सोमबार , जेठ १४, २०८१

साहसिक पर्यटनको गन्तव्यको रूपमा नेपाललाई विश्वभर प्रचार गर्नुपर्छ: निमानुरु शेर्पा

image

नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तदनुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्वतीय पर्यटनमा संलग्न हिमाल आरोहीहरू, विज्ञहरू र व्यवसायीहरूको संस्था पनि हो यो । हिमाल आरोहण गर्ने साहसिक गतिविधिको लागि नेपाल विश्वमै अब्बल गन्तव्यको रूपमा लिइन्छ । नेपाल विभिन्न विश्व रेकर्ड राख्न सफल नेपाली आरोहीको देश पनि पनि हो । विश्वका १४ वटा ८ हजारभन्दा अग्ला हिमालहरूमध्ये आठ वटासमेत गरी नेपालमा सत्र सय वटा भन्दा बढी हिमालहरू रहेकाले नेपाल विश्वमै पर्वतीय पर्यटनको गन्तव्य स्थल बनेको छ ।

पर्वतीय पर्यटनलाई व्यवस्थित गर्दै हिमाली भेगका संस्कृतिहरूको सम्बद्र्धनमा टेवा पुर्‍याउने, आरोहीहरू तथा पर्वतीय पर्यटनमा लागेका जनशक्तिको अभिलेख राख्ने तथा नीतिगत व्यवस्थाका लागि एनएमएले सरकारसँग सहकार्य गर्दै आएको छ । नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या चार सय १९ पुगेको छ । आरोहणका लागि खुल्ला गरेका हिमालको सङ्ख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । यसलाई विस्तार गर्दै व्यवस्थित रूपमा नेपालको पर्वतीय पर्यटनलाई अगाडि बढाउनुपर्ने चुनौतीलाई समाधान गर्न एनएमएको भूमिका महत्त्वपूर्ण रहेको छ । प्रस्तुत छ, एनएमएले ५० वर्षको परिपक्व भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा एनएमएका अध्यक्ष निमा नुरु शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंश:

एनएमएले अहिले कसरी काम गरिरहेको छ ?

हिमाली क्षेत्रका गाउँपालिकाहरूसँग सहकार्य गरी हिमालहरूको संरक्षण, नयाँ चुलीहरू खुल्ला गर्ने र हिमालहरूको प्रोफाइल तयार गर्ने काम भइरहेको छ । पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा नीति नियम बनाउनेदेखि हरेक ठाउँमा मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरू तथा निकायहरूसँग सहकार्य गरी यस क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउन हामी क्रियाशील छौँ । एनएमएको मातहतमा पोखराको रातोपैरोमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रहेको छ, जुन पोखराको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित भैसकेको छ । मनाङमा रहेको माउन्टेनेरिङ स्कुललाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेछ । आरोहणका क्रममा मृत्यु भएका आरोहीहरूको स्मरणमा ककनीमा स्थापना गरिएको अन्तर्राष्ट्रिय पर्वतारोही स्मारक पार्कलाई पनि अझ व्यवस्थित बनाउन खोज्दैछौं । एनएमएमा रहेको कल्याणकारी कोषमार्फत ती आरोहीका परिवारलाई सहयोग गर्ने काम भइरहेको छ । पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गरी यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य आइरहेका छौ । नेपाल सरकारले हामीलाई जिम्मा दिएका २७ वटा हिमचुलीहरूको व्यवस्थापकीय कार्य अन्तर्गत आरोहण अनुमति पत्र जारी गर्ने, सङ्घले व्यवस्थापन गरिरहेका हिमचुलीहरूमा फोहोर मैला व्यवस्थापन गर्ने लगायतका कार्यहरू गर्दै आइरहेका छौँ ।

तपाईँ नेतृत्वमा आएपछि कतिवटा हिमाललाई व्यावसायिक आरोहणका लागि खुल्ला गराउनुभयो ?

नेपालमा सत्र सय भन्दा हिमचुलीहरू रहेको भनिएकोमा स्व हर्क गुरुङले पहिचान गर्नुभएका १३९२ वटा हिमालहरूमध्ये सरकारले आरोहणका लागि जम्मा ४१४ वटालाई मात्र खुल्ला गरेको थियो । मेरो नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि थप पाँच वटा हिमाललाई खुल्ला गर्न सफल भएका छौँ । सिन्धुपाल्चोकमा रहेको जुगल हिमशृङ्खलामा पर्ने पाँच वटा हिमालहरू आरोहणका लागि खुला गरिएको हो । आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । यी हिमालहरू काठमाण्डौबाट नजिक रहेकाले आरोहीको आकर्षण हुने आरोहण व्यवसायीहरू बताउँछन् । गएको वसन्त याममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ । ४१९ वटा चुलीमध्ये ६५०० मिटरभन्दा मुनिका ७२ वटामा अहिलेसम्म आरोहण नै हुन सकेको छैन । अहिले ५८०० मिटरदेखि ६५०० मिटरसम्मका २७ वटा हिमचुलीहरूको मात्रै व्यवस्थापन हामीले गरेका छौँ भने अन्य सबै हिमचुलीहरूको व्यवस्थापन पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले गर्ने गर्दछ । ६५०० मिटर भन्दा मुनिका सबै हिमचुलीहरूको व्यवस्थापनको जिम्मेवारी सरकारले दिएमा हामी प्रचारप्रसार र प्रवर्द्धनका काम गर्नेछौँ ।

