शुक्रबार , मंग्सिर २३, २०७९

पौराणिक कथामा वर्तमान नारी दृष्टिकोणको चित्रण

धार्मिक पात्रमाथि बनाईएको यो आख्यान नारी केन्द्रित छ । ग्रन्थमा शसक्त नारी कथा पढेजस्तो लाग्छ । देवताको कथामा पनि नारी माथिको अत्याचार ? हिंसा ? र अपमान ? यो कथाले वर्तमान समाजको चित्रलाई देखाउछ ।

image

  • नवीन अभिलाषी

दक्ष प्रजापतिपुत्री कद्रुसहित १३ कन्याको ऋषि कस्यपसँग विहे हुन्छ । सप्तऋषि मध्ये एक ऋषि हुन् कश्यप ऋषि । उनि सृष्टिकर्ता ब्रह्माजीका मानस पुत्र हुन । उनै कद्रु र कस्यपबाट जरत्कारुको उत्पत्ती भएको शास्त्रमा वर्णित छ ।

पौराणिक कथामा मनसादेवि चर्चित पात्र हो । त्यो पात्रको वास्तविक नाम नै जरत्कारु हो । जस्को जरत्कारु नामकै ऋषिसँग विवाह हुन्छ र पुत्र आस्तिकलाई जन्म दिन्छ । यहि पात्रमाथि लेखिएको उपन्यास हो यो ।

धार्मिक पात्रमाथि बनाईएको यो आख्यान नारी केन्द्रित छ । ग्रन्थमा शसक्त नारी कथा पढेजस्तो लाग्छ ।

देवताको कथामा पनि नारी माथिको अत्याचार ? हिंसा ? र अपमान ? यो कथाले वर्तमान समाजको चित्रलाई देखाउछ । यो उपन्यास पढ्दा नेपाली समाजका विभिन्न पाटो र पक्षमा मन अडिन्छ ।

ऋषि जरत्कारुले राजकुमारी जरत्कारुमाथि देखाएको नारीद्वेष भावना, अत्याचारले विद्धता भन्दा नैतिकता ठूलो हो भन्ने देखाउछ । जरत्कारुको कैलाश यात्राका क्रममा देखा परेका घटना परिघटनाले पौराणिककालमा स्त्री माथि हुने शोषण प्रष्ट्याउछ । अनमेल विवाह, बहुविवाहका घातक परिणामहरु उपन्यासले भन्छ । राजकुमारी जरत्कारु बर्तमान समाजको पात्र जस्तो लाग्छ । नारी अस्तित्व, लैङ्गिक चेतना, अधिकारका लागि दृढतामा जरत्कारु पात्रको त्याग हेर्दा यो अहिलेको कथा जस्तो लाग्छ ।

पौराणिक पात्रहरु टिपेर आख्यान निर्माण गर्ने परम्परा त्यति सहज होईन । यसअघि चर्चित पात्रहरु बारे लेखिएको छ । तर जरत्कारु गौण पात्र हो । जरत्कारुको ऐनामा वर्तमान समाजको चित्रहरु देखिने गरी लेखिनु आफैमा गम्भीर छ ।

उपन्यासको ‘थिम’ अर्को गम्भीर विषय हो ।

यसले द्वेत र अद्वेत दर्शन बीचको द्वन्द्वलाई देखाउन खोजेको छ । अद्वेत दर्शनले प्राणी स्वयम ब्रह्म हो, जीव जीवित हुँदासम्म ब्रह्म उस्मा विद्यमान हुन्छ र मृत्युपर्यन्त आत्मा परब्रह्ममा लिन हुन्छ भन्छ भने द्वेत मतले आत्मा र परमात्मा भिन्न तत्व हुन् भन्छ ।

आखिर द्वेत वा अद्वेत मध्य कुन दर्शनले उपन्यासलाई नेतृत्व गर्छ ? यो कुरा उपन्यास पढेपछि थाहा पाईन्छ ।

उपन्यासको बलियो पक्ष भाषा पनि हो । वाक्य गठन, प्रस्तुती र भाषा अत्यन्त बलियो छ । कुनै कुनै बाक्यहरु क्लिष्ट पनि लाग्छन् ।

नोट : लामो समयदेखि साहित्यका कविता र कथा विधामा काम गर्दै आउनु भएकी किरण आचार्यको जन्म २०१५ सालमा भएको हो । उहाँको पछिल्लो प्रकाशित उपन्यास हो यो । यस अघि सृष्टि चक्र लघुकथा प्रकाशित छ भने कविता संग्रह अनुभूति २०६०, अस्तित्व २०६२ प्रकाशित छन् । थारु भाषाको लोककथा संग्रह सपरजुवा २०७७ र कथा संग्रह क्यान्टोन्मेन्ट २०७७ प्रकाशित छ । आचार्यलाई नेपालीका अतिरिक्त अंग्रेजी, हिन्दी, थारु र अवधी भाषाको ज्ञान छ । समाजशास्त्रमा स्नातकोत्तर आचार्यसँग चार दशक शिक्षणको अनुभव छ ।

सम्बन्धित समाचार