शुक्रबार , भाद्र १२, २०८३

पर्यटकको रोजाइमा पोखराको ‘गुप्तेश्वर गुफा’

image

काठमाडौं ।  पोखरा ताल र गुफैगुफाको शहरका रूपमा चिनिने गर्छ । तिनैमध्ये पोखरा–१७ छोरेपाटनस्थित ‘गुप्तेश्वर महादेव गुफा’ ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको एक प्रमुख पर्यटकीय स्थल हो । पोखरा भ्रमणमा जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक गुप्तेश्वर महादेव गुफा अवलोकन गर्ने गर्छन् ।

पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये फेवाताल, पातलेछाँगो (डेभिज फल्स), पुम्दीभुम्दीको शान्ति स्तुप र गुप्तेश्वर महादेव गुफा एकै दिनमा अवलोकन गर्न सकिन्छ । जसले गर्दा त्यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ ।

जमिनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पातले छाँगोबाट खसेको झरनाको दृश्यावलोकन गर्न सकिन्छ । दक्षिण एसियाका सबैभन्दा ठुला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठुला खुला ठाउँ पनि रहेका छन् । भूर्गवविद् डा कृष्ण केसीका अनुसार कास्कीमा एक दर्जन ताल र एक दर्जन बढी गुफा रहेका छन् ।

कोरोना महामारीका कारण केही महिना बन्द भएको गुफा घुम्न आउने पर्यटकमा पनि कमी आएको थियो । अवस्था सामान्य भएसँगै पछिल्लो वर्षबाट गुफा अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । पछिल्लो वर्ष गुफा अवलोकनकर्ता बढेको र शनिवार र बिदाका दिन त भिड नै लाग्ने गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् ।

अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको गुफामा प्रवेश गर्न टिकटमा भएको बारकोड स्क्यान गर्नुपर्छ । बारकोड स्क्यान गरेपछि मात्र गुफाको गेट खुल्छ ।  गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायण पौडेलका अनुसार यसले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज भएको छ ।

कोरोना महामारी अघि २०७४/०७७ मा टिकट बिक्रीबाट मात्र वार्षिक रु चार करोड ५२ लाख आम्दानी भएको, कोरोनापछिको २०७८/०७९ मा रु दुई करोड ९३ लाख ६५ हजार नौ सय २५ सङ्कलन भएको कार्यालय प्रमुखले पौडेलले जनाएका छन् । २०७८/०७९ मा एक लाख १९ हजार सात सय ११ विदेशी पर्यटक, दुई लाख ५२ हजार आठ सय २२ स्वदेशी पर्यटक र ८२ हजार एक सय ७८ नेपाली विद्यार्थीले गुफा अवलोकन गरेको जानकारी समेत उनले दिए । त्यसैगरि २०७९/०८० को सात महिना अर्थात् माघ महिनासम्म गुफा अवलोकनका लागि विदेशी पर्यटक एक लाख १९ हजार चार सय ६४, नेपाली पर्यटक एक लाख ५१ हजार चार सय ८७ र नेपाली विद्यार्थी एक लाख छ हजार एक सय ९८ जना पुगेका छन् । जसबाट यस अवधिमा प्रवेश शुल्क बाट मात्र रु दुई करोड ३२ लाख ३७ हजार छ सय ८० सङ्कलन भइसकेको कार्यालयले जनाएको छ ।  गुफा अवलोकन गर्ने प्रवेश शुल्क विदेशीलाई रु एक सय, नेपाली पर्यटकलाई रु ५० र विद्यार्थीलाई रु ३५ लिइने गरिएको छ।

गुप्तेश्वर महादेव गुफामा साँझ आरती सेवा समेत सञ्चालनमा ल्याइएको छ । विश्व शान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृ उद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिन्छ । व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार तीन जना गुरुद्वारा शुद्ध गाईको घिउ, कपुर, ज्योतिलगायत पूजा सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव र विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गरिएको छ ।

विसं २०५१ सालबाट सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक करिब पाँच लाख आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख पौडेलले जनाएका छन् ।

कोरोनाको अवधिमा भने अवलोकनकर्ताको सङ्ख्या घटेको थियो । गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्दै आएको छ । क्याम्पस र पाठशाला सञ्चालनमा गुफा व्यवस्थापन समितिले वार्षिक रु एक करोडभन्दा बढी खर्च गर्ने गरेको छ ।

सम्बन्धित समाचार