काठमाडौं । रोटरी युथ लिडरसिप अवार्डको तीन दिने क्लोज क्याम्प सम्पन्न भएको छ । १५ मेबाट सुरु भएको उक्त क्याम्प चेतना केन्द्र, बनेपामा १७ मेसम्म चलेको हो ।
यो क्याम्प रोटरी डिस्ट्रिक ३२९२ अन्तर्गतका रोटरी क्लब अफ रुद्रमती काठमाडौं, रोटरी क्लब अफ दरबारमार्ग, रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ पशुपति काठमाडौंको संयुक्त आयोजना र अन्य १३ वटा रोटरी क्लबको सहयोगमा सम्पन्न भएको हो ।
विशेषत: १५-२० वर्ष उमेर समूहका युवाहरूको लागि डिजाइन गरिएको यो तीन दिने क्लोज क्याम्प देशका विभिन्न जिल्लामा रहेका रोटरी, रोटार्याक्ट र इन्टर्याक्ट क्लबहरूको सहभागितामा सम्पन्न भएको हो ।
रोटरी युथ लिडरसिप अवार्ड रोटरी इन्टरनेसनलअन्तर्गत पर्ने महत्त्वपूर्ण कार्यक्रम हो । उक्त कार्यक्रमको उद्घाटन समारोहको सभापतित्व रायला अध्यक्ष रोटारियन खिमबहादुर कार्कीले गरेका थिए । रायलाको बारेमा छोटो वक्तव्य तथा स्वागत मन्तव्य रोटरी क्लब अफ दरबारमार्गका अध्यक्ष रोटारियन एकनारायण ढकालले राखेका थिए । त्यसैगरी, प्रमुख अतिथिको रूपमा डिस्ट्रिक गभर्नर रोटारियन जितेन्द्र राजभण्डारी रहेका थिए । रायलाअन्तर्गत रहेर विभिन्न विधामा काम गर्ने युवाहरूलाई सँगसँगै कार्यक्रममा भाग लिने र सहयोग गर्ने सम्पूर्ण सहभागीहरूलाई डिस्ट्रिक गभर्नर रोटारियन जितेन्द्र राजभण्डारीद्वारा पुरस्कृत तथा सम्मान गरिएको थियो ।
यो कार्यक्रममा अनिल चित्रकार, दीपक भट्ट, राजु सरकार, मिस अर्थ श्रीषा श्रेष्ठ, मिस नेपाल सुगारिका के.सी. लगायतका वक्ताहरू रहेका थिए भने देवराज घिमिरेले स्काउटसँग सम्बन्धित तालिम प्रदान गरेका थिए । क्याम्पको दोस्रो दिन दुर्गाप्रसाद सुवेदीद्वारा दिइएको योग प्रशिक्षणबाट सुरु भएको थियो ।
तीन दिनको उक्त कार्यक्रममा विभिन्न ट्यालेन्ट शो, कल्चरल शो, विभिन्न तालिम तथा बेस्ट राइलियन अवार्ड लगायतका अन्य विधामा समेत अवार्ड प्रदान भएको थियो । मिस्टर रायला कृषकुमार गुप्ता बनेका थिए भने मिस रायला बन्न सफल भएकी थिइन सुष्मा परीयार ।
क्याम्पको अन्तिम दिन बिहान हाइकिङ तथा प्रोजेक्ट साइट भिजिट गरिएको थियो । कार्यक्रमको उद्घाटन र समापन समारोह रोटारियन भुवनसिंह कुँवरको संचालनमा सम्पन्न भएको थियो । समापन समारोहमा रायला को-चेयर रोटारियन सुदीप कोइरालाले छोटो वक्तव्य राखेका थिए । र अन्त्यमा, रोटरी क्लब अफ रुद्रमती काठमाडौंका अध्यक्ष रोटारियन किशोर त्रिपाठीको धन्यवाद ज्ञापनसँगै उक्त तीन दिने कार्यक्रम सम्पन्न भएको थियो ।