सोमबार , जेठ १४, २०८१

दशैं, ह्रेन्जेन दोर्जेको रगतमा मुछिएको चामलका गेडा र ‘म्हेनङ’

image

सन् १७२२ मा शाह वंशीय राज–खानदानमा जन्मेका पृथ्वीनारायण शाह जब सन् १७४२ मा राजगद्दीको हकदार भए त्यसपछि गोर्खा साम्राज्य निर्माण गर्ने सङ्कल्प गरे । पृथ्वीनारायण शाहले आफ्नै शासनकालमा बाइसे र चौबीसे राज्यहरूमाथि आफ्नो गोर्खा साम्राज्य निर्माण गर्ने सङ्कल्प अनुसार निर्ममतापूर्वक आक्रमण गरे र आफ्नो सङ्कल्प अनुसार गोर्खा राज्यलाई विस्तार गरी गोर्खा साम्राज्य निर्माण गर्न सफल पनि भए । पृथ्वीनारायण शाहको यही गोर्खा राज्य विस्तार अर्थात् नेपाल एकीकरणको माध्यमबाट एउटा सुन्दर देश निर्माण गर्ने एकल जातीय सोचका कारण कतिपय आदिवासी जनजातिहरूको अस्तित्व नै लोप भएर जाने अवस्थामा पुग्यो ।

जब सन् १७७४ मा पृथ्वीनारायण शाहको मृत्यु भयो, त्यसपछि उनका छोरा प्रतापसिंह शाहले राजगद्दी सम्हाले । जङ्गबहादुर राणाको उदय हुनुभन्दा अगाडिसम्म शाह वंशीय राजाहरूको एकछत्र राज थियो । जङ्गबहादुर राणाको उदयसँगै जहानियाँ राणा शासन सुरु भयो तत्पश्चात् शाह वंशीय राजाहरू अधिकार र भूमिकाविहीन हुन पुगे ।

कथित नेपाल एकीकरणको कारण कतिपय आदिवासी जनजातिहरूको अस्तित्व त लोप हुँदै थियो नै सन् १९५० अर्थात् वि. स. २००७ सम्मको जहानियाँ अधिनायकवादी राणा शासनले त आदिवासी जनजातिहरूलाई राज्यको आधारभूत शासन प्रणालीमा मात्रै नभएर उनीहरूको धार्मिक, भाषिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारमाथि पनि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरी दाससरह शोषण र दमन ग¥यो । जङ्गबहादुर राणाकै समयमा वि. स. १९१० मा प्रथम पटक जारी भएको मुलुकी ऐनमा वैधानिक रूपमा नै आदिवासी जनजातिहरूलाई मास्न मिल्ने र नमिल्ने भनेर वर्गीकरण गरिएको थियो ।

आदिवासी जनजातिहरूमाथि गरिएको दमनको एउटा प्रमाण हो कथित राष्ट्रिय पर्व दसैँ । जसलाई एकात्मक हिन्दुवादी राज्य सत्ताको बागडोर सम्हाल्ने शासक र मिडियाहरू “हिन्दुहरूको महान पर्व” को हवाला दिँदै कान पाक्ने गरी सञ्चार माध्यमहरूमा कुर्लिरहेका हुन्छन् । वास्तवमा भन्ने हो भने दसैँ कहाँ, कोबाट, कहिले र कुन प्रयोजनका लागि सुरु भएको हो भन्ने प्रामाणिक आधार कहिँ कतै भेटिएको छैन ।

हिन्दुहरूले धर्मशास्त्रको रूपमा मान्ने किंवदन्तीमा आधारित अयोध्याका राजा दशरथचन्द्रका छोरा राजकुमार रामचन्द्र र लङ्काका राजा रावणका बिचमा भएको युद्धको वर्णन गरिएको रामायणका कथा सुनाइन्छ दसैँको सुरुवात यसरी भयो भनेर । रेडियो नेपालमा दुर्गा सप्तसतीको कथामा आधारित नाटक सुनाइन्छ । रामायण होस् या दुर्गा सप्तसती, हिन्दु भनाउँदाहरूले आफूलाई राम र दुर्गा पक्ष ठान्छन् र तिनै राम र दुर्गाको जीतको बखानमा दसैँ मनाइएको पाइन्छ ।
आदिवासी जनजातिहरूको आफ्नै धर्म, भाषा, लिपि, संस्कृति र संस्कार थियो ।

