शुक्रबार , फागुण १८, २०८०

किराँतीहरुको महान चाड साकेलाको सौन्दर्यशास्त्र

image

किरात राई जातिको महत्वपूर्ण चाडपर्वमध्ये पर्छन्, उधौली र उभौली । मंसिर पूर्णिमाको दिन मनाउने उधौली तथा वैशाख पूर्णिमाको दिन मनाउने उभौली राई जातिको पितृ र प्रकृतिप्रतिको अनुष्ठान हो ।

उधौली र उभौलीमा पूजा–आराधना गर्ने तथा नाचगान गर्ने विधि एउटै हुन्छ । फरक यही हो– उभौलीमा खेतीपाती राम्रो होस्, सबैमा शान्ति, समृद्धि होस्, प्राकृतिक विपत्ति आइनलागोस् भनी कामना गर्दै पूजा–अर्चना गरिन्छ । उधौलीमा प्रकृति र पितापुर्खाको आशीर्वादले गर्दा खेतीपानी, अन्नपात राम्ररी उब्जनी भयो भनी उनीहरू (पितृ र प्रकृति) प्रति कृतज्ञता ज्ञापनसहित उत्सव मनाइन्छ । यी उत्सवमा साकेला गीतको विशेष महत्व हुन्छ । उधौली र उभौलीका बेला मात्र गाइने हुनाले साकेलालाई पर्वगीत पनि भनिन्छ । त्यस्तै, नृत्यसँगै गाइने हुनाले यसलाई नृत्यगीतका रूपमा समेत लिन सकिन्छ । किरात राई जातिभित्र विभिन्न प्रकारका भाषिक सम्प्रदाय छन् । त्यसैले उभौली, उधौलीलाई उनीहरूले आ–आफ्ना भाषा अनुसार साकेला, साकेवा, साकेन्वा, दँदेवा, साँब्रे, खाउमो, चण्डीनाच आदि नामबाट सम्बोधन गर्छन् । भाषिक रूपमा यसको नाम अलग–अलग भए पनि मूलतः यस पर्वमा पितृ र प्रकृतिको पूजा–आराधना गरिन्छ । किरात राईले वर्षको दुईपटक विशेष तरिकाले धुमधामसँग उभौली र उधौली मनाउने गर्छन् ।

उत्पत्ति र नामकरण

साकेला पर्व कहिलेदेखि, केका लागि, कसरी, सुरु भयो भन्ने सन्दर्भमा विभिन्न मत पाइन्छन्, जुन विभिन्न मिथक कथासँग सम्बन्धित छन् ।

एउटा कथा छ– ‘नाइमा’ले पारुहाङको गर्भबाट छोराहरूलाई जन्म दिएपछि तिनीहरूको न्वारन गर्न चिपुङ्कावा (गङ्गटो) र तमिमिवासा (धोबिनी चरा) लाई कलिया बनाई पठाइन् । तमिमिवासा पारुहाङ भएको ठाउँमा पुगी सिलिलिपा गरिरहिन् । सिलिको अर्थ भाका टिप्नु र लोपाको अर्थ हल्लिनु वा नाच्नु हुन्छ । यसरी ‘भाका टिपी हल्ली–हल्ली नाच्ने’ चलन चल्यो ।

अर्को कथा छ– किराती राजाले आफ्नो गुमेको राज्य फर्काउनका लागि शक्ति प्राप्त गर्न पारुहाङ र सुम्निमाका छोरा हेन्कुबुङको पूजा–आराधना गर्ने विचार गरे । त्यसैले उनले आफ्नी छोरी सोइसोइलालाई हेन्कुबुङको प्रतिमा बनाउन लगाई पूजा–आराधना गर्न थाले । यसै बेलादेखि उभौली र उधौली प्रारम्भ भएको हो ।

अर्को कथा छ– सुम्निमाका कान्छा छोरा हुँछाबाट सत्यरूपाको जन्म भई दक्षमरुमतिसँग विवाह भयो । सत्यरूपाको एउटी चेली पनि थिइन् । उनको विवाह धुमधामसँग सत्यरूपाले गरिदिइन् । त्यसैबेलादेखि मनोरञ्जन गर्ने उद्देश्यले साकेला गाउन र नाच्न थालिएको हो । कसैले यसको सुरुवात किराती चेलीहरू तायामा, खियामा र उनका भाइ हेत्छाकुप्पाबाट साकेला नृत्यको प्रारम्भ भएको हो भन्छन् ।

