मैथिली समाजमा खानपानसम्बन्धी एउटा भनाइ छ, ‘माछ, पान आ मखान स्वर्गमे सेहो नही भेटैत छै ।’ अर्थात् 'माछा, पान र मखाना स्वर्गमा समेत पाइँदैन ।' आधुनिकीकरणका कारण बढेको ‘सांस्कृतिक विग्रह’, बजारिया खाद्य प्रणाली र पत्रु खानाबाट वाक्कदिक्क हुनुभएको छ मिथिला खान जरुर खानुहोस् ।
मैथिली समाजमा खानपानसम्बन्धी एउटा भनाइ छ, ‘माछ, पान आ मखान स्वर्गमे सेहो नही भेटैत छै ।’ अर्थात् ‘माछा, पान र मखाना स्वर्गमा समेत पाइँदैन ।’
११ औँ शताब्दीमा लेखिएको मैथिली पुस्तक ‘वर्णरत्नाकर र प्राकृति पिंगल’ नामक पुस्तकमा लेखक ज्योतिश्रर ठाकुरले मैथिली खानाको चर्चा गरेका छन् । सो पुस्तकमा मैथिली भोजन, दही र माछाको चर्चा छ । यसलाई आधार मान्दा झण्डै एक हजार वर्षसम्म पनि मैथिली भोजनमा कुनै परिवर्तन नभएको पाउन सकिन्छ ।
भोजनमा मिथिलाको परम्परा मात्रै होइन, आयुर्वेदिक दृष्टिले महत्त्वपूर्ण एवम् मौसमी भोजन चक्रको अनुसरण गरिएका पाइन्छन् । मिथिलाको पर्वत्यौहारको विशेषताअनुसार खानाहरूमा विविधता देखिन्छ । जुडशीतल (वैशाखको दोस्रो दिन), दशहरा, तिला सङ्क्रान्ति र फागुपर्व होस् या छठ, चौठचन्द्र वा जितिया होस्- चाडपिच्छे पकवानहरू तयार भइरहेका हुन्छन् ।
प्रत्येक वर्ष वैशाख १ गतेको दिन मनाइने नयाँ वर्षमा यहाँ काँचो आँप र सातु खाने परम्परा छ । कूल देवतालाई सातु र काँचो आँप (टिकुला) चढाएर खाने गरिन्छ । नयाँ वर्षको अवसरमा सातु, गुड (सख्खर) र आँपको आचार खानाले वर्षभरि स्वस्थ रहने जनविश्वास छ । यसैगरी, छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा समावेश भएको पानी सिँगडा पनि यहाँ पुग्दा छुटाउन नहुने फल हो । मौसम अनुसारका परिकारको संस्कृति मिथिलाको समुन्नत सभ्यतालाई सङ्केत गर्दछ ।

शिवचोकनेर बेच्न राखिएको पानी सिँगडा
यसैगरी, मिथिलामा अक्षय नवमी पर्व (कात्तिक शुक्ल नवमी तिथि)को अमला (धातृ) को रुखको फेदमा खाना खाने आफ्नै मौलिक परम्परा समेत रहेको छ । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र खाइनुले चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश प्रवाह गर्दछ ।
मिथिलामा माछा बाहिरबाट ल्याउनु पर्दैन, रोटीका लागि कोदो यहीँ छ । अचार र अमोटका लागि पनि बाहिर जानु पर्दैन, सबैथोक यहीँका खेत र पोखरीमा पाइन्छ । एउटै खाद्य पदार्थको अनेक परिकार बनाएर खानु मिथिलाको अर्को विशेषता भएको होटेल व्यवसायी सङ्घ, मधेस प्रदेशका अध्यक्ष एवं व्यापारी विजय झुनझुनवाला बताउँछन् । “मिथिला परम्परागत र स्वादिष्ट खाना हो । यसलाई त्यति प्रमोट गर्न सकिएको छैन । स्वास्थ्यको दृष्टिले पनि निकै राम्रो हुने भएकाले यसलाई रेस्टुरेन्टको मेनुमा पनि ‘मिथिला थाली’को रूपमा राख्न सकिन्छ”, उनी भन्छन् । गाईबस्तुको गोबर संकलन गरेर सुकाइएको गोरहा, गुइँठा वा गोरहन्नीबाट खाना बनाउने चलन भने पातलिंदै गएको उनी चिन्ता व्यक्त गर्दछन् । “परम्परागत रुपमै खाना पकाउन, आगो बाल्न, ताप्न, वर्षभरी पुग्नेगरी गुइँठा बनाएर राखिने संस्कृति पनि हाम्रो हो, यसलाई मासिन दिनुहुँदैन”, उनी भन्छन् ।
