मंगलबार , भाद्र ९, २०८३

ऐतिहासिक व्यापारिक थलो पाँचमाने

केही समयअघि पाँचमानेमा मानाङ्क मुद्रा भेटिएको थियो, जसले यो ठाउँको अस्तित्व लिच्छिवीकाल देखि नै रहेको बुझ्न सकिन्छ । साथी यो ठाउँ त्यतीबेलाको समयदेखि नै व्यापारिक थलो रहेको थियो भन्ने बुझिन्छ । तिब्बती युद्ध आक्रमणको मिथक गाँसिएको ऐतिहासिक पाँचमानेको चर्चा अतीस दीपङ्करको जीवनीग्रन्थमा छ ।

image

हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।

यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा पाँचमानेलाई लिन सकिन्छ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मुख्य पर्यटकीय स्थलमध्ये एक पाँचमानेको यात्रा गर्दा तारकेश्वर मन्दिर, भूवनेश्वरी मन्दिर आदिसम्म पनि पुग्न सकिन्छ । सहरको कोलाहलबाट टाढा यो शान्त ठाउँमा विभिन्न साहित्यानुरागी पनि पुग्ने गरेका छन् ।

काठमाडौं बाइपासबाट लगभग ११ किलोमिटरको यात्रा तय गरेपछि भुवनेश्वरी मन्दिर पुग्न सकिन्छ । तिनपिप्लेको नजिकै माथिल्लो डाँडामा भुवनेश्वरी मन्दिर अवस्थित छ । समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको मन्दिरमा २७ गजुर रहेका छन् । साथै यस कलात्मक  मन्दिरलाई संसारको सबैभन्दा ठुलो देवीको मन्दिर मानिन्छ । मन्दिरसम्मको छोटो यात्रा गर्न तिनपिप्लेबाट सिँढी चढेर उकालो चढ्न सकिन्छ ।

भुवनेश्वरीबाट करिब २ किलोमिटर यात्रा गरेपछि पाँचमाने पुग्न सकिन्छ । यो ठाउँ शिवपुरी जङ्गलको फेद र जितपुरफेदीको माथिल्लो भागमा अवस्थित छ । काठमाडौंको उत्तर-पश्चिम भागमा अवस्थित पाँचमाने भञ्ज्याङ नेवारी संस्कृतिमा न्यागमणिका रूपमा प्रख्यात छ ।

करिब २५५२ वर्ष पहिले जन्मेका गौतम बुद्धले भनेअनुसार पञ्चध्यानी बुद्धहरू वैरोचन, अक्षोम्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको स्मरणार्थ पाँचवटा स्तूप स्थापना भयो र पछि यिनै पाँचवटा स्तूपका कारण यो ठाउँको नाम पाँचमाने रहन गएको हो ।

पञ्चबुद्धसँग सम्बन्धित यस स्थानमा हाइकिङ गर्न पनि जान सकिन्छ । शान्त वातावरणले घेरिएको यो ठाउँको यात्रा गर्दै गर्दा हप्ता भरिको मानसिक तनाव भुल्न सकिन्छ । राजा महेन्द्रले वृक्षारोपण गरेको रुख वृक्षसँग भलाकुसारी गर्दै, चराहरूको चिरबिर सुन्दै यात्रा गर्न साँच्चै रोमाञ्चकता महसुस हुन्छ ।

केही समयअघि पाँचमानेमा मानाङ्क मुद्रा भेटिएको थियो, जसले यो ठाउँको अस्तित्व लिच्छिवीकाल देखि नै रहेको बुझ्न सकिन्छ । साथी यो ठाउँ त्यतीबेलाको समयदेखि नै व्यापारिक थलो रहेको थियो भन्ने बुझिन्छ । तिब्बती युद्ध आक्रमणको मिथक गाँसिएको ऐतिहासिक पाँचमानेको चर्चा अतीस दीपङ्करको जीवनीग्रन्थमा छ । जहाँ भोटयात्रा क्रममा भगवानबहालको रक्षाका लागि बनाइएको पाँच स्तूप उल्लेख गरिएको छ । उनले १०४१-१०५५ इ.समा भोट यात्रा गरेका थिए । भोट र तिब्बतसँग व्यापारको प्रमुख मार्ग पनि पाँचमाने रहेको पाइन्छ ।

प्रकृतिको अनुपम रमणीयता र ऐतिहासिक विशेषता बोकेको यो स्थल छुटाउनै नहुने पर्यटकीय स्थलमध्ये एक हो ।

सम्बन्धित समाचार