सांस्कृतिक अध्येता डा. खगेन्द्रबहादुर राईका अनुसार, सर्वप्रथम नाग राजारानीले आफ्ना छोरी–ज्वाइँ हुँछा र सिक्रीमालाई ढोल र झ्याम्टा दाइजोका रूपमा दिएका थिए, यी बाजा वर्षको दुईपटक (पृथ्वी लोकमा खेतीपाती लगाउने बेला र खेतीपाती उठाएपछि) बजाएर नाग राजारानीको सम्झना गर्नू भनी । त्यसपछि साकेला पर्व सुरु भयो ।

अर्को कथा छ, खुचुलुप्पा (राई जातिको पितृ, मिथकीय पात्र) र छम्मधम्म (नाग जातिको पितृ) को पूजा गरिएपछि नियमित र परम्परागत रूपमा साकेला पर्वको प्रारम्भ भयो । यी पितृले हरेक वर्ष उभौली (सूर्य उत्तरायण) वैशाख पूर्णिमालाई शुभ साइत मानी त्यसै दिन नागपूजा गरी खेतीपाती सुरु गर्ने र उधौली (सूर्य दक्षिणायण) मंसिर पूर्णिमालाई शुभ साइत मानी नागपूजा गरी आफूहरूले लगाएको बाली राम्रो भएकामा नाग राजारानीप्रति चढाएर कृतज्ञता जनाउने चलन चलाए । यसरी नागपूजा गरिएको थानवरिपरि सबै भेला भएर ढोल, झ्याम्टा बजाउँदै एकै साथ नाच्ने (सिली) को सुरुवात भयो ।

धनबहादुर राईका अनुसार, खास गरेर यो कृषि व्यवसायसँग सम्बन्धित पूजाविधि हो । मानव जाति उत्पत्ति हुनासाथ कृषिमा आबद्ध भएन । विकास क्रमको हजारौं वर्षपछि मात्र मानवले कृषि युगमा फड्को मारेको हो । उभौलीमा अन्नबाली राम्रो होस् भनी र उधौलीमा अन्न फलाइदिएकामा प्रकृति मातालाई कृतज्ञता जाहेर गरिने भएकाले यी पर्व ढुंगेयुगबाट कृषियुगमा प्रवेश गरेपछि आरम्भ भएको हो । प्राचीन मानवको जीविकोपार्जन सिकारबाट मात्र सम्भव हुन छाडेपछि उनीहरूले सामूहिक खेती गर्न थाले । उनीहरूको जनसंख्यासँगै आवश्यकता पनि वृद्धि हुँदै गयो । यसरी उनीहरूको बाँच्ने प्रमुख आधार कृषि हुन पुग्यो । यसपछि उनीहरूले बालीनाली राम्ररी फलोस् भनी आफ्ना इष्ट देवतालाई पुकार्ने र बालीनाली भित्र्याएपछि कृतज्ञता जाहेर गर्दै मनोरञ्जन गर्ने क्रममा उधौली र उभौलीको शुभारम्भ भएको हो । यसरी पितृ र प्रकृतिलाई श्रद्धापूर्वक सम्झने, पूजाआजा गर्ने क्रममा यसको सुरुवात भएको हो ।

साकेला पूजा 

उधौली र उभौलीमा किरात राई जातिका पुजारी (नाक्छोङ) ले सर्वप्रथम साकेला पूजा गर्ने सामूहिक थान निर्माण गर्छन् । थान रहने ठाउँमा पानीको स्रोत वा मूल र रूख अनिवार्य मानिन्छ । त्यस थानमा मूल नाक्छोङले विधिपूर्वक साकेला (पितृ र प्रकृतिको स्वरूप ढुंगा) पूजा सकेपछि मात्र अन्य सबैले आ–आफ्ना घरमा पितृपूजा गर्छन् । पितृपूजा गर्दा बिजुवा वा घरका ज्येष्ठ सदस्यले आफ्ना कुलदेवताको पूजा गर्छन् । यसरी पूजाआजा सम्पन्न भएपछि सबै गाउँघरका बूढापाका, युवा, बालबालिका भेला भएर साकेला नाच्ने गर्छन् । पूजा सम्पन्न भएपछि त्यहाँदेखि नाच्दै गाउँदै पूजाथान नजिकै खेतका गरा, बारीका पाटा वा चौर आदि सजिलो ठाउँमा पुग्छन् ।

