपठित आफूलाई ‘कलाकार’ जस्तो उच्चकोटिको आभूषण भिरेर हिड्ने व्यक्तिले ‘प्रजातन्त्र’ सम्मलाई पनि बुझेको रहेनछु । आफ्नो अज्ञानताप्रति आफैलाई दया लागेर आयो ।
प्रजातन्त्रको वर्ण, अनुहारको रङ्ग कस्तो होला त ? एक्कासि अरिस्टोटलको मूर्तिमा देखेजस्तो अनुहार अनि राफायलले भायटिकन प्रासाद बनाएका ‘स्कूल अफ एथेन्स’ मा चिन्तित अरिस्टोटलको अनुहारजस्तो अरिस्टोटलको अनुहारको झलक मेरो मनमा आयो । अनि फेरि उनले प्रजातन्त्रलाई ‘विकृततन्त्र’ भनेको पनि सम्झन पुगेँ । फेरि मार्टिन वर्नलले ‘ब्लायक एथेना’ मा उठाएको प्रश्नलाई पनि सम्झँदा ‘प्रजातन्त्र’को रङ्ग अवश्य पनि ग्रीककोसँग मिल्दैन जस्तो लाग्यो । त्यसो भए के प्रजातन्त्रको अनुहारको रङ्ग खुफु वा खाफ्रेको जस्तै होला त ?
प्रजातन्त्र भनेको राज्यसंगठनको अनेकौं प्रकारका यन्त्र वाहनमध्येको एउटा वाहनमात्र हो । यो वाहनचाहिँ जहाँ फराकिलो जनपथ-राजपथ बनेको छ त्यहीं मात्र दौडन सक्दछ । आधुनिक पदयात्री पर्यटकझैँ दुर्गम गाउँबस्ती पुग्न, उकालीओराली, वनपाखा, पहाड, जँघार हुँदै हिमालसम्म पुग्न यो सक्दैन । यो वाहनजस्तो रङ्गको, रूपको भएता पनि स्वदेश, वरदेश, परदेश जताबाट आएको भएता पनि यसभित्र पसेका र बलेका यात्रुलाई मात्र यसले आफ्नो ठान्दछ । अनि यात्रुहरू पनि स्वदेशी, विदेशी जोसुकै होऊन्, जतिसुकै र जस्तोसुकै होऊन्, तिनलाई हाँक्ने ड्राइभर भने एउटै मात्र हुन्छ किनकि धेरै ड्राइभरबाट यो चल्दै चल्दैन । त्यसैले प्रजातन्त्र भनेकै मोटर-बस, टेम्पो जस्तो हो र त्यसको वर्ण त्यसलाई हाँक्ने ड्राइभरको जस्तै हुनुपर्दछ जस्तो पनि लाग्यो ।
मेरो अन्तरस्मरणपटमा इतिहासका पानाभरि छरिएका सयौं ड्राइभरका किसिम-किसिमका अनुहारहरू सग्बगाउन लागे, असेरियाका असुर वनिपालदेखि भारतका सूरसम्राट् अशोक र लिङ्कनसम्म, डायरियस र साइरसदेखि हिटलरसम्म, चङ्गेज खाँदेखि चर्चिल र मुसोलिनीसम्म । प्रजाको नाममा वाहन चलाउने त्यस्ता ड्राइभरहरूमा पनि फेरि कोही कोट वर्णका छन् त कोही चाँदी वर्णका; कोही ताम्र वर्णका छन् त कोही स्वर्ण वर्णका, भने प्रजातन्त्रको रङ्ग कुनचाँहि ड्राइभरको अनुहारको जस्तो मान्ने ?
के प्रजातन्त्रको अनुहारको रङ्ग कौटिल्यको जस्तो हुन सकोइन ? भारतमा पनि त वैदिककालदेखि नै विद्धत् जनसमुदाय थियो नि । कौटिल्यको समयदेखि यता ई. बाह्रौं/तेह्रौं शताब्दीसम्म इन्द्र, शुक्र, बृहस्पति, मनु, कमण्डक, वाम, वसुलोमजस्ता अनेकौं राज्यव्यवस्थाविद्हरु थिए भारतमा पनि । के प्रजातन्त्रको अनुहारको रङ्ग ती कसैसँग पनि मिलोइन ?
