सरकारी स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलियालगायत आधा दर्जन बढी मुलुकको भिसा छ ।
काठमाडौं । गएराति नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू मानसिक रूपमा विक्षिप्त बनेको विवरण समाजिक सञ्जालमा ‘पोस्ट’ गर्नु सँगै उनी कहाँ छन् भन्ने विषय फेरि एकपटक चर्चाको विषय बनेको छ ।
एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछाने कहाँ छन् भन्ने अहिले सम्म छैन । तर, उनी दुबई वा सिंगापुरमा रहेको अनुमान गरिँदै आएको छ ।
सन्दीपले आफूविरुद्ध झुटा गतिविधि भइरहेको दाबी गर्दै नेपाल आएर कानुनी लडाइँ लड्ने उक्त पोस्टमार्फत जनाएका छन् । तर, उनी नेपाल कहिले आउँछन् भन्ने बारे भने उनले खुलाएका छैनन् ।
लामिछानेले पोष्ट गरेको भावनात्मक पोष्टले प्रहरी अनुसन्धानलाई कुनै प्रभाव नपार्ने प्रहरी बताउँछन् ।
सरकारी स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलियालगायत आधा दर्जन बढी मुलुकको भिसा छ ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगमाथि जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दर्ता भएको थियो । नाबालिगका आफन्तले दर्ता गराएको जाहेरीमा भदौ ५ गते राति सन्दीपले दुईपटक बलात्कार गरेको उल्लेख छ ।
साँझ नगरकोट घुमाउन लगेर मध्यराति काठमाडौंस्थित ‘होटल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । उक्त घटना भएको भनिएको भोलिपल्ट ६ भदौमा लामिछाने ट्वान्टी–२० सिरिज खेल्न केन्या प्रस्थान गरेका थिए ।
त्यसपछि हालसम्म उनी सम्पर्कविहीन छन् । सन्दीपले आफूलाई कानुनी सहयोग गर्न नेपाल क्रिकेट संघ (क्यान)का अधिकारीहरुलाई समेत आग्रह गरेका थिए ।
सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिइसकेको छ । काठमाडौं प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सबै नाका र जिल्ला प्रहरी कार्यालयहरुलाई यसबारे पत्राचारसमेत गरिसकेको छ ।