शुक्रबार , मंग्सिर २३, २०७९

पृथ्वीनारायणले उखु चोरी गरेपछि..!

एक दिन पौडी खेलेर थकाइ मारेका समयमा केही पर उखुबारीमा पाकिरहेका उखुका लाँक्रा देखेर श्री ५ युवराज पृथ्वीनारायण शाहलाई लाँक्रा चुस्ने इच्छा भयो र साथीहरूलाई समेत लिई केशवद्वारेका डिहोमा गएर एक–एक लाँक्रा भाँची चपाई यिनी सेरा बेंसीमा फर्केका थिए ।

image

इ.सं. १७३३ मा श्री ५ युवराज पृथ्वीनारायण शाहको उमेर एघार वर्ष भएको हुनाले यस वर्षभित्र उनको ब्रतबन्ध हुनु अनिवार्य थियो । रानी चन्द्रप्रभाले राजदरबारको गृहव्यवस्था ठीक राखेकी हुनाले नरभूपाल शाह राजकाजबाट पर रहे पनि व्रतबन्धको कार्यलाई हर्जा केही थिएन । तर, व्रतबन्धका निमित्त सावित्रमन्त्र सुनाउने घरानियाँ गुरुको आवश्यक थियो ।

नरभूपाल शाहलाई गोकुलविलास पाँडेले मन्त्र सुनाएका हुनाले उनका छोरा–भतिजाहरू गुरु बन्न तत्पर थिए । तर, नरभूपाल शाहदेखि माथिका युवराज र राजकुमारहरूलाई मन्त्र सुनाउने काम मिश्रघरानाले गरिआएका र राजनीतिक पेच लगाएर नरभूपाल शाहलाई गोकुलविलासले सावित्रमन्त्र सुनाएका थिए ।

गुरुवंश बदलिनाले नरभूपाल शाहको यस्तो अवस्था भएको हो भन्ने विचार गोर्खामा उठ्यो र रानी चन्द्रप्रभाले मिश्रघरानाका श्रीहर्ष मिश्रलाई बोलाएर मन्त्र सुनाउन लाउने प्रबन्ध मिलाइन् । चन्द्रप्रभाले पाँडेहरूले बाधा नदिऊन् भनेर श्री ५ पृथ्वीनारायण शाहलाई सिकारको बहाना गरी धादिङ इलाका मैदीका एक देवस्थलमा लगी व्रतबन्ध गराएर श्रीहर्ष मिश्रलाई सावित्रमन्त्र सुनाउन लगाइन् ।

गोर्खाको राजकुलमा विवाह भएपछि मात्र दीक्षामन्त्र सुनाउने अकाट्य नियम थियो । तर, गोकुलविलासले नरभूपाल शाहलाई व्रतबन्ध सकिनेबित्तिकै दीक्षामन्त्र पनि सुनाएका हुनाले श्रीहर्ष मिश्रले पनि श्री ५ पृथ्वीनारायण शाहको व्रतबन्ध सकिनेबित्तिकै उसै दिन दीक्षामन्त्र पनि सुनाए । अर्को दीक्षागुरु घुसेर राजदरबारभित्र प्रतिद्वन्द्वी खडा नहोस् भनेर गोकुलविलासले जो निरङ्कुशता देखाएका थिए त्यही श्रीहर्ष मिश्रले पनि देखाए ।

दुई पुस्तासम्म दीक्षामन्त्र सुनाउन नपाउँदा अज्र्यालवंश सदाका निमित्त गुरुको पदबाट वञ्चित भयो । तैपनि अज्र्यालहरू युवराजलाई व्रतबन्धमा वेद पढाउने, पुरोहित्याइँ, खजाञ्चीको काम र जैसीकोठाको खरिदारी पद पनि अज्र्यालहरूका भागमा बचेको हुनाले सन्तुष्ट नै थिए । श्री ५ पृथ्वीनारायण शाहलाई वेद पढाउने र पुरोहित्याइँ गर्ने कामसमेत मोक्षेश्वर जोशीले गरेका हुनाले महारानी चन्द्रप्रभाले यिनलाई धर्माधिकारी गराएकी थिइन् । राजीवलोचन पाँडे पण्डितमा बहालै रहेका हुनाले श्री ५ पृथ्वीनारायण शाहका राज्यकालमा यिनका छोरा रामहृदय पाँडे राजपण्डित भएर रहेका थिए ।