कथित नेपाल एकीकरणको कारण कतिपय आदिवासी जनजातिहरूको अस्तित्व त लोप हुँदै थियो तर पनि उनीहरू आफ्नै धर्म, संस्कृति र संस्कार अनुसारका मौलिक चाडपर्वहरू मनाउने गर्थे । जब वि. स. १९१० मा प्रथम पटक मुलुकी ऐन जारी भयो तत्पश्चात् दसैँ नमान्ने आदिवासी जनजातिहरूलाई सार्वजनिक स्थलमा उभ्याएर फाँसी वा आजीवन कारावासको कठोर सजाय दिइन्थ्यो । अग्रजहरू बताउनुहुन्छ – शासकहरूले दसैँ मनाएको प्रमाण देखाउनका लागि हिन्दु पात्रो अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म राँगा, बोका, हाँस र कुखुरा काटी आ–आफ्नो घरको मूल ढोकाको दायाँ–बायाँ भित्तामा हातको पञ्जा देखिने गरी रगतको छाप लगाउनु पर्ने बाध्यकारी नियम आदिवासी जनजातिहरू माथि लादियो । तर यो नियम हिन्दुहरूलाई लाग्दैन थियो ।

यहाँनेर प्रश्न उठ्छ— हिन्दुहरूले फूलपातीको दिनदेखि नवमीको दिनसम्म राँगा, बोका, हाँस र कुखुरा काटी आ–आफ्नो घरको मूल ढोकाको दायाँ–बायाँ भित्तामा हातको पञ्जा देखिने गरी रगतको छाप लगाउनु नपर्ने तर अहिन्दु आदिवासी जनजातिहरूले लगाउनु पर्ने बाध्यकारी नियम लगाइयो किन ? राष्ट्रिय पर्व अर्थात् चाड हो भने किन हिन्दुहरूको महान चाड भनेर मिडियाबाजी गरिन्छ ? अनि राष्ट्रलाई आर्थिक घाटा हुने गरी एक हप्तासम्मको राष्ट्रिय बिदा दिइन्छ, आखिर के—का लागि ? यी र यस्ता थुप्रै प्रश्नहरूको उत्तर खोज्ने प्रयास हामी आदिवासी जनजातिहरूले कहिल्यै गरेनौँ ।

दसैँ आयो हिन्दुहरूको महान पर्व, तिहार आयो हिन्दुहरूको महान पर्व, तीज आयो हिन्दु नारीहरूको महान चाड । के हिन्दुहरूले मनाउने चाडपर्वहरू मात्रै राष्ट्रिय पर्व हो ? सबै जातजाति र धर्मालम्बीहरुले मनाउने पर्वहरू राष्ट्रिय पर्व हुन सकेनन् किन ? यही हो सबै जातको साझा फूलबारी ? यिनै प्रश्नहरूको उत्तर खोज्ने क्रममा आदिवासी जनजातिहरूको तमाम चाड–पर्व र संस्कृतिहरू मनाउनका लागि बिदा नदिने तर हिन्दुहरूको चाड–पर्व दसैँ–तिहारलाई मात्रै राष्ट्रिय चाडको रूपमा सरकारी-सार्वजनिक बिदा दिने गरेको पाइन्छ ।

यसरी राज्य सत्तादेखि समाजसम्म पनि विविध कसिमिले अहिन्दु आदिवासी जनजातिहरूको चाड–पर्व र संस्कृतिहरूलाई बहिष्करणमा पार्दै संवैधानिक एवं कानूनी रूपमा भइरहेको शोषण र दमनको कारण उत्पीडनमा परेको आदिवासी जनजातिहरूले धर्मनिरपेक्ष राज्यको माग गरे । संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनिएको छ तर पनि हिजोको जस्तै हैकमवादी शोषण र दमनको घटना अझै यदाकदा घटिरहेको पाइन्छ । आदिवासी जनजाति माथि राज्यले गरेको शोषण र दमनको इतिहास अध्ययनले आज कसैलाई दसैँ नमनाउन प्रेरित गर्छ र गरिरहेको छ । अनि जातीय अहङ्कारले ग्रसित अतिहिन्दुवादी मानसिकता बोकेका पण्डितहरूको हैकमवादी एवम् स्वार्थपूर्ण चिन्तन अङ्गीकार गरिएको दसैँ बहिस्कार गर्छ ।

