शुक्रबार , मंग्सिर २३, २०७९

“राज्यकै कारण धरापमा छ नेपालको जल पर्यटन”- शिव अधिकारी (अध्यक्ष, नारा)

सरकारले अनुमति दिएका नदी किनारामा हामीले सयौँ रिसाेर्टहरू बनाएका छौँ । तर, सरकारले ती नदी र ठाउँहरूमा हाइड्रोपावरको लागि पनि अनुमति दिएको छ । यसले हाम्रो अरबौँ रुपैयाँ लगानी डुब्ने खतरा देखिन्छ । यसले पर्यटन व्यवसायी र राज्यबीच द्वन्द्व बढेको छ । यसो हुँदा राज्यको पैसा पनि डुब्छ र हाम्रो पनि ।

image

प्राचीन कालमा मानव सभ्यताको विकास नदी आसपास हुनुले मानव जीवनमा नदीको भूमिका दर्साउँछ । धेरै देशका राजधानी तथा व्यापारिक केन्द्र नदी किनारमै अवस्थित छन् । नदी तथा तिनका जलाधार क्षेत्र ऐतिहासिक हिसाबले देशका आन्तरिक तथा अन्तर्राष्ट्रिय सिमानाका रूपमा स्थापित छन् । हाम्रै नेपालको पूर्वमा मेची तथा पश्चिममा महाकाली नदी सिमाना भएर बगेका छन् ।

नदीले केवल जलप्रवाह मात्र गर्दैन, समग्र मानव जातिको आशा बोकेको हुन्छ । नदीबाट प्रवाहित जलस्रोतलाई समानुपातिक र व्यवस्थित उपयोगमार्फत राष्ट्रिय सम्पत्तिमा रूपान्तरित नगरेसम्म नेपाल र नेपाली आत्मनिर्भर हुन सक्दैनन् । चाहे स्रोतको रूपमा होस् वा जोखिमका रूपमा, नदीको राजनीतिक, सामाजिक तथा आर्थिक अन्तरसम्बन्ध रहेको हुन्छ ।

नेपालमा हिमालयको कोखबाट उत्पत्ति भएर पहाडका खोँचहरू हुँदै नागबेली झैँ बग्ने कञ्चन नदीहरू साहसिक जल पर्यटनका लागि विश्वकै उत्कृष्ट छन् । त्रिशूली, कर्णाली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी, सेती, मर्स्याङ्दी आदि नदीहरू र्याफ्टिङ, कायाकिङ, क्यानोइङ, फिसिङ लगायत जल यात्रा पर्यटनका लागि अति उत्कृष्ट छन् । नेपालको पर्यटनमा साहसिक जल पर्यटनको महत्त्वपूर्ण योगदान रहेको छ ।

जल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एसोशिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा)ले नेपालको जल पर्यटनको प्रवर्द्धन र विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । नाराले जल पर्यटनको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने, जल पर्यटनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, जल पर्यटनको सुरक्षा मापदण्डहरूको अनुगमन गर्ने, जल पर्यटन प्रवर्द्धनका लागि सरकारी तथा सम्बन्धित निकायलाई खबरदारी गर्ने, नदी तथा जलस्रोतको संरक्षण तथा सरसफाइका लागि आवाज बुलन्द पार्ने लगायतका कार्यहरू गर्दै आएको छ ।

नेपालको जल पर्यटनको अवस्था, इतिहास, भविष्य, अवसर र चुनौती अनि नेपालको जल पर्यटनको प्रवर्द्धन तथा विकासमा नेपाल एसोशिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा)ले खेलेका र खेलिरहेको भूमिका लगायत विषयमा केन्द्रित रहेर सहकर्मी चन्द्र तामाङ ले (नारा)का अध्यक्ष शिव अधिकारी सँग गरेको कुराकानीको सम्पादित अंश:

नेपालमा जल पर्यटनको अवस्था कस्तो छ ?

नेपाल साहसिक जल पर्यटनको लागि विश्वमै एक उत्कृष्ट गन्तव्य हो । नेपालका त्रिशूली, कर्णाली र भोटेकोशी जस्ता नदीहरू जल पर्यटनका लागि विश्वकै टप टेन भित्र पर्ने गन्तव्यहरू हुन् । तर, सरकार र सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा अपेक्षा अनुरूपको विकास हुन सकेको छैन । जलविद्युत आयोजना, ढुङ्गा गिटी बालुवाको उत्खननले गर्दा नदीहरू मासिन थालेका छन् । यसले जल पर्यटनलाई अन्योलमा पारेको छ । हामी निजी क्षेत्रले सकेको जति गरिरहेका छौँ । जल पर्यटनको विकास प्रवर्द्धनका लागि व्यवसायीहरूबीच समन्वय गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारप्रसार गर्ने जस्ता कार्यहरू गरिरहेका छौँ । वास्तवमा दुःखका साथ भन्नुपर्दा पछिल्लो दशक नेपालको जल पर्यटनमा विदेशी पर्यटकको सङ्ख्या कम हुँदै गएको अवस्था छ । यो हाम्रो लागि चिन्ताको विषय हो । यसतर्फ सरकारको फिटिक्कै ध्यान गएको छैन । तर, जल पर्यटनमा स्वदेशी पर्यटकको भने आकर्षण बढ्दो छ । स्वदेशी पर्यटकहरूले गर्दा नै जल पर्यटनमा आबद्ध व्यवसायीहरू बाँचेका छन् ।

