तर, उनले कथासाहित्यमा अन्यत्र आइसकेका विषयप्रतिको मोह त्याग्नुपर्छ । परिवर्तित समयका नयाँ मूल्यमान्यताको पक्षमा उभिनुपर्छ र क्लिसे भइसकेका मान्यतालाई क्रमशः हटाउँदै लानुपर्छ ।
-महेश पौड्याल
लामै भयो रत्न प्रजापतिलाई पाठकले कथामा भेटेको । लामै भयो उनलाई समीक्षाहरूमा भेटेको पनि । सिर्जनाको आँखा पनि छ, समीक्षणको पनि । त्यसैले, उनलाई साहित्यको विधि–प्रविधि सबै थाहा छ ।
‘रित्तो रथ’ उनको चौथो कथासङ्ग्रह हो । यसअघि ‘बिसन्चो’, ‘बदाम बेच्ने केटी’ र ‘स्वच्छन्द साँझ’ गरी तीन कथासङ्ग्रह आइसकेका छन् ।
‘रित्तो रथ’ मा बत्तीस कथा छन् । कथासङ्ग्रहका लागि यो सङ्ख्या ठूलै मान्नुपर्छ । धेरै कथा भएकाले सबै उत्तिकै उचाइका साथ उभिएका छन् भन्नुचाहिँ अतिशयोक्ति हुन पुग्छ । तर, यस सङ्ग्रहका कतिपय कथामा हामी ‘रत्न प्रजापति एट हिज बेस्ट’ भेट्टाउन सक्छौँ ।
गुणवत्तका हिसाबले अग्रपंक्तिमा छन् ‘खर्पन’, ‘धमिलो तस्बिर’, ‘मनःताप’ र ‘सङ्केत’ जस्ता कथा । यद्यपि, यिनमा टाँसिएर आएका सम्पादकीय कसरमसर हटाउनुपर्ने जिम्मेवारी कथाकारमा छ । ‘खर्पन’ ले भक्तपुरका तरकारी किसान र बिक्रेताहरूको एउटा खानदानी विम्बलाई कथाको मूल प्रवाहमा मिसाएर एउटा मौलिक वातावरण सिर्जना गरेको छ । खर्पन एउटा विम्ब हो, जसले यहाँका किसानहरूको जिन्दगीमा सन्तुलन स्थापित गरेको छ । यो सन्तुलन बिग्रियो भने जीवनको लय बिग्रन्छ ।
‘खर्पन’ भित्र के छ ?
कथाको मूल पात्र बिकुनर्सिंह हो । गुठीकै जग्गामा उसको खेत छ र आजै रोपाइँ छ । गुठीको जग्गाको राष्ट्रियकरण गरिने घोषणा गरेको छ सरकारले जसका विरुद्ध नेवारहरू जुलुसमा छन् । बिकुनर्सिंह ‘जुलुसमा जाऊँ कि खेतमा ?’ भन्ने दोधारमा छ । यत्तिकैमा बाटोमा योगलाल मास्टर भेटिन्छन् । बिकुनर्सिंहको मनको द्विविधा थाहा पाएर उनले उसको खर्पनको एउटा पल्लाबाट कोदाली निकालेर अर्कोमा हाल्दिन्छन् । त्यसले खर्पनमा आएको असन्तुल देखेर बिकुनर्सिंह भन्छ, ‘यस्तो गर्न मिल्दैन नि । बोक्नलाई गाह्रो हुन्छ ।’ प्रतीकात्मक अर्थमा सामूहिक अथवा सांस्कृतिक हित र व्यक्तिगत हितबीच सन्तुलन मिलाएन भने जीवन सहज हुँदैन । वाह ! कथा.. उत्कष्ट ।
‘धमिलो तस्बिर’ सङ्ल्याई हेर्दा
‘धमिलो तस्बिर’, यस्तै उचाइको अर्को प्रतीकात्मक कथा हो । प्रेम, अतीत मोह र अनिश्चिताको त्रिवेणी यस कथामा एउटा श्यामश्वेत तस्बिर छ । तस्बिर, ‘म’ पात्रको कोठामा कुनै पुरानो पुस्तकभित्र च्यापिएको छ । एकछिन् त पत्तो लाग्दैन, तर पछाडि पल्टाएर हेर्दा ‘तुलसी गुरुङ, कात्तिकेडाँडा, बक्राङ, गोराखा’ लेखिएको भेटिन्छ, जसले ‘म’ पात्रको सम्झनाको तार तन्काएर २६ वर्ष अगाडि पुर्याइदिन्छ । उसबेला एउटा अनुसान्धान केन्द्रमा काम गर्दाताका ‘म’ पात्र उक्त गाउँमा गएको र तुलसीसँग भेट भएको कथा यसबेला सम्झनामा आइदिन्छ । हिँड्ने बेलामा त्यही तस्बिर दिएर तुलसीले अश्रुपूर्ण बिदाइ दिएकी थिई । घर आयो, तस्बिर पुस्तकभित्र राख्यो, बिर्सियो । आज, यत्तिका वर्षपछि भेटिँदा तस्बिर धमिलो भएको छ, र स्मृति मधुरो । तर, पछाडिपट्टिको नामले बिथोल्दा ‘विगतको सम्झना उज्यालो भएर आउँछ ।’ ‘म’ पात्रलाई थाहा छ— यत्तिका वर्षपछि बल्झिएको त्यस सम्झनाले उसको छँदाखाँदाको घर बिगार्न सक्छ । तुलसीको पनि । त्यसले, परिवारको हितका लागि उसले त्यस तस्बिरलाई ध्वारध्वार च्यातिदिन्छ र डस्टबिनमा हालिदिन्छ ।
सुन्दर कथा ! अलिकति कसरमसर छन्, अपत्यारिला संयोगहरू छन् कतिपय । कतिपय मोडमा कथाले अगाडिका घटनाको पूर्वानुमान गर्ने ठाउँहरू दिएर कौतूहलता बिथोलिन्छ पनि । कतै भने ‘पुरुषको जात महिला देखिसक्दा पग्लिजान्छ’ भन्नेजस्तो स्टेरियोटाइप फुत्त सतहमा आएर बेस्वाद थपिदिन्छन् ।
‘मनःताप’ को न्यानो तापेर हेर्दा
‘मनःताप’ सङ्ग्रहको अर्को चामत्कारिक कथा हो । अफिसमा काम गर्ने कुनै युवक पल्लो घरको कौसीमा एउटी सुन्दर युवतीलाई देखेर रोमाञ्चित हुन्छ । कामै बाधित हुनेगरी हेर्छ, सधैँ । एक दिन युवतीसँगै कौसीमा अर्को युवक देखेपछि अघिको युवक खिन्न हुन्छ । समयसँगै अफिसमा एउटी युवती सहकर्मी थपिन्छे । त्यसपछि, युवक बेलाबेला ख्याक्क गर्नबाहेक झ्याल खोल्दैन । खोलिहाले पनि थुकेर पुनः बन्द गर्छ, पल्लो घरको कौसीमा हेर्दैन । केही दिनपछि भने पल्लो बार्दलीमा देखिने युवक गायब हुन्छ । अब कौसीकी युवती निराश देखिन्छे । र यतापट्टिको युवकको झ्यालतिर हेरेर टोलाउन थाल्छे । युवकले झ्याल खोलोस् र आफूलाई हेरोस् भन्ने उसको भित्री चाहना बुझिन्छ । तर, यत्तिकैमा एक दिन वल्लो झ्यालमा नयाँ युवती पनि देखिन्छ । त्यस दृश्यले पल्लो घरको कौसीकी युवतीभित्रको मनःताप यति बढ्छ कि भावावेशमा उसले वल्लो झ्यालको सिसा फुट्ने गरी ढुङ्गाले हान्छे । सिसा फुट्छ । आत्तिएर युवक र युवतीले झ्याल खोलेर पल्लो घरको कौसीमा हेर्छन् । त्यो केटी झन् आक्रोशित हुन्छे र थचक्क भुइँमा बसेर एक्कासि ‘क्वाँ..क्वाँ..’ रुन थाल्थछे ।
कथा उत्कष्ट छ । तर, कथाको अन्त्यतिर त्यस युवतीको पत्थर प्रहार, त्यसपछिको आक्रोश र क्वाँक्वाँ गरेर रुने कार्य अतिरञ्जित लाग्छ । यथार्थवादी पटमा कुण्ठाको प्रकटीकरण यतिसम्म तीव्र र बेकाबु नहुँदा पनि हुन्थ्यो ।
‘सङ्केत’लाई बुझेर हेर्दा
कथा ‘सङ्केत’ पनि मनोविज्ञानकै धार समातेर लेखिएको सुन्दर कथा हो । यद्यपि, त्यसलाई गोठाले मार्काको कथा भन्ने ठाउँ पनि यथेष्ठ छन् । भाउजूको दृष्टिकोणबाट भनिएको यस कथाकी प्रमुख पात्र उनकी नन्द ‘तारामैयाँ’ हुन् । ‘म’ पात्रका श्रीमान् कवितामा घोत्लिरहने, घरको कामको वास्तै नगर्ने । समाख्यातालाई सानो छोरो पनि हेर्नुपर्ने, घरको काम पनि भ्याउनुपर्ने- धमाधम !