हिन्दुहरूको महान पर्व एवम् राष्ट्रिय चाड भन्नाले यहाँ हिन्दुहरूको मात्र बसोबास छ भन्ने बुझाउँछ । यही हिन्दु समाजमा माथि उल्लेख भएको राम र रावणको युद्धकथामा भनिए झैँ रावणलाई शक्तिच्युत गरिसके पश्चात् विजयको खुसीयालीमा दसैँ पर्व मनाउन थालेको बताइन्छ । राम र रावण अनि महाशक्ति स्वरुपा भगवती दुर्गाको कथालाई महान मान्दै आफूलाई राम र दुर्गाको सन्तान मान्नेहरू अझै अरू आदिवासी जनजातिहरूलाई जङ्गली सोचिहरेका हुन्छन् । कहिले आदिवासी जनजातिहरू जङ्गली हुन् भन्ने कहिले हिन्दुहरूको महान पर्व एवम् राष्ट्रिय चाड भन्ने शब्दको प्रयोगले तामाङ, गुरुङ, मगर, राई, लिम्बु, थकाली, चेपाङ, थारु, धिमाल लगायतका आदिवासी जनजातिहरूले दसैँ पर्वलाई बहिस्कार गर्दै जान थालेका छन् ।

यसरी दसैँ पर्व त्याग्दै जाने क्रममा किन दसैँ आदिवासी जनजातिहरूको पर्व बन्न सकेन ? आदिवासी जनजाति तामाङ समुदायको ‘म्हेनङ’ पर्वमाथि दसैँ पर्व कसले, कसरी, कहिले र किन खप्ट्याइएको थियो ? भन्ने प्रश्न उब्जिरहेको अवस्थामा अन्य समुदायको मौलिक चाडपर्व माथि पनि दसैँ खप्ट्याइएको इतिहास बाहिर आइरहेको होला र अवश्य पनि आउनुपर्छ । तथ्यगत रूपमा माथि उल्लेखित प्रश्नको उत्तर प्राप्त गर्न नसकेसम्म अर्थात् अलिखित इतिहासलाई एउटा मूर्त इतिहासको रूपमा दरबारको चाकरीमा लेखिएका कालो इतिहास सामु दरविलो तरिकाले पेस गर्न नसकेसम्म आदिवासी जनजातिहरूलाई सधैँ अन्यौलताले सताइरहने छ । तसर्थ दरबारबाट निर्देशित कथित इतिहासकारहरूले लेखेका ती दरिबारिया चाकरीवादले भरिपूर्ण इतिहास सही थियो वा गलत ? आजका अनुसन्धानकर्ता, लेखक, पत्रकार एवम् सचेत समूह तथा व्यक्तिहरूले गम्भीर ढङ्गले केलाउन जरुरी छ ।

दरबारबाट निर्देशित कथित इतिहासकारहरूले लेखेका ती दरिबारिया चाकरीवादले भरिपूर्ण इतिहासलाई युग पाठकले ‘माङ्गेना’ मा गलत रहेको दाबी गरेका छन् । लेखक पाठकले परम्परागत गलत इतिहासको ‘माङ्गेना’ मार्फत जसरी चिरफार गर्ने प्रयास गरेका छन्, त्यसरी नै भरपुर अध्ययनसहित खोज–अनुसन्धान गरेर दसैँ लगायतका हिन्दु पर्वको नाममा आदिवासी जनजातिहरूको थुप्रै मौलिक चाडपर्वहरूमाथि चरम दमन गरिरहेको इतिहासलाई बाहिर ल्याउन आवश्यक छ । तामाङ समुदायले परापूर्व कालदेखि मनाउँदै आइरहेको ‘म्हेनङ’, ‘ग्होने ङ्ह्या’ र ‘नाम्दुङ ङ्ह्या’ आदि मौलिक पर्व हिन्दुको दसैँ, जनै पूर्णिमा र चैत्र पूर्णिमा जस्ता चाडपर्वमा विलीन हुन पुगेका छन् । तामाङहरूको ‘म्हेनङ’, ‘ग्होने ङ्ह्या’ र ‘नाम्दुङ ङ्ह्या’ जस्तै अन्य आदिवासी जनजातिहरूको थुप्रै मौलिक चाडपर्वहरू पनि कुनै न कुनै नामको चाडपर्वको नाममा नामेट पारिएका होलान्, यसतर्फ आदिवासी जनजातिहरूको ध्यान जानुपर्छ ।

वास्तवमा ‘म्हेनङ’ तामाङ समुदायले महान पर्व (चाड)को रूपमा मनाउनु भन्दा अगाडिदेखि नै गणना गर्दै आइरहेको तामाङ महिनाको नाम हो । यसलाई तामाङ स्थान विशेष ‘म्हेनङ’ र ‘म्हेनिङ’ भनी उच्चारण गर्ने गरिएको पाइन्छ । जे जसरी उच्चारण गरिए तापनि ‘म्हेनङ’ तामाङ समुदायले गणना गर्ने नवौँ महिनाको नाम हो । यसले सूर्य पात्रो अनुसारको असोज र कार्तिक महिनाको आधा–आधा भेट्छ ।(मोक्तान, २०७२)

