आइतबार , फागुण १३, २०८०

टिकापुर घटनालाई पृष्ठभूमि बनाएर लेखिएकाे उपन्यास मिन्झारी विमोचित

image

काठमाडौं । थारू संस्कृतिलाई पृष्ठभूमि बनाएर लेख्दै आएका महेन्द्र उपाध्यायकाे पहिलो उपन्यास ‘मिन्झारी’ शनिबार विमोचन भएको छ । उपन्यासकार नयनराज पाण्डे, संविधान सभा सदस्य तथा ‘कमलरीदेखि सभासदसम्म’की लेखिका शान्ता चौधारीले प्रज्ञा प्रतिष्ठान डबलीमा एक कार्यक्रमबीच पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा पूर्वसांसद शान्ता चौधरीले उपन्यासले कम्लहरी र थारु समुदायका मुद्दालाई सशक्त रुपमा चित्रण गरेको बताइन् । “मिन्झारी मालिककाे आँखाबाट, मालिककै साेचबाट र रबैयाबाट कमैयाहरूमाथि गरिने अत्याचारकाे दुरूस्त चित्रण गरिएकाे उपन्यास रहेको छ”, उनले भनिन् ।

साहित्यकार नयनराज पाण्डेले उपन्यासमा प्रयोग गरिएको भाषा शैली र बिम्ब लेखकको खासियत भएको बताए । “मिन्झारीको लेखनशिल्प, विषयवस्तु उठान मौलिक भएको बताउँदै पहिलो  उपन्यास नै सशक्त हुनु स्वागयोग्य कुरा हो”, उनले भने। नेपाली साहित्य जगतमा कमलरि वा कमैयाका कथाहरू फरक कोणबाट व्यंग्यात्मक शैलीमा लेखिएको दाबि समेत पाण्डेको रह्यो ।

लेखक उपाध्यायले उपन्यासमा आफू हुर्केको समाजको वास्तविकता चित्रण गर्न खोजेको बताउँदै उपन्यास पढेर रचनात्मक सुझाव सल्लाह दिन आग्रह गरे । ” ‘पहाडियाहरू मधेस झर्नुभन्दा पहिला थारूहरूका घरमा ताला लगाइँदैन थियाे । त्यस्ताे शान्त बसेका थारुहरु र सिंगाे थारु समुदाय आतङ्कित बन्याे । याे कुरा बुझेसँगै लेखनकाे विषय बन्याे,’ उनले भने ।

काबु क्रियशनद्वारा प्रकाशित उपन्यासको मूल्य ५७५ रुपैयाँ छ । कैलालीमा जन्मिएर इन्जिनियर पेशा अंगालेका लेखक उपाध्यायको यसअघि मौलिक गजलकृति ‘एक’ प्रकाशित छ ।

सम्बन्धित समाचार