विश्व सम्पदामा सूचीकृत ठाउँमा 'हगिकृत' मानवीय गोबर देख्न सकिन्छ । मन्दिर प्राङ्गणमै आकार-आकारका नखाने मुखले रचना गरेको कला भेट्न सकिन्छ । गल्लीहरू मुतीय राग सुन्दै होइन, सुँघ्दै 'छि: चोल्न' सकिन्छ ।
नेपाल खुला दिशापिसाब मुक्त क्षेत्र भएको छ । अँ घोषणा भएको छ । उहिले हो नि । लौ थाह छैन ?
यो फरक कुरा हो कि जङ्गलमा बोटबिरुवालाई मूत्रदान गरिरहेको अवस्थामा पूर्वप्रधानमन्त्रीलाई देखिएको थियो । अरू पार्टीले गरेको घोषणा किन मान्ने ? वनस्थली-बालाजुको बिच भागमा कहिलेकाहीँ सार्वजनिक यातायातका चालक र सहचालक सुक्खा जमिनलाई भिजाउँदै कुरा गर्ने गर्छन् । र यो कुरा ला…गू गर्न के गरेका छन् भने ठाउँ-ठाउँमा भगवानका फोटाहरू टाँसिएका छन् । ताकी कसैले नतुर्क्याओस्, न पित्काओस्। ५/१० तिरेर ‘गमबुट लगाए’र छिर्न पर्ने चर्पी बनाइएका छन् । ट्वाइलेट भन्दा अलिक बढाएर भने जस्तो होला ‘चर्पी’ भनौँ क्यारे भनेर नि !
यत्रो घोषणा !! ए यत्रो घोषणा भइसक्दा पनि आकाशे पुलमुनि तपस्या गरिरहेका ऋषिमुनिको दर्शन पाउन सकिन्छ । विश्व सम्पदामा सूचीकृत ठाउँमा ‘हगिकृत’ मानवीय गोबर देख्न सकिन्छ । मन्दिर प्राङ्गणमै आकार-आकारका नखाने मुखले रचना गरेको कला भेट्न सकिन्छ । गल्लीहरू मुतीय राग सुन्दै होइन, सुँघ्दै ‘छि: चोल्न’ सकिन्छ । यी रागले वैराग लागेर नै यो मेरा शब्दहरूको भागम् भाग भएको हो ।
एकदिन म यसो च्यापेको बेला ‘धन्मंतरी धन्मंतरी’ गरिरहेको थिएँ । बाँदरको जस्तो होइन, अर्कै च्यपाइ । च्यापेको कुरा जहाँ पायो त्यही खोल्न लाज हुने, नखोले पाइन्ट भिजेर बिल्ला हुने डर थियो ! धन्न तड्पिरहेको बेला छड्किने ठाउँ भेटियो । उसेन बोल्टभन्दा तेज गतिमा दौडिएर एउटा शैक्षिक संस्थाको चर्पीतिर लागेँ । ए भग्मान्!! चर्पी खोइ ?
सुसु नि आ
चर्पी तिर जा
खोइ चर्पी ?
मान्छेहरूले पुरे
खोइ मान्छे ?
भित्तातिर होलान्
खोइ भित्ता ?
लेउ लगेर छोपियो
खोइ लेउ ?
दिस इज लेउ, यसमा टेकिस् भने चिप्लिएर पुग्छस् पल्लो छेउ !!
चर्पीको अवस्था हेर्दा मलाई रुन मन लाग्यो । तर मलाई आँखाबाट होइन, अन्तबाटै रुन हतार थियो । गन्ध पनि त्यो ठाउँबाट लाज मानेर सन्यास लिएर काशीतिर तपस्या गर्न गयो पक्कै । भित्ताहरू रित्ता थिएनन् । पुर्वजन्ममा गरेको पापका कारण आफू यो जन्ममा त्यहाँको भित्ता हुन पुगेको उनीहरूले सुनाए । गाउँमा बेला-बेला लाग्ने मेलामा बाँसको खुट्टा लगाएर हिँड्ने चटकेजस्तो चटक जान्नेलाई मात्र भित्र प्रवेश थियो । एकछिन् त मलाई पुरातत्वविदलाई बोलाएर यो ठाउँ उत्खनन् गर्न लगाउनु पर्छ कि जस्तो पनि लाग्यो । सोमत अन्तै छोडेर गू-मुत मात्र लिएर भित्र छिर्नेको यो कमाल हो भन्ने मैले बुझेँ । मेरो फुट्न लागेको अङ्ग ‘चरर..’ गरेर चर्किन सुरु गरेको थियो । त्यसपछि के भयो भन्ने कुरा म सस्पेन्स राख्न चाहन्छु । खाट्टी कुरा यही हो, चर्पी भएपनि त्यो ठाउँ चर् पिलाउने स्थितिमा थिएन ।
सरकारी कार्यालयको आफ्नै कला छ, चर्पी त्यहाँ पनि थला छ । विभिन्न स्वनिर्मित चित्रकारहरूले कार्यालयको भित्तामा पान र गुट्खा चपाएर मुखैले अनेक किसिमका कलात्मक चित्र बनाएका छन् । यस्तो अद्भुत कला भएका ‘थुकासोहरू’ले गर्दा नै कार्यालय धन्य हुने गरेको छ । यस किसिमको श्रमदान बापत यी कलाकारहरूले कुनै सम्मानको इच्छा नराखेको देख्दा मलाई २१ तोपको सलामी दिन मन लाग्छ ।
ए अँ चर्पी ! चर्पीमा पानीको एकदम राम्रो सुविधा हुन्छ । यतिसम्म सुविधा हुन्छ कि त्यहाँ प्रवेश गर्न डुङ्गाको प्रयोग पनि गर्न सकिन्छ । डुङ्गाबाट देख्न सकिन्छ कि भूतकालमा यहाँ कुनै ठुलो आन्दोलन भएको थियो । आधाउँधी फुटेका प्यान, ठाउँ-ठाउँमा चर्किएका र उक्किएका मार्बल, पाइप फुस्किएको बेसिन, भत्किएको मूत्र दान गर्ने भाँडो देखेर जोकोही इतिहासविद होइन, ‘यति हाँस विद’ बन्छ कि के भनौँ र खोइ धोका दिनेलाई !
