शुक्रबार , मंग्सिर २३, २०७९

पर्यटकीय गन्तव्य : गोम्बोजो दरबार क्षेत्रमा टल्किरहेको मोतिगुफा

यो गुफालाई यसको माथि रहेको दरबारमा तोमजोङ खेतको खाद्यान्न ओसार्न प्रयोग गरिन्थ्यो भन्ने किम्बदन्ती पाइन्छ ।

image

नेपाल एक सुन्दर देश हो । यहाँको अधिकांश डाँडा, पाखा, भीर, जङ्गल, खोला, हिमाल, झरनाहरू आकर्षक छन् । खनियावास गाउँपालिकामा पनि अनेक पर्यटकीय सम्भावनाका स्थानहरू छन् । प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्वका स्थानहरू प्रशस्त छन् । ती स्थानहरूमध्ये गोम्बोजो दरबार क्षेत्रमा एक गुफा रहेको छ । त्यस क्षेत्रमा मूलबिना पानी निस्किएको स्थान बोन्डोङडोङ, घले राजाको दरबारको भग्नावशेष गोम्बोजो जोङ र मोति गुफा रहेको पाइन्छ । यही तक्युप चेत र अलि नजिक धार्मिक महत्त्वको थङब्रा कुङ्कर पनि रहेको छ ।

मोति गुफाको नामकरण मिलन साहित्य अभियान अन्तर्गत धादिङ जिल्लाका लेखक, पत्रकार र साहित्यकारहरूको टोलीले २०६४ सालमा गरिएको हो । त्यसपश्चात् यस गुफाको बारेमा पर्याप्त चर्चा परिचर्चा हुँदै आएको छ । यस गुफाभित्र लाइट बाल्दा मोति जस्तै टलक्क टल्किएकाले यसको नाम मोति गुफा राखिएको हो । गोठालो गएका एक बालकले लुकामारी खेल्ने क्रममा सो गुफा पत्ता लगाएका थिए । मोति गुफामा दार्खा गाउँपट्टीबाट जान असहजता रहेको छ । त्यसैले करिब २ कि.मी पदमार्ग निर्माण गर्न पाएमा सुविधा बढ्ने देखिन्छ ।

पर्यटनको महत्त्व

यहाँका अधिकांश जनता कृषि पेसामा संलग्न रहेका छन् । परम्परागत कृषि पेसामा संलग्नहरू जीवन धान्न मुस्किल परेको कारण वैदेशिक रोजगारमा जानु परिरहेको बाध्यात्मक अवस्था हामी सामु तथ्यगत रूपमा नै देखिन आएको छ । जटिल श्रम गरी पठाएको रेमिट्यान्सले नेपालको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ अंश ओगट्नु सुखद भविष्यको सङ्केत होइन । सरकारी विभिन्न तह र निकायहरूले सहयोग, अनुदान दिने गरिए पनि कृषि क्षेत्रले खासै फड्को मार्न सकिरहेको छैन । त्यसैले पर्यटन क्षेत्रमा जोड दिनु आजको आवश्यकता हुन आएको छ ।

प्रकृतिसँग रमाउँदै कृषि तथा पशुपालन गर्ने प्रकृति पूजकहरूलाई आधुनिक र वैज्ञानिक तरिका र सीप नजान्दा उच्च सम्भावना रहेको कृषि तथा पशुपालन पेसा हेलामा परेको छ । युवाहरूलाई कृषिमा नै आकर्षित गर्न सकिरहेको छैन । यही पृष्ठभूमिमा खनियावास गाउँपालिकाभित्र विभिन्न व्यावसायिक फर्महरू मार्फत कार्य अगाडि बढाइरहेको छ ।

बढ्दो बेरोजगारी र विदेश पलायनलाई रोक्न आफ्नै प्रकृति, सम्पदालाई देखाएर स्वदेशी र विदेशी मुद्रा समेत आर्जन गर्न पर्यटन क्षेत्रमा लाग्नु आवश्यक छ । स्थानीय स्रोत, साधन र श्रमको समुचित प्रयोग गरी देशलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन प्रत्येकको प्रयास जरुरी छ । यसको लागि पर्यटन एक भरपर्दो माध्यम हो ।

युवा पुस्तालाई आधुनिक र वैज्ञानिक पर्यटनको बारेमा प्रयोगात्मक रूपमा महत्त्व दर्साउनको लागि पनि यस प्रकारको कार्यक्रमको आवश्यकता पर्दछ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गराइ, स्थानीय प्रकृति र सम्पदाको माध्यमबाट अर्थोपचार गरी समृद्ध बनाउन सकिन्छ ।

पर्यटन क्षेत्रको विकासबाट मात्र दिगो र फलदायी विकास सम्भव हुन्छ । पर्यटनमा नै आधारित व्यवसाय रोजगारी र आम्दानीको प्रमुख स्रोत हो । प्रकृति जोगाउनुका साथै मानिसको स्वास्थ्यमा पनि यसले प्रत्यक्ष अप्रत्यक्ष टेवा पुराउँदछ । आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित तुल्याएर युवालाई यस तर्फ लाग्न प्रोत्साहनको जरुरी देखिन्छ । यसबाट लाभान्वित हुने सङ्ख्या पनि अधिकाधिक गरिब वर्ग हुने हुनाले अनुदानको जरुरी पर्दछ । त्यसको लागि सरकारको योगदान अपरिहार्य छ ।

