कतैं तपाईंले घामको न्यानोपन गुमाउनु त भएको छैन ? छ भने रायका सिनेमाहरु हेर्न कद्यापी नछुटाउनु ।
–प्रतिक भट्टराई
काठमाडौं । बंगाली भाषाको आफ्नै सौन्दर्य छ । बोल्न वा बुझ्न नआउने कसैका लागि पनि बंगाली भाषाको स्वाद अति उत्तम लाग्छ । निर्देशक सत्यजित रायका सिनेमाहरु भाषाले बंगाली मात्रै थिएनन्, दृश्यले पनि उत्तिकै स्वादिष्ट थिए । भारतमा यर्थाथवादी सिनेमाको चित्रण गर्नेदेखि कल्पनाशिलताको उच्चतम कोटीका सिर्जनाहरु पस्किनेसम्मका काम उनले आफ्नो समयमा गर्न भ्याए ।
मे २ । अर्थात् सत्यजितको जन्मदिन । जीवित भएका भए उनी १०१ वर्षका हुन्थे । बुढो ख्याउटे शरिर लिएर सायद कतै फिल्म नै खिच्दै हुन्थे सायद उनी । वा, आफ्नै फिल्म ‘पाथेर पञ्चाली’मा जस्तो कुनै बृद्धको भूमिकामा उनी आफैँ अभिनय गरिरहेका हुन्थे होला ।
तर, उनी अहिले दुनियाँमा छैनन् । उनको अस्तित्व कथाहरुमा बाँचेको छ, सिनेमाहरुमा बाँचेको छ, संगीतहरुमा बाँचेको छ । कुशल निर्देशकको परिचयमा सत्यजित वर्षौदेखि बाँचिरहेका छन् । तर, यो कुशलतासँगै उनीभित्रको संगीतकार र कथाकारको परिचय गुमनाम जस्तै जस्तै छ । कथालाई दृश्यांकनको पक्षबाट प्रस्तुत गरेका सत्यजितको कुशलताको बयान त भइ नै रहेको छ । तर, उनको कथाको कल्पनाशिलतादेखि संगीतको सुमधुर सुरको बयान कम देखिन्छ ।
सत्यजितका सिनेमा
सत्यजितका सिनेमा । यसमा धेरै के भन्न सकिएला ?
सीमित स्रोत र साधनको प्रयोग गर्नेदेखि अभिनय गरिरहेको पात्रको मृत्युको भयले क्रसित भएर सिनेमा खिच्ने । यी सबै पक्षहरु सत्यजितको सिनेमामा भेटिन्छ । उनीभित्रको प्रतिभाको बयान उनका सिनेमाहरुले गर्छन् । चाहे त्यो पाथेर पञ्चालीमा देखाइएको एक अभावले ग्रस्त घरको कथा होस् वा, महानगरमा देखाइएको महिलावादको विकास र समाज परिवर्तनको कथा होस् । रायका सिनेमाहरु समाजसँग निकट छन् ।
तर, यसो भन्दैमा रायको कल्पनाशिलताको अवमूल्यांकन गर्न सकिँदैन् । रायको निर्देशनमै १९६० अन्त्यमा साइन्स फिक्सन फिल्मको निर्माण सुरु भएको थियो । अमेरिकी र भारतीय लगानीमा बनेको यो फिल्मलाई लिएर राय आफैँ पनि निकै महत्वकांक्षी थिए । तर, सिनेमालाई लगानी गर्ने भनेको कोलम्बिया पिक्चर्सका विविध कारणले फिल्म बन्न सकेन् ।
रायको यो फिल्म थियो, ‘द एलियन’ । उनको १९६७ को लघु फिल्म ‘बंकुबबुर बन्धु’माथि आंशिक आधारित रहेको यो फिल्म १९६२ मा बंगालको सन्देश पत्रिकामा छापिएको रायको कथामा आधारित थियो । कथाले त्यत्तिबेला निकै चर्चा कमाएको थियो । लघु चलचित्रले पनि निकै चर्चा कमायो । तर, यसमाथि आधारित रहेर निर्माण हुने भनिएको फिचर फिल्म भने बन्न सकेन् ।
तर, रायको कल्पनाशिलता आर्थिक अभाव वा अन्य कारणले रोकिने विषय थिएन् । उनले बनाएको लघु चलचित्रमै पनि त्यत्तिबेलाको प्राविधिक सिमिततादेखि अन्य विषयका बाबजुद बंगालको दुर्गममा आइपुगेको एक एलियनको कथालाई भनिएको छ । पछि, उनका छोरा सन्दिप रायले यो कथालाई लिएर टेलिभिजन श्रृङखलाको निर्माण गरेका थिए ।
