सङ्गठनले तत्काल मूल्य वृद्धि फिर्ता नलिएमा सङ्गठनको आन्दोलनबाट उत्पन्न हुने परिणामप्रति जिम्मेवार रहन पनि सुझाएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले सरकारले गरेको इन्धनको मूल्य वृद्धिप्रति घोर भर्त्सना गरेको छ । आइतबार रातिदेखि लागु हुनेगरी सरकारले इन्धनमा भारी मूल्य वृद्धि गरेपछि सोमबार सङ्गठनका अध्यक्ष राजु लोहनीले विज्ञप्ति जारी गर्दै सरकारको कदमप्रति आपत्ति जनाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढाउँदा अन्य सामाग्रीको पनि मूल्य बढ्ने भएकाले जनतालको जीवन कष्टकर बन्ने भएकाले सरकारले इन्धनको मूल्यवृद्धि फिर्ता लिनुपर्ने सङ्गठनको माग छ । सरकार गरिब जनतालाई दु:ख दिने र जनजीवन पिडादायी बनाउन उद्यत भएको विज्ञप्तिमा उल्लेख छ ।
‘बारम्बारको इन्धनको मूल्यवृद्धिले अन्य सामाग्रीको पनि मूल्यवृद्धि भइरहेको हुँदा नागरिकको जनजीवन कष्टकर र पीडादायी भइरहेको र गरिब जनता ठुलो मारमा परेका छन् । जनताको नाममा शासन गर्ने र गरिब जनतालाई चर्को मूल्यवृद्धिको मारमा परेर जीवन चलाउन नसक्ने बनाउने सरकारको यस्तो कार्यको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन घोर भर्त्सना गर्दछ ।’ सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सङ्गठन जनताको दैनिक जीवनमा नै ठुलो असर पर्ने यस्तो मूल्यवृद्धि तुरुन्त फिर्ता लिन सरकारसंग जोडदार माग गर्दछ ।’
सङ्गठनले इन्धनको मूल्यवृद्धि फिर्ता नलिएमा देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत दिएको छ । सङ्गठनले तत्काल मूल्य वृद्धि फिर्ता नलिएमा सङ्गठनको आन्दोलनबाट उत्पन्न हुने परिणामप्रति जिम्मेवार रहन पनि सुझाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सोमबार नेपाल आयल निगममा पुगेर मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका छन् । राप्रपाका नेता कार्यकर्ता एवम् समर्थकहरूको साथमा निगमको कार्यालय पुगेका शाहीले एक घण्टा धर्ना समेत दिएका थिए । उनले इन्धनको मूल्य फिर्ता लिन अनुरोध गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।
सरकारले प्रट्राेलमा प्रतिलिटर २१ रूपैयाँ, डिजेल र मट्टितेलमा २७ रूपैयाँ बढाएकाे छ । इन्धनकाे मूल्य बढेसँगै सार्वजनिक यातायात र हवाइ भाडा समेत बढेकाे छ ।