त्यहाँ भेला भई नाच्ने मैदानको बीच भागमा सेउली गाडेर त्यसैको वरिपरि गोलाकार रूपमा साकेला नाच्दै गीत गाउँछन् । यसरी पूजा गरेको दिन अर्थात् मंसिरे पूर्णिमा र वैशाखे पूर्णिमाका दिन गाउँघरमा कुनै पनि प्रकारको कृषिकर्म गरिँदैन । उक्त दिन सबैभन्दा पहिले साकेला थानमा नाचेपछि दोस्रो दिनदेखि घरघरमा पालैपालो नाच्दै गाउँदै गाउँभरि डुल्ने गरिन्छ । यसरी हरेक किरात राई गाउँमा लगभग पूर्णिमादेखि पञ्चमीसम्म लगातार साकेला नाचिन्छ । साकेला नाचेको घरधनीले आफ्नो गच्छे अनुसार जाँड, रक्सी, मासु, तीते (कुखुराको भुत्ला डढाएर बनाएको विशेष खाना), फलफूल आदि बाँड्ने गर्छन् । यसरी साकेला गीत उधौली र उभौलीको समयमा धुमधामसँग गाउने गरिन्छ ।

प्रयोग क्षेत्र र प्रयोक्ता

साकेला गीतको प्रयोक्ता मूलतः किरात राई जाति हुन् । किरात राई जातिभित्र पनि कतिपय राईमा साकेला पर्व मनाउने तथा साकेला गीत गाउने प्रचलन छैन ।

साकेला पर्व मुख्य रूपमा खोटाङ, भोजपुर, सुनसरी, उदयपुर, मोरङ जिल्लामा धुमधामसँग मनाइन्छ । धनकुटाका राईहरू (छिन्ताङे, खोकुले, आठपहरिया), सोलुखुम्बु र ओखलढुुंगाका राईहरू (थुलुङ, कुलुङ वाम्बुले), संखुवासभाका लोहोरुङ राई तथा तराईका विभिन्न स्थानमा बसोबास गर्ने किरात राईहरूमा साकेला त्यति प्रचलित देखिँदैन । तर, साकेला पर्वका रूपमा नमनाए पनि तोश/तोशी आदि अर्कै रूपमा उनीहरूले उधौली र उभौली मनाउने गर्छन् । किरात राई जातिभित्र खासगरी बान्तवा, साम्पाङ, चाम्लिङ, पुमा, खालिङ आदिले साकेला पर्व धुमधामका साथ मनाउने गर्छन् । राईहरूको घना बस्ती भएका ठाउँमा बसोबास गर्ने गैरराईहरू समेत साकेला पर्वमा भेला भई नाचगान गर्छन् ।

विशेषता

नेपाली लोकगीतको आ–आफ्नै विशेषता छन् । किरात राई जातिमा प्रचलित साकेला गीतको पनि विशेषता छ । सामूहिक गायन, नृत्य तथा अभिनयसहित गाइनु, सबै उमेर तथा महिला–पुरुषद्वारा गाइनु, विशेष पर्व (उधौली र उभौली)मा मात्र गाइनु वा यस समय घरघरै डुल्दै हप्तौँसम्म गाइनु, ढोल र झ्याम्टाको तालमा गाइनु, गीत तथा नृत्यकै माध्यमबाट पर्व मनाइनु आदि यस गीतका प्रमुख विशेषता हुन् ।

प्रस्तुतीकरण

वस्तुतः साकेला प्रकृतिपूजामा आधारित नृत्यनाटिका हो । यसलाई नृत्य तथा अभिनयका साथ प्रस्तुत गरिन्छ । बिनानृत्य साकेला गीत प्रायः गाइँदैन ।

यसमा वाद्यवादन अनिवार्य छ । साकेला गाउँदा ढोल, झ्याम्टा, चमर (चौरीको पुछार), तरबार, सेउली, खुर्पा आदि सामग्रीको उपयोग गरिन्छ । ढोल र झ्याम्टाको तालमा उपस्थित सबैजना गोलाकार रूपमा उभिएर उत्साहका साथ नाच्छन् । केटाको तर्फबाट एकजना नृत्य निर्देशक (सिलिमाङ्पा) तथा केटीको तर्फबाट सिलिमाङ्मा छनोट गरिएको हुन्छ । उनीहरूकै निर्देशन अनुसार नृत्यको सिली (नाच्ने तरिका) फेरिन्छ । साकेला नृत्यमा अनेकौं प्रकारको सिली (नृत्यको अभिनयात्मक ढाँचा) रहेका छन् । ती सिली (अभिनयात्मक नृत्य ढाँचा) फेरि–फेरि साकेला गाइन्छ ।