जल पर्यटनमा कस्ता खेल तथा गतिविधिहरू पर्दछन् ?

जल पर्यटनमा सामान्यतया पानीमा हुने रमाइला एवम् साहसिक खेल तथा गतिविधिहरू पर्दछन् । यो नदी, खोला, ताल तलैयामा गर्न सकिन्छ । जल पर्यटनमा र्याफ्टिङ, कायाकिङ, क्यानोइङ, फिसिङ लगायत जलयात्रासँग सम्बन्धित गतिविधिहरू पर्दछन् । यिनै गतिविधिहरू नेपालमा भइरहेका छन् र हामीले गर्दै आएका छौँ । हामीले प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेखित गतिविधिहरूलाई नै जोड दिइरहेका छौँ । र, नेपाल आउने पर्यटकहरूलाई मनोरञ्जन दिइरहेका छौँ ।

नेपालमा थुप्रै नदीहरू छन्, अहिलेसम्म जल पर्यटनका लागि कति वटा नदीहरू खुला भएका छन् ?

सरकारले हामीलाई र्याफ्टिङको लागि १६ वटा नदीहरूमा अनुमति दिएको छ । र्याफ्टिङको लागि संसारकै उत्कृष्टमा पर्ने कर्णाली, संसारकै टप फाइभमा पर्ने भोटेकोशी लगायत कालीगण्डकी, सुनकोशी, त्रिशूली, मर्स्याङ्दी, बलेफी, सेती, अपर सेती लगायतका नदीहरूमा जल पर्यटनको अभ्यास हुँदै आएको छ । यी नदीहरूमा हामीले र्याफ्टिङ, क्यानोइङ, कायाकिङ, फिसिङ लगायत जल यात्राका गतिविधिहरू गरिरहेका छौँ । सरकारले अनुमति दिएका ती नदीहरूमा हामीले बीचहरू बनाएका छौँ, जीपलाइनहरू बनाएका छौँ, जल पर्यटनका लागि आवश्यक पूर्वाधारहरू  बनाएका छौँ ।

जल पर्यटन एक साहसिक पर्यटन हो, साहसिक पर्यटन भन्ने बित्तिकै सुरक्षा पहिलो प्राथमिकतामा आउँछ । जल पर्यटनमा पनि दुर्घटनाका समाचारहरू आइरहेका छन्, जल पर्यटनलाई सुरक्षित बनाउन नाराले के-के गर्दै छन् ?

सुरक्षाको लागि सर्वप्रथम त आधिकारिक रूपमा दर्ता भएको कम्पनीबाट मात्रै पर्यटकहरूले जल पर्यटनमा सहभागी हुनुपर्छ । सुरक्षाको मापदण्ड पुरा नगरी, विना अध्ययन राज्यले लाइसेन्स दिँदैन । हो, यदाकदा दुर्घटनाहरू भएका छन् । दर्ता नगरी सञ्चालन भएका कम्पनीबाट गएका पर्यटकहरू असुरक्षित नै छन् । पर्यटकहरू पनि सस्तोमा सेवा पाइने लोभमा त्यस्ता कम्पनीबाट जाने गरेको देखिन्छ । त्यस्ता कम्पनीको सेफ्टी सेक्युरिटी चेक गरेको हुँदैन । अनि दुर्घटना हुन्छ । त्यसैले हामीले सबैले दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न र पर्यटकहरूलाई पनि दर्ता भएका कम्पनीबाट मात्रै जल पर्यटनमा सहभागी हुनका लागि अपिल गर्दै आएका छौँ । नाराले अनुगमन पनि गर्दै आएको छ । व्यवसायीहरूको लाइसेन्स चेक गर्ने, सुरक्षा मापदण्डहरूको पालना गरेको छ/छैन अनुगमन गर्दै आएका छौँ ।

जल पर्यटनका कारण नदी र यसका किनार फोहोर भए, व्यवसायीहरूले सरसफाइमा ध्यान दिएनन् भन्छन् नि ?

