Photo by: Google
डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पक्षीहरू, ६ प्रजातिका सरीसृप र ३२ प्रजातिका पुतली पाइन्छ ।
काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू पनि यही राष्ट्रिय निकुञ्जमा पर्छन् ।
विश्वमै पहिलो पटक हिउँचितुवाको अध्ययन अनुसन्धान रेडियो कलर प्रविधिबाट शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको डोल्फु-मुगु क्षेत्रमा गरिएको थियो ।
पर्यटकहरूका लागि शे-फोक्सुण्डो ताल, रिग्मो गाउँ र सुलिगाँड झरना प्रसिद्ध घुम्ने ठाउँहरू हुन् ।
यो क्षेत्रमा घुम्न वैशाखको दोस्रो सातादेखि जेठको अन्तिम साता र असोज-कात्तिक महिनासम्मको मौसम अनुकूल हुन्छ । यो क्षेत्रमा पर्याप्त हवाई स्थल तथा यातायात सुविधा तथा पर्याप्त होटेल लज तथा होमस्टेको व्यवस्था छैन । सोहिकारण यो क्षेत्रमा टेन्टेड क्याम्पिङ ट्रेक सबैभन्दा सहज मानिन्छ । निकुञ्ज भित्र क्याम्पिङ तोकिएको क्षेत्रमा मात्र गर्नुपर्छ।

राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नेपाली जनताहरूले १०० रुपैयाँ मात्रै तिर्नुपर्छ भने सार्क राष्ट्रका पर्यटकहरूले १५ सय र अन्य देशका नागरिकहरूले तिन हजार रुपैयाँ तिर्नुपर्छ । यो निकुञ्जमा डकुमेन्ट्री बनाउन या फिल्मिङ गर्न भने नेपालीहरूले १० हजार तिर्नु पर्छ भने सार्क राष्ट्रका पर्यटकहरूले ५० हजार र अन्य देशका नागरिकहरूले अमेरिकन डलर १५ सय तिर्नु पर्छ ।
यदि ड्रोन पनि प्रयोग गर्ने हो भने थप २५% तिर्नुपर्छ । फिल्मिङ गर्दा कुनै पनि वनस्पति र जीवजन्तुलाई हानी पुर्याउनु हुँदैन ।
निकुञ्ज भित्र माउन्टेन बाइक र मोटरसाइकल निषेध गरिएको छ । यो निकुञ्जमा सकेसम्म एक्लै यात्रा नगर्नुहोस्, यदि तपाईँ एक्लै जानु भएको छ भने स्थानीय गाइड भाडामा लिनुहोस् ।
कसरी पुग्ने ?
काठमाडौँ बाट नेपालगन्ज बस या प्लेनमा जान सकिन्छ ।
नेपालगन्जदेखि जुफालसम्मको हवाईजहाजको यात्रापछि पैदल यात्रा सुरु हुन्छ । पैदल यात्राको पहिलो दिन जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान करीब चार घण्टा लाग्छ । दोस्रो दिन दुनैदेखि छेप्का भन्ने ठाउँसम्म र तेस्रो दिन छेप्कादेखि झरना पुगिन्छ । चौथो दिन झरनादेखि फोक्सुण्डो ताल छेउमा भएको रिग्मो गाउँमा पुगिन्छ ।
रिंग्मो गाउँ ; जहाँ पर्यटकका लागि बास बस्ने केही होटलहरु छन् । उक्त गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला गएको पहिरोको कारण फोक्सुण्डो तालको उत्पति भएको जनविश्वास रही आएको छ ।
यस निकुञ्जमा अन्य धेरै चीजहरू र अनुभवहरू गरेर यात्रालाई समृद्ध बनाउन सकिन्छ ।
शे फोक्सुण्डो ताल
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण हो- शे फोक्सुण्डो ताल । ३६११.५ मिटरको उचाइमा अवस्थित यो नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो । यस फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । फोक्सुण्डो तालको सुन्दरता फ्रान्सेली निर्देशक एरिक भ्यालीले सन् १९९९ मा क्याराभान(हिमालय) फिल्ममार्फत संसारमाझ पस्किएका थिए । ७२ औँ एकेडेमी अवार्डमा सर्वश्रेष्ठ विदेशी फिल्म कोटीमा नामाङ्कन गरिएको यो पहिलो नेपाली फिल्म हो । यो तालले आफ्नो रङ्ग परिवतर्नन गरिरहन्छ । यस भित्र रहेको अल्गी, झारपात एवम् खनिज पदार्थको हलचलको कारण यसो भएको अनुमान गरिन्छ । यो तालमा कुनै पनि जीव-जनावर अर्थात् जलचर पाइँदैन । यो क्षेत्र यसको सुन्दर वनस्पति, जीवजन्तु र आकर्षणको साथ एक ट्रेकिङ गन्तव्यको रूपमा व्यापक रूपमा परिचित छ। यस क्षेत्रमा व्यक्तिगत पदयात्रालाई रिग्मो वा फोक्सुन्डो ताल सम्म मात्र अनुमति छ। जबकि भित्री–डोल्पो क्षेत्रमा बन्देज लगाइएको छ । त्यहाँ सामूहिक पदयात्रा मात्र अनुमति छ । यो ताल मान्छेको फोक्सो आकारको भएकाले यसलाई फोक्सुण्डो भनिएको मानिन्छ ।

सुलिगाँड झरना
फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ । यो झरना नेपालकै सबैभन्दा ठुलो झरना पनि हो । यसलाई ‘फोक्सुण्डो झरना’ समेत भन्ने गरिन्छ । यो झरना समुन्द्री सतहबाट ३ हजार ६ सय १३ मिटरको उचाइमा रहेको छ ।

निकुञ्जमा हेलिकप्टर सवारी
पहिले कहिल्यै नभएको अनुभव लिन निकुञ्जमा हेलिकप्टरको सवारी लिनुहोस् । यसले तपाईँको समय र ऊर्जाको बचत मात्र गर्दैन तर माथिबाट हिमाल र संरक्षित क्षेत्रको रमणीय दृश्य पनि प्रदान गर्नेछ ।

शे गोम्पा ट्रेक
यो नेपालको सबैभन्दा सुन्दर पदयात्रा हो । यो पदयात्रा १९८८ देखि पर्यटकको लागि खुला गरिएको हो । यो यात्रामा ११ औँ शताब्दीको दुर्गम मठ सबैभन्दा सुन्दर पक्ष हो । धेरै कम आगन्तुकहरूले यस क्षेत्रमा यात्रा गरेका हुन्छन् ।