साकेला नृत्य तथा गायनमा सिलीको महत्वपूर्ण भूमिका हुन्छ । सिली अनेकौँ प्रकारका हुन्छन् । खासगरी प्रकृति, जीवजन्तु तथा मानिसका जीवनचर्याका अभिनय साकेला नृत्यमा गरिन्छ । अर्थात् बीउ छरेको, रोपेको, गोडमेल गरेको, काटेको, झाँटेको, बोकेको, भकारीमा थन्काएको, ढिकीमा कुटेको, पकाएको, खाएको जस्ता अभिनयमूलक नृत्य प्रस्तुत गरिन्छ । योसँगै विभिन्न प्रकारका जीवजन्तु तथा अन्य कृषिकर्मको अभिनयमूलक सिली पनि प्रस्तुत हुन्छन् । ढोल–झ्याम्टाको तालमा खुर्पा, छिर्लिङ्गे, सेउली, चमर आदि हल्लाउँदै मौलिक वेशभूषासहित गोलाकार रूपमा नृत्य, अभिनय गर्दै साकेला गीत गाइन्छ ।

साकेला नृत्य तथा गायनमा सबै उमेरका सहभागी भए पनि प्रायः युवायुवती प्रमुख भूमिकामा रहन्छन् । साकेला गीत एक्लै, सामूहिक वा दोहोरी रूपमा पनि गाइन्छ ।

लय वा भाका

साकेला गीतका विभिन्न लय र ढाँचा छन् । यद्यपि मुख्य रूपमा ‘सोइसोइला’, ‘स्यामुना’, ‘है है ला ला लै लै’ आदि लय तथा ढाँचा गायन परम्पराका हिसाबले चर्चित छन् ।

यसको लय नृत्यमय खालको हुन्छ । ढोल झ्याम्टाको झ्याम–झ्याम, ढ्याङ्–ढ्याङ तालसँगै साकेला गीत सुन्नासाथ नाचौँ–नाचौँ लाग्छ । यसको ताल छिटो–छिटो नाच्न मिल्ने खालको हुन्छ । जुन २/४ बिट अर्थात् खेम्टा तालमा हुन्छ । साकेला गीत प्रायः ८ अक्षरमा संरचित हुन्छ । जस्तै :

सिन्कौली सेउली सेलै हो  

नाच्ने र गाउने बेलै हो  

सोइसोइला हो कुर्रा हा हा।

तरकारी मिठो किनीमा

मोटी नानालाई चिनिनँ

सोइसोइला हो कुर्रा हा हा ।

उपरोक्त साकेला गीतमा आठ/आठ अक्षर छन् । कतिपय साकेला गीतमा १० अक्षर, १२ अक्षर तथा १६ अक्षरसम्म आएका हुन्छन्, जुन यसको लयमा भर पर्छ । साकेला गीतमा मुख्य गरेर ‘सोइसोइला हो कुर्रा हा हा’, ‘आहै स्यामुना’, ‘एनी लै लै बरी लै लै’ तथा ‘है है ला ला है है ला’ जस्ता भाकाको प्रयोग हुन्छ ।

स्थायी, अन्तरा, थेगो, रहनी

साकेला गीतमा स्थायी र अन्तराभाग हुँदैन । यसमा केवल फेँद र टुप्पा अर्थात् माथिल्लो पंक्ति र तल्लो पंक्ति दुई लाइनमा गीत संरचित हुन्छ । थेगो वा रहनीमा ‘आहै’, ‘स्यामुना’, ‘सोइसोइला हो कुर्रा हा हा’, ‘है है ला ला है है ला’, ‘ए नि लै लै हो बरी लै लै’ आदि पाइन्छ । थेगो, रहनी, टुक्का आदिको प्रयोगले साकेला विशिष्ट गीत बन्न पुगेको छ । यो गीतको अन्त्यमा रहनी अनिवार्य रूपमा आएका हुन्छन् । जस्तै:

नौ गेडी ढुङ्ग्री बुलाकी

यसपाली घरबार होला कि ?

सोइसोइला हो कुर्रा हा हा (रहनी)  

साग छ साइँली साग छ साइँली  

आहै रायो तोरीको साग छ स्यामुना  

सत्य होला किर्रे होला  

आहै तिम्रो माया लाग्छ स्यामुना (स्यामुना– थेगो)  

उपरोक्त पंक्तिमा ‘सोइ सोइला हो कुर्रा हा हा’ रहनीको रूपमा र ‘स्यामुना’ थेगोका रूपमा आएको छ ।