इ.सं. १७१५ मा कान्तिपुरका राजा भास्कर मल्ललाई पदच्यूत गरेर मन्त्री झगल ठकुलले महिन्द्रसिंह र जगज्जय मल्ललाई क्रमैसँग कान्तिपुरका राजा गराई २० वर्षसम्म यिनले कान्तिपुर ठकुराइको रक्षा गरिराखेका थिए । जगज्जय मल्ल राजा नहुँदै राजदरबारबाहिर जन्मेका छोरामा जेठा राजेन्द्र मल्ल पहिले परलोक भएका, माहिला जयप्रकाश मल्ल उद्दण्ड स्वभाव भएका र साहिँला राज्यप्रकाश मल्ल लुरे भएकाले उनी दिक्क थिए । उनी राजा भएपछि राजदरबारको मोहनचोकमा जन्मेका दुई छोरामध्ये पहिला नरेन्द्रप्रकाश मल्ल इ.सं. १७३५ मा १३ वर्षजतिका थिए ।

कान्तिपुरका परलोकवासी राजा प्रताप मल्लले बनाएका नियमअनुसार राजाका धेरै छोरा भएमा मोहनचोकमा जन्मने पहिलोचाहिँले मुकुट पहिरन पाउने हुँदा जयप्रकाश मल्ल यिनलाई पन्छाउने कार्यमा लागेका थिए । यस गोलमालले गर्दा जगज्जय मल्ल र झगल ठकुल पनि हैरान थिए । जगज्जय मल्ल नरेन्द्रप्रकाशका पक्षमा र झगल ठकुल जयप्रकाश मल्लका पक्षमा थिए, तैपनि झगल ठकुलको जोडले जगज्जय मल्लले जयप्रकाश मल्ललाई उत्तराधिकारी मानेका थिए । जगज्जय मल्लको देहान्तपछि काशीराम थापा नरेन्द्रप्रकाशलाई राजा थापेर आफू झगल ठकुलको ठाउँमा रहने षड्यन्त्रमा लागेका थिए । यसै अवस्थामा जगज्जय मल्ल कान्तिपुरमा परलोक भए (१४ मार्च १७३५) । जगज्जय मल्ल परलोक हुँदा काशीराम थापा कान्तिपुरमा थिएनन् ।

परम्परागत नियमअनुसार १३ दिनको आशौच सकिएपछि जयप्रकाश मल्लले मुकुट पहिरनुपर्दथ्यो । परन्तु, उनले काशीराम थापाको षड्यन्त्रको गन्ध पाइसकेका हुनाले दोस्रो दिन (१५ मार्च) मुकुट पहिरे । यो समाचार सुनेपछि मुकुट पहिरिसकेका जयप्रकाश मल्ललाई पदच्यूत गर्न असाध्य ठानेर आफ्नो योजना बदली काशीराम थापाले टुकुचा खोलाको साँध लगाएर पश्चिमपट्टिको कान्तिपुर शहर र यस शहरदेखि पश्चिम–उत्तरपट्टिका उपत्यकाभित्र परेका मौजाहरू र नुवाकोट जिल्ला जयप्रकाश मल्ललाई छोडी टुकुचा खोलादेखि पूर्वपट्टिका नक्साल, देवपाटन, गोकर्ण, साँखु र चाँगु काठमाडौं उपत्यकाभित्रका यी पाँच मौजा र नालदुमदेखि पूर्वपट्टिको सिन्धुपाल्चोक इलाका र दोलखा इलाकाका राजा नरेन्द्रप्रकाश मल्ललाई गराई आफू हर्ताकर्ता बन्ने नयाँ योजना बनाए ।

