बुधबार , जेठ ३०, २०८१

सरयु नदी, उद्गमस्थल र अयोध्याधाम

image

नेपालका अधिकांश नदीहरुको मुहान हिमालय पर्वत नै हो । नदीको अन्तिम गन्तव्य विभिन्न नदीनालाहरुसँग मिसिदै समुन्द्रसम्म हुन्छ । दाङ उपत्यकाबाट उद्गम भई अयोध्यामा गंगानदीमा मिसिने सरयु नदीको रामायणमा निकै महिमागान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थस्थल अयोध्या सरयु नदीको तटमा पर्दछ । भगवान रामको जन्मभूमि अयोध्यामा लाखौं तीर्थाटनका पर्यटकहरु पुग्छन् । अयोध्या पुगेपछि पर्यटकहरुले शान्तिको महसुस गर्दछन् । आध्यात्मिक खोज अनुसन्धानमा लाग्ने पर्यटकहरुले आजभोलि अयोध्या र सरयु नदीको प्राचीनता बारेमा अध्ययन गर्न थालेका छन् ।

दाङको रामपुर सिमलतारा मालझाँक्री सामुदायिक वन क्षेत्र भित्रबाट सरयु नदीको उद्गम भएको छ । नेपालमा कतै बबई, कतै भादा भनिने गरिए पनि भारतमा सरयु नदीका नामले प्रख्यात छ । सरयु नदीको उद्गम क्षेत्र दाङ उपत्यकाको मालझाँक्री गुफालाई मानिन्छ । मालझाँक्री सामुदायिक वन घोराही–१ सिमलतारा नजिक पर्दछ । प्राचीनकालमा ऋषिमुनिहरुले त्यही क्षेत्रमा तपस्या गर्दा पानीको अभाव भएछ । पानीको आवश्यकता पूरा गर्न विष्णु भगवानले बाँण हानेर पानी निकालिदिनुभएको प्रसंग छ । बाँणलाई सर र उत्पत्तिलाई जु भनिएको हुँदा सरजूको उदगमस्थल मालझाँक्री गुफा मानिएको छ । रामायणमा सरयु नदीको निकै महिमा गरिएको छ । ऋषिमुनिहरुलाई स्थानीयहरुले बाबाजी भन्ने र त्यहीबाट पानी निस्केकोले बाबाजी भन्दा भन्दै बाबाई र अन्तमा बबई भएको हो । बबईको नाम बर्दियाको जोगीगाउँसम्म रहन्छ । त्यसपछि भादा नदी भन्ने गरिन्छ । गुलरिया बजारदेखि नेपाल–भारत सीमा पार गरेपछि भादालाई सरयु भनिन्छ । भारतको चौकाघाटमा पुगेपछि सरयु नदी घाघरामा विलय हुन्छ । भेरी कर्णाली नदीलाई भारतमा घाघरा नदी भनिन्छ ।

विश्वकै सबैभन्दा अग्लो त्रिशुल हेर्न र तीर्थाटन गर्न पर्यटकहरु दाङको पाण्डवेश्वर महादेव धारापानीमा आउने गर्दछन् । पाण्डवेश्वर महादेवको मन्दिर सरयु नदीको तटीय क्षेत्रमा पर्दछ । पाण्डवेश्वर मन्दिर तीर्थाटनको लागि ऐतिहासिक मन्दिर पनि हो । यहींबाट पाँच पाण्डहरुले स्वर्ग जाँदा यज्ञ लगाएर स्वर्गद्वारी हुँदै स्वर्ग गएको विश्वास गरिन्छ । दाङ उपत्यका एशियाकै ठूलो उपत्यका हो । दाङ उपत्यकाको सबै खोला र चिराको पानी सरयु नदीमा  मिसिदै पश्चिम दाङको पुरन्धारा झरना भन्दा तल पुगेपछि सल्यानबाट बग्दै आउने शारदा नदी पनि सरयुमा नै मिसिएर राष्ट्रिय निकुञ्जको जगल हुँदै बर्दिया जिल्लामा प्रवेश गर्दछ । सरयु नदी  शुक्रवारमा उत्तरवाहिनी भएर बगेको छ । उत्तर फर्केर बगेको नदीलाई पवित्र मानिन्छ । सरयु नदीको प्राचीनता र महत्व बढ्दै गएपछि अहिले सरयु नदीको उद्गमस्थल घोराही उपमहानगरपालिका–१ सिमलतारामा सरयु राम मन्दिर परिसरभित्र ५५ फिट अग्लो हनुमानको मूर्ति र पान्चायन देवताहरुको मन्दिर निर्माण हुँदैछ । अहिले कतिपय तीर्थाटनका पर्यटकहरु सरयु नदीको उद्गमस्थल खोज्दै सिमलतारामा पुग्ने गर्दछन् ।