आफ्नो अज्ञानी तर्कमा आँफैलाई लाज लाग्यो । मैले पोर्ट्रेट बनाउन खोजेको ‘प्रजातन्त्र’ त यो उपमहादेशकै होइन । फेरि आफ्नै धर्म, संस्कृति मिल्दैमा के भो त, मैले त्यस्तो संस्कृतिको सिलोक भट्याउँदै हिँड्ने धुस्राफुस्राको पोर्ट्रेट बनाउन खोजेकै होइन । मैले त आधुनिक ज्ञान प्रविधि यन्त्रहरूजस्तै समुद्रपारि आयरल्याण्ड वासिङटनबाट आयात गरिएको, सलक्क परेको, गोरो, सभ्य, मानववादी, प्रजावादी, शान्तिप्रिय प्रजातन्त्रको पोर्ट्रेट पो बनाउन खोजेको ।
त्यसको नागरिकता कहाँको रहेछ यतिमात्र थाहा पाउन सके पनि त्यसको वर्ण यस्तो होला भनी अनुमान लगाउन सकिन्थ्यो । यसको पनि कुनै सूत्र पत्तो लागेन । एउटा पोर्ट्रेट बनाउन चाहने कलाकारलाई मोडेलको बाबुआमा उसको नागरिकताको बारेमा जान्नुपर्ने आवश्यकता त थिएन; मलाई त मोडेल नै नभएको हुँदा मात्र यी सबै जानकारी चाहिएको हो ।
ओहो ! प्रजातन्त्र भनेकै कुनै डरलाग्दो हतियार त होइन ? होइन भनेर पनि कसरी ठोकुवा गर्नु ! जब कि यो विश्वमा सधैं बलियाले निर्धालाई हतियारकै रूपमा प्रयोग गर्दै आइरहेका छन् भने । प्रजाको नामबाट विख्यात यो विचित्रको अदृश्य तान्त्रिक यन्त्र भएको हुनाले नै बलियो बुगहरूले यसको नाम प्रजातन्त्र राखिदिएको हुन के बेर !
कति दिमाग रगड्दा पनि मैले यकीन गरेर यसको प्रामाणिक अथवा चित्तबुझ्दो वर्ण परिचय पाउन सकिनँ । अन्त्यमा प्रजातन्त्र सामान्यतया युद्ध, आतङ्क, क्रान्ति, विरोध, हत्याबाटै जन्मने भएको हुनाले अवश्य पनि यसको वर्ण बन्दुक, गोला, तोपको जस्तै कीट, इस्पात आदि धातुवर्णको हुनुपर्दछ भन्ने मनमनै अड्कल लगाएँ ।
जसरी अमूर्तको रूपमा कृष्ण, बुद्ध, क्राइष्ट आदिलाई साकार रूप दिन स्रष्टाले अनेकौं परिश्रम, अनुसन्धान, चिन्तन मनन गर्नुपरेको थियो। उसै गरी मैले पनि अमूर्त प्रजातन्त्रको पोर्ट्रेट बनाउन निकै अध्ययन र अभ्यास गर्नु आवश्यक थियो । तर, यी सबै कष्टप्रद अध्ययनबिना एकै थलोमा बसेर म यसको चित्र तयार गर्न चाहन्थें । यही दुर्बलता र अज्ञानताले गर्दा मैले प्रजातन्त्रको आउटलाइन ड्रइङसम्म पनि गर्न सकिरहेको थिइनँ ।
ड्रइङ गर्न आटेको थिएँ पुनः त्यसको उमेरले मलाई अल्मल्यायो । कति वर्षको भयो हो यो प्रजातन्त्र ?
