शुक्रबार , मंग्सिर २३, २०७९

तामाङ समुदायमा विवाह परम्परा, के हो चार दाम ?

'हाम्री चेली आजदेखि ज्वाइँलाई सुम्पे पनि हड्डी चाहिँ होइन’ भन्ने चलन छ । त्यसको अर्थ जीवनको अन्तिम घडीसम्म माइतीको पनि हक लाग्छ भन्ने हो र तामाङ चेलीको बिहेपश्चात् पनि थर (ह्रुई) फेरिन्न भन्ने हो । यही कारणले गर्दा कुनै पनि तामाङ चेलीको मृत्यु संस्कार (घेवा) को बेला माइती खलकलाई अस्तु बुझाउनुपर्ने परम्परा छ ।

image

विवाह  एक महत्त्वपूर्ण सामाजिक संस्था हो । यो सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट  विपरीत लिङ्ग (महिला र पुरुष) बिच एकअर्कासँग जीवन व्यतीत गर्न स्वीकृति दिने संस्कार हो । विवाहले दुई परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । नेपाल मा हरेक जाति हरेक क्षेत्रमा अ-आफ्नै तरिकाले विवाह गर्ने गरिन्छ । मनुस्मृतिले विवाहलाई ‘दुई आत्माबिचको पवित्र मिलन’ भनेको छ।

जङ्गली अवस्थाबाट घर व्यवहारमा आएपछि मान्छेले आफ्ना पाशविक व्यवहारमा परिमार्जन गर्दै लगेको हो । एउटै केटीमा धेरै जना केटाको तानातान वा एउटै केटामा धेरै जना केटीको आशक्ति रहनुले समाज विकृत बन्छ । त्यसैले समाजलाई अराजक हुनबाट जोगाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्नुपर्ने आवश्यकता पर्‍यो । यसरी तोक्ने कार्य नै पछि गएर एउटा संस्कारमा परिणत भयो र त्यसैलाई नै ‘विवाह’ भनियो । यसरी विकसित बन्न पुगेको विवाह संस्कारले निजी लोग्ने र निजी स्वास्नीको अवधारणा ल्यायो र समाजलाई विकृत हुनबाट जोगायो । सिद्धान्त तः विवाह यही रूपमा विकसित भयो । विवाहको प्रकृति यही हो, जसले यौनको अत्यावश्यकतालाई स्वीकारेको पाइन्छ । यसलाई व्यवस्थित गर्नका लागि भने अनेक प्रचलन र परम्पराहरू विकसित बन्न पुगे । यस्ता परम्पराहरू जाति, धर्म, क्षेत्र, स्थानअनुसार पनि फरक फरक ढङ्गले विकसित बन्न पुगेका छन् । यहाँ नेपालका मूलवासी तामाङ समुदायमा विवाह कसरी सम्पन्न हुन्छन् भन्ने विषयमा चर्चा गर्दैछाैँ ।

तामाङ  समुदायमा विवाह  परम्परा (ब्रेल्साङ)

तामाङ समुदायमा आफ्नै मौलिक वैवाहिक संस्कार रहेको छ । विवाह समारोहमा दाम्पत्य जीवन सुखद एवम् सफल होस् भनेर लामा गुरुहरूलाई अनिवार्य रूपमा टाशीघेपा र टाशीछेक्पा अर्थात् शुभ मोलम पाठ गर्ने प्रचलन छ । तामाङ जातिमा फुपू चेली र मामा चेलाको छोराछोरी बिचमा पनि विवाह चल्ने प्रचलन छ । हिजोआज भने त्यो प्रचलनलाई निरुत्साहित गर्दै गएको पाइन्छ । आफ्नो स्वाँगेभाई (सगोत्री) बाहेक अन्य थर, जातिबिचमा ठाउँ विशेषको संस्कारअनुसार बिहेवारि हुने गर्दछ । तामाङ जातिमा मागी बिहे र भागी बिहे दुवै स्वीकार्य छन् । मागी बिहेमा केटापट्टिबाट लमी जान्छन्, लमीको भूमिका ताम्बाले गर्दछन् । किनभने तामाङ समाजमा प्राचीन रीतिरिवाज र वंशावलीसम्बन्धी जानकारी ताम्बालाई धेरै हुन्छ । लमीले कुरा छिनेपछि केटापट्टिबाट सगुन लानुपर्छ । जसमा कुखुरा वा खसी, सेलरोटी र रक्सी हुन्छन् । सगुन लगे पछि मात्र विवाहको दिन, रीत (कोसेली) जन्तीको सङ्ख्या र अन्य तयारीको कुराहरू तोक्ने गरिन्छ । जन्ती जाँदा तामाङहरू मौलिक लोकबाजा डम्फु बजाउँछन् । डम्फुवालाहरू नाच्दै जान्छन् । जन्ती आइपुग्दा केटी पट्टिकाले गर्ने प्रथम स्वागतमा बाटोमा सगुन (रक्सी, चार वटा रोटी) आदि राख्दछन् । उक्त सगुन दुलहाले छ्योतो गर्ने अर्थात् जन्ती जाने र स्वागत गर्ने सबैलाई अर्पण गर्ने गर्छन् । जन्ती केटीको घर आँगनमा पुगे पछि केटीको बुवा वा अभिभावकले जन्ती पर्सने चलन छ । स्वयंवर गर्ने चलन पनि तामाङ जातिमा प्रचलित छ । जन्तीहरूलाई सगुन खुवाएर दुलहालाई आसनमा राखेपछि दुलहीको दाजु वा भाइले दुलहीलाई बोकेर ल्याई सँगै बसाउँछन् ।