यसैबीच, बच्चो हेर्ने काममा तारामैयाँ अघि सर्छिन् । माया असाध्य देखिन्छ । किशोरावास्थामा प्रवेश गरेकी तारामैयाँको कलिलो भदासँगको निकटता सुरूमा निकै निश्छल लाग्छ, तर कुनै दिन दैलो थुनेर, बालकलाई आफूमाथि चढाएर ‘हट घोडा हट’ गराउँदै गरेको बालककै आमाले देखेपछि कथाको चुरो अन्यत्र अर्कै दिशातिर खुलेर आउँछ । भनिएको छ— ‘बाबुका दुइटै हातले तारामैयाँको छातीको उठेको भागमा समातिराखेको । अनि असावधानीले गर्दा तारामैयाँको म्याक्सी पनि माथिसम्म सरेर घुँडाभन्दा माथिको गोरो भाग छर्लङ्गै देखिइरहेको हुन्छ ।’ सामान्य चेतावनीसितै यो काण्ड सामसुम त हुन्छ, तर केही दिनपछि योभन्दा पनि आवेगपूर्ण घटना घट्छ घरमा ।
पल्लाघरकी लक्ष्मी भाउजूले उनको भाइसँग बिहेका लागि तारामैयाँको कुरा चलाउने हेतुले बालककी आमालाई उनकै घर बोलाएकी हुन्छिन् । बालक हेर्ने जिम्मा फेरि तारामैयाँकै ! निकै अबेरपछि घर फर्कँदा तारामैयाँकी भाउजूले जो देख्छिन्, त्यो कथाको उत्कर्ष हो । बालकको सुरुवाल फुकालिएको छ । तर उसले पिसाब फेरेकोले होइन । कथामा भनिएको छ— ‘बाबुको शिश्न फुलेर अलि मोटो भएको हुन्छ र एकदम दरो भएको हुन्छ, कुनै छोटो–मसिनो लठ्ठीजस्तै । घर्षणले गर्दा तातेको फलामजस्तै बाबुको शिश्न पनि निकै रातो र तातो भएको हुन्छ ।’
बालककी आमा शीघ्रातिशीघ्र तारामैयाँको बिहे गरिदिनुपर्ने निचोडमा पुग्छिन् । तारामैयाँका क्रियाकलाप उनीभित्रको बढ्दो यौन आकांक्षाको ‘सङ्केत’ हो ।
‘जात्रा’मा खोज्दा के भेटियो ?