बालक, जवान र वृद्धको टाउको एकै प्रकारको हुँदैन । त्यसैले उमेर त थाहा पाउनै पर्यो । सम्पूर्ण मानव इतिहासभरि राजतन्त्रै राजतन्त्र छ भने, वर्तमानमा मैले बुझेजस्तो मानव अधिकार र शान्ति सुरक्षाको हातहतियारले शोभायमान प्रजातन्त्रको उमेर कति पुग्यो होला भनेर अड्कल गर्ने आधुनिक भनिएको हाम्रो शताब्दीको शुरुदेखि यता र उताका केही वर्षहरूमा मात्र मध्यपूर्व एसिया, सुदूरपूर्वी एसिया, भारत, चीन, जापान, फ्रान्सदेखि लिएर अमेरिकी राज्यहरूबीचमा भएको अमानवीय युद्ध- स्पेनिस-अमेरिकी युद्ध, क्रिमियन युद्ध, अस्ट्रो-पर्सियन युद्ध, रुसो-टर्क युद्ध, वाटरलु युद्ध, फ्राङको-प्रुसियन युद्ध, मध्य तथा पूर्वी युरोप अनि ल्याटिन अमेरिकामा प्रज्वलित स्वतन्त्रता सङग्राम- ओहो ! कति सम्झनु -यस्ता निरन्तरको नरसंहारकारी युद्धहरू, अनि मात्र दुई दशकको अन्तरालमा भएका दुईदुईवटा प्रलयकारी विश्वयुद्धले त झन् लाखौं मानिसको संहार गर्यो । यी सबको जिम्मेवार को हो त ? प्रजातन्त्र ? यदि त्यति बेला पनि कतै प्रजातन्त्र थियो भने, पछिल्ला दुईवटा महायुद्धले त्यसका मानव अधिकारका दुवै हात र शान्ति सुरक्षाका दुवै खुट्टा काटेर त्यसलाई अपाङ्ग बनाइदिइसकेको छ । तत्पश्चात् आजसम्म चलेका सम्पूर्ण गोलीले ऊ आँफै छियाछिया भइसकेको छ । आजका उसका हातखुट्टा केवल बनावटी मात्र हुन् ।
युद्धमा मरेका मानव मुर्दाको दुर्गन्धले भरिएको विषालु वायुमण्डलमा मेरा विचारतरङ्ग लहराउँदै थिए, एकाएक म सम्झन पुगेँ, ‘एउटा पोर्ट्र्रेट पेन्टरले सामान्यतया मोडेलको हातखुट्टा बनाउनै पर्दैन’ भन्ने कुरा । वर्तमानको जुनजुन देशमा यो ज्युँदो छ भनिन्छ यदि त्यहीँ त्यहीँको उमेरलाई नै प्रजातन्त्रको सही उमेर मात्रै हो भने त्यसको उमेर मेरो जति पनि पुगेको छैन । यदि मानव अधिकार र शान्ति- सुरक्षाको सास फेर्ने प्रजातन्त्र, कहिल्यै पनि मान्छे मार्ने होडबाजीमा लागेको देशमा बाँच्नै सक्दैन भन्ने हो भने प्रजातन्त्रको आजसम्म जन्मै भएको छैन । अनि यदि प्रजाको नाममा चलाइएको कुनै पनि तन्त्रलाई ‘प्रजातन्त्र’ मान्ने हो भने यसको उमेर मानवसभ्यताकै उमेरभन्दा बढी भइसक्यो ।
अब यसको पोर्ट्रेट कुन उमेरको बनाउने त ? एउटा उमेरलाई त कायम गर्नैपर्यो । जेसुकै होस्, सहस्र हातहतियारद्वारा सुरक्षित भएका हाम्रा देवदेवीले रचना गर्दै ल्याएको गौरवपूर्ण मानव-संस्कृतिमा द्वितीय विश्वयुद्धको आणविक बम-बारुदले संसारको नयाँ आयाम थपिदिएको छ । त्यसैले पनि प्रजातन्त्रको उमेर लगभग हिटलर-मुसोलिनीको जति नै दर्शाइदिए ठीकै हुन आउने छ ।
जति सम्झदै गएँ उति मभित्र प्रजातन्त्रको चित्र सफा हुँदै आउन लाग्यो तर पनि खेस्रा ड्रइङसम्म गर्ने पूर्वाधारहरू अझै बनिसकेका भने थिएनन् ।
प्रजातन्त्र भाले हो कि पोथी हो ? यो थाहा नपाईकन त्यसको टाउको कसरी बनाउनु !