फेरि एक पटक सगुन खुवाएपछि कार्यक्रम सुरु हुन्छ । दुवैपट्टिका ताम्बाहरूले आ–आफ्ना पक्षका पुर्ख्यौलीसम्बन्धी कुरा एक अर्काको परिवारलाई बताउँछन् । डम्फुवालाहरू एक अर्कालाई सवाल जवाफ गर्दै नाच सुरु गर्दछन् । ताम्बा गीतपछि रात्रिभोज सुरु हुन्छ । यसमा केटा र केटी पक्षका व्यक्तिहरू सामेल हुन्छन् ।

के हो चार दाम ?

तामाङ समुदायमा आफ्नो छोरीचेली कुटुम्बलाई सुम्पने बेलामा तपसिलका चार प्रकारका वस्तुहरू साक्षी राख्ने गरिन्छ । जसलाई चार दाम भनिन्छ ।

१. विवाह हुने स्थानका अलौकिक ज्योहो ज्योमो (देवी देवताहरू)

२. हिमालमा हुने डाँफे अनि तराईमा पाइने मयूरको प्रतीक स्वरूप कुखुराको भाले

३. नदीमा पाइने गोही र कछुवा आदिको सम्झना स्वरूप जिउँदो माछा

४. विवाह स्थलमा भएका सम्पूर्ण सज्जन महानुभावहरू

यिनै चार प्रकारका साक्षीहरूको रोहवरमा मात्रै तामाङ जातिले आफ्नो छोरीचेली कुटुम्बलाई जिम्मा लगाउँछन् । यही तामाङ संस्कृतिलाई तामाङ जातिमा छोंगोर, घासा वा चारदाम भनिन्छ । यही चारदाम गर्ने समयमा तामाङ जातिको ताम्बाले हाम्रो छोरीचेली तपाईँ कुटुम्बलाई सुम्पिए तापनि हाम्रो ह्रुई अर्थात् थर चाहिँ हजुरहरूलाई सुम्पेका छैनौँ भनी माइतीकै थर रहने कुरा बताउँछ, तसर्थ यही कारणले तामाङ चेलीको थर परिवर्तन हुँदैन । चार दामको समयमा ताम्बा र गान्बाले तामाङ लोक शैलीमा आज सुपुत्री पूर्ण स्कन्धले बाँधिएको कायस्वरूप …(केटीको नाम ठेगाना) नामले परिचित चेली  …(केटाको नाम ठेगाना) साथ जीवनसाथीका रूपमा सुम्पिँदै छौं । यो सन्देश यस गाउँका अलौकिक ज्याेहोज्योमो (देवीदेवता)लगायत सजीव रूपमा रहेको यस भेगका हिमालय पर्वतका डाँफे र समथर तराईका घना जङ्गलका मयूर अनि मुनाल चराले सुनोस् भनी प्रतिनिधिका रूपमा सञ्चार संवाहक परेवा वा सुनपंखी कुखुराको भाले राखिएको छ । नदीनालामा रमाउने जलचर माछा, गोही र कछुवा आदिले थाहा पाओस् भनी प्रतिनिधिका रूपमा माछालाई ल्याएका छौँ भने यस विवाह मण्डपमा विराजमान सम्पूर्ण सज्जनवृन्दहरूलाई साक्षी राखी आजको मितिदेखि हाम्री चेली सुश्री …(केटीको नाम)….लाई तपाईँहरूको छोरा …(केटाको नाम)….को हातमा जिम्मा लगाएका छौँ ।

