उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् । उनले २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन् ।
मेयर शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया समेत गरे । अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रियापश्चात उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी पनि व्यक्त गरे ।
उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् ।
अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहिन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
मेयर शाले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ? सहकार्य कसरी हुनसक्छ? वार्षिक रूपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको पनि बताए ।