सरयु नदीको सभ्यता निकै पुरानो मानिन्छ । विश्वमा धेरैजसो मानव सभ्यताको विकासक्रम नदीहरुको किनारबाट नै भएको छ । इतिहासले इशा पूर्व ४ हजार वर्ष भन्दा पहिलेदेखि नै मानव सभ्यताको सुरुवात भएको मानिन्छ । सिन्धुघाटीको सभ्यता जसको उदाहरण मान्न सकिन्छ । सिन्धु सभ्यता करिब आठ हजार वर्ष भन्दा पनि पुरानो मानिएको छ । धार्मिक ग्रन्थ अनुसार महाभारतकालमा सिन्ध देशका राजा जयद्रथ थिए । यिनले धृतराष्ट्रकी छोरी दुशालासँग विवाह गरेका थिए र महाभारत युद्धमा कौरव पक्षलाई साथ दिएका थिए । महाभारतकालमा सिन्धु देशको सभ्यता चरम उत्कर्षमा पुगेको पाइन्छ । सिन्धु देश कला, संस्कृति, व्यापारमा प्रख्यात थियो । आर्यहरुको वैदिक सभ्यता गगां नदीमा भएको सभ्यता मानिन्छ । मानव सभ्यतासँगै मानिसहरुमा तीर्थाटनका अभ्यास पनि हुन थाल्यो । हिन्दु शास्त्र अर्थात बेदमा उल्लेख भए अनुसार मनुष्यले आफ्नो जीवनकालमा चार धामको तीर्थाटन गर्नुपर्दछ भनिएको पनि छ । चार धाम हिन्दूहरुको लागि अत्यन्त पवित्र स्थल हुन् । चार धाममा बद्रीनाथ, द्वारका, पुरी र रामेश्वर पर्दछ । जुन भारतको भिन्न भिन्न राज्यमा पर्दछन् ।

तीर्थाटन पर्यटनको लागि चार धाम नभए पनि अयोध्याको छुट्टै महत्व रहेको छ । सरयु नदीमा स्नान गर्न र त्रेतायुगमा जन्मिएका मर्यादा पुरुषोत्तम रामको जन्म भूमिमा धेरै पर्यटकहरुको पुग्ने इच्छा हुन्छ । अयोध्या भारतको उत्तर प्रदेशमा सरयु नदीको किनारमा पर्दछ । सरयु नदीमा नेपालका महाकाली र कर्णाली पनि भारतमा प्रवेश गरेपछि सरयु नदी बन्दछ । अयोध्या प्राचीन सूर्यवंशी राजाहरुको राजधानी थियो । अयोध्याका आठ नाम छन् । हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता । सत्यवादी राजा दशरथका ज्येष्ठ सुपुत्रको रुपमा भगवान राम रानी कौशल्याको गर्भबाट जन्मनुभएको हो । श्रीरामको चरित्रको सम्बन्धमा महर्षि बाल्मिकीले आफ्नो अमर कृति रामायणमा विस्तारपूर्वक वर्णन गर्नुभएको छ । आदिकवि भानुभक्तले पनि नेपाली भाषामा रामायण लेखेर नेपालीलाई रामायणको सरल भाषामा बर्णन गर्नुभएको छ । अयोध्याले तीर्थाटन पर्यटकहरुलाई मर्यादा, अनुशासन, सदाचार र सत्यनिष्ठाको पाठ सिकाएको छ ।

अयोध्यालाई प्राचीनकालमा कौशल देश भनिन्थ्यो । अयोध्या हिन्दुहरुको प्राचीन र सात पवित्र तीर्थस्थलहरुमा अयोध्या पर्दछ । धार्मिक ग्रन्थ रामायण अनुसार अयोध्याको स्थापना मनुले गरेका थिए । श्रीरामको परमधाम गमनसंगै अयोध्या उजाड भएको थियो । पछि राजा बिक्रमादित्यले पुनः अयोध्यालाई हराभरा बनाए । वनभित्र आफ्नो अस्तित्व छिपाएर बसेका सम्पूर्ण भग्नावशेषहरुको जिर्णोद्धार गरे । उनैले अयोध्या महात्म्य भन्ने पुस्तकको रचना गर्न लगाए र बिक्रम सम्बतको शुरुवात गरे । त्यसपछिका केही शताव्दीमा अयोध्याको महत्व झन बढ्दै गयो । तर अयोध्यामा आठौँ शताव्दीदेखि मुस्लिमहरुको आक्रमण हुन थाल्यो । सन् १५२८ मा रामको जन्मस्थल अयोध्यामा जहिर उद–लिन मुहमद बाबरले राम मन्दिर भत्काएर बाबर मस्जिद निर्माण गरेका थिए । त्यसपछि हिन्दु र मुस्लिमहरुको बिवाद बढ्दै गयो । सन् १८५९ मा ब्रिटिश शासकले तारबार निर्माण गरी मस्जिद भित्र मुस्लिमलाई र बाहिर हिन्दूलाई पूजा गर्ने प्रचलन चलाए ।