विवाह हुँदा चेलीकाे थर परिवर्तन हुँदैन

माथि उल्लेखित चार दामलाई साक्षी राखी चेलीलाई कुटुम्बकाे जिम्मा लगाउँछन् । तर जिम्मा लगाउने बेला “पाले पुण्य मारे पाप” भनेर हामीले हाम्री चेली दिएका छौँ, हाम्री चेली तपाईँ …(केटाको नाम) …रिम्बोर्छेको जीवनसाथी अथवा पत्नीको रूपमा रहेता पनि हाम्रै थर नै जीवनपर्यन्त रहिरहनेछ भन्दै जिम्मा लगाउँछन् ।

‘हाम्री चेली आजदेखि ज्वाइँलाई सुम्पे पनि हड्डी चाहिँ होइन’ भन्ने चलन छ । त्यसको अर्थ जीवनको अन्तिम घडीसम्म माइतीको पनि हक लाग्छ भन्ने हो र तामाङ चेलीको बिहेपश्चात् पनि थर (हुई) फेरिन्न भन्ने हो । यही कारणले गर्दा कुनै पनि तामाङ चेलीको मृत्यु संस्कार (घेवा) को बेला माइती खलकलाई अस्तु बुझाउनुपर्ने परम्परा छ । यसरी विधिवत् तरिकाले समारोह अन्त्य भइसकेपश्चात् ती साक्षीको रूपमा ल्याइएको डाँफे र मुनाल पंक्षिको प्रतिनिधि परेवा वा कुखुराको भाले, गोही र कछुवाको प्रतिनिधि माछालाई आ–आफ्नो ठाउँमा जिउँदै छोडिदिनु पर्दछ अनि मात्रै दुलहा–दुलहीको दाम्पत्य जीवन सुखमय हुनेछ भनिन्छ । त्यसपछि टीका टालोमा दुलहीका कुल कुटुम्बले दम्पतीलाई टीका लगाउने र गच्छेअनुसार उपहार दिने चलन पनि छ । भोलिपल्ट बिदा हुनुभन्दा अघि सम्धी भोज हुन्छ ।

दुलही लिएर फिरेका जन्तीलाई दुलहाको घरमा जितौरी खुवाउने चलन छ, जसबाट धेरै वर्ष पहिले दुलहीलाई जितेर ल्याउनुपर्ने रीतिरिवाज भएको अनुमान गर्न सकिन्छ । यो जितापत्रको खाजापछि इष्टमित्र, कुल कुटुम्ब र चेलीबेटीले रक्सी, रोटी, फूल, माछा, मासु आदिले सत्कार गरी दुलहा–दुलहीलाई भित्र्याउँछन् । यो बेला ताम्बाले दुलहीलाई दुःख दिने छैनौँ भन्ने वाचा दुलहाकी आमा र दुलहाबाट गराउँछन् । हिजोआज कुनै गाउँ ठाउँमा सिन्दूर हाल्ने चलन पनि छ तर त्यो तामाङ जातिको मौलिक संस्कृतिभित्र पर्दैन । टीका लगाउँदा पनि रातो नभई सेतो टीका लगाउने चलन छ । ताम्बाले वाचा बँधाएपछि दुलहा–दुलहीको टाउको एक–अर्कासँग तीन पटक ठोक्ने र एक अर्कालाई जुठो खुवाउनुपर्ने, ठाउँ सारेर बस्नुपर्ने चलन छ । समाजका ठुलाबडाले टीका लगाएर सगुन खुवाएपछि बिहेको कार्यक्रम सकिन्छ ।

सामान्यतः तीन दिनपछि दुलही फर्काउने चलनलाई दोवरी–निवरी भनिन्छ । यो समुदाय सरल र सोझो हुने भएकाले सबै झन्झटपट्टि लाग्नुभन्दा वन पाखामा जुवारी खेलेको बखत एकअर्कासँग मायाप्रीति गाँसेर सुटुक्क भाग्ने पुरानो चलनलाई आधुनिकीकरण गर्दै लगिएको छ । परम्पराअनुसार दुई परिवारलाई चित्त बुझेको बेला एक सिसी रक्सी राखेर केटीका आमाबाबुको शिर उठाएपछि टिकोटालो र ढोगभेट गर्नासाथ उनीहरूको सम्बन्ध स्वीकार्य हुन्छ ।

सम्बन्धित समाचार