उपत्यकाभित्रका बासिन्दाको अघि आफ्नो जोड चल्न सक्दैन भन्ने जानेर पनि प्रताप मल्लका नियमअनुसार मुकुटका हकदार नरेन्द्रप्रकाश मल्लपट्टि पनि मानिसहरू आउलान् भन्ने उमेद राखेर काशीराम थापाले जगज्जय मल्लको १३ दिनको आशौच सकिएपछि नरेन्द्रप्रकाश मल्ललाई देवपाटनमा ल्याएर मुकुट पहिराए । यो समाचार सुनेर जयप्रकाश मल्लले कान्तिपुरको ठकुराइका काठमाडौं उपत्यकाभित्र रहेका सबै नेवार जनतालाई आह्वान गर्दा नरेन्द्रप्रकाश मल्लका पक्षमा कोही रहेनन् र काशीराम थापाले हतास भई नरेन्द्रप्रकाश मल्ललाई भक्तपुरका राजा रणजित मल्लको आश्रयमा छोडेर आफ्नो घर पलाञ्चोकको बाटो पक्रे । उस समयमा कान्तिपुरबाट पलाञ्चोकमा कान्तिपुरका सैन्य दल जानलाई पाटीभञ्ज्याङको बाटो गरी इन्द्रावतीको किनारसम्म पूर्वतिर लागेर अनि दक्षिणतिर फर्कनुपर्दथ्यो । यो काम नेवार नवयुवकहरूबाट हुन असाध्य हुँदा काशीराम थापालाई थापाहरूको गढ भएको पलाञ्चोकमा रहन गाह्रो परेन । काशीराम थापा बागी भएर गएपछि नुवाकोटको रक्षा गर्न कठिन हुँदा जयप्रकाश मल्लले बेलकोटमा घरबास गरिरहेका गोर्खाली जयन्त रानालाई उमराव बनाएर नुवाकोटको रक्षा र प्रशासनको अभिभारा सुम्पिदिए ।

कान्तिपुरमा यो राज परिवर्तन भइरहेको समयमा श्री ५ युवराज पृथ्वीनारायण शाहको उमेर १२ वर्ष भएको हुनाले पुस्तकी शिक्षाको आरम्भकाल भएको थियो । व्रतबन्धमा परम्परागत नियमअनुसार पुरोहित मोक्षेश्वर जोशीले वेदारम्भ गरिदिएका हुनाले वेद पढ्नु आवश्यक सम्झिइन्थ्यो । तर, यस समयमा वेदका मन्त्र रट्ने काम कठिन हुनाले दुई–चार दिनमा यो रिवाज पूरा गरी संस्कृत भाषामा लेखिएका ‘सप्तशती’ आदि स्तोत्रहरू पढ्नुपर्दथ्यो ।

यसमा ७०० पद्य हुनाले र श्री ५ पृथ्वीनारायण शाहको श्रद्धा देखिएको हुँदा यिनले यो पुस्तक पूरा नपढे पनि वाचन गर्न सक्ने योग्यता प्राप्त गरेको देखिन्छ र ध्यानका निमित्त लेखिएका स्तुतिहरू कण्ठस्थ गर्ने अभ्यास पनि यिनले गरेको देखिन्छ । उनताक पश्चिमी नेपालका चौबीसी ठकुराइहरूमा ‘शुक्रनीति’ र ‘कामन्दकीय नीति’को व्यापक प्रचलन हुनाले सम्भवतः यी नीतिग्रन्थहरूबाट समेत सरल कथाका रूपमा उनलाई नैतिक शिक्षा मौखिक दिइएको थियो । यसबाहेक ‘रामायण’, ‘महाभारत’ आदि ग्रन्थहरू पनि सरल कथाका रूपमा मौखिक सुनाइन्थ्यो ।

