शुक्रबार , जेठ १५, २०८३

शैलुङमा निर्मित ‘ज्याङ्छ्युब छ्योर्तेन’को प्राण-प्रतिष्ठासहित भव्य समारोहबीच समुद्घाटन 

image

काठमाडौं । दोलखा र रामेछापको सङ्गमस्थल प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा निर्मित “शैलुङ ज्याङ्छयुब छ्योर्तेन”(बोधि चैत्य) को भव्य समारोहबीच प्राण-प्रतिष्ठासहित समुद्घाटन गरिएको छ । लामा गुरुद्वारा धार्मिक विधिअनुसार मङ्गलवार र बुधवार (फागुन १६ र १७) दुई दिने पूजापाठसहित छ्योर्तेनको उद्घाटन गरिएको हो ।

प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिम्पोछेद्वारा धार्मिक अनुष्ठानसहित शुद्धीकरण तथा सुप्राण प्रतिष्ठा गरिएको हो ।

गुरु क्याब्जे सेचेन रब्ज्याम रिम्पोछे

शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७३ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि छ्योर्तेनले पूर्णता पाएको हो ।

समाजका अध्यक्ष शेरप शेर्पाका अनुसार टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछेले वि.सं. २०७० सालमा शैलुङको भ्रमण गरेपछि दोलखा र रामेछापको सङ्गमस्थल शैलुङ (३१४५ मि.) मा ज्याङछ्युब छ्योर्तेनको निर्माण गर्ने इच्छा व्यक्त गरेका थिए । उनकै सुभेच्छा अनुसार छ्योर्तेनको निर्माणका लागि वि.सं. २०७१ मा शैलुङ रिगसुम गोम्पो सेवा समाजको स्थापना गरिएको हो ।

टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछेको परिकल्पना अनुसार शैलुङ रिगसुम गोन्पो सेवा समाजको अगुवाइमा वि.सं. २०७२ चैत्र २० गते छ्योर्तेनको शिलान्यास गरिएको थियो ।

शैलुङ रिगसुम गोन्पो सेवा समाजको विशेष पहलमा दोलखा र रामेछापको स्थानीय सरकार, जनप्रतिनिधि, विभिन्न दातृ निकाय, व्यक्ति तथा सङ्घसंस्थाहरूको सहयोगमा करिब तीन करोड रुपैयाँको लागतमा ५५ फिट अग्लो छ्योर्तेनको निर्माण भएको हो ।

रामेछाप–१ का सङ्घीय सांसद पूर्ण बहादुर तामाङले शैलुङ दोलखा र रामेछापको सङ्गमस्थल भएकाले यस क्षेत्रको विकासमा दुवै जिल्लाको उतिकै पहल जरुरी रहेको बताए । सांसद तामाङले भने, “शैलुङ दोलखाको कि रामेछापको भनेर विवाद गर्नुभन्दा पनि दुवै जिल्ला मिलेर यसको विकासमा लागौँ । यो भौगोलिक हिसाबले कुनै जिल्लामा परे पनि नेपालको एक पवित्र तपोभूमि हो । यस क्षेत्रको विकासले दुवै जिल्लाको विकासमा टेवा पुग्ने छ ।”

त्यसैगरी रामेछाप–२ का सङ्घीय सांसद युवराज चौँलागाईले छ्योर्तेनको निर्माण शैलुङ क्षेत्रको विकासका लागि कोशेढुङ्गा भएको बताए । उनले अबको पाँच वर्षभित्र शैलुङसम्म पुग्ने बाटो कालोपत्रे गर्ने, एक वर्षभित्र सञ्चार सुविधा उपलब्ध गराउने र शैलुुङको विकासका लागि शैलुङ क्षेत्र विकास समिति गठन गर्ने प्रतिबद्धता जनाए ।

शैलुङ गाउँपालिकाका अध्यक्ष, रिमल बाबु श्रेष्ठले शैलुङ क्षेत्र, शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक विकासको केन्द्र बन्नसक्ने भएकाले यस क्षेत्रको विकासमा दुवै जिल्लाका तीन वटै गाउँपालिकाको सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष श्रेष्ठले शैलुङ क्षेत्र बौद्ध र हिन्दु धर्मावलम्बीहरूको साझा तपोभूमि भएकाले सोही अनुरूपको विकास गर्ने बताए ।

त्यसैगरी दोलखाकै मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले शैलुङ क्षेत्रको विकासमा लागि गुरुयोजना बनाएर अघि बढ्न विलम्ब गर्न नहुने बताए । उनले शैलुङ क्षेत्रको हालसम्मको विकासमा तीन वटै स्थानीय तहले उतिकै भूमिका खेलेको आगामी दिनमा पनि सहकार्यको जरुरी रहेको बताए ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले पनि शैलुङ क्षेत्रको कुन जिल्ला वा स्थानीय तहको भनेर विवाद गर्नुभन्दा पनि यस क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न तर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

छ्योर्तेनको समुद्घाटन समारोहमा बौद्ध धर्मगुरु, लामा, दोलखा र रामेछापका जनप्रतिनिधि, ताम्बा, बोन्पो लगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार