सिस्नुको नियमित सेवनले उच्च रक्तचाप, मधुमेह, रक्तअल्पता, पिसाब र पेटसम्बन्धी रोग नियन्त्रण गर्न सहयोग गर्छ । साथै, हड्डी चर्के मर्केका बिरामी र गर्भवती महिलालाई समेत फाइदा पुर्याउँछ ।
आफू तराईमा जन्मी हुर्किएकाले धेरै समय सिस्नुसँग परिचित हुन पाइएन । जीवनको लामो समय मधेशका भान्सामा पाक्ने, खेत-खलियानमा पाइने खाद्यान्नसँग मात्र नाता गाँसियो । कामको खोजीमा आफ्नो जन्मभूमि छोडेर पोखरा पुगेपछि मात्र मैले सिस्नु देख्न पाएँ । देख्न भन्दा पनि म यसलाई महसुस गर्न पाएँ भन्न रुचाउँछु । किनभने मैले कुनै साधारण पातपतिङ्गर सम्झिएर सिधै नाङ्गो हातले सिस्नुको बोटबाट सिस्नुका पात लुछेको थिएँ । त्यतिबेलाको परिस्थिति सम्झिएर ठ्याक्कै भन्ने हो भने सिस्नुले मेरो हात लुछेको थियो । निकै समयसम्म मेरा हात रन्थनिएका थिए, पोलेका थिए ।
“नेपाल भ्रमणमा आएको एकजना विदेशीले अन्जान्मा सिस्नुको पात समाएछ । पछि, उसले आफ्नो देशमा गएर ‘नेपालको त पात-पातमा करेन्ट हुने रहेछ’ भन्दै सुनाएछ” भन्दै हामी केटाकेटी हुँदा निकै हाँस्थ्यौ । दैनिकजसो यो चुट्किला सुन्ने/सुनाउने भएपनि सिस्नु कस्तो हुन्छ भन्ने ज्ञान भने हामीमा थिएन ।
विद्यार्थी जीवनमा महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित खण्डकाव्यको ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्ने कवितांश धेरै पटक पढियो/सुनियो/गुनगुनाइयो । जसले मलाई सिस्नु खान मिल्ने एक खाद्यान्न हो या साग हो भन्ने बुझ्न मदत गर्यो । तर यो कस्तो हुन्छ ? कहाँ, कुन भेगमा पाइन्छ ? भन्ने कौतुहलता भने मनमा कतै रहिरहेको थियो । पोखरा पुगेपछि मैले खोजेरै सिस्नु भेटाएको होइन । पीडादायी जम्काभेटमा उसले आफ्नो परिचय आफैँ दिएको हो । आफूले टिप्न र बनाउन नजानेकाले भेटघाट भइसकेपछि पनि धेरै समयसम्म सिस्नुको स्वाद मैले लिन पाइनँ । झिसमिसे सम्झनालाई केलाउँदा कुनै चिनजानका मान्छेले बनाएर पस्किएपछि नै मैले पहिलो पटक सिस्नु खाएको हुँला झैँ लाग्छ । जे होस्, सिस्नु मेरो मुखमा पर्यो ।
अङ्ग्रेजीमा (स्टिङगगिङ्ग नेटल) भनेर चिनिने यो वनस्पति (सिस्नु) नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसको रौँ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले यसलाई नाङ्गो हातले छुँदा पीडादायक हुन्छ । यद्यपि पानीमा उमालेपछि ती तत्त्वहरू नास भएर जान्छन् ।
नेपालमा मात्र सिस्नुको खपत हुने होइन । सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व (आइरन), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समय देखि प्रचलित रहेको पाइन्छ । यसमा २५ प्रतिशतसम्म प्रोटिन हुन्छ, यसकारण शाकाहारीहरूको मनपसन्द भोजन बन्न पुगेको छ । यो अति मूल्यवान् गउडा चीज र यार्गमा स्वादको लागि समेत प्रयोग गरिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भएअनुसार सिस्नुमा २३ प्रतिशतभन्दा बढी फलाम तत्त्व, २४.५ प्रतिशत कुड प्रोटिन, फाइबर ८ प्रतिशत, फ्याट १.५ प्रतिशत, जलांश ९.८५ प्रतिशत पाइन्छ ।
बढ्दो लोकप्रियताका कारण अहिलेको समयसम्म सिस्नु ठुला–ठुला डिपार्टमेन्ट स्टोर, तारे होटल तथा रेष्टुँराहरूसम्म पुगिसकेको छ । देवकोटाले केही नभए सिस्नु खान मिल्छ भनेर यसलाई अन्तिम विकल्पको रूपमा व्याख्या गरे तापनि यो अर्ग्यानिक खाद्यको माग दिनदिनै बढिरहेको छ । कसैले चिया, कसैले सूप त कसैले सब्जीको रूपमा यसलाई ढिँडो र खाना सँग मिठो मानेर खाने । नेपालको कतिपय ठाउँमा यसको महत्त्व र मागलाई बुझेर व्यावसायिक खेती समेत गर्न थालिएको छ ।
सिस्नुको नियमित सेवनले उच्च रक्तचाप, मधुमेह, रक्तअल्पता, पिसाब र पेटसम्बन्धी रोग नियन्त्रण गर्न सहयोग गर्छ । साथै हड्डी चर्के मर्केका बिरामी र गर्भवती महिलालाई समेत फाइदा पुर्याउँछ । यसमा हेमोग्लोबिनको मात्रा बढी पाइने हुनाले मानव शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ ।
सिस्नो छाला र कपालका लागि पनि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउने र दाग हटाउनुका साथै कपाल सिल्की बनाउन र कपाल झर्नबाट रोक्ने मदत गर्छ । पिसाबको सङ्क्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ ।
सिस्नुको बढ्दो लोकप्रियता र मागलाई ध्यानमा राख्दै यसलाई अझ विस्तृत ढङ्गले व्यवसायीकरण गर्न सके यसले देशको अर्थतन्त्रमा टेवा पुर्याउने थियो । साथै, गाउँघरबाट हराउँदै गइरहेको यो बहुगुनी जडीबुटी मूलक खाद्यबारे जनमानसमा सचेतना फैल्याउनु पर्ने आवश्यकता देखिन्छ । यसको खेतीतर्फ थप किसानहरूलाई आकर्षित गर्न सके यसको संरक्षण मात्र हुने छैन, थप रोजगारी समेत सिर्जना हुने थियो ।