रायको सिनेमाहरुले भन्ने कथा समाजका कथा थिए । अभावको कथा थियो । परिवारदेखि समाज परिवर्तनको कथा थियो ।
‘पाथेर पाञ्चाली’मा रायले बंगालको आम परिवारको कथा भनेका छन् । अपु ट्राइलोजीको पहिलो फिल्म ‘पाथेर पाञ्चाली’मा अभावको कथा छ । अपुको कथा छ । सरबोजया रायदेखि इन्दिरा ठकुराइनको कथा छ ।
किस्ता किस्तामा छायांकन भएको यो फिल्मका केही अंशको छायांकन मात्रै भएको थियो । आर्थिक अभाव थियो । अभावका बिच जसोतसो काम त भइरहेको थियो, तर पूर्णता थिएन् । रायले यी पक्षका बाबजुद पनि काम गरे । उनले आफ्नी पात्र चुनीबालाको मृत्यु हुने डरबाट भयग्रस्त हुनु परेको थियो, अर्कातिर फिल्म नसकिएला भन्ने डरबाट क्रसित । बंगाल सरकारले आर्थिक सहायता गर्यो ।
त्यसपछिको परिणाम त इतिहासदखि वर्तमानसम्म छन् ।
रायले बंगालका कथा भने । पाथेर पाञ्चाली, अपराजितो, चारुलता, नायक यीनै कथाहरु थिए । उनले नायकजस्तो सिनेमा बनाए । जलसागरजस्तो संगीत क्षेत्रसँग जोडिएको सिनेमा बनाए । महानगरजस्तो पश्चिमा दर्शनको प्रभावले भारतीय समाजमा ल्याइरहेको परविर्तनलाई लिएर फिल्म बनाए ।
त्यत्ति मात्र नभएर उनको सिर्जना अमेरिकी विस्तारवाद र उपनिवेशमाथिको व्यंग्यसम्म पुग्यो । उनले ‘टु’ लघु चलचित्र भियतनाममाथि अमेरिकाले गरिरहेको तत्कालिन युद्धको विपक्षमा थियो । बिना कुनै आवाजको यो फिल्म भियतनाम युद्धको सन्दर्भमा रायको मौन विद्रोह थियो ।
‘आगन्तुक’ रायको अन्तिम फिल्म हो । उनले १९९१ मा यसको काम सके । वर्षौपछि भारत आइरहेका आफ्ना काका मनमोहन मित्रसँगको भेटबाट सुरु हुने अनिलाको यो कथाले अपरिचित व्यक्तिको परिचयमाथि उत्पन्न भएको शंकाको गहिराईलाई मापन गर्यो । आफ्नो हजुरबुबाको सम्पत्ति लिन झुटो परिचय लिएर मनमोहन आएको शंकाबाट सुरु भएको यो कथाले अनिला र सुधिन्द्रभित्रको आशंकाको उत्कर्षलाई देखाएको छ । मानवभित्रको शंकालु मनोविज्ञान रायले प्रस्तुत गरेका छन् ।
रायका सिनेमाहरु घाम जस्ता हुन् । अकिरा कुरोसावाले यसो भनेका छन् । यी चर्चित जापानी निर्देशकको शब्दमा भन्दा घाम नहेरी मान्छे बाँच्नुजस्तै हो रायका सिनेमा नहेरी बाँच्नु ।
कतैं तपाईंले घामको न्यानोपन गुमाउनु त भएको छैन ? छ भने रायका सिनेमाहरु हेर्न कद्यापी नछुटाउनु ।
सत्यजीतको संगीत
कोही व्यक्ति आफैँमा प्रतिभाशाली हुन्छ । राय तीनै कम व्यक्तिहरुमध्ये थिए ।
उनले आफ्नो सिनेमाको कथा आफैँ लेखे, निर्देशन आफैँ गरे । त्यक्तिले मात्रै पर्याप्त थिएन् । अधिकांशमा आफैँले संगीत थिए । आफूले दृश्यमा भनेका कथालाई प्रस्तुत गर्न पाश्र्व ध्वनीको सिर्जना राय आफैँले गरे ।
