शुक्रबार , अषोज १४, २०७९

शरद ऋतुमा हिमाल आरोहण गर्न ६३ देशका ५०० जनाले लिए अनुमति 

आरोहण अनुमति शुल्क बापत चार लाख ३५ हजार एक सय २५ डलर अर्थात पाँच करोड ५३ लाख ९५ हजार एक सय ८४ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

image

काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहण गर्न ६३ देशका ५०० जनाले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको सेप्टेम्बर २१ सम्मको तथ्याङ्क अनुसार नेपालका १३ वटा हिमाल आरोहण गर्न उनीहरूले अनुमति लिएका हुन् । अनुमति लिएका पाँच सय जनामध्ये तीन सय ७७ जना पुरुष र एक सय २३ जना महिला रहेका छन् । जम्मा ५६ वटा समूहले अनुमति लिएका हुन् । जसमध्ये ३८ वटा समूहले मनास्लु आरोहणका लागि अनुमति लिएका छन् ।

आरोहण अनुमति शुल्क बापत चार लाख ३५ हजार एक सय २५ डलर अर्थात पाँच करोड ५३ लाख ९५ हजार एक सय ८४ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

यस सिजनमा मनास्लु हिमाल (८१६३ मि) आरोहण गर्न सबै भन्दा धेरै चार सय चार जनाले अनुमति लिएका छन् । जसमध्ये तीन सय सात जना पुरुष र ९७ जना महिला रहेका छन् । मनास्लु आरोहण अनुमति शुल्क बापत विभागले तीन लाख ६३ हजार ६ सय डलर अर्थात् चार करोड ६२ लाख ९१ हजार पाँच सय ७६ रुपैयाँ सङ्कलन गरेको छ ।

त्यसैगरी  आरोहीको रोजाइमा धौलागिरि दोस्रो र हिमलुङ तेस्रो नम्बरमा छन् । धौलागिरि (८१६७ मि) आरोहण गर्न ३४ जनाले अनुमति लिएका छन् भने हिमलुङ (७१२६ मि) आरोहण गर्न १२ जनाले अनुमति लिएका छन् ।

कुन देशबाट कति ? 

हालसम्म ६३ देशका नागरिकले शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न अनुमति लिएका छन् । यस सिजनमा हिमाल आरोहण गर्न संयुक्त राज्य अमेरिकाका सबैभन्दा धेरै ५१ जनाले अनुमति लिएका छन् । त्यसैगरी अन्य मुख्य देशहरूमा फ्रान्सका ३४ जना, संयुक्त राज्य बेलायतका ३२ जना, भारतका ३० जना, स्पेनका २४ जना, जर्मनीका २० जना, रूसका १९ जन, अर्जेन्टिना र स्वीट्जरल्याण्डका १८/१८ जनाले अनुमति लिएका छन् ।

हेर्नुहाेस् तथ्याङ्क:

सम्बन्धित समाचार