शनिबार , साउन १२, २०८१

सहिद दिवसः सहिदका आन्दोलन, प्रेम र बलिदानका कथा

गङ्गालालले नर शमशेरलाई चिच्याएर भने, "मर्दको छोरा होस् भने छातीमा गोली हान् !" त्यसपछि, पोडेको हातबाट पिस्तोल खोसेर नर शमशेर आफैले छातीमा ताकेर गोली हाने । २२ वर्षीय युवा गङ्गालालको आवाज बन्द भयो ।

image

वि.सं. १९६० असार १७ गते बैतडीमा जन्मिएका दशरथ चन्द नेपालगञ्जका त्यतिबेलाका बडाहाकिम शेरबहादुर चन्दका माहिला छोरा थिए ।

चन्दले आफ्नो बाल्यकाल (जन्मस्थान) बस्कोट र बुबाको जागिरे ठाउँ नेपालगञ्जमा बिताए पनि बडाहाकिमका छोरा भएको हुँदा शिक्षा दिक्षा भने भारतको बनारस र अल्मोडा पुगेर लिए । उता स्वतन्त्रता संग्रामको सुरुवात भइसकेको हुँदा उनी राजनीतिमा लाग्न थाले । जङ्गबहादुरको शासनविरुद्ध आन्दोलन गर्ने जयचन्द तथा हरिचन्द यिनकै पुर्खा थिए ।

बनारसमा इन्ट्रान्स दिएर आइ.ए. पढ्दै गर्दा अचानक उनको भेट रामराजासँग भयो । रामराजा जङ्गबहादुरकी छोरी बागकी कान्छी मैयाका छोरा थिए । मोहन विक्रम शाह नामले चिनिएका रामराजा चम्पारणका निसन्तान राजाको निधनपछि धर्म छोराका रूपमा चम्पारणको राजा भए  त्यसैपछि उनी रामराजा नामबाट प्रख्यात भए । यिनै रामराजाले दशरथचन्दलाई चम्पारण विरासतको जग्गाको हेरचाह गर्न म्यानेजर बनाएर चम्पारण लिएर गएए । यस्तैमा एकदिन अचानक रामराजाको दरबारमा दशरथको भेट राणाबाट निस्कासित बाबुछोरा टीकप्रसाद र टंकप्रसाद आचार्यसँग भयो । टीकप्रसाद पहिले बडाहाकिम थिए तर पछि खोसुवामा परेका थिए । यही भेटले एउटा मोड लियो । राणाविरोधी राजनैतिक पार्टी खोल्ने मनसायले अलग-अलग भएर काठमाडौँ छिरेका यी दुईकै प्रयासमा प्रजा परिषदको गठनसमेत भयो ।

वि.सं. १९९३ जेठ २० गते नेपाल प्रजा परिषदको स्थापना भयो । सुरुका सदस्यहरू दशरथ चन्द, टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, रामहरी शर्मा तथा जीवराज शर्मा थिए । राणाशासन समाप्त गर्ने प्रमुख उद्देश्य रहेको यो संगठनमा आर्थिक सहयोग दरबारबाट त्रिभुवनले गरेका थिए ।

विश्वासिलो साथीको खोजी गर्दै सदस्य बनाउँदै हिँडेका यिनीहरूको संगठनको सदस्यमा एक गद्दार साथी रामजी जोशी पनि छिर्न सफल भए । राणा सरकारबाट घोषित पाँच हजार रुपैयाँको पुरस्कारको लोभमा यिनले सबै सदस्यको नाम राणा शासकलाई बताइदिए । जसले गर्दा धेरैजना समातिए । टंकप्रसाद भागेर पटना पुगे । तर, दुर्भाग्यवश कसैले बाबु टीकप्रसाद शिकिस्त भएको पत्र पठाइदिँदा उनी फर्किँदै गर्दा जनकपुरमै समातिए ।

वि.सं. १९९७ माघ १५ गते राति गङ्गालालसँगै दशरथ चन्दलाई पनि शोभाभगवती लगियो । गङ्गालाललाई गोली हान्दा पोडे डराएर गलत निशाना लगाए । पोडेहरू भागेपछि अन्य सिपाही ल्याएर दशरथ चन्दलाई गोली हान्न लगाइयो । जसले गर्दा एकै गोलीमा उनको देहावसान भयो ।

राणा शासकहरू जनतालाई त्रस्त राख्न भोलिपल्ट दिनभर नै लाश उठाउन दिँदैनथे । लाशनजिकै ठूलो कागजमा ‘गाठगाडी ताकेमा यस्तै गरिनेछ !’ भन्ने चेतावनी लेखेर राख्ने गर्दथे । भनिन्छ, १९९७ मा तोकिएको सजायको घोषणा चन्द्रशमशेरका छोराहरू मोहन शमशेर, बबर शमशेर र केशर शमशेर- जो कमान्डिङ अफिसरहरू थिए, उनीहरूको दबाबमा जुद्ध शमशेरले गर्न बाध्य भएका थिए । जुद्ध शमशेर त्यतिबेला अर्को निर्णयमा पनि समस्यामा परेका थिए ।