यस्ता सुन्दर कथाका सर्जक रत्न प्रजापतिले अन्य कथामा यस्तो निखार, सटीकता र उचाइ त्यति कायम गर्न नसकेको बुझिन्छ । शीर्ष कथा ‘रित्तो रथ’ सुन्दर त छ, तर धेरै संयोगहरूको जात्रा छ त्यसमा, जो यथार्थवादी कथाकारिताका लागि त्यति पाच्य लाग्दैन । कुनै घरको बार्दलीबाट एउटी युवतीले तल सडकको जात्रामा एक सुन्दर युवकलाई देख्छे । जात्राका अन्य दिनमा उसले धुइँपत्ताल खोज्छे । केही दिनमा त्यो युवकलाई श्रीमती र छारोसहित उभिएको देखेपछि उसलाई ‘रिँगटा’ लाग्न थाल्यो । सुन्दर कार्यपीठिका र सांस्कृतिक रङमा उनिएको अति सामान्य कथा हो यो ।
‘घुक्कघुँक्क’ त, सारमा, मोबाइलबाट फेसबुक, फेसबुकबाट प्रेम, प्रेमबाट भागी विवाह !’ यत्ति नै हो । यानि, अन्य माध्यमबाट हुन नसकेको सम्बन्ध प्रविधिले जोडिदिन थालेको छ । समसामयिक तर समान्य विषय हो यो ।
‘गन्ध’ कथाको मूल कथ्य टिप्परले मान्छे मार्ने प्रकरण छ, जसको सार पुलिस र नेता सबै अपराधीसँग मिल्छन्, र पीडितले कहिल्यै न्याय पाउँदैन भन्ने हो । यो कथा चलनचलतीको एउटा ‘टिप्पणी’ को आख्यानीकरण हो, र बीचमै कथा प्रक्षेपणयोग्य भइदिन्छ ।
‘साइँलीको कुखरी’ राजमार्गतिर चलनचलतीमा रहेको एउटा जोकको कथा–अवतार हो । एउटा कुखरी गाडीले किच्यो भने त्यसले पार्ने सम्भावित अण्डा, तिनबाट आउने चल्ला हुँदै अनेकौँ सम्भावित पुस्ताको दाम जोडेर तिराइन्छ भन्ने गरिन्छ । कथा त्यसै कुराको वरिपरि बुनिएको छ । तर, भर्खर चुनाव जितेर आएको वडाध्यक्षलाई जाबो एउटा कुखुरीको मोल पचास हजार तिराइँदा ऊ किन त्यति निर्धो, उसले किन न्यायको ढोका खटखट्याएन, किन प्रहरीमा गएन, प्रश्न अनुत्तरित छन्, र कथाको बैठान अविश्वसनीय बनेको छ ।
‘सामाजिक तन्नेरी र सुरक्षित तरुनी’ मा ठेलामा फलफूल बेच्ने तरुनीको लोग्ने बेपत्ता पारिएको हुनु, फलफूल किन्न आउने तन्नेरीकी पनि श्रीमती बेपत्ता पारिएकी हुनु, ती दुईको सम्बन्ध हुनु र त्यसपछि ‘फलफूल बजारमा एउटा ठेला घट्नु’ अति–संयोगहरूका खेलहरू हुन् । थप— ठेलामा कुराकानी हुँदैखेर कथाको अन्त्य तय भएको छ र कौतूहलता ‘धुलिट्याम’ भएको छ ।
‘रङ्गीन बाफ’ ती महिलाहरूको पीडाको कथा हो, जसका श्रीमानमा पुंशत्व छैन, र उनीहरू श्रीमतीलाई तृप्त पार्न सक्दैनन् । अलि पृथक विषयमा आएको यो कथा पठनीय छ । यद्यपि, यहाँ पढिने लैङ्गिकताको चित्रणमा थोरै असावधानी भने छ ।
‘मान्छेको स्वाद’ मा बिग्रने पारिवारिक सम्बन्धहरूको मूल कारक विवाहेत्तर अथवा पुराना यौन सम्बन्धहरूलाई मानिएको छ, जुन आंशिक सत्य मात्रै हो । कथाको अन्तिम लाइन् ‘यो सबै मान्छेको स्वादले गर्दा हो’ कुनै पात्रको होइन, लेखक स्वयंको भनाइ हो । तर, त्यो निचोड प्रश्नको घेरामा छ ।
‘भालेको रस’ अर्काका रिसले जन्तुमाथि जाइलाग्ने पुरुषवृत्तिको आख्यानीकरण हो । तर, यस कथाको सारमा नयाँपन भेटिँदैन ।
‘भेद’ मा विद्यार्थीबाट पैसा उठाएर तिनलाई परीक्षा उत्तीर्ण गराउने गरेको चक्र विश्वकर्मा नाम गरेको शिक्षकको कथा समेटिएको छ, जसले कथाको अन्त्यमा पकडा खान्छ र निष्काशनमा पर्छ । कथामा सिर्जनात्मकताको पाटो रत्न प्रजापतिको उचाइलाई थाम्ने अनुपातको छैन ।
‘ताबेचाको फेसबुक स्टाटस’ मा तरकारी बेच्ने ताबेचालाई छोराले मोबाइल किन्दिएर फेसबुक अकाउन्ट खोलिदिएपछि उसले जुन पहिलो स्टाटस लेख्छ, त्यो यस्तो छ— ‘जिन्दगीको सन्तुलन नमिलेर हो कि अचेल खर्पनको भारीभन्दा जिन्दगीको भारी किनै गह्रुँगो लाग्न थालेको छ ।’ एउटा समान्य किसानका औँलामा यहाँ रत्न प्रजापतिको परिपक्व साहित्यिक भाषाको घुसपैठ भएको सहजै अनुमान लगाउन सकिन्छ ।
‘उपदेश’ केटी, मदिरा र जुवाका कारण बर्बाद हुन पुगेको बाउचाको कथा हो, जसको उपसंहारमा भनिएको छ— ‘अरू जेसुकैको पछि लागे पनि केटीको पछि चाहिँ नलाग्नू बाउचा ।’ यो निचोड लैङ्गिक दृष्टिले असन्तुलित लाग्दैन र ? अनि कथाको सन्देश नि ?