चन्द्र पात्रोअनुसार तामाङ भाषामा महिनाको नाम: १. ख्रेला, २. बेने, ३. नाम्दुङ, ४. दुगु, ५. ड्वाफ्रे, ६. बेल्बो, ७. ग्होने, ८. यन्दे, ९. म्हेनङ, १०. सोङराती, ११. बोइतापा र १२. तापा हुन् ।

विशेष गरी कथित नेपाल एकीकरणको कारण कतिपय आदिवासी जनजातिहरूको अस्तित्व त लोप हुँदै थियो, त्यस पछि जङ्गबहादुर राणाले प्रथम पटक वि. स. १९१० मा मुलुकी ऐन जारी गरे तदनुरूप दसैँ नमान्ने आदिवासी जनजातिहरूलाई सार्वजनिक स्थलमा उभ्याएर फाँसी वा आजीवन कारावासको कठोर सजाय दिन थालियो । विविध तवरले २०४६ अघिसम्म पनि ‘म्हेनङ’ माथि हिन्दु सत्ताले पूर्णतः दसैँ लादेको थियो ।

इतिहासकारहरूको मतानुसार नेपालमा विकसित हुँदै गइरहेको बौद्ध धर्मलाई अवरोध गर्न भारतबाट शंकराचार्यलाई भित्र्याइएको थियो । शंकराचार्यको सल्लाह अनुसार बौद्ध आचार्यहरूलाई हटाएर हिन्दु पात्रो अनुसार वेद पाठ गर्ने संस्कारको विकासलाई टेवा दिन थालियो भने बौद्ध धर्म ग्रन्थ र पात्रोहरू जलाउन लगाइयो । त्यसैको असर आजसम्म पनि परेको छ, त्यही कारणले आज बौद्ध धर्मालम्वी तामाङ समुदायमा चन्द्र पात्रो अर्थात् बौद्ध पात्रोको ज्ञान छैन । बौद्ध पात्रोको ज्ञान नभएको र पात्रो उपलब्ध हुन नसकेकै कारणले पनि तामाङ लगायतका आदिवासी जनजातिहरू सूर्य पात्रो अवलम्बन बाध्य भए । सूर्य पात्रो अवलम्बन गर्दै जाँदा कालान्तरमा असोज महिना ‘म्हेनङ’ को पर्यायवाची हुन पुग्यो ।

तामाङ राज्य तेमालको राजा ह्रेन्जेन दोर्जे बलको शासन समयमा पृथ्वीनारायण शाहका गोरखाली सेनाका कमाण्डर जयकृष्ण कुँवरले धेरै पटक आक्रमण गरेको इतिहासकारहरू बताउँछन् । अन्तमा केही सीप नलागे पछि म्हेनङ मनाउने तयारी गरिरहेका ह्रेन्जेन दोर्जे बललाई मितेरी साइनो गाँसेर अगाडि बढ्न आवश्यक रहेको बताउँदै निःशस्त्र सुनकोसी नदी किनार तेमालबेशीमा दुवै पक्ष उपस्थित हुनको लागि समाचार पठाए । ह्रेन्जेन दोर्जे बल पनि सोही अनुरूप केही घोडचढी सहयोगीहरू सहित तेमालबेशी गए । कुँवरले बलसँग मित लगाउने बहाना गर्दागर्दै हातहतियार प्रयोग गरी वि. स. १८१९ असोज २ मा ह्रेन्जेन दोर्जे बलको गोरखाली सेनाले हत्या ग¥यो । यसरी म्हेनङ मनाउ तयारीमा रहेका आफ्ना राजा ह्रेन्जेन दोर्जेको हत्या भएसँगै रानीले पनि दहमा पनि देह त्याग गरिन । यो इतिहासलाई कुन तामाङको छोराछोरीले नसम्झेला ?

