सन्तुलन बिनाको विकासले निम्त्याउने जोखिम र न्यूनीकरणको उपाय
हरेक वर्षायाममा तराईमा डुवान, बाढी तथा पहाडमा पहिरोका कारण अरबौंको धनमाल र सैयौंको ज्यान जाने गरेको छ ।
काठमाडौं । हाम्रो मुलुक मनसुनमा आधारित छ । मनसुनले वर्षा नल्याए खेतीपाती हुँदैन । मनसुनको चार महीना नेपालमा एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी पर्छ भने बाँकी आठ महीनामा २० प्रतिशत । हरेक वर्षायाममा तराईमा डुवान, बाढी तथा पहाडमा पहिरोका कारण अरबौंको धनमाल र सैयौंको ज्यान जाने गरेको छ । अधिकांश यस्ता परस्थिति मानवजन्य क्रियाकलाप बाटै सिर्जना भइरहेको छ जसमा केही नीतिगत कारण हुन सक्छन्, केही नियतजन्य कारण, केही नक्कल गर्ने प्रवृत्ति त केही अज्ञानतावश अनि केही इतिहास बाट शिक्षा नलिएका कारण यो अवस्था सिर्जना भएको पनि हुन सक्छ ।
मानव निर्मित बाँध वा तटबन्धका कारण बाढीले बढी विध्वंश गर्ने गरेको छ । मेसिन लगाएर खोतले पछि खोलाहरूले पनि बाटो बदल्न थालेका छन् । डाँडा पाखामा डोजरले कोतर्न थाले पछि धेरै गाउँबस्ती पहिरोको जोखिममा परेका छन् । यसको बाहिरी कारण वर्खा देखिए पनि मुख्य कारण र दोषी भनेको मानिस नै हुने गर्दछन् ।
पछिल्ला वर्षहरूमा त खोलामात्र हैन डाँडाहरूमा समेत ठूला-ठूला मेसिनहरू प्रयोग गरेर खोस्रन थालिएको छ । प्राविधिक र वातावरणीय अध्ययन विना कलिला पहाडहरू खोस्रिँदा सयौँ वर्ष पुराना बस्तीहरू समेत पहिरोको जोखिममा परेका छन् । नदी वा खोलाको साँध चेपेर बसेका बस्तीमा खोला पस्नु अस्वाभाविक होइन तर सयौं वर्ष पुराना बस्ती पहिरोमा पर्नु भने अप्राकृतिक नै हो ।
सेन्टर फर रिसर्च अन इपिडियोमोलोजी फर डिजास्टर (सिआरइडी) को अन्तर्राष्ट्रिय प्रकोप डेटाबेसको तथ्यांक अनुसार नेपालले विगत ३० वर्ष (सन् १९९० देखि २०१९ सम्म) मा प्राकृतिक प्रकोपहरू बाट मात्र झण्डै साढे ६ खर्ब रुपियाँ (६ अर्ब ३० करोड ९२ लाख अमेरिकी डलर) बराबरको आर्थिक क्षति बेहोरिसकेको छ । यसमा भूकम्पका कारण नेपालले बेहोरेको ९ खर्ब रुपियाँ बराबरीको क्षति जोड्ने हो भने यो आँकडा अझ उच्च हुन जान्छ ।
कसरी गर्ने सकिन्छ विपद् व्यवस्थापन ?
- विपद् जोखिम न्यूनीकरणको लागि भू-विज्ञान, भूकम्प विज्ञान, जल तथा मौसम विज्ञान, भौगोलिक सूचना प्रणाली, दूर संवेदन (रिमोट सेन्सिङ) प्रणाली, पूर्व चेतावनी प्रणाली लगायतका आधुनिक तथा परम्परागत प्रविधिहरुको अध्ययन गर्ने, अनसुन्धान गर्ने र उपयुक्त प्रविधिको उपयोग गर्न आवश्यक हुन्छ ।
- विपद् व्यस्थापन सम्बन्धी कार्यमा गैरसरकारी संस्था, निजी क्षेत्र एवं स्थानीय समुदायलाई संलग्न गराउनु पर्दछ र तिनीहरुको कार्यमा समन्वय एवं सहजीकरण गर्नु पनि आवश्यक हुन्छ ।
- विपद् प्रभावितको खोज तथा उद्धारका लागि सुरक्षा निकाय, खोज तथा उद्धार समूह, फ्लाइङ्ग स्क्वाड, स्थानीय समुदाय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, स्वयंसेवक, प्राविधिज्ञ लगायतका सरोकावाला संस्थालाई परिचालन गराउनु पर्दछ ।
- नदी नियन्त्रण, बाढी, पहिरो, भकूम्प, भू-मण्डलीय तापमान वृद्धि, जलवायु परिवर्तन, भू-उपयोग र विभिन्न प्रकोप तथा विपद्का सम्भावित कारक र न्यूनीकरणका उपायको विषयमा अध्ययन र अनसुन्धान गर्नु पर्दछ ।
- विपद्को घटना हुना साथ त्यस्ता घटना बाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार गराउने र विपद् प्रभावित बासिन्दाको जीउधनको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकाय सँग समन्वय गर्नु पर्दछ ।
- विपद्को समयमा खोज, उद्धार तथा राहत कार्यका लागि तत्काल परिचालन गर्ने स्वयंसेवक ब्यूरो गठन गर्ने र प्रभावित क्षेत्रका नागरिकहरुलाई अस्थायी पुनर्स्थापना तथा सिकाइ केन्द्रको निर्माणमा स्थानीय समदुाय एवं स्वयंसेवकहरू परिचालन गर्नु पर्दछ ।
- पहाडमा सडक मार्गलाई रञ्जुमार्ग र केवलकारले विस्थापन गर्ने र रणनीतिक महत्वका नभई नहुने राष्ट्रिय राजमार्ग बाहेक पहाडी क्षेत्रमा सडक बनाउन प्रतिवन्ध लगाउनु पर्दछ ।
- नदी श्रोतमा अवैज्ञानिक उत्खनन् बन्द गर्ने र आवश्यक पर्ने निर्माण सामाग्री नेपाल सरकारले आफ्नै संयन्त्र बनाई उत्खनन् एवं वितरण गर्नु पर्दछ ।
- माथिल्लो वस्तीलाई डुबानमा पर्ने गरी तल्लो वस्तीमा कुनै पनि प्रकारका वस्तीविकास निर्माणजन्य गतिविधिहरुमा प्रतिवन्ध लगाउने गर्नु पर्दछ ।