यो वर्ष एनएमए स्थापना भएको ५० वर्ष पुग्दैछ, कसरी मनाउँदै हुनुहुन्छ ?

एउटा संस्थाले ५० वर्षको यात्रा गर्नु आफैँमा पनि खुसीको कुरा हो । ०१ नोभेम्बर, २०२३ मा यस सङ्घ ५० वर्ष पुग्दैछ । यसमा वर्षेनी गरिने नियमित कार्यक्रमहरूको अतिरिक्त राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्व राख्ने खालका केही कार्यक्रमहरूको आयोजना गर्दैछौं । एसियाली पर्वतारोहण महासङ्घको वार्षिक साधारणसभा यस वर्ष नेपालमा आयोजना हुँदै छ । आगामी अक्टोबर ३१ मा आयोजना हुने सो बैठकमा पर्वतारोहणसँग सम्बन्धित एसियाली महादेशका करिब १५ देशका १९ वटा अल्पाईन क्लबका प्रतिनिधिहरूको सहभागिता रहने छ । ०१ नोभेम्बर, २०२३ मा आयोजना गरिने सङ्घको ५० औँ वार्षिकोत्सव कार्यक्रममा विश्व पर्वतारोहण महासङ्घ र एसियाली पर्वतारोहण महासङ्घका अध्यक्षहरूसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसमेत गरी ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । यसले विश्वमा नेपालको पर्वतीय पर्यटनको सम्भावना र अवसरका बारेमा प्रचारप्रसार गर्न सहयोग पुग्नेछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रको विकास गर्न तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालका कुराहरू राख्नका लागि महत्त्वपूर्ण अवसर हुनेछ । नेपाल पर्वतारोहण सङ्घ एक मात्र राष्ट्रिय “अल्पाइन क्लब नेपाल”को रूपमा रही नेपाल सरकारसँग मिलेर काम गर्ने संस्था हो । संसारको विश्व पर्वतारोहण महासङ्घ, एसियाली पर्वतारोहण महासङ्घ लगायत सबैमा सक्रिय सदस्यको रूपमा एनएमएले काम गर्दै आएको छ ।

विश्वका पर्वतारोही र पर्वतीय पर्यटनमा क्रियाशील संघसंस्थाहरुको नेपालप्रतिको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

विश्वभरमा नेपालको पर्वतीय पर्यटनप्रति निकै सकारात्मक रहेको देखिन्छ । नेपाल साहसिक पर्यटनको मुख्य गन्तव्य मुलुक भएकाले यसलाई हबको रूपमा लैजान सकिन्छ । पर्वतीय पर्यटनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सके नेपाल माउन्टेनेयरिङ र क्लाइम्बिङको हेडक्वार्टर नै बन्नसक्छ भन्ने उनीहरूको बुझाइ छ तर यसका लागि हामीले उपयुक्त वातावरण तयार गर्नुपर्छ । नेपाल आउने पर्वतारोहीमध्ये झन्डै ५० प्रतिशत दोहोराएर आउने भएकाले सधैँ केही पिकहरू मात्र बेचेर हुँदैन, नयाँ नयाँ पिकहरू खुल्ला गर्दै त्यसको प्रचारप्रसार र प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ ।

राज्यसँग तपाईँहरूको अपेक्षा के छ नि ?