यो सरासर गलत हो । नदीको संरक्षण हाम्रो एक प्रमुख उद्देश्य हो । नदीमा जल पर्यटनको गतिविधि गरेर पैसा कमाउने मात्रै हाम्रो उद्देश्य अवश्य होइन । हामी पर्यटन व्यवसायीले नदी र नदी किनार फोहोर गरेको भनेर आरोप लगाउनेहरू विभिन्न बहानामा नदी मास्नेहरू हुन् । ढुङ्गा गिटी बालुवाको व्यापार गर्दै नदी मास्ने र प्रदूषित पार्नेहरूले उल्टै हामीलाई आरोप लगाइरहेका छन् । हामीले त नदीको प्राकृतिक संरचना र बहावलाई परिवर्तन हुन नदिई संरक्षण गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ भन्दै आएका छौँ । सोही अनुसार गर्दै आएका छौँ । अनि अर्को कुरा टुरिस्टले फोहोर गर्छ भन्नु त झन् मूर्खता हो । उनीहरूले फोहोर गर्ने होइन, बरु हामीलाई सरसफाइ गर्न पो सिकाउँछन् । उनीहरू आफैँ पनि सरसफाइ गर्छन् । वातावरणको सरसफाइ तथा संरक्षणमा हामी भन्दा उनीहरू कयौँ गुणा सचेत छन् । नेपाली पर्यटकहरूले कहीँकतै फोहोर गरे व्यवसायीले सरसफाइ गर्छन् ।

नेपालमा जल पर्यटनको इतिहासलाई केलाउँदा करिब पाँच दशक भएको देखिन्छ । हालसम्मको अनुभवले नेपालको जल पर्यटनको भविष्य कस्तो देखाउँछ ?

हो, नेपालमा जल पर्यटनको सुरुआत सन् १९७० को दशकमा सुरु भयो । मैले सुरुमा नै भनेको थिएँ कि नेपाल साहसिक जल पर्यटनका लागि विश्वमै उत्कृष्ट गन्तव्यमा पर्दछ । यहाँका भू-बनोट, नदी र यसको बहाव साहसिक जल पर्यटनका लागि अति नै राम्रो छ । तर, हालसम्मको अनुभवलाई हेर्दा नेपालमा जल पर्यटनका अथाह सम्भावना भएर पनि विकास हुन नसकेकै हो । नेपालले जल पर्यटनबाट लिनुपर्ने लाभ लिन पाएको छैन । अहिलेसम्म जति विकास भएको छ, सबै निजी क्षेत्रकै प्रयासमा भएको छ । सरकारी निकायले पर्याप्त चासो दिएका छैनन् । सरकारले लगानी गर्न सकेको छैन । तैपनि हामीले कोसिस गरिरहेका छौँ । नेपालमा जल पर्यटनको सम्भावना भएकोमा दुई मत छैन । तर, अहिले विभिन्न विकासको नाममा जुन गतिमा नदीहरू मास्ने काम भइरहेको छ, त्यसले भने चुनौती खडा गरेको छ । स्थानीय सरकार बनेपछि नदीको दोहन बढेको अध्ययनहरूले नै देखाएको अवस्था छ । यो चिन्ताको विषय हो । तैपनि हामी आशावादी छौँ ।

नेपालमा जल पर्यटनको विकास र प्रवर्द्धन गर्न कसले के गर्नुपर्ला ?

अहिलेसम्म पर्यटन क्षेत्रमा जति भएको छ, सबै प्राइभेट सेक्टरले नै गरेको छ । गर्ने त प्राइभेट सेक्टरले नै हो, तर सरकारले पूर्वाधार विकास गरिदिनुपर्छ । पर्यटन व्यवसायलाई पनि ध्यानमा राखेर मात्रै विकास निर्माणका कार्यहरू गरिदिनुपर्छ । अन्य भौतिक पूर्वाधारको विकास र पर्यटनबाट राज्यलाई हुने लाभहानीको राम्रो रिसर्च गरेर मात्रै विकासका कामहरू गर्नुपर्छ । विना अध्ययन अनुसन्धान सीमित व्यक्ति वा समूहलाई हुने लाभको आधारमा विकास निर्माणका कार्यहरू गरिनुहुन्न । जल पर्यटनको लागि नदीहरू मासिनु भएन । जहाँतहीँ जलविद्युत आयोजनाको ड्यामहरू बनाउनु भएन । यसको अर्थ जलविद्युतको विकास आवश्यक छैन भन्ने खोजेको होइन, जल पर्यटनलाई पनि ध्यानमा राखेर मात्रै बनाउनुपर्‍यो । नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी ढुङ्गा गिटी बालुवाको उत्खनन गर्नु भएन, नदीमा फोहोर थुपार्नु भएन । यसका लागि सबै तहका सरकार, सम्बन्धित जिम्मेवार निकायको ध्यान जानु पर्‍यो । व्यवसायीहरूले पनि व्यावसायिक मापदण्डहरूलाई फलो गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ । यसो गर्न सकिए जल पर्यटन फस्टाउन सक्छ ।

नेपालको पर्यटनमा जल पर्यटनको योगदान कति छ ? जल पर्यटनबाट कति रोजगारी सिर्जना भएका छन् ?