मिथिला थाली :
मिथिला नरेश जनकको मनपसन्द खानाको रूपमा मिथिला थाली प्रचलित छ । नन भेज पारखीका लागि मिथिला थाली निकै उपयुक्त परिकार हो ।
शुरुमा घिउ, त्यसपछि भात, पुरी, राहैर दाल, कडी बडी (करी, बरी), दहीवडी (दही र वेसनबाट बनाइएको परिकार) आलुगोभी तरकारी, अदौरी लौका सब्जी, तिलक चटनी, आदक चटनी, तरुवा (आलु, परोर, बैगन, केला र कदिम), भुजल मिर्चाइ, तिलौरी, पापड, मखानक खीर जस्ता खानेकुरा मिथिला थालीका विशेषता हुन् । थालीको अन्तिममा दही दिने यहाँको मौलिक प्रचलन हो ।
तिलको चट्नीबाट क्याल्सियम प्राप्त हुन्छ भने तिलौरीबाट ओमेगा थ्री प्राप्त हुन्छ, जो मुटुको निकै स्वास्थ्यकर मानिन्छ । दहीमा क्याल्सियमलगायतका विभिन्न तत्त्व हुन्छन्, जसले पाचन प्रणालीमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन् ।
मैथिली खानाको अर्को विशेषता भनेको लसुन र प्याज मुक्त खाना हो । नयाँ पिँढीले भने यो परिकार मनपराउने गर्दैनन् । तर परम्परागत मिथिला खानामा भने लसुन र प्याज पाइँदैन । प्याज र लसुन नहाले पनि यहाँ मांसाहारी खाना भने पकाइन्छ । भोर्लाको पातमा मिथिला थाली खानुको मजा नै बेग्लै छ ।

मिथिला थाली
दही–च्युरा
दही च्युरा मिथिला संस्कृतिको एउटा विशेष परिकार हो । मिथिला क्षेत्रको कैयौँ घरहरूमा दिनको सुरुवात प्रसिद्ध पौराणिक व्यञ्जन दही र च्युराबाट हुने गर्छ । मिथिलामा जितियाको दोस्रो दिन च्युरा दही खाने चलन समेत रहेको छ ।
माछा
मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्, ‘पगपग पोखर माछ मखान, सरस मधुर मुक्सी मुख पान ।’ अर्थात्, ‘जहाँ हरेक पाइलामा माछा, मखान र पोखरी भेटिन्छ, जहाँ तपाईंलाई मुस्कुराउँदै गरेको अनुहारले स्वागत गर्छ, त्यो नै मिथिला हो ।’
मिथिला संस्कृतिमा घरबाट लामो यात्रामा निस्किनुपर्दा माछा खाए शुभ हुने विश्वास छ। माछा मिथिला क्षेत्रको यति व्यापक संस्कृति हो कि सबै सम्प्रदायका मान्छेले यसलाई उपभोग गर्ने गर्छन् ।
मिथिलामा तालतलैया धेरै भएकाले माछाको पनि सानो तथा ठूला प्रजातिहरूका विशेष परिकारहरू यहाँको स्थानीय होटेलहरू पाउन सकिन्छ । शिवचोक नजिकै रहेको नवरंग होटेल तथा सरोज माछा जनकपुरको प्रसिद्ध माछा स्टेशन हो ।
जनकपुरधाम उपमहानगरपालिका–४ का सरोजप्रसाद साहले जानकी मन्दिर र राजदेवी मन्दिरबीचको गल्लीमा ‘घरेलु होटल आनन्द’ चलाएका छन्, जो सरोजको माछा नामले प्रख्यात छ । दिनभरि प्राय: सुनसान देखिने यो टहरामुनि अपराह्न ४ बज्नासाथ माछा पारखीहरूको बाक्लो भीड लाग्छ। त्यसपछि राति ९ बजेसम्मै होटलका कुर्सी भरिभराउ हुन्छन् । अधिकांश सरकारी कर्मचारी, व्यापारी र नेताहरू उनका नियमित ग्राहक हुन् ।
काठमाडौं, विराटनगर लगायत ठाउँबाट घुमफिरका लागि आएका माछा सोखिनहरू पनि थुप्रै भेटिन्छन् । उनको होटलमा पाइने माछा प्रतिकिलो ६ सयदेखि ७ सय रूपैयाँ पर्छ । एक किलोबाट १० देखि १२ टुक्रा माछा तयार हुन्छ । तीमध्ये पेटी खाने ग्राहक बढी हुन्छन् । तीन टुक्रा माछाको एउटा पेटी बेच्ने गरेको उनले सुनाए ।