असोज महिना ‘म्हेनङ’ को पर्यायवाची ठान्नु गलत थिएन किनकि यो सब एकलजातीय सोचका कारण भएको थियो । तथापि पञ्चायती शासन व्यवस्थाको अन्त्यसँगै प्रायः आदिवासी जनजातिहरू आ–आफ्नो पहिचानको खोजी गर्न अग्रसर हुन थालेका हुन् । बहुदलीय व्यवस्था लागु भएपछि उठेको दसैँ बहिस्कारको आवाज अझ बुलन्द हुन जरुरी छ । हुन त ‘म्हेनङ’ माथि हिन्दु सत्ताले पूर्णतः दसैँ लाद्न खोजे पनि तामाङ समुदायले ‘म्हेनङ’ मानिरह्यो । उसले ‘म्हेनङ’ मा कहिल्यै दुर्गाको पूजा गरेन, राम र रावण बिचको युद्ध वर्णन रामायण गाएन ।

यद्यपि केही यस्ता तामाङहरू पनि देख्न सक्छौ, जो ठुला–ठुला आदर्शको कुरा गर्छ, टुँडिखेलमा भाषण छाँट्छ तर मित लगाउने बहाना गर्दागर्दै हातहतियार प्रयोग गरी वि. स. १८१९ असोज २ मा ह्रेन्जेन दोर्जे बलको गोरखाली सेनाले हत्या गरेको इतिहास बिर्सन्छ । यसरी म्हेनङ मनाइरहेका आफ्ना राजा ह्रेन्जेन दोर्जेको हत्या गरेको इतिहासलाई कुल्चेर जयकृष्ण कुँवरले ह्रेन्जेन दोर्जेकै रगतमा मुछेको चामलका गेडा निधारमा टाँस्छ, त्यसैमा गर्व गर्छ र छाती फुलाउँछ भने त्यसले आफ्नै इतिहास बिर्सिरहेको छ, स्वयम् आफूलाई बिर्सँदै छ ।

अब आदिवासी जनजाति तामाङ समाजमा तत्कालीन राज्य व्यवस्थाले जबरजस्त लादेको ह्रेन्जेन दोर्जेकै रगतमा मुछेको चामलका गेडा निधारमा टाँसेर दसैँ मनाउने परम्परा अन्त्य हुन जरुरी छ । त्यसका लागि आजका अनुसन्धानकर्ता, लेखक, पत्रकार एवम् सचेत समूह तथा व्यक्तिहरूले गम्भीर ढङ्गले केलाएर बाहिर ल्याइएको तथ्यपरक इतिहास गाउँ, टोल अनि बस्तीमा रहेका युवाहरू माझ पुर्‍याउन आवश्यक छ ।

हामी अझै दरबारको चाकरी गर्दै लेखिएका वा दरबारको चाहाना अनुसार लेख्न बाध्य पारिएका काला इतिहासमा नै रुमल्लिइरहेका छौँ । हामी अब हरेक कुरामा रचनात्मक हुनुपर्छ । हामी किन पछि पर्यौँ, किन पछि परिरहेका छौँ भन्ने कुरा बुझ्न र बुझाउन आवश्यक छ । अनि हामीले यो पनि बुझ्न जरुरी छ— इतिहास बलियाहरूको पक्षमा लेखिएको छ, बलियाहरूबाट आफ्नो स्वार्थ पूर्ति गर्न सकिने लालसामा इतिहासकारहरू फसे र उनीहरूकै चाकरीमा इतिहास लेखे । के कमजोरहरूको त्यो इतिहास निर्माण गर्नमा कुनै हात थिएन ? उनीहरूको इतिहास लेखिनुपर्छ कि पर्दैन ?

हिन्दु समाजमा व्याप्त रहेको माथि उल्लेखित राम र रावणको युद्धकथा र मित लगाउने बहाना हातहतियार प्रयोग गरी वि. स. १८१९ असोज २ मा गोरखाली सेनाले ह्रेन्जेन दोर्जे बलको हत्या गरेको इतिहास उस्तै लाग्छ, दुवै घटना बहानामै भएका थिए । हाम्रा लागि ९ दिने रक्तरञ्जित युद्ध र विजया दशमीको टिका ह्रेन्जेन दोर्जेको रगतमा मुछेको चामलका गेडा सिवाय अरू केही होइन ।

अन्ततः यसपालिको ‘म्हेनङ’ वा ‘म्हेनिङ’ ले सम्पूर्ण देशवासीहरूमा सुख–शान्ति एवम् समृद्धिको बहार छाओस् । तामाङहरूले ह्रेन्जेन दोर्जेको रगतमा मुछेको चामलका गेडा निधारमा टाँस्न छाडेर आफ्नो धर्म र संस्कृतिमा रमाउन सकुन् साथै सबैले स्वतन्त्रतापूर्वक आफ्नो चाड–पर्व मनाउन पाउन्, कसैको धर्म र संस्कृतिमाथि खिसीटिउरी गर्ने प्रचलन अन्त्य होस् सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना ! ! ! (-धर्मचन्द्र योञ्जन तामाङ, तेमाल अनलाइन)

Tags:

सम्बन्धित समाचार