‘म्यादी’ कथामा म्यादी प्रहरीमा लागेको युवा र युवतीको प्रेम छ, जुनपनि, प्रकारान्तमा म्यादी नै बन्न पुग्छ । तर, म्यादीहरूको प्रेम पनि म्यादी नै हुन्छ भन्ने निचोड गलत छ । कथामा थोपरिएका संयोगहरूको लामो फेहरिस्त छ ।
‘हरियो जमरामा’ भूकम्पले घर लडेपछि टहरामा बस्न बाध्य धनबहादुर र उसको सात वर्षे छोरो गोपालको कथा हो । भनिएको छ, गतिलो घर नहुनाले जमरा राखेका ठाउँमा पनि घाम र हावा छिरेर पहेँलो हुनुपर्ने जमरा हरियो बनाइदियो । आफ्नो शिरमा हरियो जमरा देखेपछि गोपाल सोध्छ, ‘बुबा, सबैको पहेँलो जमरा, हाम्रोमात्रै किन हरियो जमरा?’ अलि अघि कथामा भनिएको छ, बच्चाहरू जमरा हरिया कि पहेँला भनेर धाक लाउँछन् । टिप्पणी एक— जमरै पहेँलो बनाउन त टहरामा यसो ढुङ्गाले बारेर पनि सकिन्छ । टिप्पणी दुई— घर धनबाहादुरको मात्रै लडेको पनि हुन सक्दैन । टिप्पणी तीन— स-साना बालकहरूले जमराको रङलाई अहम् र शक्तिसँग जोड्छन् भन्ने कुरा विश्वसनीय छैन ।
बत्तीसै कथाको विवेचना यति सानो समीक्षामा सम्भव छैन । कतिपय कथामा सुन्दर विषय छन्, तर कथाको बुनोट सामान्य छ । धेरैजसो कथाको प्रतीकात्मकता लेखकको व्याख्यात्मक घुसपैठले खलबलिएको बुझिन्छ । धेरैजसो कथाहरूका रहस्य बीचमै खुलिदिँदा पाठकको मस्तिष्कभार स्वाट्टै घटेर जान्छ । कतिपय कथामा पुरुषहरू कामुक छन्, विभेदकारी छन् । यस्ता दृष्टि पनि अब त फेरिनुपर्ने हो कि?
‘भुँला’ को विषयवस्तु बेजोड र बुनोट पनि, तर यस कथाको सूक्ष्म–व्यवस्थापन त्यति मिलेको लाग्दैन । एक पैसा जग्गा दुई भाइमा बाँडिनु, फेरि त्यो कुनै साहूलाई बेचिनु, हेर्दाहेर्दै त्यस साहूले त्यसै जग्गामा अग्लो घर बनाउनु, अग्लो कम्पाउन्ड वाल बनाउनु, ढिस्को सम्याएर आँगन पनि बनाउनु…यो अलि बुझिएन । कति हुन्छ एक पैसा जग्गा भक्तपुरमा?