राम जन्मभूमिमा मस्जिद खडा हुँदा समस्त हिन्दूहरुमा अत्यन्त निराशा फैलियो । महन्त रघुवर दासले फैजाबादको एक अदालतमा मुद्दा दायर गरेसँगै राम मन्दिर बनाउने संकल्पको शुरुवात भएको थियो । त्यसपछि लामो समय राम मन्दिर कि मस्जिद भन्ने विषय अदालतमा बहसको बिषय बन्यो । अयोध्यामा राम जन्मेका हुन् भन्ने विषयमा कुनै विवाद नै थिएन । त्यसका लागि हिन्दु धर्मग्रन्थ र पुराणहरुमा कैयौँ प्रमाण पनि छन् । तर, अयोध्याको कुन ठाउँमा भन्ने विषय स्पष्ट थिएन । अन्ततः ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर नै भएको फैसला गर्यो र राममन्दिर निर्माण भयो । राम मन्दिर परम्परागत शैलीमा अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको छ । मन्दिरमा फलाम, स्टिल र सिमेन्टको प्रयोग गरिएको छैन । गर्भगृहमा राखिएको भगवान रामको प्रतिमा १.३ मिटर उचाइको छ । यो प्रतिभा काला पत्थर कुदेर बनाइएको हो । नागारा शैलीमा बनाइएको राम मन्दिर तीन तलाको छ । मन्दिरमा ४६ वटा ढोका छन् । जसमध्ये ४२ वटामा सुनको जलप लगाइएको छ । कालीगण्डकीको गलेश्वरधाम नजिकबाट रामको जन्मभूमि अयोध्यामा पठाएका देवशिला अहिले पर्यटकहरुका लागि आकर्षण बनेको छ ।

अयोध्यामा पुगेपछि तीर्थाटनका पर्यटकहरु हनुमानगढी नागेश्वरनाथ, सरयु नदी र तट, छाउनी बाल्मिकी भवन, कनक भवन, छोटी देवाकाली लगायत ठाउँमा पुग्छन् । ती सबै ठाउँको आफ्नै इतिहास र महत्व रहेको छ । अयोध्यामा धेरै मन्दिर र अखडाहरु छन जहाँ तीर्थाटनका पर्यटकहरुलाई सामान्यतया आवास र प्रसादको व्यवस्था पनि हुन्छ । अयोध्यामा धेरै मठ मन्दिरमा दिनको एक छाक भोजन निःशुल्क दिने प्रचलन छ । भोजन बाँड्ने बेलामा जो कोही पनि लाइनमा बसेमा बिना भेदभाव भोजन पाइन्छ । तीर्थाटनका लागि अयोध्या यस्तो धाम हो जहाँ अहंकारको नाश हुन्छ । मानिसले जीवनको सार फेला पार्दछ र शान्ति प्राप्त गर्दछ । अयोध्या पुगेपछि तीर्थाटनका पर्यटकहरुले यस्तो अनुभव गर्दछ जहाँ दीन दुःखी, परित्यक्त, प्रताडित, व्यथित, रोगी र अपहेलितले सहारा पाएको छ । अयोध्या पुगेपछि जीवनमा जानी नजानी पाप गरेको मनुष्यले पनि मनमनै प्रायश्चित्त गर्दछ । कहीं सहारा नपाएका हजारौं मानिस अयोध्यामा सहारा पाएर बसेका छन् ।

अयोध्यामा जति पनि मठ, मन्दिर र अखाडा छन ती सवै सन्त महात्माका देन हुन् । कुनै संरचनामा पनि सरकारको योगदान छैन भन्दा पनि हुन्छ । मठ, मन्दिर र अखाडाका सन्त, महन्त र पूजारीलाई हजारौं लाखौँ तीर्थाटन पर्यटकहरुले चढाएको दश, बीस, सय पचासको रकमबाटै करोडौं जम्मा हुन्छ र त्यसैबाट, खाना, आवास, धर्मशाला पूजापाठ चल्छ । अयोध्यामा शुद्ध शाकाहारी होटल मात्र हुन्छन् । मदिरा पसल कतै भेटिँदैनन । यतिसम्म कि चिया पसलमा साहूजीले खाली खुट्टा सेवा गर्दछन् । कारण हो हिन्दू धर्मको नियमअनुसार चुलोमा जुत्ता–चप्पल लगिँदैन । चिया पिएर चोखो हुन हात धुने प्रचलन अयोध्याको सामान्य कर्म हुन्छ । अर्कोतर्फ जुठो हात हुने भएकाले चिया पिउँदै पत्रिका नपढ्नेसम्म भेटिन्छन् । कारण–सरस्वती मातालाई जुठो हातले छुनुहुँदैन । अयोध्यामा अभिवादनका रुपमा जय सियाराम खुबै प्रचलित छ । अयोध्यामा सिंगो शहर आध्यात्मिक छ ।

