परापूर्वकालमा रामारोशनमा भव्य कोटि होमको आयोजना गरिएको थियो, जहाँ ब्राह वटा यज्ञहरू स्थापना गरिएको थियो । सोही यज्ञहरू नै आज आएर ताल बनेका हुन् ।
Photo by: Mahendra Upadhyaya
जहाँतहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ती चौटाहरू
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकन
मानिसको धरिति डुल्न आउँछन् !! (वासु शशी, कवितांश)
प्रविधिसँगको ज्यादा लसपसका कारण पृथ्वीका धेरै चौटाहरू सित्तै खेर गएका छन् । प्रविधिको एउटा बैगुन, यसले हामीलाई प्रकृतिदेखि दूर गरिदियो । संसार जति जति अगाडि बढ्दै जाँदो छ, घुम्ने संस्कार उति उति पर सर्दो छ । जङ्गल जङ्गल घुम्दै फिर्दै सिकार खेल्ने, काँडे भ्याकुर, रिट्ठा कन्दमूलको खोजी गर्दै हिँड्नमा मजा मान्ने मान्छेको जातले आफ्नो सो प्राचीन बानी भुल्दै गइरहेको छ ।
हाम्रा सभ्यता, इतिहास, लोक परम्पराहरूलाई नियाल्ने हो भने मानवले लामो यात्रा गरेको छ । अनेकन् ठाउँहरू खोजेको छ । अनेकन् रीतिथिति बसाएको छ । जन्म, मृत्यु, बिहे, व्यापार, लेनदेन, युद्ध लगायतका अनेकन् घटनाहरूले सामाजिक, आर्थिक रूपमा जेजस्तो प्रभाव पारेता पनि घुमघामको संस्कार स्थापित गराएको थियो । महात्मा, ऋषि मुनिहरूदेखि लेखक, अनुसन्धानकर्ताहरू विभिन्न बहानामा अनेकन् ठाउँ पुगिरहेका थिए/छन् । धर्मको बहानामा तीर्थ यात्राका लागि निस्कनेहरूको सङ्ख्या पनि बाक्लै छ । आज पनि घुमन्ते र सिकारी जीवनयापन गरिरहेको अल्पसङ्ख्यकहरू विश्वका अनेकन् ठाउँहरूमा भेटिरहन्छन् । यस हिसाबले हामी मानव स्वभावैले घुमन्ते जाति हौँ ।
त्यसो भए घुम्ने जाने होइन त ? आउनुहोस्, यसपालि अछामको रामारोशन घुम्न जाऊ ।
जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो । ‘बाह्र बण्ड, अठार खण्ड’ का नामले चिनिने यो क्षेत्रमा बाह्र वटा ताल र अठार वटा ठुला चउर (पाटन ) छन् । यस ठाउँमा बाह्र प्रकारका लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । वसन्तमा यस ठाउँमा पुगेका पर्यटकले रामारोसनलाई ‘स्वर्गको प्रतिबिम्ब’ भन्ने गरेको पाइन्छ । बाह्र वटा तालहरूमा सबैभन्दा ठुलो ताल ‘जिगाले’ ताल हो, जसको आकार अङ्ग्रेजी अक्षर ‘सि’ जस्तो छ । र, यहाँको सानो ताल ‘ताउने’ ताल हो । ताल र चउरले गर्दा यो क्षेत्र असाध्यै सुन्दर देखिने हुनाले यस क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
समुन्द्र सतहदेखि २०५०देखि ३७९२ मिटर उचाईमा फैलिएको रामारोशन इतिहास, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा हो । कैलाश खोलाको मुहान रहको रामारोशनमा प्रसस्तै गुफा र झरना छन्। साथै अनेकन जंगली जनावर र पंक्षीको बास्थानसमेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन् ।
इतिहासको एक पाटो ।
परापूर्वकालमा रामारोशनमा भव्य कोटि होमको आयोजना गरिएको थियो । जहाँ, ब्राह वटा यज्ञहरू स्थापना गरिएको थियो । सोही यज्ञहरू नै आज आएर ताल बनेका हुन् ।
एक दिन यज्ञ चलिरहेकै समयमा दुई धुरन्धर पण्डित सदानन्द र सचितानन्द रामारोशन पुगेछन् । उनीहरूले हामी पनि यज्ञमा सामेल हुन्छौ भन्दा उनीहरूलाई अपमान गरेर यज्ञमा सामेल हुन दिइएनछ ।
त्यसपछि सदानन्द र सचितानन्दले विभिन्न मन्त्रद्वारा त्यस ठाउँमा आगो र पानी उत्पत्ति गराएछन् । र, आफ्नो यज्ञ सुरु गरेछन् ।
सोही कारण नयाँ पानी निकाल्ने ‘न्यौपाने’ भनिएछ भने आगो निकाल्नेलाई ‘आचार्य’ भनिएछ । यसप्रकार, अहिले चलिरहेका न्यौपाने र आचार्य थरको उत्पत्ति भूमि पनि हो रामारोशन ।