उनका चिरसङ्गाती भानु जोशी र कुलानन्द जोशी दुवै गणितज्ञ हुनाले व्यवहारका निमित्त आवश्यक गणितको शिक्षा पनि उनले प्राप्त गरेको अनुमान हुन्छ । पुस्तकको शिक्षाका साथै क्षत्रीयकुमारोचित शस्त्रविद्याको शिक्षा पनि उनले हासिल गरेका थिए र शस्त्रविद्याको क्रियात्मक शिक्षाका रूपमा उनले धनुकाँड चलाउने अभ्यास, घोडा चढ्नु, पौडी खेल्नु आदिमा कुशलता प्राप्त गरेका थिए । शास्त्रको अध्ययनमा पनि उनी दत्तचित्त रहन्थे, तर शस्त्रविद्याको अभ्यासमा उनको विशेष रुचि हुनाले सानै उमेरदेखि उनी त्यसैमा लागिरहन्थे । आफ्नो लगनशील स्वभावद्वारा यिनले अध्ययन गरेको विषयमा र शस्त्रविद्यामा पनि सजिलैसँग कुशलता हासिल गर्दै गए । यिनताक गोर्खामा बन्दुक आइपुगेको नदेखिनाले र धनुकाँडको व्यवहार नित्य रहेको देखिनाले यिनी किशोरावस्थामा गरिएको गुलेलीको अभ्यास छोडेर धनुकाँडको अभ्यासतिर लागेको अनुमान हुन्छ ।

हिमालयको पहाडखण्डमा सानाठूला अनेक किसिमका खोलानाला र पोखरीहरू हुने हुनाले प्रायः सबै नवयुवक पौडी खेल्न जान्दथे । यस कामको शिक्षा पनि किशोरावस्थामा दिनुपर्दथ्यो र यस कामका निमित्त गोर्खाका राजकुमारहरूलाई पायक पर्ने दरौँदी नदी थियो । दरौँदीको बायाँ किनारमा ‘सेरा’ नामक धनहर बेंसी रहेको छ । त्यस बेंसीमा बनेको राजभवनमा हिउँदमा राजदरबार पनि सर्दथ्यो । रानीहरू पनि त्यहाँ राजकीय खेतीबाट पैदा भएका धान र अरू अन्न गोर्खाका राजदरबारमा भित्र्याएपछि सेरा बेंसीको दरबार छोडेर गोर्खाका मूल दरबारमा फर्कन्थे । यसै समयमा दरौँदीमा पौडी खेल्ने अभ्यास श्री ५ पृथ्वीनारायण शाहलाई गराइन्थ्यो ।

एक दिन पौडी खेलेर थकाइ मारेका समयमा केही पर उखुबारीमा पाकिरहेका उखुका लाँक्रा देखेर श्री ५ युवराज पृथ्वीनारायण शाहलाई लाँक्रा चुस्ने इच्छा भयो र साथीहरूलाई समेत लिई केशवद्वारेका डिहोमा गएर एक–एक लाँक्रा भाँची चपाई यिनी सेरा बेंसीमा फर्केका थिए । केशवद्वारे राजदरबारकै एक खवास थिए । उखुबारीका केही लाँक्रा उखु भाँचिएका देखेर उनी रानी चन्द्रप्रभासँग होहल्ला मच्चाउँदै फिराद गर्न पुगे र रानी चन्द्रप्रभाले छोरालाई बोलाएर ‘तिमी ता राजा हौ, रैतीलाई राजी राखेर रजाइँ गर्नुपर्नेमा यसो किन ग¥यौ’ भनेर हलुका हप्की दिइन् । श्री ५ पृथ्वीनारायण शाहले हप्की चुपचापसँग सहेर केशवद्वारेलाई राजदरबारको ढोका बन्द गरिदिए । छोराको उत्साह भङ्ग नहोस् भनेर केशवद्वारेको ढोकाबन्दीलाई चन्द्रप्रभाले समर्थन गरिन् । बाह्र–तेह्र वर्षका उरन्ठयाउला उमेरमा हरेक तरहका शिक्षा दिनुपर्ने हुनाले चन्द्रप्रभाले सावधानीसित काम लिएकी थिइन् । यस तरहबाट श्री ५ पृथ्वीनारायण शाहले प्रजाको परिस्थिति पनि कुमारावस्थामा जाँचबुझ गर्दै रहने गरेका र अनेक प्रकारको व्यावहारिक ज्ञान पनि तीन वर्षसम्म बढाउँदै लगेको देखिन्छ (इ. सं. १७३४(३७) । (बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)


यो पनि पढ्नुहोस्;

मैधीकोटको ऐतिहासिकता : पृथ्वीनारायण शाहको व्रतबन्ध गोरखामा नभएर मैधीमा किन भयो ?

सम्बन्धित समाचार