तीर्थस्थलहरु त्यस्ता पवित्र स्थान हुन जहाँ तीर्थाटनका भावले पर्यटकहरु पूजा, स्नान, तप ध्यान र श्रद्धाका लागि पुग्छन् । हिन्दू धर्ममा धार्मिक यात्राको विशेष महत्व छ । तीर्थाटनले नयाँ नयाँ अनुभव र अनुभूति दिन्छ, हाम्रो स्मृति बढ्छ । सोच–विचार, भावनामा सकारात्मक परिवर्तन आउँछ । मानिसलाई शिक्षालय र विश्वविद्यालयले शिक्षित र दीक्षित गर्नै नसक्ने काम तीर्थाटनले गर्दछ । तीर्थाटन पर्यटन धर्म, पर्यटन र स्वास्थ्यको त्रिवेणी हो । खोज अनुसन्धानबाट पर्यटकले संस्कृति, भूगोल, इतिहास र अन्य विविध विषयको ज्ञान हासिल गर्न सक्छन् । केवल उसँग भ्रमणको रुचि हुनुपर्दछ । भ्रमणकै क्रममा उसको रुचि अनुसार अध्ययन अवलोकन गर्दै जाँदा पर्यटनले नयाँ खोजबाट अनौपचारिक शिक्षा प्राप्त गर्दछ । यसरी लिने शिक्षालाई खुला बिश्वविद्यालयबाट लिइएको शिक्षा भनिन्छ । पर्यटनको माध्यमबाट जीवन र जगतलाई चिन्न बुझ्नको लागि खोज अनुसन्धान भन्दा अरु केही हुन सक्दैन । पर्यटन घुमफिर गर्नु मनोरञ्जन लिनुमात्र होइन, घुमफिरबाट धेरै ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाइन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसारजस्ता कार्यहरु गर्न पर्यटनबाटै गर्न सकिन्छ ।

एउटा भनाइ छ सुनेको भन्दा देखेको कुरा सत्य हुन्छ । विद्यालय, कलेज र विश्वविद्यालयमा हुने अध्ययनले केवल पाठ्यक्रम भित्रको ज्ञान हासिल गर्न सके पनि आफ्नै आँखाले देखेर पाइने ज्ञान र शिक्षाको लागि भ्रमण नै गर्नु पर्दछ । मानिस अध्ययन भ्रमणबाट नै सुशील, ज्ञानी र सभ्य बन्न सक्छ । पर्यटनको माध्यमबाट पनि मानिसले धेरै खोज अनुसन्धान गरी धेरै ज्ञान लिन सक्दछ । अनुसन्धान भनेको खोज, अन्वेषण आदि गर्ने काम हो । पर्यटनमा जहिले पनि नयाँ कुरा र नयाँ ठाउँको खोजी हुन्छ । नयाँ ठाउँमा पर्यटक पुग्दा उसको रुचि अनुसार खोज अनुसन्धान गर्न खोज्छ । नयाँ कुरामा पर्यटकहरुलाई खोज गर्ने रुचि जाग्दछ । प्रकृति र संस्कृतिभित्र लुकेर रहेका खोजपूर्ण कुराहरुलाई उसले बाहिर ल्याउँछ ।

नेपालबाट अयोध्या धेरै टाढा छैन । फुर्सद मिलाएर समूह वा एक्लै पनि अयोध्या पुग्न सकिन्छ । नेपालको पश्चिम तराईसँग भारत उत्तरप्रदेश जोडिएको छ । अयोध्या पश्चिम तराईबाट निकै नजिक छ । भारतसँग जोडिएका सबै नाकाबाट अयोध्यासम्म पुग्न सकिन्छ । भैरहवाबाट करिब २०० किलोमिटरमा अयोध्या पर्दछ । नेपालगंजबाट जाँदा भारतको रुपइडिहाबाट करिव १६० किलोमिटर पूर्व दिशामा अयोध्या पर्दछ । सुनौलीबाट सिधा बस पाइन्छ । समूहमा जादा साना गाडीको समेत प्रयोग गर्न सकिन्छ ।

  • केबी मसाल 

सम्बन्धित समाचार