बनावट

यस गुफाको प्रवेशद्वार साँघुरो छ । घस्रिएर जानु पर्नेमा अहिले सो बाध्यताबाट मुक्त पारेको छ । गुफाभित्र भने उभिएर हिँड्न सकिन्छ । दाँयाबाँया बत्ती बालेर हेर्दा आकर्षक दृश्य देखिन्छ । टलक्क टल्किरहेको पत्थरहरू हेर्दा आनन्दित र आल्हादित महसुस हुन्छ । भित्र बैठक गर्न मिल्ने जस्ता सानासाना चोकहरू पनि रहेको छ । केही मिटर अघि बढ्दै तल ओर्लने गर्दै ३ तलासम्म ५० मिटर जति भित्र सहजै जान सकिन्छ ।

ऐतिहासिकता

यस गुफालाई २०६४ सालमा रोडा नेपालको आयोजनामा धादिङका विभिन्न साहित्यिक तथा पत्रकार पृष्ठभूमिका व्यक्तिहरूको संलग्नतामा सम्पन्न मिलन साहित्य अभियानले मोति गुफा नामकरण गरेका थिए । त्यस पश्चात् यसको नाम त्यही रहन गयो । तर त्यस अघि घले गुफा, सुरखुङ आदि नामले पनि प्रचलित थिए ।

यो गुफालाई यसको माथि रहेको दरबारमा तोमजोङ खेतको खाद्यान्न ओसार्न प्रयोग गरिन्थ्यो भन्ने किम्बदन्ती पाइन्छ । आफ्नै भाइ शत्रु भएपछि घैया, धान, मकै, कोदो लगायतका खाद्यान्न ओसार्न यो मार्ग बनाएको र अन्तिम समयमा आक्रमणबाट बच्न यही गुफाको मार्ग हुँदै सुत्केरी व्यथाले च्यापेको रानीसमेतसँग भागेका थिए । तोम्जोङ निस्किएर नुवाकोटमा शरण लिन जाँदाजाँदै अलि माथि नकुर पुग्दा रानीले सन्तान पाएका थिए भन्ने कथन पाइन्छ । यसरी हेर्दा नुवाकोट गोरखाका शाह राजाको अधीनमा नपुग्दै यहाँ आक्रमण भएको अनुमान गर्न सकिन्छ । योभन्दा अघि नै निर्माण गराएको वा पत्ता लगाएको तथ्य खुल्दछ । त्यसैले यो निर्माण गराएको हो वा प्राकृतिक हो भन्ने अध्ययन हुन जरुरी छ ।

अवस्थिति

खनियाबास गाउँपालिका वडा नं ५ मा रहेको मोतिगुफा पर गाउँको शिरमा रहेको छ । पहिलेको ‘सत्यदेवी र दार्खा गाउँ विकास समितिको सिरानमा रहेको स्थानसम्म जान अहिले ५०० मिटर नजिक सम्म कच्ची सडक पुगेको छ । सडकले छोएको चउरबाट स्थानीयहरू घाँसदाउरा गर्न आउजाउ गरिरहने जङ्गलको बाटो भई त्यहाँ पुग्न सकिन्छ । करिब १९०० मिटर समुन्द्री सतहबाट उचाइमा रहेको यस स्थानमा जान विशेष तयारी गरिरहनु पर्दैन । १५ मिनेटको पैदल यात्राबाट नजिकको गाउँ पुग्न सकिने भएकोले पनि यहाँसम्म पुग्न खासै कठिनाइ भोग्नु पर्दैन ।

यात्रा

काठमाडौंबाट बाह्रै महिना बच्छला मन्दिर परिसरसम्म सार्वजनिक गाडी चलिरहन्छ । काठमाडौंबाट त्रिशूली-म्यगङ-किम्ताङ हुँदै बच्छला पुगिन्छ । करिब १३० कि.मि.को गाडी यात्रा दिनभर कै हुन्छ । बसयात्राको पट्याइलाई दूर गर्न बाटोभर नै अनेक दृश्य हेरेर आँखा र मनलाई भुलाउन सकिन्छ । बच्छलामा सानो गाउँले बजार छ । त्यहाँको स्थानीय होटेलमा एक रात बास बसेर भोलिपल्ट मोतिगुफा जान सकिन्छ । मोतिगुफासम्म पुग्न एक घण्टा उकालो सिँढी भएको बाटो तय गरिनु पर्दछ । उकालोमा हिँड्न कठिन हुनेहरूको लागि निजी सवारीसाधनबाट त्यहाँसम्म जान सकिन्छ ।

अबको लागि

मोति गुफा लगायतका पर्यटकीय स्थानहरूको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्न सबै तहका सरकार तथा निकायहरूको ध्यान जानु पर्दछ । मोतिगुफा आसपासमा क्यम्पिङ गरेर बस्न पानीको अभाव भएकोले पानी उचित व्यवस्थापन गर्न सके विदेशी पर्यटक समेत आउँदथे । हिउँ पर्ने समयमा हिउँ खेल्न पनि पाइन्छ भने नजिकका मनोरम दृश्यहरू हेर्न सकिन्छ । गणेश हिमाल र लाङटाङलाई एकै पटकमा दायाँबायाँ पारेर दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक हरियाली, वन जङ्गल, खोला नाला, पहाड टाकुरा र सुन्दर शृङ्खला पनि हेर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता र मौलिकता नबिगारी आधुनिक विकास निर्माणका कार्यहरू गर्न सकेमा पर्यटकीय स्थानहरूको रूप झन् सुन्दर देखिने छन् ।

(तस्बीर : रोशन फ्यूबा तामाङ)

सम्बन्धित समाचार