पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुई-दुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार २०७८ विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदान दिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको बताएको छ ।
वि.सं. २०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षा लिएका छन् । कलम र कुची, अक्षर र रङलाई समानान्तर शैलीमा अगाडि बढाएका श्रेष्ठले २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।