धेरै अनविज्ञ छन् रायको यो पाटोको बारेमा । तर, उनका सिनेमाहरुमा संगीत पनि उनकै हुन् भन्ने सत्यता विश्वव्यापी छ ।
रायका संगीतहरुले त्यत्तिबेलाको भारतीय समाजको कथा भन्छन् । भारत परिवर्तनशिल थियो । पूर्विय संगीतदेखि शास्त्रीय संगीतको वर्चश्व भएको समाजमा पश्चिमा रक–एण्ड–रोल संगीतको प्रभाव भर्खर पर्दै थियो । परिक्षणहरु भइरहेका थिए दुई क्षेत्र, दुई भुगोलका संगीतलाई लिएर ।
रायले निर्माण गरेका संगीतहरु यसमा अब्बल साबित भए । उनका संगीतहरु भारतीय धरातलमा उभिएर पश्चिमा श्वाद बोकेका थिए । पूर्विय र शास्त्रीयसँग पश्चिमा संगीतको मिश्रण थियो । त्यो मिश्रणमा फरक फरक स्वाद थिए ।
रायले आफ्नो करिअरको सुरुवातमा भारतका चर्चित संगीतकारहरुसँग काम गरे । अपु ट्राइलोजीका लागि पण्डित रवि शंक, जलशागरका लागि उस्ताद भिलायत खानलगायतसँग काम गरेका थिए ।
तर, १९६१ को उनको फिल्म ‘तीन कन्या’बाट भने उनी आफैैँले संगीत गर्न थाले । आफ्नो सिनेमामा हुने दृश्यसँग मिल्ने संगीतमा रायको परिपक्वता थियो ।
‘अहिले व्यवसायिक संगीतकारहरुसँग मैले काम नगर्नुको एउटै कारण मभित्र पनि संगीतका सोचहरु आएकाले हो,’ राय आफूले फिल्मको संगीत गर्नुको कारण बारे भनेका छन्, ‘मभित्र थुप्रै सांगितिक सोचहर आउँछन् । यीनिहरुको संयोजन गरेर म आफैँ दृश्यलाई बुझाउन सक्छु ।’
राय आफूले सिनेमामा संगीत गर्दा फिल्म निर्माणको आरम्भबाटै आफूलाई लागेका संगीतका सुरहरु लेख्थे । धुनहरुबारे आउने सोचहरुलाई संगीतका स्वरहरुमा रुपान्तरण गर्थे । उनको निम्ति संगीत भनेको दर्शकका लागि दृश्यमा देखाइएका कुराहरु अनौठो नभएर सामान्य हुन् भन्ने महसुस गराउनु थियो । उनले भनेका छन्, ‘मेरो दृश्यहरुले दर्शकलाई संगीतमार्फत यी सामान्य र हुने कुराहरु हुन भन्ने महसुस गराउँथ्यो ।’
तीन कन्यापछिका अधिकांश फिल्महरुमा राय आफैँले संगीत दिए । संगीतमा पनि रायको सिनेमा निर्देशनमा जस्तै अब्बलता थियो । दृश्यले बोलिरहेको भाषालाई न्याय गर्ने र त्यसलाई थप स्थापित बनाउनमा उनको संगीतले साथ दिए ।
१९६४ को रायको लघु फिल्म ‘टु’ उनको सांगीतिक भूमिकाको ‘म्यागनम ओपस’ हो । यसमा रायको संगीतको उत्कृष्ट प्रयोग छ । बिना कुनै शब्द र बोली उनले फिल्मको कथालाई संगीत मार्फत भनेका छन् । कमजोरमाथि शक्ति राष्ट्रले गर्ने व्यवहारमाथिको कटाक्ष रहेको यो फिल्ममा संगीतको उच्च भूमिका छ ।
सत्यजितको साहित्य
सत्यजितका सिनेमा, संगीतभन्दा महत्वपूर्ण उनका साहित्यहरू छन् । रायका सिनेमाको आफ्नो संसार छ, संगीतको आफ्नो दुनियाँ । तर, उनको साहित्यले यी दुवैलाई छोएको छ । उनका साहित्यमा दृश्यको अनुभव पाठकले गर्न सक्छन् । उनका दृश्यहरुमा संगीतको महसुस गर्न सकिन्छ ।