राजा त्रिभुवनको नेतृत्वमा अर्को ”रक्तपात मण्डली’ भन्ने गठन भएको थियो । जसको उद्देश्य राणा परिवारको मुख्य-मुख्य सदस्यको हत्या गर्नु थियो । राजाका कम्पाउण्डर चन्द्रमान सैजुलाई नारायणहिटी दरबारको भोजमा आउने निम्तालु उच्च पदस्थ राणाहरूको खानामा विष मिलाउने जिम्मा दिइएको थियो । जसको कारणले चन्द्रमान सैजुलाई पनि मृत्युदण्ड सुनाउने तथा राजा त्रीभुवनलाई पदच्युत गरी गोरखामा लगेर थुन्ने तथा युवराज महेन्द्रलाई राजा बनाउने मनसाय जुद्ध शमशेरको थियो ।

जुद्ध शमशेरसामु साँचो बोलेको भनेर चन्द्रमान सैजुलाई सजाय दिइएन, सर्वश्वहरण मात्र गरियो । राजा त्रिभुवनलाई पदच्युत गर्ने मनसाय भने चन्द्रशम्शेरका छोराहरूका कारण सम्भव भएन । जुद्ध शमशेरका नातिनीको विवाह युवराज महेन्द्रसँग भएको थियो भने चन्द्र शमशेरका छोराहरू केशर शमशेर, सिंह शमशेर र कृष्ण शमशेरको विवाह राजा त्रिभुवनका बहिनीहरूसँग भएको थियो । तसर्थ, कमान्डिङ जनरल भएर बसेका ती चन्द्र शमशेरका छोराहरूको विमतिले त्रीभुवनलाई पदच्युत गराउन सकेनन् । उता नाति-ज्वाइँ युवराज महेन्द्रले पनि बाजेले यदि बुबा ‘राजा त्रिभुवन’लाई निस्कासित गर्छ भने आफू पनि साथ लागेर जाने बताएपछि जुद्ध शमशेरले पछि हट्न बाध्य भए ।

May be a black-and-white image of 1 person

सहिद दशरथ चन्दको प्रेमकथा पनि निकै पिडादायी छ । दशरथ चन्दको प्रेमसम्बन्ध तत्कालीन समयका कमाण्डर इन चिफ ‘रुद्रशम्शेर राणा’की छोरी जुलिया मैयासाहेबसँग रहेको थियो । पारिवारिक सहमतिमा विवाह तय पनि भइसकेको थियो । अचानक परिवारको निकटको मृत्युले जुठो परेका कारण निर्धारित विवाहको मिति सरेको थियो । यसको केही समयपछि नै श्री ३ जुद्ध शमशेरले ल्याइते अर्थात् बि ग्रेडका राणाहरूलाई रोलक्रमबाट हटाउने निर्णय गरी श्री ३ हुने पालो आएका रुद्र शमशेरलाई सर्वस्वहरणसहित पाल्पा निस्कासन गराए । जसकारण, दशरथ चन्दकी प्रेमिका जुलिया मैयासाहेब पनि पाल्पा पुगिन् । क्षयरोगका कारण जुलियाको उतै निधन भयो ।

सहिद दशरथचन्दलाई जुलिया मैयाले डम्बरकुमारी खास्टो प्रेमको निशानीका रूपमा दिएकी थिइन् । सहिद दशरथ चन्दका हरेक तस्विरमा सो खास्टो ‌ओढेको देख्न सक्छौँ । उनले त्यो खास्टो प्रेमिका जुलियाको देहावसानपछि कहिल्यै छोडेनन् । साथै, दशरथ चन्दले अर्को विवाह पनि नगर्ने अठोट लिएका थिए । शोभा भगवतीमा गोली हानिने बेलामा पनि उनले त्यही खास्टो ओढेका थिए । राणा शासनविरुद्ध लडेर सहिद दशरथ चन्दले राणाकै छोरीसँग प्रेम गरी, उनैले चिनो दिएको खास्टो ओढेर प्राण त्याग गरे ।

सहिद गङ्गालालप्रति हार्दिक श्रद्धाञ्जली

हिजो माघ १५ गते, सहिद दशरथ चन्द ठकुरीसहित सहिद गङ्गालाल श्रेष्ठलाई पनि शोभाभगवतीमा गोली हानिएको दिन । गङ्गालालको जन्म वि.सं. १९७५ मा रामेछापमा भएको थियो । तर, उनको पुर्ख्यौली थलो भने कीर्तिपुर थियो । काकासँगको कलकत्ता बसाइँमा उतै शिक्षा आर्जन गरेका गङ्गालाल पछि काठमाडौँ आई दरबार हाई स्कुलमा भर्ना भए । यहीँबाट वि.सं. १९९४ मा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरे । यसपछि, त्रिचन्द्र कलेजमा आइ.एस.सी. पढ्न गएका उनमा राजनीतितर्फ झुकाव बढ्यो र राणाविरोधी आन्दोलनहरूमा सरिक हुन थाले ।

