काठमाडौं । आरोही गाइड पासदावा शेर्पाले ६९ दिनमा ८ हजार मिटर माथिका पाँच वटा हिमालको आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । शेर्पाले सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से र मकालु हिमालको आरोहण गरेको हुन् ।
सङ्खुवासभा मकालुका ३१ वर्षीय शेर्पाले गत शुक्रबार बिहान विश्वकै दोस्रो अग्लो हिमाल केटुको आरोहण गरेसँगै उनी छोटो समयमा पाँच अग्ला हिमाल आरोहण गर्ने आरोही बनेका हुन् ।
शेर्पाले यसै वर्षमा दुई वटा कीर्तिमान राख्न सफल भएको छ । विश्वकै अग्ला १४ मध्येको पाँच वटा हिमालहरु र अग्ला मध्य पहिलो सगरमाथा, केटु र कञ्चनजङ्घा हिमालको छोटो समयमा आरोहण गरी कीर्तिमान कायम गरेको उनी सम्बद्ध कम्पनी एट के एक्पिडिसनका निर्देशक लाक्पा शेर्पाले जानकारी दिए ।
शेर्पाले मे १४ मा कञ्चनजङ्घा, मे २२ मा सगरमाथा, ल्होत्से, मे २७ मा मकालु र जुलाई २१ मा केटु हिमालको आरोहण गरेका थिए । यसअघि निर्मल पुर्जाले ७० दिनभित्र सोही हिमालहरु आरोहण गरी विश्व कीर्तिमान रेकर्ड राखे पनि यो रेकर्ड शेर्पाले तोडेका हुन् ।
यस अघि २८ अप्रिलमा अन्नपूर्ण, मे ८ मा धौलागिरी एक, र जुलाई १ मा नंगा पर्वतको आरोहण गरिसकेका छन् । शेर्पाले अग्ला १४ हिमाल आरोहणको लक्ष्य लिएसँगै उनले बाँकी ८ हजार मिटर माथिका हिमाल आरोहण निरन्तर गर्ने बताएका छन् ।