ओहो ! के प्रजातन्त्र पनि भाले-पोथी हुन सक्ला ?
किन नहुनु ! मान्छेजस्तै यो पनि उदाउँछ, बढ्छ र सड्छ । यो पनि देख्न, छुन, सुँघ्न, खान, लाउन सक्दछ । एउटा मान्छेमा हुने सम्पूर्ण मानवी र दानवी गुण अवगुणहरू यसमा पनि छन् । आत्मप्रचार प्रसार गर्नमा यसले आफ्नो इतिहासभरि नै कीर्ति कायम गरिसकेको छ । रीस, द्वेष, अहङ्कार, आडम्बर, अन्याय, अत्याचार, ऐस-आराम, भोग-विलास आदिमा यसलाई विश्वका कुनै पनि सामन्ती र पूँजीपतिले आँक्नसम्म सक्दैन । यो हिँड्दैन, मान्छे जस्तो । यो त गुड्छ, उड्छ- उच्च मानव जस्तो । स्वर्गको इन्द्रभन्दा बढी सम्पन्न छ यो । विपन्नहरू सबै यसका दासदासी हुन् । यस्ता-यस्ता उच्चस्तरका प्राणी तत्त्वहरू भएको प्रजातन्त्रलाई कसरी लिङ्गहीन भन्नू ! एउटा सिङगै सभ्यताको त भाले-पोथी हुन्छ भन्छन् । प्राचीन मिश्री सभ्यता भाले रे, युनानी सभ्यता चाहिं पोथी रे, रोमन सभ्यता चाहिँ भाले रे अनि बैजाइन्टाइन सभ्यता चाहिँ फेरि पोथी रे । प्राचीन युनानीहरू यस्तो चरित्रभेदलाई ‘कोर टाइप’ (स्त्रीप्रकृतिको) र ‘कौरस टाइप’ (पुरुषप्रकृतिको) भन्ने गर्दथे । यसको जन्मथलो मात्र थाहा पाउन सके पनि ‘कोर’ र ‘कौरस’ को आधारमा यो भाले हो कि पोथी भनी छुट्ट्याउन सकिन्थ्यो । यसका सर्वजनसुखाय, सर्वजनहिताय, समानाय, सुखाय आदि आदर्श पक्षलाई हेर्दा यसको जन्म भारतमै भएको हुनुपर्ने देखिन्छ, तर यसका यथार्थ पक्षलाई सुन्दा, पढ्दा, हेर्दा र भोग्दा भने यो मिश्र ग्रीसको स्पार्टा, रोम, चीनतिरै कसैको सैनिक कोखबाट जन्मिएको सहज अनुमान हुन्छ । भाले-पोथी दुवैका लक्षण यसमा विद्यमान छन् । तर पोर्ट्रेटमा नपुंसकता देखाउन सक्ने सूक्ष्म ज्ञान क्षमता मेरो छैन । जे होला होला, यसलाई नपुंसक नै बनाउने कोशिश गर्छु भन्ने मनमनै अठोट गरें ।
पोर्ट्रटको मोटामोटी बाह्यरेखा तयार भयो तर त्यसको टाउकोमा भएको खाने मुख, नाक, आँखा पनि त बनाउनुपर्यो नि ! यसको मुख अरु तन्त्रको जस्तो सानो त किमार्थ हुन सक्दैन । त के यसको मुख हाम्रो शहीदगेट जत्रो होला त ? कसरी तुलना गर्नु, शहीदगेट त मुख नै होइन नि । त्यसबाट त न केही जान्छ, न आउँछ । बरु नयाँ सडकको गेट जस्तै हुन सक्छ । यसबाट त प्रजातन्त्रका कैयौं खाद्यहरू आउने जाने गरेको मैले कैयौं पटक देखेको छु । यसका भित्र भुँडीमा कैयौं पटक गोली गडगडाएको र बमबिस्फोट भएको आवाज पनि सुनेको छु । बरु