वि.सं. १९९४ जेठमा महावीर स्कुलको स्थापना भयो र केही शिक्षकहरू पूर्णबहादुर, टंकविलास, गङ्गालाल, बाक्पतिराज, ईन्द्रप्रसाद, सिद्धिचरण, सूर्यबहादर भारद्वाजले पढाउन थाले । यता नेपाल प्रजा परिषदको पनि स्थापना भइसकेको थियो । यस्तैमा, १९९७ कार्तिक २ गते महावीर स्कुलका शिक्षकहरू समातिए । उता नेपाल प्रजा परिषदका सदस्यहरू पनि समातिए । जसको फलस्वरूप १९९७ माघ ७ गते राणा प्रधानमन्त्री जुद्ध शमशेरले त्यतिबेलाका कमाण्डिङ अफिसर पद्म शमशेर र चारै कमाण्डिङ जनरलहरू मोहन शमशेर , बबर शमशेर , बहादुर शमशेर , केशर शमशेर र बडागुरूज्यूसमक्ष सिंहदरबार बैठकमा यस प्रकारको फैसला सुनाइयो :

१. शुक्रराज शास्त्री जोशी, बाङ्गेमुढा, सर्वस्व र ज्यान सजाय

२. धर्मभक्त श्रेष्ठ माथेमा, जोरगणेश, सर्वस्व र ज्यान सजाय

३. दशरथ चन्द ठकुरी, बैतडी, सर्वस्व र ज्यान सजाय

४. गङ्गालाल श्रेष्ठ, प्याफल, सर्वस्व र ज्यान सजाय

५. ना.सु. पूर्णनारायण प्रधान, न्हैकन्तला, सर्वस्व र ज्यान सजाय

६. टंकप्रसाद आचार्य, सिफल, सर्वस्व र मुडेर दामल गर्ने

७. रामहरी शर्मा उपाध्याय, ज्ञानेश्वर, सर्वस्व र मुडेर दामल गर्ने

८. गणेशमानसिंह श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण

९. चुडाप्रसाद शर्मा, आजन्म कैद र सर्वश्वहरण

१०. हरिकृष्ण श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण

११. गोविन्द प्रसाद उपाध्याय, आजन्म कैद र सर्वश्वहरण

१२. पुष्करनाथ उप्रेती, आजन्म कैद र सर्वश्वहरण

१३. बलबहादुर पाण्डे, आजन्म कैद र सर्वश्वहरण

१४. जीवराज शर्मा, १८ वर्ष कैद

यसमा ज्यान सजाय सुनाइएका पूर्णनारायणलाई फाँसीमा झुन्ड्याउने १९९७ माघ १९ गते श्रीपंचमीको दिन तय भएको थियो । त्यस दिन नयाँ सडकको गेटनजिकै बाँस गाड्दै गरेको जुद्ध शमशेरले देखेपछि सोधे, “के गर्न लागेको ?” सिपाहीले “फाँसी दिनको लागि बाँस काट्दै गरेको सरकार” भनेपछि उनले भने, “श्रीपञ्चमीमा पनि कसैलाई फाँसी दिन्छ ? उनलाई आजन्म कैदमा राख्ने निर्णय गरेँ ।” जुद्ध शमशेरको उक्त निर्णयले गर्दा पूर्णनारायणले भने फाँसी चढ्नु परेन तर, उनलाई कैदमा राखियो । प्रजातन्त्रको प्राप्तिपछि भने उनी जेलमुक्त भए ।

गङ्गालालको मृत्युदण्डको सजाय तोकिएको राति विष्णुमतीको किनार शोभाभगवती मन्दिरनजिकै लगियो । दुईवटा खाँबोमा गङ्गालाल र दशरथ चन्दलाई बाँधियो । त्यसपछि अन्तिम अवसरको रूपमा माफी माग्न भनियो । तर, दुवैले मानेनन् ।

पहिले गङ्गालाललाई मृत्युदण्ड दिइने भयो । नर शमशेरले पोडेलाई गोली हान्न अह्राए । काँपेको हातले गोली हान्दा तिघ्रामा लाग्यो । रगतको भल छुट्यो । चोटको दुखाइमा ऐया ! ऐया ! गर्दै गङ्गालालले नर शमशेरलाई चिच्याएर भने, “मर्दको छोरा होस् भने छातीमा गोली हान् !” दोश्रो गोली पुनः पोडेले नै हाने । त्यो पनि काखीमा लागेर पछाडि छिर्यो । त्यसपछि, पिस्तोल खोसेर नर शमशेर आफैले छातीमा गोली हाने । गङ्गालालको आवाज बन्द भयो । केवल २२ वर्षका होनहार युवा सदाको लागि बिदा भए । देशका लागि सहिद भए ।

May be a close-up of 1 person and text

सम्बन्धित समाचार