बिहिबार , अषोज ८, २०८३

हराए बाउन्न पोखरी, त्रिपन्न टाकुरी

अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन् । पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ ।

image

काठमाडौं । सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं. ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो । जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ ।

अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन् । पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ । २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी, ५३ टाकुरी हो भनेर तत्कालीन सरकारलाई जानकारी गराइएको बूढापाकाको भनाइ छ ।

२०५२ सालमा जग्गा नापनक्सा गर्ने क्रममा गाउँघरका धेरै टाठाबाठाले यी टाकुरी र पोखरीलाई आआफ्ना नाममा नापजाँच गराए । धेरै टाकुरी र पोखरी व्यक्तिगत रूपमा दर्ता गराइएपछि रुकुमपूर्वस्थित रुकुमकोटको ५२ पोखरी, ५३ टाकुरीको चिनारी बिस्तारै हराउँदै जान थालेको छ ।

पछिल्लो समय सिस्ने गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाएर यसको संरक्षण गरी रुकुमकोट उपत्यकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने जनाएको छ। धेरै पोखरी र टाकुरी हाल व्यक्तिका नाममा रहेकाले यो समस्या समाधान गर्न सरकारलाई चुनौती रहेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए । जनसङ्ख्या वृद्धिसँगै प्राकृतिक रूपले पनि पोखरी र टाकुरी मासिँदै आएको उनले जानकारी दिए । मासिँदै गएका र अतिक्रमण भएका पोखरी र टाकुरी हाल व्यक्तिका नाममा जग्गा दर्ता भइसकेकाले यसलाई पुरानो अवस्थामै ल्याउन कठिन रहेको उनले बताए । सङ्घीय सरकारको योजनाअनुसार देशभर १० नयाँ सहर विकास कार्यक्रमअन्तर्गत ५२ पोखरी, ५३ टाकुरीमा अवस्थित रुकुमकोटलाई नयाँ सहरका रूपमा विकास गर्न थालिएको गाउँपालिका अध्यक्ष रेग्मीले बताए । उनले भने, “पहिलेका पोखरी खेतबारी र टाकुरी बस्तीमा परिणत भइसकेका छन्। ती पोखरी र टाकुरी इतिहास बनिसकेका छन् ।”

सिस्ने गाउँपालिका वडा नं. ६ का ८७ वर्षीय चूडामणि गौतमले त्यहाँका ५२ पोखरी र ५३ टाकुरी पहिचान गरेर लिखित रूपमा उतारेका थिए । परापूर्वकालमा रुकुमकोट उपत्यका भएर रुकुमगाड (खोला) बग्थ्यो। खोला बग्दाबग्दै उपत्यकाभित्र ५२ पोखरी र ५३ टाकुरी बनेको बूढापाकाको भनाइ छ । अहिले कमलपोखरी (कमलदह) र छिप्रिदह पोखरी मात्रै प्रस्ट देखिने अवस्थामा छन् । कतिपय पोखरीमा वर्षामा पानीको मूल फुट्ने गर्छ । टाकुरीलाई घरले छपक्कै ढाकेको र पोखरीमा बारी नै बारी बनाइएकाले अब इतिहास मेटिने अवस्थामा पुगेको स्थानीय वसन्तकुमार श्रेष्ठले बताए । उहिलेदेखि पोखरी र टाकुरीलाई बचाउने प्रयास भएन। अहिले त नामोनिसाना नै मेटिने अवस्था पुग्यो ।

गाेरखापत्र अनलाइन 

सम्बन्धित समाचार