त्यो मुखको बनोट प्रजातन्त्रको जस्तो अलि छैन । त्यो मुख त देवदेवतासमेत बोकेको अर्ध-नेपाली पाराको हिन्दूजस्तो देखिन्छ । प्रजातन्त्रको मुख के शूर्पणखाको जस्तो होला त ? हो, त्योसँग धेरै कुरा त मिल्छ तर यदि प्रजातन्त्र पश्चिमबाट आएको रहेछ भने त शूर्पणखाको पूर्वीया पोथी मुखसँग कसरी मिल्ला ! बरु आकारमा ठूलो नभएपनि यसको मुख एउटा बढी हुन सक्छ । किनकि यसलाई अरुलाई भन्दा जस्तो न त एउटै कुरा सधैँ बोली रहेर पुग्दछ, न त अरुले जस्तो थोरै खाएर नै यो अघाउँछ । गीताको श्लोकोपदेश, रामायणको रामोपदेश, अनि आफूसँग मिलेजति सबै ‘सुर’ र आफूसँग नमिल्ने जति सबै ‘असुर’ जस्ता नारालाई विश्वभरिका अपठित जनसमुदाय सबैले सुन्ने गरी चिच्च्याउनुपर्ने यसको बोल्ने चाहिँ मुख खाने पिउने मुखभन्दा धेरै गुणा ठूलो हुनुपर्दछ । तर प्रजातन्त्र मान्छेजस्तै छ भन्ने हो भने यसको दुईवटा मुख त हुनै सक्दैन । फेरि दोस्रो मुखलाई अनुहारको कहाँनिर जोडिदिनु मैले ? त्यसैले मैले त्यसको एउटै मुख र आँखाको कल्पना गरें । मोटामोटा, मानवरगत कटकटिएर पटपट फुटेका, आलो रगत तप्तपाउँदो कालभैरवको जस्तो ठूलाठूला दाह्रा निस्किएको मुख पनि जँडयाहा हत्याराको जस्ता लोलाएका डरलाग्दा आँखा, हो यस्तै बनाइदिन्छु त्यसको मुख र आँखालाई ।
अँ ! त्यसको नाक पनि त्यही सुहाउँदो नै हुनुपर्छ । हुन त नाकलाई व्यक्तिव र प्रतिष्ठाको सगरमाथा नै भनिन्छ । तर के गर्नु यसको त नाकै छैन, भए पनि नाक जस्तै देखिदैन । सभ्यतम भासिएकोभग्नावशेष जस्तो, बमबिस्फोटन पछिको नागासाकी र हिरोसिमाजस्तो, हत्याकाण्डको इस्तेहारले भरिएको भित्तोजस्तो, नरसंहारको कलङ्क कटकटिएको, हिटलर र मुसोलिनीको लात्तीले थेप्च्याएको, प्रत्येक श्वास-प्रश्वासबाट ह्रारह्रार्ती मानव -मुर्दाको दुर्गन्ध चलिरहेको, मैले यसको नाकलाई यस्तै वीभत्स र डरलाग्दो बनाउन सक्नुपर्दछ । यो पोर्ट्रेटको प्रभाव केन्द्र नै यसको नाक हुनेछ ।
यसको लुगा पनि यही अनुहार सुहाउँदो हुनुपर्दछ । कौटिल्यको धोती र प्लेटोको जामा जसलाई पटक्कै मन पर्दैन तैपनि, नेपाल तिर आउँदा आएरल्याण्डको संविधान पढ्दै धोती लगाएर आउँछ । अनि अमेरिकातिर जाँदा भने सूट लगाएर लिङ्कनको सङ्गीत गुनगुनाउँदै जान्छ । विचित्रको छ यसको स्वभाव । जहाँ गएपनि, जस्तो लुगा लगाए पनि, यसको लुगाको प्रिय रङ भने सधैँ रक्तिम रातो नै हुन्छ । जनक्रान्तिबाट नै यो