स्थानीय तह निर्वाचनका लागि रुपन्देहीका १२८ मतदान स्थल संवेदनशील सूचीमा रहेका छन् ।
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि रुपन्देहीका १२८ मतदान स्थल संवेदनशील सूचीमा रहेका छन् । जसमध्ये ६२ मतदान स्थल अति संवेदनशील सूचीमा रहेका छन् । ७८ वटा मतदान स्थल सामान्य सूचीमा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जनाएका छन् । पाण्डेका अनुसार सुरक्षा चुनौतीलाई विचार गरी मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी खटाइएको हो ।
भोलि हुने निर्वाचनका लागि रुपन्देहीमा चार हजार चार सुरक्षाकर्मी खटाइएको छ । जसमा २४ सय म्यादी प्रहरी, १४ सय नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी रहेका छन् । तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने पनि पाण्डेले जनाए ।
पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी रहने छन् भने मोबाइल टोलीको रूपमा सेना पनि परिचालन गरिने छ । मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेको पाण्डेले बताएका छन् ।
६ लाख ३२ हजार ३६० मतदाता रहेको रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र रहेका छन् । रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समेत बताइएको छ ।