म भर्खरै कोरियाको भ्रमणमा जाँदा त्यहाँका राजनीतिज्ञ, बुद्धिजीवीदेखि कर्मचारीतन्त्र सबैको ध्यान साहसिक पर्यटनमा केन्द्रित भएको पाएँ, तर हामीले नेपालमा यो आरोहण क्षेत्रमा संलग्न सीमित व्यक्तिहरूको मात्रै हो भन्ने दृष्टिकोण रहेको छ । नेपालको समृद्धिको एउटा मुख्य आधार साहसिक पर्यटन हो भन्ने भन्ने बुझ्न आवश्यक छ । पर्वतीय पर्यटनको प्रवर्द्धनका लागि राज्यले विशेष महत्त्व दिनुपर्ने छ । नयाँ पिकहरू खुल्ला गर्दै जाने, खुल्ला गरिएका पिकहरूको प्रचारप्रसारमा जोड दिने र यसमा संलग्न व्यवसायीहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । तीन हजार मिटरमाथि होटल, लज सञ्चालन गर्ने व्यवसायीहरूलाई राज्यले कर छुट दिन सकेमा उनीहरू उत्साही भएर व्यवसाय सञ्चालन गर्न सक्नेछन् । पर्वतीय पर्यटनसँग सम्बन्धित कतिपय एन कानुनहरू धेरै वर्षअघि तर्जुमा गरिएका छन्, तिनको समयानुकूल परिमार्जन गर्नुपर्छ । पर्यटनसँग सम्बन्धित कामलाई एकद्वार प्रणालीअनुसार गराउन आवश्यक छ । पर्यटन मन्त्रालयबाटै हुनुपर्ने कामलाई कम्तीमा पाँचवटा मन्त्रालय र विभिन्न निकायहरूमा धाउनुपर्ने अवस्था छ ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर देखा परिसकेको सन्दर्भमा आगामी दिनमा यसलाई कसरी सुरक्षित राख्नुपर्ने देख्नुहुन्छ ?

हिमाललाई सफा राख्नुपर्छ, प्रदूषण हुन दिनुहुँदैन भनेर जनचेतना अभिवृद्धि गर्ने आरोहणमा जाने आरोही, भरिया वा अन्य व्यवसायीहरूलाई यससम्बन्धी जनचेतना, सुरक्षासम्बन्धी तालिम प्रदान गर्ने काम भइरहेको छ । नेपाली सेनासँग मिलेर हिमाल सफाइ कार्यक्रम सञ्चालन भइरहेको छ । आरोहीलाई अरू हिमालमा पनि आकर्षित गरेर सगरमाथासहितका हिमालको चाप घटाउनुपर्ने जलवायु विज्ञहरूको राय छ । जलवायु परिवर्तनका कारण जसरी हिमालयहरूमा हिउँ पर्ने क्रम कम हुँदै जानु र तीव्र गतिमा पग्लने क्रमले भोलि हिमाल आरोहणको सट्टा रक क्लाइम्बिङ भन्नुपर्ने अवस्था आउन नदिन हामीले अहिलेदेखि नै उच्च सावधानी अपनाउनु आवश्यक छ । यद्यपि यो समस्या नेपालले सिर्जना गरेको नभई विश्वव्यापी समस्या भएकाले समयमै विश्व समुदायको ध्यानाकर्षण गराउन सक्नुपर्छ ।

अहिलेसम्म कतिजनाले एनएमएबाट तालिम प्राप्त गरेका छन् ?

हाम्रो मुख्य काम भनेको दक्ष जनशक्ति उत्पादन गर्नु हो । सङ्घले प्रदान गरेको तालिमबाट नै प्रत्यक्ष रूपमा २० हजारभन्दा बढी व्यक्ति पर्वतीय पर्यटन क्षेत्रमा सक्षम भएका छन् । पिक क्लाइम्बिङसँग सगरमाथा क्लाइम्बिङसम्म सफल भएका व्यक्तिहरूले ९५ प्रतिशतले एनएमएसँग तालिम लिएका हुन्छन् ।

अन्त्यमा नेपालको समग्र पर्यटन विकासका लागि एनएमएको भूमिकालाई कसरी बढाउने सोच बनाउनु भएको छ ?

नेपालको आर्थिक विकासको मुख्य आधार भनेकै पर्यटन हो । सरकारले पर्यटन क्षेत्रको विकासका लागि भनेअनुसार प्राथमिकता दिएको छैन । यस क्षेत्रमा संलग्न व्यवसायीहरूले पनि आआफ्नो व्यावसायिकताको रूपमा मात्र बुझ्ने गरेका छन् । समग्र राष्ट्रकै एउटै सोच, लक्ष्य र भावी कार्यक्रम नबनेसम्म पर्यटन विकासको कुरा नारामै सीमित रहन्छ । प्रकृतिले नै हामीलाई हिमाल, पहाड र तराई दिएको छ भने सामाजिक विविधता पनि महत्त्वपूर्ण सम्पदा छ । विश्वका यतिधेरै अवसर कमै मुलुकले पाएका छन् । तर हामीले पहिलो योजनादेखि नै पर्यटनका कुरा गर्दै आज १६ औँ योजनासम्म आइपुग्दा त्यही पुरानै कुरा दोहोराइरहेका छौँ, यसले हामीलाई समृद्धिमा पुर्याँउँदैन । एनएमएजस्ता संस्थाहरूलाई राज्यले साथमा लिएर सामूहिक ढङ्गबाट अगाडि बढ्ने हो भने एउटा आवधिक योजनामै हामीले पर्यटनको क्षेत्रमा ठुलै फड्को मार्न सकिन्छ । रासस

सम्बन्धित समाचार