आउँछ, जनक्रान्तिका नै यो मौलाउछ, शान्तिस्थापना गर्न पनि यो क्रान्तिकै आह्रान गर्दछ । यो त्यस्तो शान्ति चाहान्छ, जुन मानिसलाई मृत्यु पछि मात्र प्राप्त हुन्छ । अनि क्रान्तिबाट नै यसको अन्त्य पनि हुन्छ । त्यसैले हुनसक्छ यसलाई रक्तिम, रातो असाध्यै मन पर्छ । अनि पोर्ट्रेटको पृष्ठभूमिभरि पजस यसका सहधर्मी- सहकर्मी मानव अधिकार, मानव स्वतन्त्रता, सहयोग, सदभावना आदिलाई पनि राते रङ्गमा चित्रण गरिनुपर्दछ ।
यसको जन्मथलोको पत्ता नलागे पनि, यसको बस्ने घरचाहिँ कहाँ रहेछ, थाहा पाउन सकेदेखि धेरै कुरामा पन सक्थ्यो । आजसम्म मैले पोर्ट्रेट बनाएका अधिकांश मोडेलहरूले मलाई घरमा बोलाउने, ख्वाउने, यसको बस्ने घरचाहिँ कहाँ रहेछ थाहा पाउन सकेदेखि धेरैकरा फाइदा हुन सक्थ्यो । आजसम्म मैले पोर्ट्रेट बनाएका अधिकांश मोडेलहरूले मलाई घरमा बोलाउने, ख्वाउने मेरा चित्त किनिदिने आदि अनेकौं प्रकारबाट सहयोग पुर्याउँदै आएका छन् । के भन्न सकिन्छ, अहिले बनाएको पोर्ट्रेट उसलाई मन पर्यो भने त मेरो भाग्यमा नै सूर्योदय हुन बेर लाग्दैन । यो अरुजस्तो लरतरो छैन । यही आशाले पनि मलाई यसको निवासस्थान जान जरुरी छ । तर कसरी पत्तो लगाउनु ! हो, अनुमान चाहिँ गर्न सकिन्छ । यसको घर अवश्य पनि इन्द्रको दरबारलाई मात गर्ने हुनुपर्दछ । घुनको वासस्थान भकारिभित्रको धान भएजस्तै, यसको वासस्थान पनि धनदौलतको भकारीभित्रै, पुँजी सङ्कलनको होडबाजीगृह मोन्टे कार्लो, रेनो, लासभेगासको क्यासिनोजस्तै दुई-चार ठाउँ मात्र हुन सक्दछ । त्यतैतिर खोज्न गए त्यसलाई भेट्न सकिन्छ ।
मेरो आँखैअगाडि क्रमशः प्रजातन्त्रको पोर्ट्रेट उत्रदै आयो । रेखा खिच्न थालेँ फटाफट । मान्छेकै आकारको धातुरङ्गको रातो लुगा लगाएको-लिङ्ग छुट्याउन नसकिने आधुनिक ‘पप’ युवाजस्तो, डरलाग्दो अणुबम काँधमा हालेको, कालभैरवको जस्तो भयावह मुख भएको, हत्याराको जस्ता लोलाएको आँखा भएको, डढेको बीभत्स नाक भएको, रक्तिम पृष्ठठभूमिमा एउटा भयावह दैत्यको रेखा खिच्दै र कल्पना गर्दै जाँदा-मेरी सेलीको विख्यात उपन्यासबाट उम्केको मानव-निर्मित यन्त्रदैत्य ‘फ्राङकेनस्टेन’ नै आफूतिर लस्कदै आइरहेको देख्न लागे । म नराम्रोसँग झस्किएँ र झण्डै चिच्याएको । असम्भव-