विषयवस्तु

खेती लगाउने र भित्र्याउने समय गाइने गीत भएकाले साकेला गीतलाई ऋतुगीत भन्न सकिन्छ । साकेला गीतमा पितृ–प्रकृति, किरात राई जातिको संस्कार, माया–प्रीतिसम्बन्धी वर्णन पाइन्छ । पितृ र प्रकृतिलाई अन्नबाली फलाइदिन प्रार्थना र अन्नबाली फलाइदिएकामा कृतज्ञता व्यक्त हुने हुँदा साकेला गीतमा दुःखान्तभन्दा बढी सुखान्त भाव व्यक्त गरिन्छ ।

सिन्कौली सेउली सेलेले

नाचीमा जाउँ है पेलेले

सोइसोइला हो कुर्रा हा हा।

छुपुमा छुपु धान रोप्नु

हुँदैन नाना मुख छोप्नु

सोइसोइला हो कुर्रा हा हा ।

प्रस्तुत गीतमा सबै मुख नछोपी नलजाई नाच्ने, धान रोप्ने, रमाइलो गर्ने भाव व्यक्त भएका छन् ।

कथन पद्धति

साकेला गीतको कथन पद्धति वर्णनात्मक ढाँचाको हुन्छ । यो गीतमार्फत कुनै पनि विषयको वर्णन सूक्ष्म रूपमा गरिन्छ । एकोहोरो रूपमा होस् या दोहोरी/दोहोरो रूपमा होस्, कुनै एउटा विषयको वर्णन गर्‍यो अनि अर्को चरण गाउँदा अर्कै विषयको वर्णन गरिन्छ । यसमा कुनै आख्यानात्मक या व्याख्यात्मक शैलीलाई अपनाइँदैन । यस गीतमा स्थायी र अन्तराको पनि अर्थगत तालमेल हुँदैन । माथिल्लो पङ्क्ति र तल्लो पंक्तिबीच केवल अनुप्रासको सम्बन्ध रहन्छ ।

भाषा

प्राचीन किरातीहरू आफ्नै भाषामा आफ्ना सबै प्रकारका मौलिक गीत गाउने गर्थे, तर वर्तमान समयमा देखिएको साकेला गीत नेपाली भाषामै रचना या संकलन गरिएका गीत हुन् । किरात राई जातिको आफ्नै मौलिक भाषामा गाउने परम्परा हाल लोप भइसकेको छ । राई भाषाहरू विविध कारण अलग–अलग देखापर्न थालेदेखि नै सबै राईको साझा साकेला गीत सबै थरी, सबै भाषी राईले बुझ्ने कुनै माध्यम भाषामा गाउन थालियो, जुन नेपाली भाषा हुन पुग्यो । नेपाली भाषाको प्रयोग व्यापक हुन थालेपछि, या नेपाली भाषाको प्रभाव किरात राई जातिमा पर्न थालेपछि साकेला गीत नेपाली भाषामै गाउन थालिएको हुन सक्छ । नेपाली भाषामै साकेला गाइए पनि उक्त गीतमा राई जातिको मौलिक भाषिक अवशेष भने प्रशस्त पाइन्छ ।

अलङ्कार

साकेला गीत एक सरल, सहज तथा नृत्यमय गीत हो । यो गीत जुनसुकै उमेरकाले पनि गाउने भएकाले यो सरल भाषामा गाइन्छ । यो गीतमा कुनै विम्ब तथा प्रतीकको प्रयोग पाइँदैन । तर, कतिपय गीत हल्का विम्बात्मक, प्रतीकात्मक तथा अलङ्कृत हुन सक्छन् । विशेषतः यसमा शब्दालङ्कारको प्रयोग पाइन्छ । खासगरी अन्त्यानुप्रासको प्रयोग भेटिन्छ । जस्तै :

सिकारी ज्यानको गोलीले

लठ्ठैमा पार्‍यो बोलीले

सोइ सोइला हो कुर्रा हा हा।

ढोल बज्यो ढ्याङ–ढ्याङ गजैले

नाचिमा जाउँ है मजैले

सोइ सोइला हो कुर्रा हा हा ।

उपरोक्त पंक्तिमा गोलीले, बोलीले, गजैले, मजैले जस्ता अन्त्यानुप्राशको प्रयोग गरिएको छ।

दर्शक या श्रोता  

साकेला गीत वाद्यवादन र नृत्यसँगै गाइने भएकाले दर्शक तथा श्रोताको संख्या उल्लेख्य हुने गर्छ । यसै पनि यो सामूहिक गीत हो । गाउँभरिका किराती तथा गैरकिराती भेला भएर नृत्य तथा गीत गाउने हुँदा यसमा दर्शक तथा श्रोता प्रशस्त हुने गर्छन् ।

  • लेखक – डा. भक्त राई (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति विज्ञका रूपमा कार्यरत डा. राई नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष हुन्।)

सम्बन्धित समाचार