रायको परिचयमा लेखक एउटा महत्वपूर्ण परिचयको रुपमा स्थापित छ । उनका हजुरबुबा उपेन्द्रकिशोर राय एक लेखक र दार्शनिक थिए, जसले बंगालको सामाजिक तथा धार्मिक अभियान ब्राह्मो समाजको नेतृत्व गरेका थिए । सुकुमार राय, जो सत्यजितका बुबा थिए उनी एक समालोचक र बंगालमा ‘अबोल तबोल’ शैलीको लेखनको नेतृत्वकर्तामध्ये थिए ।
रायको जीवनमा साहित्यको प्रभाव उनको जन्मबाटै भयो । रविन्द्रनाथ टेगोरले स्थापना गरेको शान्ति निकेतनस्थित विश्वभारती विश्वविद्यालयमा पढ्दा होस् वा कलकत्ताको प्रेसिडेन्सी कलेजमा अध्ययन गर्दा होस्, राय भित्र साहित्य र कलाप्रतिको रुचि भरिएको थियो । १९४३ मा उनले आफ्नो पहिलो कामको रुपमा भारतमा रहेको बेलायती विज्ञापन कम्पनीमा ग्राफिक्स डिजाइनरको रुपमा काम पनि गरे । तर, यो सबैका बाबजुद पनि रायभित्रको साहित्यको रुचि भने कम भएको थिएन् ।

उनले निरन्तर साहित्यको अध्ययन गरिरहेका थिए । पुस्तकको कभरको डिजाइन गर्दा तीनिहरुका कथाले उनलाई तानेका हुन्थे । जब उनले बंगालको चर्चित उपन्यास पाथेर पाञ्चालीको बाल संस्करणको डिजाइन गरे, यो पुस्तकले उनलाई निकै तान्यो । बंगालका चर्चित लेखक विभुतीभुसन बन्धुपाध्यायले लेखेको यो पुस्तकलाई बाल संस्करणको रुपमा ‘आम अन्तिर भिपु’ नाम दिइएको थियो ।
साहित्य प्रतिको लगाव र कलाप्रतिको रुचिले रायलाई कालान्तरमा सिनेमातर्फ ल्यायो । उनले आफ्ना कथाहरुलाई दृश्यको भाषाबाट भने । तर, यत्ति गर्दैमा उनी अक्षरहरुबाट टाढा भएनन् । उनले कथाहरु निरन्तर लेखिरहे । जुन आज पनि सिनेमाको रुप लिइरहेका छन् ।
‘सोनार केला’, ‘प्रोफेसर शोन्कु’, ‘बाद्शाली अंग्ती’जस्ता पुस्तकहरु छन्, जसमा रायको कल्पनाशिलता देखिन्छ । उनले ‘फेलुदा’ शिर्षकमा पुस्तकहरूको श्रृङ्खला नै लेखेका छन् ।
रायले लेखेका कथाहरुमा आधारित भएर निरन्तर सिनेमाहरु बनिरहेका छन् । २०१७ मा रायको कथा ‘अनुकुल’माथि आधारित रहेर सुजोय घोसले सोही नामको फिल्म बनाएका थिए । २०२१ मा रायका चार कथाहरुलाई आधार मानेर नेटफिल्क्सले ‘रे’ नामको ड्रामा सिरिज पनि निर्माण गरेको थियो, जसमा रायका चार लघु कथाहरु ‘विपिन चौधरी स्र्मतीभ्रोम’, ‘बहुरुपी’, ‘बरिन भोम्चिकेर ब्यारम’ र अर्को एक कथालाई (स्पोटलाइट शिर्षकमा) प्रस्तुत गरिएको थियो ।
रायको नाममा बंगाली भाषाका महत्वपूर्ण साहित्य सिर्जनाहरु छन् । १९६५ देखि १९९५ सम्म उनका साहित्य सिर्जनाहरु निरन्तर छापिएका छन् । उनको निधनको तीन वर्षपछि सम्म पनि बंगालको ‘देश’ र ‘सन्देश’ पत्रिकामा छापिएका थिए ।
राय इतिहास भए । तर, त्यो इतिहास निरन्तर हेरिरहनुपर्ने इतिहास हो । रायका सिनेमा, साहित्यदेखि संगीत सबै निरन्तर हेरिरहनुपर्छ । उनको नाममा अन्य परिचयहरु पनि छन् । ती सबैको महत्व उत्तिकै छ ।
कुरोसावाले भनेजस्तै रायका सिर्जनाहरु घाम बनेका छन् । कसैले रायको सिर्जना हेरेको, पढेको वा सुनेको छैन भने उसले घाम नै देखेको छैन भन्ने मान्नु ।