असम्भव, प्रजातन्त्रको पोर्ट्रेट यस्तो बीभत्स ? यो हुनैसक्दैन । मेरा सम्पूर्ण माथिका तर्कहरू आधारहिन रहेछन् । फ्राङक्नस्टेन भनेको आधुनिक मान्छेले बनाएको, मानवसेवार्थ एउटा यन्त्रमानिस थियो, एउटा उच्च यथार्थवादी रोबोटकै यथार्थ रूप । तर त्यसले आफ्नै निर्मातालाई धोका दियो र हत्यारा बन्न गयो । मैले आदर गरेको सुन्दर प्रजातन्त्रको पोर्ट्रेट कसरी त्यस्तो हुन सक्दछ ? म आफैंदेखि क्रुद्ध भएर रन्थनिदै भित्र पसेँ । कलाका सामग्रीहरू प्रजातन्त्रको पोर्ट्रेट रच्ने प्रतीक्षामा थिए ।
प्रजातन्त्रको खोजीमा भौंतारिरहेका मेरा अन्तर्चक्षु एवं चर्मचक्षुहरू आफ्नै कला-पूजाका चौकीवरिपरि रङ्गमगिन लागे कार्यकक्षवरिपरि अनि छरिएका कलासामग्रीभरि जताततै, कहिले रातमा मल्याकमिलिक हुँदा वर्षातको बादलमा अनेकौं अदभुत आकृतिहरू देखिएजस्तै अथवा कुनै राष्ट्रअध्यक्षको रात्रिभोजमा पल्याकपुलुक क्यामरा-प्रकाशमा अनेकौं नाटकीय अनुहारहरू देखिएजस्तै मैले प्रजातन्त्रको रूपलाई झल्याकझुलुक देख्न लागेँ ।
ओहो ! प्रजातन्त्रको अनुहार कता मेरै कुनै कलासामाग्री जस्तै त छैन् ? प्रजातन्त्र भनेको मेरै चित्रसामाग्री बुरुसजस्तै पनि त हुन सक्छ नि ! प्रजातन्त्र भनेको, म आफैं कसैको साधन भएजस्तै, मान्छेको चरित्र, नैतिकता निर्माण गर्ने, देशजत्रै क्यानभासमा उच्चकोटिको कल्पना-कृतिलाई साकार पारिदिने, सम्पूर्ण राष्ट्रलाई नै एउटा आदर्श रूपमा परिणत गरिदिने अनेकौँ प्रकारको साधनहरूमध्येमा एउटा ग्रहणीय साधनैसम्म मात्र न हो आखिर ।
कस्तो गजब, कलाकार-जीवनको यति लामो यात्रा पार गरिसक्दा पनि, म अझै आफैँभित्रको ज्ञान एवं वस्तुजगतसँग यतिधेरै अनभिज्ञ बनेको रहेछु । प्रजातन्त्रको खोजीमा म अमेरिका पुगेँ; मिश्र, युनान र रोम पुगेँ, अनेकौं रणभूमि र मानवरक्तका नदी परि भौंतारिन पुगेँ, शान्तिका मन्दिर र शस्त्रास्त्रवा भण्डारको समेत उत्खनन् गरे, इतिहासका सुनौला अध्यायहरू पढेँ, आखिर प्रजातन्त्र त आफ्नै हृदयभित्र र आफ्नै चित्ररचना गर्ने बुरुसभरि प्रतिबिम्बित भएर बसेको रहेछ ।
क्रमशः आफ्नै अगाडिका बुरुसहरूप्रति मेरो प्रेम, श्रद्धा, भक्ति, सहानुभूति जाग्रत् हुँदै आउन लाग्यो । अनायास मेरो हात तिनै बुरुसको ड्रइङ गर्न लाग्यो अनि मेरो आँखाले पनि त्यही बुरुसमा लत्पतिएको रङ्गभरि प्रजातन्त्रका पारदर्शक तत्त्वहरू सग्बगाइरहेको देख्न लाग्यो । त्यो दिनको यो अविस्मरणीय घटनापछिदेखि मैले सधै प्रजातन्त्रलाई आफ्नै बुरुसभरि लत्पताइरहेको देख्न थालेको छु । (तरङ्ग तरेलीबाट)