अब डुङ्गाबाट फुत्रुक्क पिसाब फेर्न उत्रिने । पिसाबलाई किन फेर्ने भन्छन् मलाई थाह छैन, त्यो फेरेर के लिइन्छ त्यो पनि जान्दिनँ । अँ उत्रिएपछि काम फत्ते पार्ने । काम फत्ते पार्नुभन्दा अघि तल पाइप छ कि छैन भनेर विचार गर्नुपर्छ, होइन भने पाइन्टको तल्लो भाग निथ्रुक्क । ‘वर्षा तिमी छम छम गरी बर्सिदेऊ न’ भने झैँ आफ्नै वर्षामा आफैँ भिजिन्छ । खुट्टा फटाएर बेसिनमा हात धुने नभए त्यहाँ पनि खुट्टा धुने व्यवस्था हुन्छ ।
अब मन्दिरको शौचालय र सार्वजनिक शौचालयतिर नाक थुनेर अघि बढौँ । मन्दिरको शौचालयसँग पक्कै देउता रिसाएको हुनुपर्छ किनभने त्यहाँको बिजोगलाई नै हरिबिजोग भन्छन् । हरिबिजोग शब्द यहीबाट सुरु भएको पनि हुनसक्छ । शौच आलयले ‘शौच नआ! ल..! ए..!’ भनिरहेको हुन्छ । काँधमा खुट्टा राखेर त्यहाँ पनि प्रवेश गर्न सकिन्छ । र, कोसिस गरे सकुशल फर्किन सकिन्छ । सार्वजनिक सशुल्क शौचालयमा शुल्क तिरेजस्तै सफा चिटिक्क हुन्छ भनेर झुटो बोल्न हुँदैन । धेरै ठाउँमा भित्ता नै भिजाउन पाइन्छ । आफ्नो काम अरूलाई देखाउन पाइन्छ । स्याबास कुरेर भने नबस्नु । कतै-कतै मूत्र दान गर्ने भाँडो राखिएको हुन्छ । कमोटमा गोल कपुर, गोलकपुरमाथि गुटकाका खोल, सुपारिका कुड्का, सुर्तीका डल्ला पनि हुन्छन् । मान्छे सजावटको कुरामा एकदम सचेत हुन्छन् । मान्छे पर्यावरण जोगाउन पनि एकदम सचेत हुन्छ र त चर्पीमा पानी खर्च गर्दैन । हेरे हेरुन् न ऊ..।
अँ साच्ची, सरकारी अस्पतालको चर्पी पस्नु भएको छैन भने, चर्पीहरूको अनुपम कला देख्नु भएकै छैन । त्यहाँ जान सरकारबाट अनुमति लिनु त पर्दैन तर, लिनुपर्ने ठाउँ हो भन्ने भान हुन्छ । अन्य सबै घिनारी चर्पीहरू मध्येको सबैभन्दा सिनियर हो- सरकारी अस्पतालको चर्पी । त्यहाँ गएका अधिकांश मान्छेले दर्द नाक कथा/कविता लेख्ने गरेका छन् । त्यहाँको रोमाञ्चकताले तपाईँलाई आफूसँग माफी माग्न पनि लगाउन सक्छ । त्यसै त कोही सिनियर हुँदैन नि !
चर्पी जाने बानी भएका मजस्ता कहिलेकाहीँ चट्ट परेको बाथरुम पुग्यौँ भने आत्तिन्छौँ । र, सावरको धारा खोलेर भिज्छौँ । या बेसिनको धारा खोल्न जान्दैनौ । या हाम्रै पालोमा फ्लस हुँदैन । अन्त भए त्यसै छोडेर हिँड्न हुन्थ्यो । ठुलो ठाउँमा त हामीलाई पनि लाज हुन्छ नि है !
अहिले ठाउँ-ठाउँका होटेल,रेस्टुराँ र कार्यालयले सित्तैमा शौचालयको अभियान चलाइरहेका छन् । त्यसलाई पनि ‘शौच नआलय’ बनाउने कि ?