Photo by: फाइल तस्बिर
काठमाडौं । राप्ती गाउँपालिकाभित्रका विभिन्न वस्तीमा ८२ वटा घरको छाना हावाहुरीले उडाएर क्षति पुर् याएको छ । हावाहुरीका कारण घरको छाना उडाउदा १ करोड बढीको क्षति भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मा मात्रै ३२ वटा घरको छानो उडाएको छ । करिव ४० लाख बढीको क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।
हावाहुरी सँगै आएको पानीले वडा नम्बर ३ को मसुरीया, नयाँबस्ती, बागढड्डी लगायतका गाउँमा खर,टिन र टायलले छाएको बस्ने घर, गोठ र भान्सा घरको छाना उडाएको छ । वडा नम्बर ४ मा करिव ५० वटा भन्दा बढी घरको छाना उडाउनुका साथै घरभित्र भएका अन्नपात, लत्ताकपडा भिजेर क्षती भएको छ । ५५ लाख बढीको क्षति भएको वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष चौधरीका अनुसार वडा नम्बर ४ को मौरीघाट, खिनैटा, मझनीगढ, पैसठ्ठी नम्बर, सुन्दरपुर, पिपरखुटी, नयाँगाउँमा हावाहुरीले क्षति पुर्याएको छ । तिव्र गतिमा चलेको हावाहुरीले राप्ती गाउँपालिका वडा नम्बर ४ पैसठ्ठी नम्बर मौरीघाट निवासी २९ वर्षिय प्रमिला चौधरी घाइते भएकी छिन् ।
संदेश मण्डलीमा काम गरिरहेका बेला अचानक आएको हावाहुरीले चौधरीको बायाँ खुट्टाको कुरकुच्चा उडेर आएको टिनले काटेको छ । गहिरो घाउ भएपछि चौधरीलाई तत्काल लमही स्थित फ्लोरेन्स अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीले पनि क्षतिको विवरण संकलन सुरू गरेको प्रहरी चौकी मसुरीयाका प्रहरी सहायक निरिक्षक शत्रुघन उपाध्यायले जानकारी दिएका छन् ।
यता शुक्रबार राती आएको हावाहुरीले पारेको क्षति बारे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले फिल्डमा गई अनुगमन गरेका छन् । क्षति भएका घर परिवारलाई पालिकाको तर्फबाट र नेपाल सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउने बताएका छन् ।