‘सबिरा’ त्यस गरीब मुस्लिम केटीको सङ्घर्षको कथा हो, जसले पाइलैपिच्छे, गरीब भएकै कारण बालत्कारको सामना गर्नुपर्छ । कथा निकै संवेगपूर्ण र मार्मिक छ । तर पनि, कथाका धेरै कुरा पूर्वानुमान अनुकूल आउँछन्, जुन कथाकारिताको कमजोरी हो ।
‘भाग्यमानी’ त कथा कम विश्लेषण बढी लाग्छ । कथाको एक हरफे घटना— ‘माथ्लोघरे सरस्वती ठूलीआमा मरिन् ।’ अवस्था— बाँचुञ्जेल रोग पालेर बाँचिन् । पीडा सहेर बाँचिन् । उपचार गरेर निरोगी भएर बाँच्ने धोको अधुरै पारेर मरिन् ।’ कथाको बाँकी अंश— यो किन भयो र कसरी भयो, अनि यसको अर्थ के भयो, त्यतैतिर रुमलिएको छ ।
‘सपनको अवसान’ निकै सुन्दर र फरक बुनोट र विषयको कथा हो । विद्यार्थी छँदा सधैँ चारपाटै बाकस मागेर मरिहत्ते गर्ने ‘म’ पात्र अनेक हण्डरपछि विदेश जानु र चारपाटे बाकसमा लाश बनेर फर्कनु हुन त अति संयोग हो, तर पनि कथा पठनीय र संवेगपूर्ण लाग्छ । कथाको अन्त्यतिर मायावी यथार्थवादको झल्को आउने प्रयोग पनि गरिएको छ ।
‘जाडोः जिजीविषा’ पूर्वदीप्तिको बेजोड प्रयोग गरिएको सुन्दर मनोवैज्ञानिक कथा हो जसले प्रतिकूलताका बेला सामाजिक मर्यादा गौण बन्छन् र जिन्दगीको प्रश्न नै अह्म बन्छ भन्ने बलियो सत्यलाई उजागर गरेको छ ।
‘टाँक’ कथाको बान्कीका कथा त धेरै छन्, यहाँ राख्न लोभ नगरेको भए पनि हुन्थ्यो । ‘उकुसमुकुस’, ‘भाँडो’, ‘तलमाथि’, ‘अर्कै घरबाट’, ‘त्यो रात’ र ‘सजाय’ विश्लेषण अन्य पाठकको जिम्मामा छोडेको छु । तिनको सामाजिक–मनोवैज्ञानिक पाटो विशिष्ट छ, यत्तिचाहिँ भन्नुपर्छ । तिनमा आख्यानीकृत यौन कुण्ठा र अवैध सम्बन्धका विषयहरू प्रभावशाली छन् ।
रत्न प्रजापतिमा कथालाई उदात्त उचाइ दिने ल्याकत छ । भाषामा पकड छ । जमिनी यथार्थको राम्रो ज्ञान छ । तर, उनले कथासाहित्यमा अन्यत्र आइसकेका विषयप्रतिको मोह त्याग्नुपर्छ । परिवर्तित समयका नयाँ मूल्यमान्यताको पक्षमा उभिनुपर्छ र क्लिसे भइसकेका मान्यतालाई क्रमशः हटाउँदै लानुपर्छ । कथाको बीचैबीच उनको विश्लेषक व्यक्तित्वको हस्तक्षेप ज्यादै बढी छ । उनले पाठकमाथि अलि बढी विश्वास गर्नुपर्छ र विश्लेषणको पाटो उनै पाठकलाई छोडिदिनुपर्छ जस्तो लाग्छ । धेरै कथाको भिडले सङ्ग्रह बिथोल्छ । थोरै, तर उदात्त कथाले उनको कथाकार व्यक्तित्वलाई नयाँ उचाइमा लान सक्छ ।
***
यही साल २०७९मा शिखा बुक्सबाट प्रकाशित कथाकार रत्न प्रजापतिको चौथो कथासङ्ग्रह ‘रित्तो रथ’ भित्र सामाजिक तथ मनोवैज्ञानिक कथाहरू पढ्न सकिन्छ । रु. ४७५ मूल्य तोकिएको जम्मा २८२ पृष्ठको कृतिभित्र ३२ वटा कथाहरू राखिएका छन् ।