नेपालको साहसिक पर्यटनमा जल पर्यटनको मुख्य योगदान छ । यस क्षेत्रमा मात्रै १२ देखि १५ हजारलाई रोजगारी सिर्जना भएको छ । हामी (नारा)ले उत्पादन गरेका गाइडहरूको सङ्ख्या नै चार हजार नाघिसकेको छ । तीमध्ये पाँच सय भन्दा बढी गाइडहरू जापानमै रोजगार भएका छन् । विभिन्न अस्ट्रेलिया, न्यूजील्यान्ड, टर्की लगायतका देशहरूमा पनि रोजगारी पाएका छन् । उनीहरूले नेपालमै पर्यटकहरू पठाइरहेका छन् । अहिले जल पर्यटनमा काम गर्ने कम्पनीहरू ८० देखि १०० वटा हाराहारी पुगेको छ । प्रत्यक्ष परोक्ष रूपमा कम्तीमा १५ हजारले रोजगारी पाएका छन् ।

पर्यटनको विकासका लागि प्रचारप्रसार अपरिहार्य छ, नेपालका पर्यटन व्यवसायीहरूले प्रचारप्रसारमा ध्यान नदिएको हो ?

मैले अघि भने कि नेपालमा पर्यटनको जति विकास भएको छ, त्यो निजी क्षेत्रकै देन हो । हामीले प्रचारप्रसार पनि गरिरहेका छौँ । तर, राज्यले भने प्रचारप्रसार गर्न सकेको छैन । जानेको छैन । राज्यले खर्च त गरेको छ । तर, पर्याप्त अध्ययन विना गरिरहेको छ । कुन देशको कुन मार्केटमा कसरी प्रचारप्रसार गर्ने, कुन माध्यमबाट गर्ने भन्ने विषयमा राज्य चुकेको देखिन्छ । नेपालको मुख्य पर्यटन बजार, पर्यटकमा पनि कस्ता पर्यटक र कुन समयमा नेपाल आउन चाहन्छन्, यी कुराहरूलाई ध्यानमा राखेर प्रचार गर्नुपर्ने हो । पर्यटनका पनि विभिन्न क्षेत्रमा काम गर्ने व्यवसायीहरूसँग सहकार्य गरेर काम गर्नुपर्ने हो, त्यो गरेको देखिँदैन । खाली केही देशहरूमा जाने अनि ब्रुसरहरू मात्रै बाँडेर फर्केर आएपछि पर्यटनको विकास हुन सक्दैन । प्रचारप्रसारमा निजी क्षेत्र लागेका छन् र त व्यवसाय टिकेको छ । यसमा राज्यको ध्यान जानुपर्छ ।

नेपालमा जल पर्यटनका मुख्य चुनौतीहरू के के हुन् ?

थुप्रै चुनौतीहरू छन्, साथै अवसर पनि । अहिलेसम्म अपेक्षा गरे अनुसारको विकास, विस्तार हुन सकेन । तैपनि गर्न सकिन्छ । हामी निजी क्षेत्रका व्यवसायीहरूले थुप्रै लगानी पनि गरिसकेका छौँ । सरकारले अनुमति दिएका नदी किनारामा हामीले सयौँ रिसाेर्टहरू बनाएका छौँ । तर, सरकारले ती नदी र ठाउँहरूमा हाइड्रोपावरको लागि पनि अनुमति दिएको छ । यसले हाम्रो अरबौँ रुपैयाँ लगानी डुब्ने खतरा देखिन्छ । यसले पर्यटन व्यवसायी र राज्यबीच द्वन्द्व बढेको छ । यसो हुँदा राज्यको पैसा पनि डुब्छ र हाम्रो पनि । यसले गर्दा सरकारले जथाभाबी विना अध्ययन अनुसन्धान र सम्बन्धित प्रभावित क्षेत्र सँगको समन्वय विना योजनाहरू अघि सार्नु भएन । त्यसैगरी नदीनालाको उत्खनन पनि अर्को चुनौती हो । यसले नदी नालाको इकोसिस्टम नै बिगारिरहेको छ । अर्को चुनौती भनेको नीतिगत समस्याहरू छन् । पर्यटन व्यवसायमैत्री नीति नियमहरू बनाइएका छैनन् । तिनलाई पनि राज्यले सम्बोधन गर्न जरुरी छ ।

भिडियो

सम्बन्धित समाचार