जानकी मन्दिरको दक्षिणी गेटछेउको प्रख्यात सरोजको माछा
झानेको दाल
मिथिला संस्कृतिमा दाल अत्यन्त महत्त्वपूर्ण परिकार हो । मिथिलाको दाल अन्यत्रको भन्दा पृथक् छ । यहाँ दाल तयार गर्ने अर्को अनौठो तरिका छ । सर्वप्रथम दाललाई तताइएको तावामा भुट्ने गरिन्छ। अरहरको दाल, मसुरको दाल, चनाको दाल यहाँ ज्यादा प्रचलित छ ।
मिठाई
मिथिलावासीहरू मधुर छन् अर्थात् गुलियोप्रेमी छन् । उनीहरूलाई मिठाइ खाने कुनै बाहाना चाहिँदैन । पहिलोपटक भेट हुँदा होस्, छुट्ने बेलामा होस् उनीहरू अतिथि सत्कारमा मिठाई टक्राइहाल्छन् । यहाँ मालपुवा जस्ता अन्य गुलिया परिकारहरू दैनन्दिन बनिरहेको हुन्छ ।
जनकपुरधाममा यसै वर्षको दशैंको महाअस्ष्टमीका दिन मात्र २ करोड रुपैयाँ भन्दा बढीको लड्डु बिक्री हुने गरेको रेकर्ड छ । एकै दिनमा यहाँ करिब ३५ हजार किलो लड्डु बिक्रि हुने जनकपुर उद्योग वाणिज्य संघले बताएको थियो । जनकपुरधाम विमानस्थलमा यात्रुहरुको सहजतालाई ध्यानमा राख्दै मिठाई तथा स्न्याक्स पसल समेत सञ्चालनमा आएको छ ।
बजार अनुगमनको अभावका कारण अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डु पनि पनि खरिद गर्नु परेको उपभोक्ताको गुनासो भने यद्यपि छँदै छ ।

जानकी मन्दिर छेउमा हरेक बिहान मिठाइ बजार लाग्दछ
खजुरी
खजुरी चामलको पिठो, काजु, किसमिस, दुध र घिउको मिश्रणबाट बनाइन्छ । यो तराइ क्षेत्रमा विशेषगरी तिहार तथा छठ पर्वहरूमा मैथिली समुदायका मानिसले पकाउने गर्दछन् । लामो समयसम्म राखेर खान मिल्ने हुँदा तराई क्षेत्रमा यो लोकप्रिय मानिन्छ ।
यसबाहेक माछाको चोखा, आलुचोखा, लिट्टी चोखा, दाल पिठ्ठी, बगिया, तिलौरी, तिस्यौरीजस्ता मौलिक परिकारहरू मिथिलाको मौलिक भोजन रेसेपी हुन् ।
अन्त्यमा,
नेपाली खाना बजारमा नेवारी खाजा र थकाली खानाको प्रशस्त ब्रान्डिङ भएको छ, तर यी खानालाई टक्कर दिने पृथक् स्वादको मिथिला खानाको चर्चा भने लुप्तप्राय छ । ब्रान्डिङ आधुनिक व्यापारको एउटा महत्त्वपूर्ण पक्ष हो । आफ्नो वस्तु तथा सेवाको विशिष्टताका आधारमा ग्राहकलाई सन्तुष्ट पार्ने र आफूतिर आकर्षित गरिरहने उद्देश्यले गुणस्तरलाई स्तरीकरण गरिएका वस्तु तथा सेवाका नामको पहिचान नै ‘ब्रान्ड’ हो । सो पहिचान मिथिला खानाको पनि छ । बस्, ब्रान्डिङ हुन् सकेको छैन । सम्पूर्ण मैथिल संस्कृति नै काठमाडौं उपत्यकामा फैलाउने अर्थात नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने काम भने हुन् बाँकी नै छ, उपत्यकामा ‘द हाउस अफ मिथिला’ बाहेक अरू होटलहरू देखिएका छैनन् ।
नेपाली खानाका साथसाथै मिथिला खानालाई पनि अन्तर्राष्ट्रियकरण गर्न सक्ने हो भने यसबाट ‘वर्ल्ड मेन्यू’मा हाम्रो अर्को पहिचान पनि स्थापित हुन्छ । आधुनिकीकरणका कारण बढेको ‘सांस्कृतिक विग्रह’, बजारिया खाद्य प्रणाली र पत्रु खानाबाट वाक्कदिक्क हुनुभएको छ मिथिला खान जरुर खानुहोस् ।