काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो । यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ ।
लामिछानेले अमेरिकी नागरिकता लिएको र नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको अदालतको ठहर छ ।
लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने भएको छ ।
उनले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि पार्टी सभापति र सदस्यता समेत नरहने अवस्था आएको हो ।
उनी सभापति नरहे पनि उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने रहने छ ।